एक साक्षरको भागमा पाँच निरक्षर

‘अक्षर’ भनेको स्वरसहितको व्यञ्जन वर्ण हो । स्वर वर्ण पनि अक्षर नै हो । संस्कृतमा ‘नक्षर इति अक्षर’ भनिएको छ । यसको अर्थ हो– ‘अक्षरहरू कहिल्यै नाश हुँदैनन् ।’ उच्चार्य वर्ण होस् कि लेख्य– एकपटक बोलिसकेपछि या लेखिसकेपछि त्यो नष्ट हुँदैन; त्यसकोरूप मात्र फेरिन्छ रे !

अब अक्षरको सन्दर्भलाई देशबाट निरक्षरता उन्मूलन गर्ने आकांक्षासँग जोडेर हेरौंः

जनसामान्यले बुझने भाषामा भन्ने हो भने– साक्षर भनेको अक्षर लेख्ने र पढ्ने हो । नेपाली भाषाकै हजुरमुमा मानिएको संस्कृतको सहारा लिएर भन्दा– ‘स अक्षर इति साक्षर’ अर्थात् जोसँग अक्षर छ, त्यो नै साक्षर हो । जसले अक्षर लेख्न वा पढ्न जानेको छ यथार्थमा त्यो नै साक्षर हो । अनि निरक्षर भनेको ‘निर अक्षर इति निरक्षर’ अर्थात् ‘जो पढ्न लेख्न जान्दैन वा दस्तखत आदि गर्दा पनि ल्याप्चेको प्रयोग गर्द छ त्यो नै निरक्षर हो ।’

अहिले नेपालमा करीब ६५ प्रतिशत मानिसहरू साक्षर छन् । अर्थात् एकसय जनामा अझै ३५ जना मानिस निरक्षर नै छन् । करीब तीन करोडको हाराहारीमा जनसंख्याको हिसाब भयो भने ३८ देखि ४० लाख नेपालीहरू अहिले पनि निरक्षर रहेका छन् ।

यसरी नेपालको सन्दर्भमा निरक्षरता प्रमुख चुनौतीका रूपमा रहेको छ । तर यसको उन्मूलन पनि सम्भव छ । त्यसका लागि चाहिन्छ– परिणाममुखी कार्ययोजना र पुरस्कार एवम् दण्डको संहितारूपी कानून ।

एकछिनका लागि म मेरै भूगोलको कुरा गर्छु । मैले पढाउने विद्यालयमा कक्षा १ देखि १२ सम्म पढाउनका लागि ५१ जना शिक्षकहरू कार्यरत छौं । यो विद्यालयमा १६०० विद्यार्थी पढ्छन् । त्यस भन्दा माथि स्नातक र स्नातकोत्तर तहको क्याम्पसमा एकहजार जति । दुवै जोड्दा २६०० हुन्छ । यहाँ सीटीईभीटी पनि सञ्चालित छ जसमा ८० जना पढ्छन् । खुला विद्यालय, समाहित शिक्षा र गृहिणी शिक्षामा अरू ६० जति पढ्छन् । यी सबै जोड्दा विद्यार्थी संख्या २७४० हुन्छ ।

८ देखि स्नातकोत्तर तहसम्मका प्रत्येक विद्यार्थीलाई कुनै कक्षा वा तह उत्तीर्ण गर्न तिनका वरिपरिका निरक्षर व्यक्तिहरू पहिल्याई हरेक विद्यार्थीलाई पाँच जना निरक्षरलाई साक्षर बनाउने जिम्मेवारी अनिवार्य रूपमा सुम्पिने हो भने यो विद्यालयको सेवा क्षेत्रभित्रकै करीब १५ हजार निरक्षर प्रौढ या अधबैंसेलाई हामी प्रति वर्ष साक्षर बनाउन सक्ने रहेछौं ।

यसरी एउटा विद्यालयले वार्षिक रूपमा १५ हजारका दरले निरक्षरता उन्मूलन गर्न सक्ने हैसियत राख्न सक्छ भने जिल्लाको आँकडाले त झन् आशातीत चित्र देखाउन सक्छ । हरेक जिल्लामा वार्षिक ३०–४० हजार मानिसलाई साक्षर बनाउन सकिन्छ । यस्तो क्षमतालाई औपचारिक शिक्षामा लगेर जोड्ने हो भने जो–कोहीले पनि यसको प्रभावकारिता अध्ययन गर्न सक्छ । सरकारी आँकडा अनुसार हरेक जिल्लामा सरदर ४० देखि ५० हजारको हाराहारीमा निरक्षरहरू रहेका छन् ।  

यसरी यो कार्यक्रमलाई पाँच/दश वर्ष अभियानकै रूपमा लैजाने हो भने हराम्रो देशको निरक्षरता उन्मूलन भई साक्षरता शतप्रतिशत पुग्नेछ । यसर्थ नेपालमा अघिअघि ल्याइएका पुराना प्रकारका ‘योजनाका लागि मात्र योजना’ बन्ने कार्यप्रणालीलाई बन्द गरी नयाँ र समुदायमा आधारित साक्षरताको अभियान थाल्नु ढिला भइसकेको छ ।

शिक्षक, मन्थली उमावि, रामेछाप

commercial commercial commercial commercial