यो नै मान्यता बनोस् !

४२ वर्ष औपचारिक शिक्षामा संलग्न रहँदा ३३ वर्ष सामुदायिक विद्यालयमा गणित र आवश्यकता अनुसार अरू विषय पनि पढाएको अनि केही वर्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गर्दाको समेत अनुभवको आधारमा केही निचोड पस्कन चाहेको छु ।

एउटा बालक रित्तो भाँडो होइन । काँचो माटो जस्तो जे बनायो त्यो बन्ने पनि होइन रहेछ । ऊ प्रतिभा र सम्भावनासहितको जैविक प्राणी हो । जन्मपूर्व र जन्मपछि को अनुकूल वातावरणले जैविक मानव लाई सामाजिक मानव मारूपान्तरण गर्ने हो । प्रशस्त सम्भावनाहरूको जग तीन/चार वर्षभित्रमै बनिसकेको हुन्छ । जसमा परिवारको ठूलो भूमिका हुन्छ । त्यही जगमा विकास थपिंदै जाने हो । हुने बिरुवाको चिल्लो पात हुन्छ भन्ने भनाइ पनि आंशिक सत्य रहेछ । वातावरणले सघाएन भने हरियो पात पनि पहेंलिन्छ । यसको निचोड के हो भने एउटा बालकको शैक्षणिक उपलब्धिमा उसको प्रतिभा, शिक्षकको दक्षता तथा परिवेशको प्रभावको झण्डै बराबर स्वामित्व हुन्छ । यसैको आधारमा छोराछोरी माथि अपेक्षा राख्नुपर्दछ । क्षमता भन्दा कम अपेक्षा हीनताको स्रोत बन्न सक्छ भने क्षमता र परिवेश भन्दा बढी अपेक्षा महत्वाकांक्षा र निराशाको स्रोत बन्न सक्छ । यदि शिक्षक र अभिभावकबीचको अन्तरक्रियालाई जीवन्त बनाउन सक्ने हो भने छोराछोरीलाई उमेर र आवश्यकताको आधारमा अभिभावकले पनि मार्गनिर्देशन गर्न सक्छन् । यसको लागि शिक्षकले घरदैलो अभियान समेत चलाएका उदाहरणहरू छन् । अभिभावकले घरमा र शिक्षकले कक्षाकोठामा लोकतान्त्रिक अभ्यास गर्ने हो भने विद्यार्थी, अभिभावक र शिक्षकको उद्देश्य एउटै हुन्छ र समस्या साझ हुन्छ अनि उपलब्धिमा सामूहिक स्वामित्व हुन्छ । यति भइसकेपछि शिक्षक व्यवस्थापन, आर्थिक पारदर्शिता र अरू व्यवस्थापनका कुरा मा सकारात्मक प्रभाव पर्दछ ।


यो मन्थनको सार हो; शिक्षकले मात्रै चाहेर सबै कुरा गर्न सक्दैनन् । तर शिक्षकले नचाहँदा धेरै कुरा हुन सक्दैनन् । यो विश्वव्यापी सत्य हो । अतः ‘गरे शिक्षकले सक्छन्’ यो कुरा स्थापित मान्यता बनोस् भन्ने अपेक्षा राख्दछु ।


विद्यार्थीको मनोविज्ञान बुझनुपर्ने शिक्षकको मनोविज्ञान राज्यले, समुदायले बुझनुपर्दछ । यो महत्वपूर्ण सवाल हो । नेपाली शिक्षकहरू सं गठित भएर शिक्षकको पेशागत हितसँग जोडिएका थुप्रै मुद्दामा सरकार एवं राजनीतिक नेतृत्वलाई बुझाउन सफल पनि भए । अधिकांश विषयमा सम्झौता पनि गरिए । तर परिणाम मुलुक र समयले खोजे जस्तो आएको छैन । लगानी र प्रक्रिया रराम्रो छ भने परिणाम स्वतः रराम्रो हुन्छ भन्ने गुणस्तर मापनको आईएसओ मोडल मान्ने हो भने हराम्रो लगानी र प्रक्रियामा कहीं त्रुटि छ भन्ने बुझनुपर्दछ ।

रोजगारीको अवसर सृजना गर्ने चाहना तथा अंग्रेजी भाषाको बढ्दो मागको जगमा निजी विद्यालयहरू स्थापना भए । सामुदायिक विद्यालयको शिक्षक व्यवस्थापन लगायतका विषयमा हुने दल रगुटका हस्तक्षेप सशुल्क र निशुल्कको द्वन्द्व, असम्भव सपना बाँड्ने र दायित्व नलिने राजनीतिक नेतृत्व जस्ता कारणले गर्दा सामुदायिक विद्यालयहरू केही वर्ष देखि द्वन्द्वको भुमरीमा पर्न गए । सामुदायिक विद्यालयमा विकर्षण र निजी विद्यालयमा आकर्षण बढ्न थाल्यो । सचेत र जागरुक समूह निजीतिर लाग्यो । सामुदायिक विद्यालयको गुणस्तर निजीतर्फ स्थानान्तरण भयो । यो परिस्थितिलाई उल्ट्याउन र सामुदायिक शिक्षाप्रति आकर्षण बढाउन शिक्षक एवं पेशागत संगठनहरूको सहयोग विना सरकारले केही गर्न सक्ने देखिदैन ।

शिक्षकहरूको जथाभावी नियुक्ति रोक्न; भइरहेका शिक्षकमा लाइसेन्स प्राप्त हुने निहुँमा अध्ययन गर्ने बानी बसाल्न तथा त्यसो गर्न नसक्नेलाई सम्मान जनक बिदाइ गर्ने उद्देश्यले लाइसेन्स व्यवस्थाको माग गरियो । शिक्षककै पहलमा कानूनी व्यवस्था गरी शिक्षक सेवा आयोगको पनि स्थापना भयो तर उद्देश्य अनुरुप कार्यान्वयनमा आएन । लाइसेन्सको कारण एकातिर विद्यालय शिक्षणमा आउन चाहने बीएस्सी, एमएस्सी तथा अंग्रेजी गणित, समाज शास्त्र जस्ता विषयमा बीए, एमए गरेका, कम्प्युटर साइन्स पढेका विद्यार्थीलाई ढोका बन्द भयो भने अर्काेतिर शिक्षा क्याम्पसमा भर्ना हुन आउने विद्यार्थीको स्तर र क्याम्पसमा हुने गरेको पठनपाठन, राजनीतिक गतिविधि तथा परीक्षा प्रणाली हेर्दा त्यहाँबाट उत्पादित शिक्षकमध्ये ठूलो हिस्सा खासै आशलाग्दा देखिदैनन् । विद्यालय र विश्वविद्यालयका शिक्षक तथा विज्ञहरू बसेर यसमा मन्थन गर्नु जरुरी छ ।  

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको कारण विद्यालयहरू एकअर्काेमा विलय भइरहेका छन् । कतै शिक्षक संख्या बढी छ, कतै विद्यार्थी र शिक्षकको अनुपातमा ठूलो भिन्नता छ । शैक्षिक एवम् सामाजिक न्यायको दृष्टिले पनि दरबन्दी मिलान आवश्यक छ । यसमा पनि शिक्षक र पेशागत संगठनहरूको सहमति र पहल अनिवार्य छ । यो सबै मन्थनको सार के हो भने शिक्षकले मात्रै चाहेर सबै कुरा गर्न सक्दैनन् । तर शिक्षकले नचाहँदा धेरै कुरा हुन सक्दैनन् । यो विश्वव्यापी सत्य हो । अतः ‘गरे शिक्षकले सक्छन्’ यो कुरा स्थापित मान्यता बनोस् भन्ने अपेक्षा राख्दछु ।

सप्तगण्डकी बहुमुखी क्याम्पस, भरतपुर, चितवन

commercial commercial commercial commercial