ॐ गुरवे नमः

२०६८ साल फागुनको एक दिन म कीर्तिपुर पुगें— त्रि.वि. अङ्ग्रेजी केन्द्रीय विभागमा स्नातकोत्तर तहको चारित्रिक प्रमाणपत्र लिन । मेरो चारित्रिक प्रमाणपत्रले भन्छ, म ‘गुड’ विद्यार्थी हुँ । स्कूल, कलेज सबैले मलाई ‘गुड’ देखेका छन् । कीर्तिपुरबाट ओरालो झ्र्दै गर्दा म भावुक भएँ ।

त्यस रात केहीछिन मनखाएका शिक्षक–शिक्षिकाहरूबारे घोत्लिएँ । र; के आश्चर्यमा पुगेर अड्किएँ भने करीब २० वर्षको औपचारिक शिक्षाआर्जनको क्रममा देखेभोगेका हाराहारी १०० मध्ये जम्मा ४ जनाले मात्रै मेरो मनमा घर बनाएका रहेछन् ।

वसन्ती मिस
भनिन्छ, घर पहिलो पाठशाला हो तर घरमा मेरा शिक्षक–शिक्षिका को थिए यकिन भएन । घरपछि को पहिलो पाठशाला काठमाडौं, भोटेबहालको स्थानीय अरनिको स्कूल भयो । त्यो स्कूलमा मैले दुई वर्ष पढें । त्यस स्कूलकी वसन्ती मिसलाई अहिलेसम्म सम्झ्रिहेको छु । काली, हँसिली मुहारकी, हल्का बाक्लो पावरदार चस्मा लगाउने, श्रेष्ठ थरकी वसन्ती मिस विद्यार्थीलाई गर्ने मायाका लागि चिनिनुहुथ्यो । उहाँ भुराभुरीलाई कखग–एबीसी पढाउनु हुन्थ्यो । भर्खर स्कूल जाने भुराभुरीले त्योभन्दा बढ्ता के नै पो जान्नुपरयो र ? उहाँको बारे मैले धेरै कुरा नसझे पनि एउटी मायालु शिक्षकका रूपमा उहाँलाई सम्झिरहेको छु । उहाँले स्याउँस्याउँती विद्यार्थीमाझ मलाई के नै विशेष स्नेह गर्नु भयो होला र ? तर पनि २९ वर्षअघि वसन्ती मिसले गर्नु भएको मायाले मलाई उहाँको सम्झना गराइरहेको छ । वसन्ती मिसजस्तो मिस भएको स्कूलमा जान भुराभुरीलाई डरत्रास हुँदैन ।

सरिता मिस
अरनिको स्कूलमा दुई वर्ष पढिसक्दा पनि एक कक्षामा पुग्ने लक्षण न देखि एपछि म भर्खरै खुलेको स्थानीय दीप स्कूलमा हालिएँ । वसन्ती मिसजस्तै अर्की मायालु मिस त्यहाँ भेटिनुभयो, सरिता मिस । उहाँले हामीलाई नै त पढाउनु भएन, तर उहाँको मायालुपन पाउनबाट भने हामी चुकेनौं । शायद त्यही भएर म उहाँलाई अहिले पनि श्रद्धासाथ सम्झिरहेको छु ।

झोंछेतिरकी नेवार समुदायकी सरिता मिसको स्वर तीखो थियो र शरीर पातलो । तीनताक उहाँ अविवाहित हुनुहुन्थ्यो । उहाँले ढिलै बिहा गर्नु भयो । वसन्ती मिसले जस्तै उहाँले मलाई विशेष स्नेह गर्नु भएको होइन । यद्यपि उहाँ मायालु शिक्षिकाका रूपमा हामी विद्यार्थीहरू माझ प्रसिद्ध हुनुहुन्थ्यो । उहाँको त्यो प्रसिद्धि हामीलाई उहाँले गर्ने मायाकै कारण फैलिएको हो । उहाँ विद्यार्थीहरूलाई पिटपाट न गर्ने, माया गर्ने खालकी हुनुहुन्थ्यो । हामीलाई ‘तिमी’ भनेर बोलाउनुहुन्थ्यो, आम–सरमिसले भन्ने ‘तँ’ विपरीत । उहाँ सोझी पनि हुनुहुन्थ्यो । कति सोझी भने छालाले मोरेको भकुन्डो भित्रको फुटेको सुन्तले ट्युबलाई पनि सियोले सिउने !

एकपटक बिहान नौ–सबा नौतिर स्कूल पुगेर हामी भकुन्डो खेल्दै थियौं । भकुन्डो उछिट्टिएर सडकमा पुग्यो । सडकमा गुडिरहेको ट्याक्सीको चक्काले भकुन्डोलाई कुल्च्यो । भकुन्डो फुट्यो । फुटेको भकुन्डो लिएर हामी डराई–डराई स्कूलको माथ्लो तलामागयौं । हामी डराएको देखेर सरिता मिस पनि डराउनुभयो । हेडसरको गाली खाइने डर उहाँलाई पनि भयो होला । उहाँले भकुन्डोको ट्युब सियोधागोले सिइदिनुभयो । मलाई द्विविधा परयो । हैन, फुटेको ट्युबलाई धागोले सिएर हावा अडिन्छ के ?

आज त्यो स्कूल छोेडेको २५ वर्षपछि पनि म सरिता मिसलाई सम्झिरहेको छु, एउटी मायालु ठूल्दिदीका रूपमा ।

दीपक सर
समयक्रममा ११ वर्षको हुँदा भानुभक्त मेमोरियल स्कूल, पानीपोखरी पुगें । कक्षा ५ मा हामीलाई नेपाली पढाउन आउनुभयो दीपक सर । म कुनै उम्दा विद्यार्थी थिइनँ, तर उहाँको विषय नेपालीमा भने ठीकठीकै थिएँ ।

उहाँ शायद कीर्तिपुरमा एमएड पढ्दै हुनुहुन्थ्यो । हामीलाई फेनल बोर्ड, विविध चित्र, आकृतिहरू लगायतका प्रयोगात्मक सामग्री ल्याएर पढाउने गर्नु हुन्थ्यो । उहाँ विद्यार्थीलाई पिटपाट न गर्ने, माया गर्ने कोमल हृदयको सरका रूपमा परिचित हुनुहुन्थ्यो । उहाँको व्यवहार पनि राम्रो लाग्थ्यो हामीलाई । पाँच कक्षामै पढाउने कतिपय सर हामीलाई त्राहि त्राहि पार्थे । विज्ञान पढाउने खड्का सर त्रासका पोका नै थिए । उता दीपक सर भने मरुभूमिका छहारी सरह । उहाँसँग भानुभक्त मेमोरियलमा २०४४ साल फागुन देखि २०४५ साल पुससम्म एक शैक्षिक सत्र कक्षा पाँचको नेपाली पढियो । उहाँको प्रभाव दिमागमा नमेटिने गरी बसेको छ । एउटा मायालु शिक्षकका रूपमा ।

रमेश सर
स्कूले जीवनपछि को क्याम्पसे जीवन करीब नौ वर्ष लम्बियो । करीब ६० जना शिक्षक–शिक्षिकासँग पढियो होला, तर एक जना मात्र स्मृतिमा छन्, रमेश शर्मा । रमेश सर रत्नराज्य कलेजमा आइए र बीएको ऐच्छिक अङ्ग्रेजी पढाउँथे । मैले उनलाई सम्झनुको कारण हो, उनी भाउ खोज्दैनथे र इमान दार हुने प्रयास गर्थे । कालान्तरमा उनी उमेर खाएको साथी झै भए ।

‘आधुनिक शिक्षक’ शीर्षक प्रबन्धमा इन्द्रबहादुर राईले सन् १९५० मैलेखेका थिए– जहाँ पुराना शिक्षक गुरु शिष्यहरू देखि सत्कार माग्छन्, अलग्ग बस्छन्, आफ्ना व्यक्तिगत कुरा को शिरपुच्छर छोप्छन्, आधुनिक शिक्षक खुला छ, केवल केटाहरूको खुला मन र सच्चाइ खोज्छ, मिसिन्छ । ऊ भन्छ, ‘म लुकाउँदिनँ । मेरो विषयमा जे–जति साँचो छ जसले पनि जानोस् ।’ राईको आधुनिक शिक्षकको छनक दिने रमेश सर सोधेको कुरा नजानेको, थाहा नपाएको छ भने, ‘खोइ थाहा छैन’ भन्थे ।

कालान्तरमा रमेश सर अङ्ग्रेजी दैनिकमा समाचार लेख्ने काम गर्न थाले । म पनि पत्रकारिता पढ्ने भएकाले उनीसँग आफ्नो लेखाइ जँचाइमाग्न उनको संसर्गमा गइरहन्थें । उनी हामीलाई लेखपढ गर्न हौस्याइरहन्थे । धरणीधर बाजेले ‘गरी काव्य सुधा–रस पान अरे/गर मानव –जीवन सार्थक रे’ भनेझै रमेश सर हामीलाई साहित्य रसपान गर्न हौस्याइरहन्थे ।

कवि विलियम बट्लर यिट्सको उक्ति– ‘शिक्षा भनेको बाल्टिन भरेजस्तो होइन, आगो सल्काए जस्तो हो ।’ रमेश सरमा विद्यार्थीको मस्तिष्कमा ज्ञानको आगो दन्काउने क्षमता थियो । यो संसारमा मास्टरले सबै कुरा जान्दैन र मास्टरले भाउ खोज्दैन भन्ने कुरा को लागि म उनलाई सम्झिरहेको छु ।

अहिले म आफैं मास्टर भएको छु । मलाई विद्यार्थीहरूले कुन रूपमा लिन्छन् थाहा छैन । खगेन्द्र संग्रौलाले ‘एउटा मास्टरको बकपत्र’ मा लेखेका छन्– ‘मलाई हजारौं केटाकेटीले वर्षौसम्म एकै ठाउँमा एक टकले हेरेका छन् । म कल्पना गर्छु त्यसरी मलाई हेर्दाहेर्दा तिनको मान सपटलमा स्मृतिको गाढा रंगले अंकित भएको मेरो बिम्ब कस्तो होला ? हवल्दारजस्तो ? जब यस्तो अप्रिय प्रश्न मेरो मनमा उब्जिन्छ, म सधैं झस्किन्छु ।’

म पनि बेला बेला झस्किन्छु, दश वा बीस वर्षपछि मेरा विद्यार्थीले मबारे के सोच्लान् ? कतै म हृदयचन्द्र सिंह प्रधानको ‘खैराती मास्टर’ त भइरहेको छैन ? तर भन्नैपर्ने एउटा सत्य के हो भने, मेरा आम शिक्षक साथीहरूझै म पनि पैसाको लागि पढाउँछु । जगत नै पैसामुखी हुँदै गएको छ । यस्तो अवस्थामा वर्षभरि मनाइने अरू पूर्णिमाको के महत्व हुन्छ कुन्नि; गुरुपूर्णिमाको महत्व भने दिन पर दिन घट्दै गइरहेझै लाग्छ । देवकोटा बाजेले ‘भलाद्मी’ शीर्षकको प्रबन्धमा ऊबेलै लखेका थिए, ‘पंडित र गुरु भन्ने लबजमा केही फिक्कापन चढ्न लागेको छ ।’

म कल्पन्छु, त्यो फिक्कापन अहिले खुइलिएर सेतो मात्र होइन खैरै भइसकेन र ? मलाई वसन्ती मिस, सरिता मिस, दीपक सर किन राम्रा लागे भने उहाँहरूको मायालु पनले गर्दा राम्रा लागे । एउटा भुरो आखिर शिक्षक–शिक्षिकाको मायामा लुटपुटिने रहेछ । मैले उहाँहरूबाट विद्यार्थीहरूसँग मायालु हुनुपर्छ भन्ने सिकें । रमेश सर इमान दार थिए, मैले पनि इमान दार हुनुपर्छ भन्ने सिकें । बीस–बीस वर्ष औपचारिक शिक्षा लिने क्रममा पढिएका करीब १०० जनामा जम्मा ४ जना मात्र चिरस्मरणीय भएका छन् । एक–दुई अपवाद बाहेक अन्य शिक्षक–शिक्षिका अगतिला थिए भन्ने कुरो पनि होइन । तर केटीकेटी छँदा जसले माया गरे, जसले स्नेह गरे ती प्रिय भए । अलि ठूलो भएपछि जसले हृदयमा ज्ञानको हुटहुटी चलाइदिए तिनै प्रिय लागे । जसलाई सम्झ्ँदा मात्र पनि शीतल अनुभव हुन्छ ।

गुरु माझी हो । उसले नदी तार्ने काम गर्छ । विद्यार्थी यात्री हो, ऊ संसार घुम्न निस्कन्छ । माझीले तारिदिने भएकाले नै यात्रीको संसार यात्रा सम्भव हुने हो । ॐ गुरवे नमः ।

commercial commercial commercial commercial