शिक्षाको दुनियाँ

‘शिक्षक’ भन्ने बित्तिकै हाम्रो मस्तिष्कमा एउटा साधारण व्यक्तिको तस्वीर घुम्छ– जो रुटिन अनुसार प्रत्येक घण्टीमा एकपछि अर्को कक्षामा दगुर्छ; कहिले माया गरेर त कहिले हप्कीदप्की गरेर विद्यार्थीलाई केही कुरा सिकाउँछ र हरेक साँझ् थाकेर घर फर्किन्छ । चल्तीको धारणा अनुसार शिक्षकको कर्तव्य पाठ्यक्रम अनुसार विद्यार्थीलाई परीक्षाका लागि तयार पार्नु, प्रश्नपत्र बनाउनु र उत्तरपुस्तिका परीक्षण गर्नु आदि हुन् । अनि एउटा सामान्य शिक्षकको प्राप्ति भनेको मासिक तलब, केही सुविधा र विद्यार्थीले प्राप्त गर्ने सफलताबाट प्राप्त हुने आत्मसन्तुष्टि हो ।

तर पाकिस्तानको स्वात उपत्यकामा पर्ने मिंगोरका जियाउद्दिन युसुफजाई एक त्यस्ता शिक्षक हुन् जसलाई शिक्षकका लागि भनेर तोकिदिएको काम, कर्तव्य र अधिकार मात्र पर्याप्त भएन । उनले आफ्नो भूमिका आफैं विस्तार गरेर देश–काललाई नै हल्लाइदिने सत्यकथाका निर्देशकका रूपमा प्रस्तुत र परिचित भए ।

बुर्काभित्र अनुहार लुकाएर पुरुषको दमन–शोषण र यातनालाई अल्लाहको मर्जीको रूपमा स्वीकार गर्दै आएका पाकिस्तानी महिलाको परम्परागत जमातलाई विस्थापित गर्नका लागि जुझरु र तर्क–बुद्धियुक्त अगुवा महिलाहरूको जमात तयार पार्ने उद्देश्यका साथ युसुफजाईले १७ वर्षअघि खुसहालगल्र्स स्कूल एण्ड कलेजको स्थापना गरे । अहिले खुसहाल एउटा स्कूल वा शिक्षण संस्था मात्र होइन, एउटा आन्दोलनकै रूपमा परिचित हुन थालेको छ । त्यहाँका हरेक शिक्षक यो अभियानलाई पूरा गर्न लागिपरेका छन् ।

जोखिम र चुनौतीपूर्ण कार्यको नेतृत्व गर्ने कतिपय व्यक्तिहरू त्यो कार्य, प्रणाली वा संगठनमा आफ्नै परिवारका सदस्यलाई सामेल गराउन भने डराउँछन् । आत्मघाती वा हिंस्रक आन्दोलन चलाउने कैयौं नेताका सन्तान सुरक्षित र आलिशान जीवन बाँचिरहेका दृष्टान्त हाम्रै वरिपरि पनि पाइन्छन् । तर युसुफजाईले यसमा पनि हिम्मत देखाए । उनले आफ्नो योजनालाई विद्यालयमा पढ्न आउने अरू बालिका वा युवतीहरूमा मात्र सीमित राखेनन् । उनले आफ्नै छोरी मलालालाई विद्यालयमा त आफ्नो उद्देश्य अनुकूलको शिक्षा दिए नै, साथसाथै घरमा पनि सोही अनुरुपका कुरा कानी एवं मार्ग निर्देशन गर्दै गए । मलाला करीब नौ/दश वर्षकी भए देखि नै हरेक रात सुत्नुअघि जियाउद्दिन उनलाई देश, राजनीति जस्ता विषयमा बताउने गर्दथे ।

पाकिस्तानका इस्लामिक अतिवादीहरू महिला शिक्षाको विरोध गर्छन् र महिला शिक्षा बन्द गराउने अभियानस्वरुप आफ्नो उर्दी नमान्ने माथि शारीरिक, मान सिक प्रहार गर्छन् । त्यति मात्र होइन, उनीहरूले शिक्षण संस्थाहरू माथि पनि आक्रमण गर्ने गरेका छन् । यही कारणले युसुफजाईले हुर्कंदै गरे की आफ्नी छोरीलाई सन् २००८ को सेप्टेम्बर सुरुताकाबाट शिक्षाको अधिकारका बारेमा पनि बताउन शुरू गरेका थिए । जबकि त्यतिबेला मलाला केवल ११ वर्षकी थिइन् । उनी मलालालाई खुला किसिमले सोच्ने र व्यवहार गर्ने विश्व नागरिकका रूपमा हुर्काउन चाहन्थे ।

छोरीलाई शिक्षा अधिकारका बारेमा बुझाउने क्रममा उनले मलालालाई बोल्नका लागि पेशावरको प्रेस क्लबमा लगे । त्यहाँ मलालाले नारी शिक्षा विरुद्ध तालिवान अतिवादीहरूले दिएका धम्कीको प्रतिवाद गर्ने क्रममा भनेको “शिक्षा लिन पाउने मेरो आधारभूत अधिकार खोस्ने कसैको के तागत ?” भन्ने वाक्यले पाकिस्तानी समाज मा तरङ्ग नै पैदा गरयो । मलालाको त्यो कथनलाई पाकिस्तानका पत्रपत्रिका एवं टेलिभिजन च्यानलहरूले ठूलो महत्व दिएर प्रकाशन एवं प्रसारण गरे ।

त्यति मात्र नभई जियाउद्दिनले आतंकवादले जनजीवन र शिक्षा लिन पाउने अधिकार माथि पारिरहेको प्रभावका बारेमा विश्व समुदायलाई जानकारी गराउन बीबीसीमा ब्लग लेख्न आफ्नो विद्यालयकी अर्की छात्रालाई प्रोत्साहन गरे । आयसा नामकी ती छात्राले केही समय लेखिन् पनि , तर सुरक्षाको कारण देखाउँदै उनले त्यहाँ लेख्न छोडेपछि त्यो जिम्मेवारी पूरा गर्न उनले आफ्नै छोरी मलालालाई अघि सारे ।

केही वर्ष देखि पाकिस्तानमा सरकारले नागरिकलाई सुरक्षाको अनुभूति दिनसकेको छैन; आतंकवादीको धाकधम्की दिनप्रतिदिन बढ्दो छ । पाकिस्तानका कुनै स्कूलका छात्राहरूलाई आफूले देखेको सुन्दर भविष्यको सपना पूरा गर्न सजिलो छैन, खुसहाल विद्यालयका छात्राहरूका निम्ति त त्यो जोखिम अझ् बढी छ । तैपनि त्यहाँका छात्राहरू जोखिम मोलेरै विद्यालय आइरहेका छन् । सीएनएनद्वारा प्रस्तुत एक भिडियोमा खुसहाल विद्यालयकी एक छात्रा भन्छिन्, “स्कूल नजानु, जे पनि हुनसक्छ भनेर बुबा बाहिर निस्कनुभयो, म आमालाई साथीहरूसँग खेल्न जान्छु भनेर सुटुक्क स्कूल आएकी हुँ ।”

विद्यालयको शिक्षा र बाबुको दीक्षाका कारण मलाला माझ्ंिदैगइन् । महिला शिक्षा एवं समग्र महिलाका अधिकारका पक्षमा सार्वजनिक अभिव्यक्तिहरू उनका लागि खतरा बन्दै गए, ज्यान मार्नेसम्मका धम्कीहरू समेत आउन थाले । तर पनि बाबुको साथ र प्रोत्साहनका कारण उनी आफ्ना सहपाठीहरूलाई समेत साथमा लिएर सक्रिय रही नै रहिन् । यसैक्रममा २३ असोज २०६९ (९ अक्टोबर २०१२) का दिन परीक्षा दिएर फर्किने क्रममा स्कूल भ्यानमा रहेकी मलालालाई बन्दूकधारीहरूलेगोली हाने । मिंगोरको स्थानीय अस्पतालमा उनको प्रारम्भिक उपचार भयो । पछि उनलाई बेलायतको क्वीन एलिजावेथ अस्पतालमा लगियो । त्यहाँ दुई महीनाभन्दा बढी समयको उपचारपछि मलाला घर फर्किएकी छिन् । तालिवान कट्टरपन्थीका कार्यकर्ताले मलालाको मुख बन्द गराउन हानेकोगोलीले उनको दाहिने कञ्चटको हड्डी छेडेको भए पनि मस्तिष्क भने सुरक्षित रहेका कारण मलालाको मुख बन्द गराउने कट्टरपन्थीहरूको सपना हाललाई चकनाचूर भएको छ ।

जियाउद्दिनको सपना माथि भएको यो प्रहार केवल एक घटनाका रूपमा सीमित रहेन । बरु यो घटनापश्चात् मलालाको समर्थन साथै महिला शिक्षाको मागका कार्यक्रमहरू चम्किए । यसमा सञ्चारमाध्यमहरूले पनि उल्लेखनीय साथ दिए ।

मलालाको साहसिक कदमको आधारका सम्बन्धमा टाइम पत्रिकाले लेख्यो, “खुसहाल विद्यालयका हरेक छात्रा मलाला हुन् ।” महिला शिक्षाको पक्षमा निरन्तर लडिरहेका जियाउद्दिनलाई संयुक्त राष्ट्रसंघका विशेष दूत एवं बेलायती पूर्व प्रधानमन्त्रीगोर्डन ब्राउनले विश्वभर महिला शिक्षाको विकास का लागि आफ्नो सल्लाहकारमा नियुक्त गरेका छन् । यसपछि अब उनले शिक्षाको अवसरबाट वञ्चित एवं विभेदमा पारिएका संसारभरका पाँच करोड बालिकाहरूका लागि रचनात्मक भूमिका निर्वाह गर्ने छन् ।

दुर्गा लामिछाने/केदार शर्मा


commercial commercial commercial commercial