अनुकूल रहने पाठ: बङ्गलादेशी अनुभव

कार्बन उत्सर्जनमा विकासोन्मुख राष्ट्रहरूले विकसित देशको तुलनामा साह्रै कम योगदान गर्छन् । तर, वायुमण्डलमा पुगेको हरित गृह ग्याँसको असरले भने मुलुकहरूलाई धनी र गरीब भनेर छुट्याउँदैन । जलवायु परिवर्तनको प्रतिकूल असर सबै राष्ट्रमा त्यत्तिकै पर्छ । आर्थिक, प्राविधिक आदि हिसाबले कमजोर राष्ट्रले बढी जोखिम भोग्नुपर्छ किनभने चुनौती सामना गर्ने तिनको क्षमता विकसित राष्ट्रको तुलनामा न्यून हुन्छ । विकासोन्मुख मुलुकका पनि कमजोर वर्गको जीवनस्तर मा जलवायु परिवर्तनको नकारात्मक प्रभाव अझ् बढी पर्छ ।

जलवायु परिवर्तनको प्रत्यक्ष असर पर्न सक्ने नेपालको एउटा छिमेकी मुलुक हो, बङ्गलादेश । विश्व तापक्रम वृद्धि हुँदा ध्रुवीय हिउँ पग्लिएर समुद्री सतह बढ्न जाँदा त्यसबाट प्रभाव पर्ने मुलुकमा बङ्गलादेश पर्छ । समुद्र सतहबाट केही मात्र माथि रहेको र ठूलो जनसङ्ख्या भएकाले जलवायु सम्बन्धी संवादमा बङ्गलादेशको उदाहरण अगाडि आउँछ । त्यहाँका सरकार एवं स्वतन्त्र विश्लेषकहरूले अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो मुलुकको चासो र जोखिम सशक्त ढङ्गले उठाउने पनि गरेका छन् ।

जलवायु परिवर्तनका कारण तापक्रममा वृद्धि र वर्षाको चरित्रमा समेत फेरबदल आउन सक्ने कुरा विभिन्न अनुसन्धान, आकलन तथा स्थानीय अनुभवबाट पनि प्रष्ट हुँदैछ । वर्षाको चरित्रमा फेरबदल हुँदा अधिकांश बासिन्दा कृषिमा निर्भर रहेका बङ्गलादेश जस्ता देशको जीवनस्तर मा पर्ने असर चुनौतीपूर्ण हुन्छ । समयमा वर्षा नभए बालीको उत्पादकत्वमा ह्रास आई खाद्यान्न सङ्कट समेत सिर्जना हुन सक्छ ।

यस्ता प्रतिकूल असरहरूबाट स्थानीय समाज र बासिन्दालाई कसरी सुरक्षित राख्ने भन्ने महत्वपूर्ण प्रश्न हो । के यस्ता जोखिमसित अनुकूल रहन विकासोन्मुख मुलुकका बासिन्दा सक्षम होलान् ? स्थानीयस्तर मा अनुकूलनका उपयोगी उपायहरूको खोजी आवश्यक छ । यसै पनि मानिसहरू चुप लागेर बस्दैनन्, आफैं  पनि प्रयास गर्छन् । यस्ता प्रयासलाई कसरी सरकारी प्रयासले टेवा पुर्‍याउने ?

यो पंक्तिकारलाई बङ्गलादेशमा स्थानीयस्तर मा अनुकूलनका के–कस्ता उपायहरू गरिएका छन् भन्ने जान्ने–बुझने मौका मिलेको थियो । बङ्गला देशको गोपालगन्ज जिल्ला अन्तर्गत पर्नेगोवालग्राम र बैकुण्ठपुर गाउँमा ‘बीसीएएस’ नामक स्थानीय संस्थाको सहयोगमा अनुकूलनका उपायहरू अपनाइएका छन् । यी दुई गाउँमा ५०० को हाराहारीमा जनसङ्ख्या छ । मुख्य जीविकोपार्जन कृषि रहेको यहाँका बासिन्दाहरू माछा मार्ने,गाईबस्तु पाल्ने र ज्यालादारी गर्ने पनि गर्छन् । पानी जम्ने र डुबान— दुवै गाउँको मुख्य समस्या हो । वर्षात्मा सबैजसो घर र खेतीयोग्य जमिन बाढीका कारण डुबानमा पर्ने गर्छन् । एक ठाउँबाट अर्को ठाउँमा जान बासिन्दाहरू डुङ्गा प्रयोग गर्छन् । पौडिनुपर्ने बाध्यता पनि पर्छ । डुबानले महिला, बालबालिका तथा वृद्धवृद्धाको अवस्था झन् अप्ठ्यारो बनाउँछ । घर, खेत र जग्गा डुबेपछि महिलाहरूलाई शौचालय प्रमुख समस्याका रूपमा देखिन्छ । कतिपय महिला त खाना र पानी समेत नखाई बस्छन्, शौचालय जानु नपरोस् भनेर । मानव सभ्यता नसुहाउँदो यस्तो व्यवहारले महिलाहरूको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको हुन्छ ।

विश्व तापक्रमसँगै समुद्री सतह बढ्यो भने डुबान भइरहने बङ्गलादेशमा थप समस्या उत्पन्न हुनेछ । यस्तो स्थितिमा स्थानीयस्तर मा अनुकूलनका उपाय अपनाइँदा भविष्यमा जोखिमबाट बच्न सकिन्छ । निदानका उपायका रूपमा बीसीएएसको सहयोगमा गाउँका घरहरू डुबानले नभेट्ने गरी उठाइएका जगमा बनाइएका छन् । यी घरको उचाइ सन् १९८८ को बाढीलाई आधार लिएर बढाइएको छ । सन् १९८८ को बाढीलाई बङ्गलादेशको इतिहासको सबैभन्दा विनाशकारी बाढीको रूपमा लिइन्छ । बीसीएएसले प्रारम्भिक अध्ययनको लागि ३० घरको उचाइ लगभग ४ देखि ५ फिटसम्म बढाएको छ । यसरी घरलाई बाढी तथा डुबानबाट सुरक्षित राख्दा स्थानीय बासिन्दाको जीवनस्तर सुध्रिएको छ । उनीहरूका वस्तुभाउ पनि जोगिएका छन् । बाढी र डुबानले घर बिगारेपछि त्यसलाई मर्मतसम्भारमा लाग्ने खर्च तथा मिहिनेत पनि कम भएको छ । प्रारम्भिक अध्ययनको तीन वर्षमा नै ६९ परिवारले आफ्नो घरको उचाइ बढाएर सुरक्षित भएका छन् । त्यसका लागि बीसीएएसले प्रतिघरलाई २ हजार टाका दिएको थियो भने बाँकी श्रम र लगानी सम्बद्ध परिवारले नै जुटाएका थिए ।

कृषियोग्य जमिन डुबानमा पर्ने प्रभावबाट उम्किन काठमा माटो भरेर कृत्रिम जमिन बनाइएको छ जुन पानीमा तैरिन सक्छ । प्रशस्त रूपमा पाइने जलकुम्भी झरलाई पानीमा तैरिने गरी १ह१ मिटरको प्लट बनाइन्छ । यसलाई स्थानीय भाषामा ‘वाइरा’ भनिन्छ । यस्तो वाइरामा विभिन्न तरकारीहरू उत्पादन गरिन्छ । त्यसै गरी काठको फल्याकमा माटो भरेर पनि तरकारीहरू उब्जाइन्छ । यसरी डुवानका कारण खेती गर्न कठिन भएको स्थितिमा यस्ता कृत्रिम जमिनमा तरकारीहरू उत्पादन गर्दा स्थानीयको पोषणको आवश्यकता केही हदसम्म भए पनि पूरा हुने गरेको छ । यसरी वर्षाको समयमा तयार गरिएको वाइरालाई सुक्खा याममा जैविक मलको रूपमा बालीमा प्रयोग गरिन्छ ।

स्थानीयस्तर मा गरिएका यस्ता उपाय जलवायु परिवर्तनबाट हुनसक्ने बढ्दो जोखिमलाई कम गर्न र जीवनस्तर उकास्नमा सहयोगी छन् । यस्ता उपायहरू अरू बाढी र डुबानग्रस्त राष्ट्रहरूका लागि पनि उपयोगी हुनसक्छन् । तर पनि , समग्रमा कार्बन उत्सर्जन नघटाइकन यस्ता उपायकै भरमा करोडौं घरपरिवारलाई अनुकूल राख्ने प्रयास भने पूर्ण सफल नहुन सक्छ ।

(रवि वेन्जू आइसेट–नेपालमा अनुसन्धान सहायकका रूपमा कार्यरत छन् ।)



 

commercial commercial commercial commercial