एउटा किफायती तरीका

 

नेपालमा अझै पनि करीब ३८ लाख मानिसले साँवा अक्षरहरू पढ्न र लेख्न नजान्नु हामी सबैका लागि लाजमर्दो कुरा हो । तर देशबाट निरक्षरता उन्मूलन गर्न असम्भव भने छैन ।

निरक्षरता उन्मूलन गर्नका लागि सर्वप्रथम प्रत्येक गाउँ विकास समिति वा नगरपालिकामा सञ्चालित माध्यमिक तहका विद्यालयहरूलाई छनोट गर्ने । त्यसरी छनोट गर्दा सकेसम्म शिक्षा विषय पठनपाठन हुने विद्यालय छनोट गर्ने । ती विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई १ वा २ दिनको अन्तरक्रियात्मक अभिमुखीकरण तालिम दिने । कुन विद्यालयको सेवा क्षेत्रभित्र कतिजना निरक्षर छन् ? रेकर्ड अद्यावधिक गराउने र हरेक विद्यार्थीले आफ्नो घरटोल, छरछिमेकमा प्रत्येक बिहान/साँझ् आधा/आधा घण्टाका दरले प्रशिक्षण सञ्चालन गर्ने । त्यसरी एकजना विद्यार्थीले एकजना निरक्षर व्यक्तिलाई सिकाउँदा आवश्यक पर्ने एउटा हाते पुस्तिका जसलाई ‘साक्षरता हाते पुस्तिका’ भनेर नामकरण गर्न सकिन्छ; त्यसको व्यवस्था अनौपचारिक शिक्षा केन्द्रले गर्ने । साथसाथै सम्बन्धित विद्यालयको शिक्षा वा सामाजिक विषयका शिक्षकलाई तिनको निरीक्षण अनुगमन गर्न लगाउने । जिल्ला शिक्षा कार्यालयको चाहिं समन्वयात्मक भूमिका रहने व्यवस्था मिलाउने । यसरी व्यवस्था गर्दा जसले सिकाउने काम गर्छ (९ र १० का विद्यार्थीहरू) उनीहरूलाई दैनिक रु.१५ वा २० खाजा खर्च दिने, पढ्नेवालालाई एउटा हाते पुस्तिका र एउटा पेन्सिल उपलब्धगराइदिने । निरीक्षण अनुगमनकर्तालाई समेत सामान्य ‘इन्सेन्टिभ’को व्यवस्था गरिदिने । यो कार्यक्रम एक वर्ष वा एक शैक्षिक सत्र मात्र सञ्चालन गर्न सकिएमा एकै वर्षमा देशबाट निरक्षरता उन्मूलन गर्न सकिने कुरा मा कुनै शंका रहँदैन ।

यसरी देशका हरेक समुदायमा रहेका माध्यमिक तहका विद्यालयमा अध्ययनरत मावि तहका विद्यार्थी र सोही विद्यालयका विषयगत शिक्षकहरू परिचालन गरी विद्यालयको पठनपाठनलाई कुनै किसिमको अवरोध नपुर्याइकनै छोटो अवधिमै देशबाट निरक्षरता उन्मूलन गर्ने यो एउटा सजिलो, किफायती र प्रभावकारी उपाय हुन सक्दछ ।
भगवती मावि, सिमीचौर,गुल्मी

commercial commercial commercial commercial