ध्येय गुणात्मक विकास माध्यम सही वातावरण

बालबालिका कस्तो बन्ने भन्ने कुरा हाम्रो इच्छा वा चाहनामा भर पर्दैन । बरु हामीले उपलब्ध गराए को वातावरणलाई उपयोग गर्ने बालबालिकाको अभ्यास मा भरपर्दछ । त्यसैले मन्टेसरी शिक्षामा स्कूलको वातावरणलाई सर्वाधिक महत्व दिइन्छ ।

शिक्षा दिनु भनेको बालबालिकामा निहित सम्भाव्यता उजागर गर्न मद्दत गर्नु हो । बच्चा जन्मिँदा असीमित क्षमता लिएर आउँछ । हरेक बालबालिकासँग हुने एक खर्ब भन्दा बढी स्नायुकोशिका र शरीरको क्षमता असामान्य हुन्छ । ऊभित्र जे पनि बन्न सक्ने सम्भावना हुन्छ । प्रकृतिप्रदत्त अनन्त शक्तिलाई हामीले दिएको शिक्षाले उजागर गर्न सहयोग गरे मात्र एउटा बालक यो शिक्षाप्रति आभारी हुनेछ । हामीले दिएको शिक्षाले आफ्नो समाज सँग मिलेर सहज, सरल, सुखमय जीवन बिताउन सक्ने बनाउनुपर्छ नानीहरूलाई । यस्तो शिक्षा नेपालमा सम्भव छ त ? अवश्य सम्भव छ ।

मन्टेसरी शिक्षा प्राकृतिक शिक्षा हो । यो मानव विकास सँग सम्बन्धित छ । यसले मानव विकास को आधार उद्विकास (Evolution) लाई मानेको छ । बालविकास का लागि सिक्न/हुर्किन वातावरण प्रदान गर्नु नै शिक्षाको कार्य हो भन्ने विश्वास गरिन्छ यो शिक्षा पद्धतिमा । वातावरण प्रतिकूल भएमा कुनै पनि बालबालिकाले सिक्ने र हुर्किने आदर्श अवसर पाउँदैनन् । मन्टेसरी सिकाइ पद्धतिमा सबै बालबालिका उत्तिकै सक्षम हुन्छन् भन्ने ठानिएको हुन्छ ।

यस पद्धतिमा सिकाइको मात्रामा भन्दा गुणस्तर मा जोड दिइन्छ । बालबालिकाले स्व–अभ्यास, खोज र एकाग्रताको अभ्यास बाट सिक्न सक्ने वातावरण सृजना गर्नु शिक्षकको कर्तव्य हुन्छ । बालबालिकाको मूल्याङ्कनको आधार मुख्यतः उनीहरूले हासिल गरेको सीप, व्यवहारगत परिवर्तन, परिपक्वता, आत्मविश्वास र आत्मानुशासनलाई मानिएको हुन्छ । बालविकास को सर्वाधिक महत्वपूर्ण चरण शुरु को ६ वर्षसम्म हो । यही उमेर समूहका लागि मन्टेसरी शिक्षा दिइन्छ । बच्चा जन्मँदा शारीरिक रूपमा मात्र आकार लिएको हुन्छ, आत्मिक रूपमा उसले आकार लिन बाँकी हुन्छ । त्यसैले बालबालिकाको हिँडाइ (गति), बोलाइ (भाषा), चालचलन (संस्कृति), ज्ञान र सीपको विकास गर्नु जरुरी हुन्छ बालविकास केन्द्रले ।  

बालबालिका कस्तो बन्ने भन्ने कुरा हराम्रो इच्छा वा चाहनामा भर पर्दैन । बरु हामीले उपलब्ध गराए को वातावरणलाई उपयोग गर्ने बालबालिकाको अभ्यासमा भरपर्दछ । त्यसैले मन्टेसरी शिक्षामा स्कूलको वातावरणलाई सर्वाधिक महत्व दिइन्छ ।

मन्टेसरीमा विभिन्न पारिवारिक वातावरणबाट आएका ३०/३५ जना बालबालिकाको मिश्रित समूह हुन्छ । ६ वर्षमुनिका बालबालिकाको पारिवारिक विविधता, फरक भाषा, संस्कृति, चालचलन, फरक आर्थिक तथा शैक्षिक पृष्ठभूमिले मन्टेसरी कक्षा मिनी सोसाइटी नै बनेको हुन्छ । यहाँ नानीहरूले आपसी सुझाव, स्नेह, आदर, सहयोग, धैर्य, शिष्टाचार जस्ता सामाजिकीकरणकागुणहरू प्रयोगात्मक रूपमा सिक्छन् ।  

मन्टेसरीमा बालबालिकाले चलाउने वास्तविक सामग्रीहरू प्रयोग गरिन्छन् । नानीहरूले त्यहाँ काम गर्छन् र कामबाट भाषा, चाल, सीप तथा प्रवृत्ति निर्माण गर्छन् । उनीहरूलाई झुक्याउनुपर्ने वा कर गर्नु पर्ने प्राणीको रूपमा नभई एउटा योग्य व्यक्तिको रूपमा व्यवहार गरिन्छ । बालबालिकाले गल्ती गर्ने स्वतन्त्रता पाउँछन् मन्टेसरीमा । आफ्नो गल्ती पत्ता लगाई आफैँले सच्याउनुलाई वास्तविक सिकाइ मानिएको हुन्छ । बालबालिकाले आत्मविश्वास, आत्मनिर्भरता र जिम्मेवारीको विकास शैक्षिक तथा खेल सामग्रीको प्रयोगबाट गरिरहेका हुन्छन् ।

मन्टेसरी वातावरणमा भाषा, गणित, विज्ञान, कला संस्कृति, भूगोल, इतिहास सम्बन्धी ज्ञान, सीप र प्रवृत्ति विकास गर्ने सामग्रीहरू राखिएको हुन्छ । शिक्षकले ती सामग्री प्रयोग गर्ने तरिका व्यक्तिगत रूपमा नानीहरूलाई देखाउँछन् । तीन सय भन्दा धेरै सामग्री हुनुपर्छ मन्टेसरीमा । नानीहरू आधारभूत नियम पालना गर्दै ती सामग्रीमा खेलिरहेका हुन्छन् ।

मन्टेसरी शिक्षा किन ?
यसले बालविकास मा सहयोग पुर्याउँछ । एकाग्रता र दोहोर्याउने क्रममा अवरोध नहुने भएकाले बालबालिकामा कुनै किसिमको विचलन र नकारात्मक संवेगहरू पैदा हुन पाउँदैनन् । विचलनका कुनै लक्षण देखि ए पनि ती आफैँ हट्छन् । नानीहरूमा आत्मनिर्भरता, जिम्मेवारीबोध, सहयोगी भावना, आत्मविश्वास, धैर्य, इमान दारी जस्ता सकारात्मक प्रवृृत्तिको विकास गराउँछ मन्टेसरी शिक्षाले ।

मन्टेसरी सिकाइका क्षेत्रहरू चाहिँ दैनिक जीवनमा प्रयोग हुने क्रियाकलाप , ज्ञानेन्द्रियलाई सशक्त बनाउने क्रियाकलाप , गणित, भाषा, विज्ञान, भूगोल र कला संस्कृति सम्बन्धी खोजमूलक क्रियाकलाप मा विस्तारित भएका हुन्छन् । नानीहरूले त्यहाँ असीमित अवसर पाउँछन् आफैँ सिक्नका लागि ।  



मन्टेसरी शिक्षक
मन्टेसरी शिक्षामा शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ । शिक्षकले वातावरण निर्माण गर्ने, नानीहरूको अध्ययन गर्ने, विकास को अवस्था हेरी सहयोग पुग्ने क्रियाकलाप प्रस्तुत गर्ने, सामाजिकगुणहरूको विकास मा मद्दत पुग्ने तथा सामाजिक शिष्टता निर्माण गर्ने क्रियाकलाप प्रस्तुत गर्नु पर्छ । बालविकास को अद्यावधिक अभिलेख राख्ने, अभिभावकसँग तिनका बालबालिकाका बारे छलफल गर्ने र उनीहरूलाई परामर्श दिने लगायतका महत्वपूर्ण जिम्मेवारी वहन गर्नु पर्ने हुन्छ । नानीहरूलाई सधैँ स्नेहमय वातावरण प्रदान गर्नु र उनीहरूमा हुने  असीमित योग्यताको आदर गर्नु शिक्षकको पेशागत धर्म हुन्छ । बाल क्रियाकलाप को क्रममा हुने गल्ती उनीहरूलाई नै सच्याउने अवसर दिनुपर्छ । यी कार्य सुन्दा सजिलो देखि ए पनि ३०/३५ जना नानीहरूलाई स्वतन्त्रताको माध्यमबाट यस्ता अभ्यास गराउन शिक्षकहरूमा विशेष क्षमता चाहिन्छ । यिनै कारणले नेपालमा मन्टेसरी शिक्षकको ठूलो खडेरी छ । मन्टेसरी शिक्षक बन्न विशेष तालिमको जरुरी हुन्छ ।

मन्टेसरी शिक्षक हुन एशोसिएसन मन्टेसरी इन्टरनेशनल (एएमआई) द्वारा सञ्चालन गरिने तालिम सबैभन्दा उन्नत तालिम हो । हल्यान्डमा मुख्य कार्यालय रहेको यस संस्थाको उद्देश्य संसारको मन्टेसरी शिक्षालाई स्तर युक्त र प्रभावकारी बनाउनु हो । यसले विभिन्न तहका मन्टेसरी शिक्षक उत्पादन गर्न विश्वस्तरीय तालिम सञ्चालन गर्छ । कम्तीमा स्नातक तह उत्तीर्ण गरेको व्यक्तिले प्रति दिन ७ घण्टाको दरले ९ महिना सैद्धान्तिक र प्रयोगात्मक तालिम लिनुपर्छ । त्यसपछि एएमआईबाट सञ्चालित लिखित परीक्षा उत्तीर्ण गरे पछि विशेषज्ञद्वारा प्रयोगात्मक परीक्षा लिइन्छ । यसमा सफल भएमा मात्र मन्टेसरी शिक्षक हुने प्रमाण–पत्र दिइन्छ । मन्टेसरीको यस्तो तालिम निकै दुर्लभ मानिन्छ । दक्षिण एसियामा भारतको चेन्नईमा मात्र यस्तो तालिम केन्द्र रहेको छ ।

यस बाहेक मन्टेसरी शिक्षक तथा प्रशिक्षकले बनाएका मन्टेसरी संस्थाले पनि विभिन्न देशका मन्टेसरी स्कूलहरूमा ‘इनहाउस’ तालिम दिने चलन छ । कुनै मन्टेसरी शिक्षक वा प्रशिक्षकद्वारा व्यक्तिगत वा संस्थागत रूपमा चलाएका तालिमले पनि मन्टेसरी शिक्षक तालिम उत्पादनमा थोरबहुत सहयोग गरेको पाइन्छ । तथापि, नेपालमा मन्टेसरी तालिम दिने आधिकारिक व्यक्ति तथा संस्था छैनन् ।  

कसरी चिन्ने मन्टेसरी ?  
मन्टेसरी भनिएका ठाउँमा बालबालिकालाई ‘भुल्याउने’ खेलौना छन् कि बालबालिकाको उमेर सुहाउँदा ‘शैक्षिक सामग्री’ छन् भन्ने हेर्नु आवश्यक हुन्छ । नानीहरू भुल्याउने सामग्री छन् भने ती मन्टेसरी होइनन् । मन्टेसरीमा साढे दुई देखि ६ वर्ष उमेर समूहका नानीहरूलाई मिसाएर राखिएको हुनुपर्छ । एउटै कोठामा नानीहरूका लागि दैनिक जीवनमा प्रयोग हुने, ज्ञानेन्द्रियको प्रयोगबाट सिक्ने, गणित तथा भाषाको अवधारणा बसाउने अलग अलग सामग्री र क्षेत्र छैनन् भने त्यो मन्टेसरी होइन ।

नीहरूको व्यक्तिगत प्रस्तुति र क्रियाकलाप नभएको स्कूल पनि मन्टेसरी होइन । मन्टेसरीमा नानीहरू कुनै क्रियाकलाप गर्न स्वतन्त्र हुन्छन् । तिनको मूल्याङ्कनको आधार बालबालिकाको व्यवहार, परिपक्वता, उत्प्रेरणा, आत्मविश्वासलाई लिइँदैन र लिखित परीक्षालाई उपलब्धि मापनको मान क मानिन्छ भने त्यो पनि मन्टेसरी होइन ।

(एएमआई शिक्षक धितालले ८ मङ्सिर २०६८ मा राजधानीमा आयोजित नेपालमा मन्टेसरी शिक्षा सान्दर्भिकता तथा चुनौती विषयक अन्तरक्रियामा पेश गरेको कार्यपत्रमा आधारित ।)

commercial commercial commercial commercial