यसरी ढाँट्न छोडौं, सफल भइन्छ !

सबै नागरिकलाई साक्षर बनाउनै पर्छ । अहिलेको युगमा निरक्षर नागरिक हुनु भनेको राष्ट्रको निम्ति पनि लाजमर्दो विषय हो । विश्वमा धेरै देशका नागरिक १०० प्रतिशत साक्षर छन् र ती देश विकसित पनि छन् । हाम्रो देशमा सम्पूर्ण जनताको ६३ प्रतिशत मात्र साक्षर छन् । यसले यो देश पिछडिएको छ भन्ने संकेत गर्छ । अशिक्षित व्यक्तिहरू सरसफाईमा कम ध्यान दिन्छन्, अन्धविश्वास, रुढीवादी परम्परामा बढी विश्वास गर्छन् । उदारणको लागि २०६६ सालमा जाजरकोट जिल्लामा झाडापखालाबाट २५१ जनाको ज्यान गयोे । सुदूरपश्चिमका पहाडी जिल्लामा छाउपडी प्रथाले कैयौं महिलाहरूको ज्यान लिइरहेको छ । कैयौं जिल्लामा बहुपति प्रथा चल्दै छ । जाजरकोट र रुकुम जिल्लामा सुत्केरी महिलाले बच्चाको न्वारान नगरुन्जेल गाईभैंसीको दूध खानुहुँदैन भन्ने चलन छ । धेरै नेपालीहरूको घरमा चर्पी छैन । कुनै संस्थाले चर्पी बनाइदिए पनि ‘घरभित्र दिसा आउँदैन’ भनेर खुल्ला ठाउँमा दिसा गर्दैछन् । यी सबै शिक्षाको कमिले नै भएका हुन् । सबै व्यक्ति साक्षर हुने हो भने सरसफाईमा ध्यान दिन्छन् र स्वास्थ्यमा सरकारले कम लगानी गरे पनि हुन्छ ।

शिक्षित व्यक्तिहरूलाई मात्र कुनै सीपमूलक तालिम सिकाउन सकिन्छ । त्यसैले सबै नागरिक साक्षर हुनु आवश्यक छ । अहिले बजारमा अनेकौं तयारी खाना पाइन्छन् । त्यसमा उत्पादन मिति र उपभोग्य मिति लेखिएको हुन्छ । साबुनको तौल अनुसार प्याकिङ गरिएको हुन्छ । यीे सबै अध्ययन गरेर उपभोग गर्न साक्षर हुनै पर्छ । शिक्षित वा साक्षर भएमा शोषितले शोषण गर्ने वर्गको विरोध गर्न सक्छन् । परिवारमा महिला शिक्षित भएमा आफ्ना बालबच्चालाई रराम्रोसँग साँवा अक्षर चिनाई विद्यालयमा पढ्न सहज बनाउँछन् । स्वास्थ्यमा पनि उत्तिकै ख्याल राख्छन् । जातीय हिसाबले दलित वर्ग कमजोर छ । यो वर्गलाई माथि उठाउन पहिला शिक्षित बनाउनुपर्छ ।


तीनमहिने वा ६ महिने भए पनि सकभर त गाउँमा कसैले थाहा नपाइकन साक्षरता कक्षा सकिन्छ, चले पनि १०–१५ दिनभन्दा चल्दैन । निरीक्षक आउने दिन सहभागीलाई ‘कक्षा सधैं चलेको थियो भन्नू’ भनी सिकाइन्छ । प्रायः निरीक्षककै सहयोग र मिलेमतोमा रिपोर्ट बनाइन्छ । अनि जिशिकामा पेश गरी मासिक तलब खाइन्छ ।

निरक्षर नेपालीलाई साक्षर बनाउन सरकारले जिशिकामार्फत प्रौढ कक्षा, महिला कक्षा, बालकक्षा र वैकल्पिक शिक्षा सञ्चालन गर्दै आएको छ । तर आजसम्म चलेका कक्षाहरूबाट सबै नेपाली साक्षर हुनसकेका छैनन् । यसको कारण हो, यी कक्षाहरूप्रति सबैको मन आकर्षित हुन नसक्नु । गाउँमा प्रौढकक्षा कसरी चलेका छन् त ? अनौपचारिक शिक्षाकेन्द्रले प्रत्येक जिल्लामा प्रौढकक्षा सञ्चालन गर्न कार्यक्रम बनाई पठाउँछ । जिशिकाले निश्चितगा.वि.स.का निश्चित वडामा कोटा छुट्याएर कहिले दलीय सहमतिमा प्रौढकक्षा सञ्चालन गर्न सहयोगी कार्यकर्ता र निरीक्षक छानेर पढाइदिनू भन्ने गरिन्छ भने कहिले सदरमुकाममा भेटिएका मानिससँग ‘फलानो वडामा प्रौढकक्षा सञ्चालन हुने भएको छ, भेटिए एसएलसी पास नभए टेस्ट पास भएका व्यक्तिलाई गा.वि.स. सचिवको सिफारिस लिएर पठाइदिनू’ भनी खबर पठाइन्छ । कहिलेकाहीं खबर दोहोरो हुनगई एउटा कोटाको लागि २/३ जना उछिनपाछिन गर्दै तोकिएको ठाउँमागई तालिममा सहभागी हुने गरेको पनि पाइएको छ ।

तालिम सकिएपछि नाम मात्रको शैक्षिक सामग्री लिएर गाउँमा फर्किने र सहयोगी कार्यकर्ताले आफूलाई पायक पर्ने ठाउँमा प्रौढकक्षाको सेन्टर तोक्ने रगणपूरक संख्या पुर्याउन निरक्षर र साक्षर मिलाई हाजिरी रजिष्टरमा नाम लेख्ने गर्छन् । तीनमहिने वा ६ महिने भए पनि सकभर त गाउँमा कसैले थाहा नपाइकन त्यो कक्षा सकिन्छ, नभए बढीमा १०–१५ दिन भन्दा कक्षा चल्दैनन् । कोही निरीक्षणमा आयो भने निरीक्षक आउँदाका दिन सहभागीलाई खबर गरी छिटो आउनु र कक्षा सधैं चलेको थियो भन्नू भनी सिकाइन्छ । या त निरीक्षककोे र सहयोगी कार्यकर्ताको मिलेमतोमा रिपोर्ट बनाइन्छ । अनि जिशिकामा पेश गरी मासिक तलब खाइन्छ । कहिले त निरीक्षकद्वारा कक्षा निरीक्षण न गरिकन नै किर्ते रिपोर्ट पेश गरिन्छ । निरीक्षकलाई पढाइ भए नभएको कुनै चासो हुँदैन किनभने उनीहरूको नाता सानो तलबसँग हुन्छ । सहयोगी कार्यकर्तालाई तोकिएको अवधिभर कक्षा सञ्चालन गरी परीक्षा लिनू भनी नेपाली, गणित सबै विषयवस्तुलाई समेट्ने गरी एउटा मोडेल पठाइएको हुन्छ । तर सहयोगी कार्यकर्ताले परीक्षा गराए को देखाउन आफैं बीसांै पानासम्म लेखेर सहभागीले गरेको भन्ने देखाई रिपोर्ट बनाई जिशिकामा पेश गरी तलब निकासा लिन्छन् । सहभागीहरू न त कक्षामा भाग लिन्छन् न त परीक्षा दिन्छन् । सकभर त गाउँमा कसैले थाहा नपाई प्रौढकक्षाको कार्यक्रम आउँछ जान्छ अनि अनौपचारिक शिक्षा केन्द्रमा रिपोर्ट जान्छ ।

कसरी सञ्चालन गर्दा निरक्षर व्यक्ति साक्षर होलान् त ? सबभन्दा पहिले प्रौढकक्षा सञ्चालन गर्न अहिलेसम्म चलिरहेको नीतिलाई परिवर्तन गर्नु पर्छ । २०६७ सालमा लिइएको निरक्षरता तथ्याङ्कको आधारमा प्रत्येक वडामा घुम्ती विद्यालय खोलिनुपर्छ ।

प्रौढकक्षाका सहयोगी कार्यकर्तालाई दिईने मासिक पारिश्रमिक रु.२,००० बाट वृद्घि गरी जिम्मेवारी बोध हुने किसिमको तलब दिनुपर्छ । तालिमको समय बढाउनुपर्छ । सहयोगी कार्यकर्ताको भर्ना विज्ञापनद्वारा गरिनुपर्छ । शैक्षिक सामग्रीको सन्दर्भमा राति पढ्नेभए बत्तीको व्यवस्था देखि चकबोर्ड, सहभागीलाई लेख्ने कापी, कलम, कक्षा सञ्चालन र परीक्षा सञ्चालन गर्न केही मसलन्दको व्यवस्था गरिनुपर्छ । सहभागीलाई पाठ्यपुस्तक अनिवार्य रूपमा पढाई शुरू हुने दिनमा नै उपलब्ध हुनुपर्छ ।

सामुदायिक विद्यालयमा गरीब, जेहेन्दार र दलित छात्रवृत्ति दिएझै प्रौढ, महिला र बालकक्षाका सहभागीलाई पनि हाजिरी अनुसार केही रकम दिने व्यवस्था गर्नु पर्छ । पढाइ सैद्धान्तिक र प्रयोगात्मक हुनुपर्छ । जस्तै बूढाबूढीलाई पसलमा साबुन किन्न पठाउने र कतिग्रामको साबुन ल्याउनुभयो भन्ने र शैक्षिक सामग्रीमा वास्तविक साबुन लगी ८०ग्राम, १००ग्राम छुट्याउन लगाउने, कति पैसा दिनुभएको थियो ? कति फिर्ता भयो ? भनी घटाउन लगाउन, कसैलाई ब्याट्री किन्न पठाई एनएस चिन्ह हेर्न लगाउने; मेडिकलमा लगी औषधी किन्न लगाई उत्पादन र उपयोग हेर्न लगाउने, बाटोमा साईनबोर्ड हेर्न लगाई कहाँ आइपुग्नुभयो भन्न लगाउने, सहभागीहरूमा झ्गडा परयो निवेदन लेखौं भनी लेख्न लगाउने आदि जस्ता ‘प्राक्टिकल’ गर्दै पढाएमा कक्षा रोचक बन्छ । पाठ्यपुस्तकमा राखिदिएमा यस्ता प्रयोगात्मक कक्षा सहयोगी कार्यकर्ताले सञ्चालन गर्न सक्नेछन् । अनि प्रौढहरूलाई परीक्षा लिई पास भएकालाई परिचयपत्र दिने र साक्षर प्रौढहरूलाई वृद्धभत्ताको रकममा केही थप गरी शैक्षिक भत्ता भनी दिने गरे मा निरक्षरता उन्मूलन हुन सक्छ ।

निरक्षर युवा वर्गलाई पनि प्रौढहरूलाई भन्दा अझ् गहिरो अध्ययन गराउनु पर्छ । नेपाली, गणित र अंग्रेजी पनि अध्ययन गराउनु पर्छ, प्रयोगात्मक र सैद्धान्तिक अध्ययन गराउनु पर्छ । कम्तीमा एक वर्षसम्मको अध्ययन अवधि बनाउनुपर्छ । परीक्षा लिई पास फेलको व्यवस्था पनि गर्नु पर्छ । फेल भएकालाई थप समय अध्ययन गराई पास गराउनु पर्छ । पास भएकालाई मात्र अन्य सीपमूलक तालिम दिनुपर्छ । सीपमूलक तालिम दिंदा ठाउँविशेष फरक हुनुपर्छ । पहाडमा स्याउखेती, आलुखेती, भेंडापालन, ऊन कात्ने तरीका, टिमुरखेती, सुन्तलाखेती, कागतीखेती र कागती निचोरेको खोस्टाबाट अचार बनाउन सिकाउनु पर्छ । भुईंकटहर,रूखकटहरको खेती, मौरीपालन जस्ता सीप प्रौढकक्षापश्चात् सिकाएमा रोजगार पाइने आशाले साक्षर बन्न आकर्षित हुन्छन् । निरक्षर बालबालिकालाई भने विशेष शिक्षा दिई औैपचारिक शिक्षामा प्रवेश गराउन सकिन्छ ।

निरक्षरता उन्मूलनका लागि महत्वपूर्ण काम भनेको निरीक्षण, अनुगमन र निर्देशन हो । यो काम गैर जिम्मेवार संस्थालाई दिन उपयुक्त हुँदैन । जिशिकामा अधिकृतको नेतृत्वमा अनौपचारिक शाखा खोली सञ्चालन गर्नु पर्छ । जिशिका नै शैक्षिक जिम्मेवार संस्था हो । निरीक्षण गर्दा तल्लो तहमा सम्बन्धित वडाका उ.मा.वि., मा.वि. नि.मा.वि., स्कूलका शिक्षकलाई जिम्मा दिनुपर्छ । त्यसपछि आर.पी. र आर.पी. भन्दा माथि वि.नि. छड्के जाँचमा जानुपर्छ । सहभागीहरूबाट प्र्रत्यक्ष परीक्षा लिनुपर्छ ।

प्रौढकक्षा विद्यालय समयभन्दा फरक समयमा पढाउनु पर्छ । ताकि निरीक्षणमा जाँदा विद्यालयको पढाइमा बाधा नपरोस् । शैक्षिक परिचयपत्र दिंदा विनि, निरीक्षक र सहयोगी कार्यकर्ताको रोहवरमा दिनुपर्छ । पाठ्यक्रम र पाठ्यपुस्तक सैद्धान्तिक र प्रयोगात्मक भएको हुनुपर्छ, जसले गर्दा सहभागीलाई सिक्न सजिलो र पढाइ आकर्षित हुनसक्छ । प्रयोगात्मक कक्षाले सम्झ्नलाई सजिलो बनाई पढाइ आकर्षित हुनसक्छ । प्रौढकक्षामा सहयोगी कार्यकर्ताले एउटा सहजकर्ताको भूमिका निर्वाह गरी व्याख्यानविधि प्रयोग न गरी सहभागीकेन्द्रित विधि प्रयोग गर्नु पर्छ ।

त्रिभुवन उमावि, दल्ली, जाजरकोट

commercial commercial commercial commercial