घरायसी ऊर्जा प्रविधि र नीतिका प्रश्न

बिजुली मात्रै बाल्न पाए पनि जीवनको स्तर केही माथि जान्छ । तर चुनौती— खाना पकाउन काठ–दाउराको प्रयोग घटाउनु पनि हो । यो दिशामा अघि बढ्न, प्रविधि सजिलो र सस्तो हुनुपर्छ ।

स्वच्छ, किफायती तथा भरपर्दो ऊर्जा समृद्धिका लागि अपरिहार्य वस्तु हो । भरपर्दो ऊर्जा आपूर्तिविना आर्थिक उन्नति सम्भव छैन । यो तथ्यलाई हालसालै अमेरिकी संस्था ‘नोआ’ ९ल्इब्ब्० ले सार्वजनिक गरेको चीन र भारतको रातको तस्वीर (तल) ले प्रष्ट गर्छ । चित्रमा पूर्वी चीन र भारत उज्याला छन् । उज्यालो हुनुको अर्थ पर्याप्त ऊर्जा खपतसँगै जागिर, उद्योग र सेवा क्षेत्रको विकास भएको संकेत पनि हो । यो चित्रमा नेपाल देखि ंंदैन अर्थात् अँध्यारोले ढाकिएको छ । स्वाभाविकै हो, सन् २०११ मा भारत र चीनको वार्षिक वृद्धिदर क्रमशः ६.९ र ९.३ प्रतिशत थियो भने ती दुईको बीचमा रहेको नेपालको ३.९ प्रतिशत मात्रै ।

आर्थिक वृद्धिदर मात्रै उन्नतिको सूचक पक्कै होइन, तथापि नेपालको आर्थिक वृद्धिदर माथि जान नसक्नुको एउटा कारण परम्परागत ऊर्जा माथिको निर्भरता कायम रहनु पनि हो । जल तथा ऊर्जा आयोग सचिवालयको सन् २०१० को तथ्याङ्कले भन्छ— नेपालीको लगभग ८७ प्रतिशत ऊर्जा काठ–दाउरा, कृषि अवशेष रगुइँठाजस्ता स्रोतबाट आउँछ । सन् २०१० मा पङ्क्तिकारले रसुवा जिल्लाको स्याफ्रुबेंसीमा गरेको अध्ययनले त्यहाँका करीब ९० प्रतिशत घरधुरी परम्परागत ऊर्जामा आश्रित देखाएको थियो । आइसेट–नेपाल ले पश्चिमाञ्चलका ६ वटा गाविसमा जलवायु परिवर्तनको जोखिम आकलन गर्न र त्योसँग अनुकूलन रहने विधिको खोजतलास गर्ने क्रममा त्यहाँका करीब ८२ प्रतिशत घरधुरीले परम्परागत ऊर्जाको प्रयोग गरिरहेको पाएको छ । यो आँकडा नेपालको औसत ऊर्जा खपतसँग मेल खान्छ ।

परम्परागत ऊर्जा स्रोतहरू खाना पकाउन र आगो ताप्न मात्र उपयोगी छन्, बत्ती बाल्न, मोबाइल फोन, इन्टरनेट जस्ता सञ्चारका साधन प्रयोगका लागि काम लाग्दैनन् । स्कूल, कलेज र स्वास्थ्य सेवाको सञ्चालन पनि यस्ता स्रोतबाट हुँदैन, कलकारखानाको त कुरै छाडौं । काठ–दाउराको निरन्तर प्रयोग स्वास्थ्यका हिसाबले पनि ठीक छैन । दाउरा बाल्दा आउने धुवाँले घरभित्र प्रदूषण बढाउँछ, जसको असर महिलालाई बढी पर्छ, किनभने खाना पकाउने काममा उनीहरू बढी खट्छन् ।
माथि उल्लिखित ऊर्जा प्रयोगको स्थितिमा कसरी सुधार ल्याउने ? नेपालको राष्ट्रिय ग्रीडबाट आउने बिजुलीको माग धान्न अत्यन्त अपर्याप्त छ । शहरी क्षेत्रमा खाना पकाउन मूलतः ग्यास प्रयोग हुन्छ । नेपालमागत वर्ष १ लाख ८१ हजार मेट्रिक टनग्यास खपत भयो । यो स्थितिमा नेपालका शहरी तथाग्रामीण भेकका घरमा बिजुलीले खाना पाक्ने कुरो सम्भव तुल्याउन ठूलै नीतिगत परिवर्तन जरुरी देखिन्छ । त्यसनिम्ति उपयुक्त प्रविधि त चाहिन्छ नै ।

नेपालमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र तथा अरू थुप्रै गैर सरकारी संस्थाहरूको सहयोगमा विभिन्न नवीकरणीय ऊर्जा प्रविधि प्रयोग हुँदैछन् । जस्तै, साना जलविद्युत्, सोलार होम्स प्रणाली, सुधारिएको चुलो,गोबरग्यास र विक्रेट । वातावरणमैत्री र कम प्रदूषण गर्ने भए पनि यस्ता स्रोतको व्यापक प्रयोग भने हुन सकेको छैन, यसमा थुप्रै जटिलताहरू छन् । कतिपय प्रविधि महँगा छन् भने नयाँ प्रविधिको प्रयोग शुरू गरिहाल्न मानिसहरू स्वाभाविकरूपमै अनकनाउँछन् । कतिपय सन्दर्भमा प्रविधि जडान गरेर पनि परिवार र समुदायमा सीप र क्षमता नहुँदा समस्या पैदा हुने गरेको छ । अर्घाखाँची जिल्लाको हंसपुर गाविसमा केही सीमान्त घरधुरीले आफ्नै खर्चमा सोलार बत्ती जडान गरे तर सीप र क्षमता नहुँदा ती मर्मत हुन सकेनन् । यसरी उचित सहयोगविना प्रविधिको प्रयोग दिगो हुँदैन ।

नेपाली समाज को विविध सामाजिक, आर्थिक चरित्रका कारण ऊर्जाको हकमा पनि भिन्न नीति र बाटो लिनु आवश्यक छ । पहाड र तराईका सीमान्त घरधुरीलाई यो कुरा तत्काललाई समयसापेक्ष नहुन सक्छ । राष्ट्रिय ग्रीडबाट विद्युत् सेवा पाउने विश्वका अन्य मुलुकजस्तै नेपालका गाउँमा पनि मोबाइल फोन र इन्टरनेट शिक्षामा प्रयोग हुन थालेको छ । यसनिम्ति सोलार वा साना जलविद्युत् नै पर्याप्त छन् । सूचना तथा प्रविधिको उपलब्धता प्रत्याभूत गरे पछि घरपरिवारले विस्तारै नयाँ विधि र तरिका पनि सिक्न थाल्छन् । परिवर्तनको बाटो लिन प्रेरित हुन्छन् ।

नेपालमा भित्रिने विप्रेषण र अन्य आर्थिक स्रोतलाई विकेन्द्रित नवीकरणीय ऊर्जा उत्पादनतिर लगाउन सरकारले नीति ल्याउनु उचित हुन्छ । यस्तो विकास मा लगानी भएका उदाहरण पनि छन् । गोरखाको माम्बु गाविसका एक व्यक्तिले वैदेशिक रोजगारीमा कमाएको रकम सानो जलविद्युत् आयोजनाको निर्माणमा लगाएका कारण गाउँका सबै घरले बिजुली बाल्न पाएका छन् ।

भरपर्दो र दिगो ऊर्जाले आय आर्जनका भिन्न–भिन्न उपाय शुरू गर्न सहयोग गर्छ । रोजगारीका विविध उपाय उपलब्ध हुनु भनेको जलवायु परिवर्तनले ल्याउने जोखिम सामना गर्ने क्षमता बढ्नु पनि हो । ऊर्जाको उचित व्यवस्था गर्न नसक्दा नेपालबाट वैदेशिक रोजगारमा जाने युवाहरूको सङ्ख्या बढ्दो छ । विप्रेषणले परिवारको आम्दानी बढाएको त छ तर त्यसले आफ्नैखाले सामाजिक चुनौती पनि खडा गरेको छ ।

बिजुली मात्रै बाल्न पाए पनि जीवनको स्तर केही माथि जान्छ । तर चुनौती— खाना पकाउन काठ–दाउराको प्रयोग घटाउनु पनि हो । यो दिशामा अघि बढ्न, प्रविधि सजिलो र सस्तो हुनुपर्छ । त्यसको प्रयोगकर्तालाई बिग्रेमा के गर्ने , कता कहाँ जाने ? भन्ने जानकारी हुनुपर्छ । नेपालका शहरहरूमा यस्ता सेवा उपलब्ध छन् तर गाउँठाउँमा छैनन् । यस्ता विषयहरू केलाएर नीति बनाउनु कर्तव्य हो । तर त्यस्तो नीतिको कार्यान्वयन र अनुगमन पनि त्यत्तिकै महत्वपूर्ण कुरा हो ।

commercial commercial commercial commercial