साक्षर नेपाल सपना र विपनाबीचको तराजुमा

हाम्रो सपना
शिक्षाको उद्देश्य एउटै हुन्छ चाहे त्यो औपचारिक ढाँचाको शिक्षा होस् वा अनौपचारिक । शिक्षाले प्रभावकारी नागरिक तयार पार्नुपर्छ । जुन नागरिकले स्वावलम्बी ढंगबाट जीवनयापन गर्न सकोस् र स्थानीय देखि अन्तर्राष्ट्रिय समाज सम्म यथोचित योगदान पुर्याउन सकोस् । शिक्षाले जीवन र जगतलाई हेर्ने ढोका खोलिदिन सक्नुपर्छ । यही सपनालाई विपनामा परिणत गर्न संसारका सबै राष्ट्र र सरकार लागिपरेका छन् आफ्नै ताकत र सामूहिक प्रयत्नका साथ । विभिन्न कारणले औपचारिक शिक्षाका अवसरहरूबाट ठगिंदै र वञ्चितीकरणमा पर्दै आएका मुलुकको झण्डै आधा संख्यामा रहेका निरक्षर प्रौढहरूलाई जतिसक्दो छिटो साक्षर नबनाएसम्म न मुलुकको दिगो विकास सम्भव छ न विश्व रंगमञ्चमा ‘म नेपाली’ ‘म त्यसदेशको प्रतिनिधि’ भनेरगर्व ले ठाडो शिर गर्न सम्भव छ । धेरै अध्ययन र अनुसन्धानले अशिक्षा र गरीबी बीच प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि गरिसकेका छन् । अनौपचारिक शिक्षामा गरिने लगानी औपचारिकको जस्तो दीर्घकालका निम्ति नभई तत्काल नतिजा प्राप्त गर्नका लागि गरिने हो । त्यसैले आउँदा तीन वर्षभित्रै मुलुकबाट निरक्षरता उन्मूलन गरी ‘साक्षर नेपाल’ को रूपमा आफ्नो चिनारी दिने सपना हामीले देखेका छौं ।

संसार कल्पनामा अडेको छ । आजको दुनियाँ हिजोको सपनाको परिणति हो । तसर्थ स्वप्न देख्नुपर्छ, देख्न पाउनुपर्छ, सबै विपनाहरू मेलो र मेसोका नतिजा हुन् । त्यसैले सरकारले सपना देखेको । यो सपना सरकारको मात्र होइन, जनताको पनि हो ।

प्रयत्न र चुनौती
मठ, मन्दिर, गुम्बा र विहार, आश्रम र मदरसाका छिंडी हुँदै आरम्भ गरिएको शैक्षिक यात्रा औपचारिक र अनौपचारिकका नाममा विभाजित हुँदै अघि बढ्यो । आशातीत उपलब्धि प्राप्त गर्न नसकिए पनि विभिन्न कालखण्डका आरोह अवरोह भोग्दै औपचारिक शिक्षाले विद्यालय, विश्वविद्यालयकोरूप धारण गरयो । पूर्णवैतनिक शिक्षक, वैज्ञानिकतातर्फ उन्मुख पाठ्यक्रम र पाठ्यसामग्री, प्रायः ठाउँमा घाम र पानीमा ओत लाग्ने छत, प्रमाणपात्र बन्न नसके पनि प्रमाणपत्र वाहकको जमात खडा गर्न सफल भयो र हुँदैछ । तर अनौपचारिक क्षेत्र क्रमशः ‘विचरा’ तिर उन्मुख हुँदै छ । पटाहा, पाटी र पौवाबाट चौतारा र चोकतिर जाँदो छ । कहिले स्थानीय निकाय, कहिले जिल्ला शिक्षा कार्यालय, कहिले सरकारी, कहिले गैर सरकारी संस्थाका पोल्टामा कहिले कार्यक्रमका नाममा कहिले अभियानका नाममा घडीको दोलक जस्तै हल्लँदो छ । ‘हिंड्दैछ पाइला मेट्दैछ’, ‘बालुवामा पानी’, ‘कहिल्यै नटुंगिने अनन्त बाटो’का आरोप खेप्दो छ । जतिसुकै आरोप र वञ्चना सुन्दै र खेप्दै भए पनि वि.सं. २०६७ को घरधुरी सर्वेक्षणको नामनामेसीका नतिजाले लुखुरलुखुरकै यात्रा सही; ७५ लाखको बोझलाई गत वर्ष साढे ५१ लाखतिर झारेर यस वर्षको अन्त्यसम्ममा ३८ लाखभन्दा थोरैमा बिसाउने लक्ष्य उन्मुख देखिन्छ । येनकेन आफ्नोगन्तव्यतर्फ बढ्न खोज्दैछ, कहिले सातु–सामलको अपर्याप्तता महसूस गर्दै, कहिले उत्तरदायित्वसहितको जिम्मेवारी लिइदिने सहयात्रीको खाँचो महसूस गर्दै, कहिले भरपर्दो संरक्षकको अभाव झेल्दै यात्रा जारी छ, सपनाको सार्थकताका खातिर ।

पशुपतिछेउको वागमतीको किनारामा एकैपटक १०० जना वटुक बटुलेर एउटा कुशको टुक्रा समाउन लगाईगायत्री मन्त्र जपाएर काँधमा जनै नामको धागो भिराइदिएर १५ मिनेटमै लौ कर्मकाण्ड सकियो भन्ने सामूहिक व्रतबन्ध जस्तै हो साक्षरता अभियान भन्ने सोच अँगाल्ने कि साक्षरताको विश्वव्यापी मान्यता अनुरुपका सूचकांकको समकक्षी शिक्षाको खोजीमा लाग्ने । प्रमाणपात्र उत्पादन गर्ने कि प्रमाणपत्र वितरण गर्ने भन्ने दोसाँधमा छ । चालु आर्थिक वर्षमा ९ जिल्लामा साक्षरताको कर्मकाण्ड सकियो । आउँदो वर्ष १४ जिल्लामा फेरि तुरुन्त नफर्कने गरी टोल/वस्ती, वडा, गाविस/नपा हुँदै जिल्लालाई निरक्षरता उन्मूलन भएको घोषणा गर्ने र आउँदा तीन वर्षभित्र (सन् २०१५ भित्र) साक्षर नेपाल देख्ने सपना बोकेर अविश्रान्त ढंगबाट बढ्ने जमर्कोमा छ । संख्यात्मकता कि गुणात्मकता, लक्ष्य घटाउने कि बजेट बढाउने जस्ता अन्योलले पिरोलिएको छ । एक्लै हिंडेर सहजताका साथगन्तव्यमा पुग्न कठिन छ ।

शिक्षाको अन्तिम सेवा प्रवाह विन्दु विद्यालयको काम शिक्षाको जिम्मा लिने हो चाहे त्यो औपचारिक होस् या अनौपचारिक । तसर्थ छँदाखाँदाको विद्यालयलाई छाडेर चोक र चौतारामा भौंतारिनुहुँदैन भन्ने सोच क्रमशः प्रबल बन्दो छ । साक्षरता ‘शिक्षा’ मात्रै नभई ‘विकास ’को एजेण्डा भएको ले अन्य सरकारी, गैर सरकारी निकायहरू र स्थानीय निकायहरूलाई गोलबन्द गरी शिक्षा मन्त्रालयको समन्वय र नेतृत्वमा हुने सहयात्रा जरुरी हुने कुरा मा कुनै द्विविधा छैन ।

साक्षरताका कक्षामा आउनुपर्ने जति आएनन् । आएका सबै बसेनन् । बसेकाले पूरा सिकेनन् । फेरि फेरि उनै आए । त्यसैले तिम्रो यात्रा कहिल्यै टुङ्गिदैन भन्ने गुनासो पनि दिनानुदिन बढ्दै गएको सन्दर्भमा उत्तरदायित्व एवं जिम्मेवारीसहितको सहकार्य र वकालतमा ध्यान दिए, समयले नेटो काटिसकेको छैन । नआएकालाई यो अवसर सधैं उपलब्ध नहुन सक्छ भन्ने कुरा बुझाउन जरुरी छ । राज्यबाट प्रदत्त हुने सबै सुविधालाई साक्षरतासँग जोड्न जरुरी छ । नबस्नेलाई टिकाउन ‘बालमैत्री’ विद्यालयको अवधारणालाई ‘प्रौढ मैत्री’ कक्षामा पनि स्थापित गर्ने बुद्धि नलगाई हुँदैन । दिनभर हलो जोतेर कोदो रोपेर फर्केको ढाडलाई आड लाग्ने भित्तो त दिनु परयो नि ! जाडोयाममा चिसो सिरेटो छेक्ने पर्खाल,गर्मीयाममा तालु पोल्ने राप छेक्न ओत र दिउँसोमा फुर्सदको अभाव रातिमा प्रकाशको अभाव झेलेर साक्षर नेपालको सपना देखि रहने हो भने समयले हामीलाई अझै शताब्दीऔं पछाडि पार्नेछ । निरक्षरहरू बारम्बार साक्षरता कक्षामा भर्ना हुँदै हामीलाई छाडेर फर्किरहने छन् । सिक्ने र सिकाउनेको तत्परताको प्रतिफल हो सिकाइ । सिक्नेले उपयुक्त उत्प्रेरणा पाएन, वातावरण पाएन र सिकाउने के र कसरी सिकाउने भन्ने नबुझदा, दुवैको सुरताल ९धबखभ भिलनतज० नमिल्दाको परिणति हो– आउनेले अपेक्षित नसिक्नु । ‘हाम्रा’ मान्छे राख्नु परयो भन्ने दबाबबाट मुक्ति मिल्दा ‘राम्रा’ ले ठाउँ पाउने वातावरण बनाउनु जरुरी छ ।

उनै फेरि आए भन्ने गुनासोबाट जोगिन ‘निरक्षर को हुन र कहाँ छन्’ को निक्र्योल गर्न भरपर्दो तथ्याङ्क अत्यावश्यक भइसक्यो । एक वर्ष धान रोपेको खेत खनजोत न गरे अर्को वर्ष फेरि बाँझै पल्टिन्छ भन्ने कुरा लाई बिर्सिईंदा साक्षरता बारम्बार निरक्षरतातर्फ फर्कंदो छ । साक्षरतापश्चात्को निरन्तर शिक्षाको अवसरको सुनिश्चितता अपरिहार्य देखि एको छ । निरक्षर प्रौढको मुहान शिक्षाको अवसरबाट वञ्चित बालबालिका हुन् भन्ने न बुझदासम्म समस्याको निराकरण हुनै नसक्ने हुन्छ । वर्षेनि तलबाट थपिने निरक्षरताको बाढी रोक्न अनिवार्य प्राथमिक शिक्षाको बाँध बाँधेर माथिबाट आवश्यक बजेट तथा कार्यक्रम र सहकार्यको संरचनाले खोजी खोजी निरक्षरताका खाल्टाखुल्टी पुर्न सकेमा छिटै लक्ष्यमा पुग्न सकिन्छ ।

विसौनीमा पुग्न के गर्ने ?
हुन त नीतिभन्दा नियत प्रष्ट भएमा मात्रगन्तव्य शीघ्र र सहज हुन्छ । एउटा मात्र नेपाली निरक्षर रहँदासम्म सपना सार्थक नहुने र ‘मेरो उच्च शिक्षा, पद, प्रतिष्ठा र वैभवले पूर्णता प्राप्त गर्न सक्दैन’ भन्ने भावना सबै नेपालीमा जागृत हुन जरुरी छ । हामी सबैलेगच्छे अनुसारको जिम्मेवारी सम्हाल्नै पर्छ । अहिलेलाई कम्तीमा पनि :

  • शिक्षक, विद्यार्थी, विद्यालय, सामुदायिक अध्ययन केन्द्र र जिशिकाहरूले समग्र शिक्षाको जिम्मेवारी अरूको हैन हाम्रै हो । हाम्रै नेतृत्व र संयोजनमा यो काम पूरा हुनुपर्छ भन्ने सोचिदिने कि ?
  • गैससले निश्चित क्षेत्र भित्रको निरक्षरता उन्मूलनको उत्तरदायित्वसहितको जिम्मेवारी लिने हिसाबको सहकार्यका निम्ति हात बढाउने कि ?
  • राजनीतिक दलहरूले ‘मेरा कार्यकर्ता कतिले रोजगारी पाए’ भन्दा ‘मेरो कति मतदाता मतपत्रमा ल्याप्चे नलगाउने बने, कुनै बाँकी त रहेनन्, मेरा कार्यकर्ताले के अरूभन्दा बढी सिकाए, साक्षर पारे’ भन्ने सोचिदिने कि ?
  • आमसञ्चार, शिक्षाविद् र शिक्षाप्रेमीहरूले ‘यो वा त्यो भएन, खत्तम र बर्बाद भयो’ भन्दा ‘यसो गरेको भए हुने थियो’ भनेर पथप्रदर्शन गर्ने कि ? ‘यति उपलब्धि निरन्तरता दिन लायक छन्’ भनेर पनि उजागर गरिदिने कि ?
  • शिक्षा मन्त्रालयले साक्षर प्रौढले मात्र सबै बालबालिकालाई विद्यालयमा पठाउन, सिके नसिकेको बुझन र सघाउन सक्छन् । यो एक पटकको प्राथमिकीकरण र लगानीले एक पन्थ सय काज दिन सक्छ भन्ने तथ्यलाई आत्मसात् गरी तदनुरुप मातहत निकायलाई निर्देशनसहित अनौपचारिक शिक्षाको बजेटलाई झण्डै १ प्रतिशतबाट अलि माथि पुर्याउन रत्तिभर कन्जुस्याईं न गरी अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र अन्य मन्त्रालयसँग पनि समन्वय गरिदिने कि ?
  • अनौपचारिक शिक्षा केन्द्रले (जसलाई सरकार र मन्त्रालयले साक्षरताको फोकल निकाय तोकेको छ) अरूद्वारा सम्पादन गर्न सकिने ऐरे– गैरे काम कुरा मा नबहकिई नीतिगत सुधारको आवश्यक भए मात्र माथि हेर्दै विद्यमान नीतिको प्रभावकारी कार्यान्वयनका निम्ति सहकार्यको वातावरण सिर्जना गर्दै, साक्षरता कार्यक्रमको आवश्यकता र औचित्यत्यबारे पर्याप्त वकालत गर्दै समय र सिकारु सापेक्ष सिकाइका क्षेत्र विषयवस्तु र ढाँचा पहिल्याउँदै अगाडि मेलोमेसो मिलाउन सक्यो भने साक्षर नेपालको सपना अपेक्षित समयभित्रै विपनामा परिणत हुनसक्छ कि !

(पौडेल अनौपचारिक शिक्षा केन्द्रका निर्देशक हुन्)

commercial commercial commercial commercial