पशु सेवामा समर्पित युवक

जेटिए भेटनरी तालिम नपाउँदासम्म उनलाई कसरी आत्मनिर्भर हुने भन्ने चिन्ता थियो । उनीभित्र केही गर्ने आँट र सीप थिएन । परिवारमा पनि बोझ् भएजस्तो लाग्थ्यो । तर अहिले उनको अवस्था परिवर्तन भएको छ । “अब म केही गर्न सक्छु भन्ने आत्मविश्वास बढेको छ । परिवार र समाज को हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छ”, टीकापुर, कैलालीका २४ वर्षीय हीरालाल चौधरी बताउँछन् ।

आफैंले केही गरेर आत्मनिर्भर हुने विश्वास हीरालालमा त्यसै पलाएको होइन । रिच आउट टु एशिया (रोटा) को सहयोगमा एक्सनएड नेपालले दिएको छात्रवृत्तिबाट टीकापुरको आईसीएचमा १५ महीने जेटिए, भेटनरी तालिम पाएर उनी उत्साहित भएका हुन् । हालै उनले विजयनगरमा ‘चौधरी एग्रोभेटनरी क्लिनिक’ खोलेका छन् । यसबाट उनलाई रोजगारी र आयआर्जनको मौका मिलेको छ ।

उनको परिवारमा आठ जना छन् । सरकारले दिएको २ कट्ठा जग्गाले परिवारकोगुजारा चलाउन सम्भव थिएन । तालिमपछि स्वरोजगारको बाटोमा लागेपछि हीरालालको परिवारको दैनिकी पनि सहज भएको छ । “मैले कमाउन थालेपछि बुबालाई घर चलाउन सजिलो भएको छ”, हीरालाल थप्छन् । हीरालालको मिहिनेतबाट उनकी हजुरआमा, आमा, बुबा, पत्नीसहित परिवारका सबै सदस्य खुशी छन् ।


मोतीराम चौधरी, वर्ष ४० (बुबा)
म घर बनाउने डकर्मी काम गर्छु । विभिन्न ठाउँमा गरी १७ वर्ष कमैया बसें । गाउँमा सधैं काम पाईंदैन । परिवार ठूलो छ । पाल्न कठिन भइरहेको थियो । छोराले भेटनरी छात्रवृत्तिमा पढेर यो क्लिनिक खोल्यो । अहिले घरमा सहयोग गर्न थालेको छ । यसले परिवारको बोझ् केही कम भएको छ । फेरि, एउटै छोरो हो । पोहोरसम्म केही काम पाएको थिएन । आफूले दुः ख पाए पनि छोराले दुः ख नपाओस् भनेर सोच्थें । अहिले छोराले आफ्नै काम गर्न थालेको छ । गाउँलेलाई पनि फाइदा भएको छ । घरका ६ वटा बाख्राको उपचार गर्न बाहिर जानु परेको छैन । म खुशी छु । मेरो परिवारमा यसले खुशी ल्याएको छ ।

दीर्घदेवगिरी, वर्ष ४१ (ग्राहक)
एक वर्षअघि दैलेखबाट बसाइँ सरेर आएकोले मैले यो ठाउँ धेरै चिन्न बाँकी छ । घरमा चार वटा बाख्रा ऋण गरेर भर्खरै जोडें । एउटा बिरामी भएपछि कहाँ लाने, कसलाई बोलाउने भनेर चिन्तित थिएँ । एकजना छिमेकीले नजिकैको कमैया बस्तीमा भेटनरी क्लिनिक छ भनेर जानकारी दिएपछि जँचाउन पाइयो । भेटनरी जाँच्ने मानिस गाउँमा हुँदा कहाँ जँचाउने भनेर भौंतारिनु परेन, टीकापुरसम्म जानु परेन, पैसा र समय बचत भयो । यो क्लिनिकले हामीलाई निकै सजिलो भएको े छ ।


हीरालालको क्लिनिकबाट छिमेकीहरू पनि लाभान्वित भएका छन् । किनकि बस्तीमा अरू भेटनरी छैनन् । गाउँमै भेटनरी क्लिनिक खुलेपछि गाउँलेहरू टीकापुर जानुपर्ने बाध्यताबाट मुक्त भएका छन् । यसले उनीहरूको पैसा मात्र बचत भएको छैन, समय पनि जोगिएको छ । “बाख्रा, भेडा बिरामी हुँदा टीकापुरसम्म जानुपथ्र्यो । गाउँमै यो सेवा पाएपछि समय र पैसा बचत भएको छ”, छिमेकी चंकु चौधरी भन्छन् ।

हीरालालको क्लिनिकमा करीब ३० हजार रुपैयाँ बराबरको पशु औषधी छ । एक्सनएड नेपालले दिएको छात्रवृत्तिबाट १० हजार बचाएर अनि २० हजार रुपैयाँ ऋण लिएर उनले क्लिनिक खोलेका हुन् । निकै मिहिनेतले शुरू गरेको पेशा हुनाले हीरालालमा यसप्रतिको मोह पनि बढी नै छ ।
उनको बस्तीमा बढी पालिने पशुहरूमा क्रमशः बाख्रा, बंगुर र भेडा छन् । बाख्रालाई बढी मात्रामा पखाला लाग्छ । यस सम्बन्धी औषधी धेरै बिक्ने गरेको उनको अनुभव छ । बाख्रा पछि बंगुरको औषधी बढी बिक्छ ।

दिनमा ५–६ वटा पशु सम्बन्धी समस्या आउँछन् । ती काम उनी प्रायः बिहानै सक्छन् । उनी भन्छन्, “आफू नयाँ भएको ले बस्तीका मानिसको विश्वास जित्न र आफ्नो बजार बनाउन घरमा जाँदा पैसा लिएको छैन । गाउँको लागि सेवा गरेको छु । महीनाको करीब १२–१४ हजारको व्यापार हुन्छ । यसबाट करीब तीन हजार जति बच्छ ।” कसैले आवश्यक परेर बोलाउँदा हीरालाल तुरुन्तै पुगिहाल्छन् । उनी भन्छन्, “मैले सेवा गरेका कारण मेरो गाउँका पशुले उपचार पाएका छन् ।”

हीरालालको गाउँ विजयनगर, सरकारले कमैयाहरूलाई मुक्त घोषणा गरे पछि २०६० सालमा स्थापना गरिएको हो । यो बस्तीमा ४७७ घरधुरी छन् । त्यसमा करीब ७५ प्रतिशतले पशुपालन गर्छन् । मजदूरी र पशुपालनबाट उनीहरूकोगुजारा चलेको छ ।

हीरालालको सिकाइ टुंगिएको छैन । उनी छात्रवृत्ति पाएमा थप जेटीए पढ्ने विचार मा छन् । हाल उनी टीकापुर मल्टिपल क्याम्पसमा स्नातक पहिलो वर्षमा अध्ययनरत छन् ।

आफ्नो पारिवारिक जीवनमा आएको परिवर्तनबारे उनी भन्छन्, “एक्सनएड नेपालले छात्रवृत्ति नदिएको भए आज म यस्तो हुने थिइनँ । अहिलेसम्म ज्याला मजदूरी गरेर बस्नुपर्ने थियो ।” हीरालालले आफ्नो ‘करियर’ मात्र सुधार गरेका छैनन्, परिवार र समाज लाई पनि सेवा र टेवा पुर्याइरहेका छन् । यसबाट उनी खुशी हुने नै भए, अरूलाई पनि खुशी बनाएका छन् । सीप र जाँगर हुँदा जीवनमा परिवर्तन ल्याउन सकिन्छ भन्ने कुरा को एउटा दृष्टान्त हुन्— हीरालाल चौधरी ।

प्रस्तुतिः विनोद तिमिल्सेना

commercial commercial commercial commercial