अभिभावकहरू ! आफू पनि लगानी गरौं

विद्यालयमा आज वार्षिक परीक्षाको नतिजा प्रकाशन र वितरण हुँदैछ । चउरमा समारोहको लागि सानो स्टेज तयार छ । त्यहाँ विद्यार्थी र अभिभावकको लागि छुट्टाछुट्टै बेञ्च लहरै राखिएका छन् । कार्यक्रम शुरू हुन्छ । विद्यार्थीको लागि छुट्ट्याइएका बेञ्चका लहर आधा मात्र भरिन्छन्; तर अभिभावकको लागि छुट्ट्याइएका बेञ्च लगभग सबै रित्ता छन् ।

विद्यालय समय सकिन झण्डै १५ मिनेट बाँकी छ । विद्यालयकोगेट नजिकको सानो चौरमा अभिभावक भरिभराउ हुन्छन् । घण्टी बज्छ । प्रत्येक विद्यार्थीलाई हातहातमा समातेर अभिभावकहरू घरतिर लाग्छन् ।

माथिका दुई दृश्यमध्ये पहिलो मेरै विद्यालयको हो; जुन समुदायबाट सञ्चालित छ । यहाँ जहिले पनि अभिभावकको उपस्थिति अत्यन्तै कम हुन्छ । हाम्रो विद्यालयले शैक्षिक सत्र २०६८ मा गरेको एक सर्वेक्षणले वर्षभरिमा ७३–७४ जना अभिभावक मात्र विद्यालयमा उपस्थित हुने गरेको देखायो । भर्ना र नतिजा प्रकाशनको बेलाको कुरा अलग छ ।

दोस्रो दृश्य कुनै निजी स्तर बाट सञ्चालित विद्यालयको हो । त्यहाँ प्रत्येक दिन अभिभावकहरू विद्यार्थीको शैक्षिक स्थिति ‘अपडेट’ गर्न विद्यालयमा पुग्छन् । मेरो गुनासो बोर्डिङ सञ्चालकहरूसँग पटक्कै होइन, बरु धन्यवाद छ; उहाँहरूले त्यो किसिमको माहोल तयार गर्न सक्नुभयो, हामी सामुदायिकवालाले सकेनौं ।

हाम्रो विद्यालयले त शिक्षकले वर्षभरिमा औसत पाँच पटक एकजना विद्यार्थीको घर भ्रमण (होम भिजिट) गर्नै पर्ने नियम बनाएको छ । तर तीन पटक त अभिभावक नै भेटिनुहुन्न । विद्यालयको वार्षिक क्यालेण्डर अनुसार वर्षमा चार पटक शिक्षक–अभिभावक अन्तरक्रिया हुन्छ जसमा मुश्किलले २०–२५ जना अभिभावक उपस्थित हुन्छन् ।   

मेरो भोगाइले भन्छ हराम्रो विद्यालय जस्तै थुप्रै सामुदायिक विद्यालयहरू छन्; जहाँ वर्षभरिमा अभिभावकको सक्रियता लगभग शून्य छ । आदरणीय अभिभावकहरू ! एकपटक सोचौं त, एक वर्ष पनि रराम्रोसँग खान नपुग्ने खेतबारीलाई हामीले कति समय दिन्छौं र एक जना विद्यार्थीको भविष्यसँग जोडिएको विद्यालयमा हामीले कति समय दिन्छौं ?

शिक्षण सिकाइ क्रियाकलाप लाई मजबुत बनाउनमा अभिभावकको सक्रियताको पनि उत्तिकै योगदान हुन्छ । सम्पूर्ण अभिभावक साक्षर नभए पनि घरमा कोही न कोही सदस्य त पक्कै साक्षर हुन्छ जसले गृह कार्य र अध्ययन कार्यमा विद्यार्थी भाइबहिनीहरूलाई सघाउन सक्छन् । आखिर विद्यार्थीलाई संस्कार दिने त घर नै हो नि ! राज्यले त एकजना विद्यार्थीको लागि हजारौं रुपैयाँ खर्च गरिरहेकै छ । अलिकति पैसा र समय हामी आफ्नो तर्फबाट पनि लगानीगरौं । त्यसले धेरै बढी प्रतिफल दिन्छ । विद्यार्थीलाई एकजोर जुत्ता वा एउटाग्राफ पेज किन्न दशैं नै कुर्न र देउसी/भैलो खेल्न नपरोस् । सम्पूर्ण पेशामा जस्तै तुलनात्मक रूपमा हामी शिक्षक पनि कोही असल वा खराब छौं होला; तर अभिभावकको सक्रियताले खराब शिक्षकलाई पनि असल बन्न बाध्य पार्नेछ । परिणामतः सबै नानीहरूको भविष्य उज्ज्वल हुनेछ र देशको शिक्षा क्षेत्रमा सुधार हुनेछ । देशको राजनीति एकपटक बिग्रियो भने (२०–२५) वर्ष मात्र समस्या भोग्नुपर्दछ तर देशको शैक्षिक स्थिति बिग्रियो भने सिङ्गो पुस्ताकै भविष्य बर्बाद हुन्छ ।

बुद्ध मावि, अर्खले,गुल्मी



 

commercial commercial commercial commercial