जीवनः आनन्द लिने अवसर

पूर्वी तराईको साधारण परिवारमा आजभन्दा ६८ वर्षअघि जन्मिएको हुँ । मेरो बाल्यकाल पनि उतारचढावमै बित्यो । मेरो बुबा २००७ देखि १५ सालसम्म विभिन्न प्रधानमन्त्रीको निजी सचिव हुनुभएको थियो । निजी सचिव हुँदा खाने–बस्ने देखि हाम्रो रवाफ नै अर्को हुन्थ्यो भने अरू बेला हामी सडकमै आइपुग्थ्यौं । यतिसम्म कि हाम्रो परिवार दुई–तीन दिनसम्म भोकै बस्न बाध्य भएको थियो । भोको पेटले कलिलै उमेरमा भए पनि जीवनका धेरै यथार्थहरूसित साक्षात्कार गराउँदो रहेछ । र, भावी जीवनलाई निर्देशित गर्न अहं भूमिका खेल्दोरहेछ । मानिसमा सतत् करुणा भाव पैदा गर्दो रहेछ । त्यसैले होला, आर्थिक गरीबी व्यहोरिरहेका मानिसहरूप्रति आज पनि मेरो मनमा छुट्टै आदरभाव पैदा हुन्छ । मेरो समीपमा कोही यस्ता मानिस आइपुगे भने सकेको सहयोग गर्ने गरेको छु ।

आरोह–अवरोह जिन्दगीको सबभन्दा ठूलो पाठशाला रहेछ । मानिसले सबभन्दा धेरै यहींबाट सिक्दोरहेछ । बाल्यकालमा झै युवाकालमा पनि मेरो जीवनमा उतारचढावहरू आए । तीमध्ये दुईवटा मेरानिम्ति विशेष रूपमा उल्लेखनीय छन् । पहिलो, एक समय यस्तो आयो, जतिबेला मलाई आत्महत्या गर्ने विचार ले प्रबल रूपमा मनमा डेरा जमायो । मेरो इच्छा विपरितको इन्जिनियरिङको पढाइ, आम युवाहरूझै मनमा पालिएको महत्वाकांक्षा आदि कारणहरूले गर्दा म जीवनलाई अन्त्य गर्ने निष्कर्षतिर पुगिरहेको थिएँ । त्यस्तैमा ओशो रजनीशसित मेरो भेट भयो । उहाँसितको भेट नै मेरानिम्ति चामत्कारिक सिद्ध भयो । उहाँलाई मैले हृदय देखि नै गुरु स्वीकार गरे । उहाँले मेरो मनका सबै दुः खहरू हरण गरिदिनुभयो । मैले उहाँबाट जीवनको अर्थ, गरिमा, महिमा बुझन पाएँ, जीवनको आनन्द लिने कला सिकें । जीवनमा गुरुको अर्थ र गरिमा मैले पहिलो पटक त्यति बेला बुझें– गुरु त सबथोक हुँदोरहेछ, यदि गुरु साँचो अर्थमा गुरु हुनसक्यो भने ।


जीवन अद्भुत अवसर रहेछ । आनन्द लिने अद्भुत अवसर । जीवनको मूल अर्थ रहेछ, आनन्दित हुनु । सुख त मानिसको प्राकृतिक स्वभाव पो रहेछ ! दुः ख चाहिं हामीले बेसाएका रहेछौं । सामाजिकीकरणको प्रक्रियामा बेसाइएका दुः खहरूलाई छाड्न सके मानिस स्वतः सुखी हुनेरहेछ ।


तीन सन्तानको पिता भएको मैले श्रीमतीसित सम्बन्धबिच्छेद गर्नु पर्ने अवस्थामा पुगें । यो मेरानिम्ति अर्को अवरोह थियो । यसबाट मैले सम्बन्ध टुट्दाको पीडा के रहेछ भन्ने बोध गरे । एक्लै सुखी हुनु धेरै गाह्रो कुरा रहेछ भन्ने कुरा व्यावहारिक रूपमा पहिलो पटक बुझयिो । स्त्री–पुरुष दुवै एकअर्काका कति परिपूरक रहेछन् भन्ने कुरा बोध भयो । साथसाथै, एक्लो जीवनको स्वतन्त्रताको स्वाद पनि चाख्न पाइयो ।

मेरो भोगाइले भन्छ, जीवन अद्भुत अवसर रहेछ । आनन्द लिने अद्भुत अवसर । जीवनको मूल अर्थ रहेछ, आनन्दित हुनु । सदुपयोग गर्न सके यसले हामीलाई हरदम आनन्दित र सन्तुष्ट बनाइदिंदोरहेछ । दुरुपयोग गरे दुः ख र पीडा मात्र पाइँदोरहेछ । पश्चात्ताप, पीडा, क्रोध, मोह, अहंकारले हामीलाई दुः खी मात्र बनाउँदोरहेछ । मनमा यी कुरा हरू संग्रह गर्नु भनेको जीवनको दुरुपयोग गरेको ठहरिने रहेछ । सुख त मानिसको प्राकृतिक स्वभाव पो रहेछ ! दुः ख चाहिं हामीले बेसाएका रहेछौं । सामाजिकीकरणको प्रक्रियामा बेसाइएका दुः खहरूलाई छाड्न सके मानिस स्वतः सुखी हुनेरहेछ । ढङ्ग पुर्‍याउन सके सुखी हुन धेरै समय लाग्दो रहेनछ ।

हामी अधिकांश नेपाली आफ्नो शरीरलाई बेवास्ता गर्दारहेछौं । म पनि त्यसको अपवाद थिइनँ । तर जीवनलाई भोग्दै जाँदा थाहा भयो, जीवनको पहिलो वास्तविकता त शरीर पो रहेछ । त्यसैले शरीरलाई सर्वप्रथम आनन्दित तुल्याउनुपर्छ । स्वस्थ शरीर स्वस्थ मनको आधार हो । अस्वस्थ शरीरमा मन स्वस्थ हुन सक्दोरहेनछ । शरीरलाई स्वस्थ बनाउन सही खानपान चाहिन्छ । परिश्रम चाहिन्छ । दैनिक आधाघण्टा योग गरयो भने शरीर स्वस्थ हुन्छ । शरीरको स्वस्थताले मनलाई स्वस्थ बनाउन शुरू गर्द छ । तर मनमा आउने विचार हरूले मनलाई स्वस्थ बनाउनबाट रोक्छन् । ध्यान यस्तो एउटा अद्भुत तरिका रहेछ, जसले मनबाट विचार को छुट्टी गरिदिन्छ ।

दशकौं देखि योग र ध्यान गर्दा र नयाँपिंढीका मानिसहरूलाई सिकाउँदा सिकेको कुरा के हो भने नयाँ पुस्ताका मानिसहरूलाई सुखी बनाउन योग र ध्यानलाई स्कूल तह देखि नै सिकाउन थाल्नुपर्ने रहेछ । उमेर छिप्पिएपछि भन्दा सानै देखि नै योग र ध्यान सिकाउन सहज र प्रभावकारी हुने रहेछ । त्यसनिम्ति आजका स्कूले शिक्षकहरूका लागि योग र ध्यान शिविर आवश्यक छ । वर्षमा सात दिन मात्र शिक्षकहरूले यस्तो शिविरमा सहभागी हुन पाए भने उनीहरू आफैं पनि सुखी अनुभव गर्द छन्, नयाँ पुस्ताका मानिसहरूलाई पनि यस मार्गमा डोर्‍याउन सक्छन् ।

जसरी शरीरको स्वस्थताको निम्ति भिटामिनको आवश्यकता पर्दछ, त्यस्तै गरी मनको स्वस्थताका लागि उचित खुराकको आवश्यकता पर्दछ । त्यस्तो उचित खुराक हो, राम्रो विचार । रराम्रो पुस्तकले राम्रो विचार दिन्छ र राम्रो भावना पैदा गर्द छ । मनलाई सकारात्मक र ताजा तुल्याइदिन्छ । त्यसैले हामीले मनलाई स्वस्थ राख्न असल किताबहरू खोजी खोजी पढ्नुपर्ने रहेछ । पढ्न पाइएन भने सद्विचार युक्त प्रवचनहरू सुन्नुपर्ने रहेछ । सद्विचार सुनिएन भने मनमा कुविचार पस्न सक्छ, जसले मनलाई बिथोलिदिन्छ, दुः खी बनाइदिन्छ ।

काठमाडौं मन्दिरको शहर हो भनेर विश्वमै चिनिन्छ । चारधाम तीर्थ जाने कुरा हराम्रो संस्कृति नै हो । तीर्थ र मन्दिरको निर्माण त मनको शुद्धिको लागि पो भएको रहेछ । हाम्रा पूर्वजहरूले बडो बुद्धिमत्तापूर्वक यसको सृजना गरेका रहेछन् । सधैं सत्कार्यमा मन जाओस् भनेर मूर्तिरपी परमात्मासित आशीर्वाद मागिंदोरहेछ, जसले हाम्रो मनलाई सद्मार्गमा हिंड्न प्रेरित गर्दछ ।

पढाइ र पेशाले म इन्जिनियर हुँ । मैले लामो समय इन्जिनियरिङ क्षेत्रमा कन्सल्टेन्सी काम गरे, पैसा कमाएँ । तर म दर्शनशास्त्र, समाज शास्त्र, मनोविज्ञानको क्षेत्रमा रमाउने मानिस रहेछु । पिताजीको इच्छाको खातिर म इन्जिनियरिङ पढ्न भारतको पटना पुगेको थिएँ । तर जाँच पास गर्न भन्दा बढी रुचि मैले यो विषयको पढाइमा लगाउन सक्दै सकिनँ ।

विश्वविद्यालयमा हुने दर्शनशास्त्र र समाज शास्त्रका बहसहरूमा भाग लिन चाहिं म धेरै उत्सुक हुन्थें । पुस्तकालयमा रातभर बसेर ती विषयहरू पढिरहन्थें । तापनि मलाई कुनै कठिनाइको अनुभव हुँदैनथ्यो । रुचिका किताब पढ्दा समय बितेको पत्तै हुँदैनथ्यो । मेरो मूल रुचिको क्षेत्र अध्यात्म रहेको थाहा पाएपछि म बिस्तारै आफूलाई यसैमा केन्द्रित गर्दै गएँ र नेपालमा ओशो कम्युनको स्थापना गरी यसैको विकास र विस्तारमा आफूलाई समर्पित गरे । मेरो अनुभवको निचोड हो, हरेक मानिसले आफूलाई आत्मै देखि रुचि लागेको क्षेत्रमा लाग्नुपर्ने रहेछ– पढाइ होस् या काम । आफ्नो रुचिको काम गर्दा जीवनमा निखार, सन्तोष र आनन्द तीनै थोक एकसाथ आउँदोरहेछ । जीवन बितेको पत्तै हुँदोरहेनछ । समाज लाई पनि केही दिन सकिनेरहेछ । अरुचिको क्षेत्रमा समय हाल्नु भनेको समयको दुरुपयोग मात्र रहेछ ।

ओशोको शिष्य भए पनि यहाँ म धेरै वर्ष देखि गुरुको भूमिका निर्वाह गरिरहेको छु । म कस्तो गुरु भएँ भन्ने कुरा त मेरा चेलाहरूले बताउन सक्लान् । तर पहिले ओशोको चेलो भएर र पछि गुरुको भूमिका निर्वाह गर्दा मैले सिकेको महत्वपूर्ण कुरा हो, शिक्षकको ज्ञानभन्दा उसको व्यक्तित्वबाट चेला वा विद्यार्थीहरूले धेरै सिक्दारहेछन् । व्यक्तित्वको  छाप सबभन्दा शक्तिशाली हुँदोरहेछ । त्यसैले स्कूल, कलेज, विश्वविद्यालय वा समाज का जुनसुकै क्षेत्रमा पनि अरूलाई सिकाउने भूमिका बोकेको मानिसको व्यक्तित्व धेरै महत्वपूर्ण रहेछ । उसको चरित्र, आचरण, लवाइखवाइ, रहनसहन, रीतिरिवाज; यहाँसम्म कि उठाइ–सुताइको पनि अर्थ हुँदोरहेछ । त्यसैले जो मानिसले शिक्षकको भूमिका बोक्दछ (आमाबाबु हुन् वा स्कूलका शिक्षक हुन्) । ऊ ‘रोल–मोडल’ हुुने भएको ले उसले आफूलाई सधैं त्यही रूपमा प्रस्तुत गर्नु पर्ने रहेछ । सधैं आफूलाई नवीन र विश्वसनीय तरीकाले प्रस्तुत गर्नु पर्ने रहेछ । विद्यार्थी भविष्यमा कस्ता हुन्छन्, कता जान्छन्, के हुन्छन् भन्ने धेरै हदसम्म शिक्षक या गुरुको हातमा पो निर्भर हुँदोरहेछ ।

प्रस्तुतिः सुदर्शन घिमिरे

commercial commercial commercial commercial