गैंडाको बलि !
एकातिर मरेका पितालाई तार्न बाँचेको छोराले गोली ठोकेर गैंडा मार्छ र अर्कोतिर बाँचेका पितालाई उनकै पुत्रले गोली नै ठोकेर हत्या गर्छ। डा. मिश्रको यो पुस्तक रहस्यै रहस्यले सजिएको एउटा दस्तावेज र वास्तविक अभिलेख पनि हो ।
नेपाल प्रकृति संरक्षणको आत्माको रूपमा चितवनको एकसिङे गैंडा स्थापित छ । गैंडाको अप्राकृतिक मृत्युमा सम्पूर्ण नेपाली दुखित हुने गर्छन् । गैंडा मार्नेलाई कानूनी सजाय पनि ठूलो नै हुन्छ । गैंडाका अङ्ग–प्रत्यङ्गको ओसार–पसार वा खरीदबिक्रीमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतिबन्ध छ । यो विश्वकै दुर्लभ एवं संरक्षित प्राणी हो । तैपनि गैंडालाई मार्ने र यसको मर्ने क्रम सधैं चिन्ताको विषय बन्ने गरेको छ ।
गैंडाको रूपरङ र चरित्र विचित्रको हुन्छ । त्यही विचित्र चरित्रको गैंडा गाथालाई आफ्नै आत्मकथाको रूपमा सँगालेर डा.हेमन्तराज मिश्रले ‘गैंडाको आत्मा’ शीर्षकको एक उत्तम पुस्तक निर्माण गरेका छन् । उनको ‘द सोल अफ द राइनो’ नामक अंग्रेजी भाषाको मौलिक पुस्तक सन् २००८ र सन् २०१२ मा विदेशी प्रकाशन गृहहरूबाट निस्केको थियो । अंग्रेजी पाठकलाई पस्केको त्यो नेपाली खुराक २०७६ पुस १७ गते नेपाली थालमा एक सरस र सरल पकवान बनेर वन्यजन्तु पीडित उद्धार कोषको तर्फबाट प्रकाशित भएको छ । पूर्व राष्ट्रपति डा.रामवरण यादव तथा वन तथा वातावरण मन्त्री माननीय शक्तिबहादुर बस्नेतको उपस्थितिमा गैंडाको आत्मा लोकार्पण भयो । लगभग २४० पृष्ठको त्यो पुस्तक पढेपछि मेरा मनमा खेलेका अनेक कुराहरू शिक्षक एवं विद्यार्थीमाझ् पु¥याउने मनसायले यो लेख तयार पारेको छु ।
गैंडा ज्यादै भद्दा र भारी स्तनधारी पशु हो । हात्तीपछिको दोस्रो ठूलो जनावर गैंडा नै हुनुपर्छ । सामान्यतया यो दुई टन अर्थात् दुई हजार किलोग्राम वजनको र झ्ण्डै ६ फुट अग्लो हुन्छ । गैंडाको विशेषता यसको बाक्लो छालामा हुन्छ । यसको बाक्लो छाला ढाल अर्थात् सुरक्षा कवचको रूपमा रहेको हुन्छ । तर गैंडाको मूल पहिचान भनेको यसको खाग नै हो । हाम्रो गैंडामा एउटा मात्र खाग हुन्छ र त्यो नाकै माथि उम्रेको हुन्छ । वैज्ञानिकहरूले ग्रीक भाषाको सहायता लिएर लैटिन भाषामा गैंडालाई ‘राइनोसेरस’ (Rhinoceros) जातिको ‘युनिकर्निस’ प्रजातिमा राखेका छन् । राइनो (Rhino) को अर्थ— नाक र सेरोस (Ceros) को अर्थ हड्डी वा सिङ हुन्छ । त्यस्तै युनिकको अर्थ— एक र कर्निसको अर्थ पनि सिङ हुन आउँछ । हामी पनि यसलाई एकसिङे गैंडा भन्दछौं । तर गैंडाको यो सिङ हाम्रो गाई, भैंसीको जस्तो खप्परकै अभिन्न अङ्ग भने हैन । यो अवयव हाम्रो औंलाको नङ वा शरीरको बाहिर पलाउने अङ्ग हो । यो हड्डीको अंश हैन ।
सामान्यतया गैंडाको एउटा सिङ वा खाग एक किलो वजनको हुन्छ र त्यसको लागि हजारौं अमेरिकी डलर तिर्न मानिसहरू तयार हुन्छन् । गैंडा स्वयंको लागि खाग न लौरो हो न हतियार ! आपसी जुधाइमा यसको कुनै भूमिका हुँदैन । सिंगौरी खेलेर जमीन खन्न, जोत्न पनि यो काम लाग्दैन । भाले–पोथी दुवै प्राणीमा सिङ या खाग हुन्छ । उनीहरूबीचको आपसी आकर्षणमा पनि यसको कुनै काम छैन । तर गैंडाको खाग नै गैंडा हत्याको मूल कारण बन्ने गरेको छ । गैंडाको खागलाई यौनवद्र्धक औषधिको रूपमा लिने मानिसहरू चीन, भारत, जापान लगायत मध्यपूर्वी देशहरूमा छरिएका छन् र खागको बढी माग पनि त्यहींबाट हुन्छ । यसको अर्को प्रयोग सजावट र शक्ति प्रदर्शनका सामानका रूपमा पनि हुने गर्छ । खाडी राष्ट्र यमनका धनाढ्यहरूले बोक्ने छुरीको बिंडमा गैंडाको खाग जडिएको छ भने त्यसको मूल्य र मान्यता नै बेग्लै हुन्छ । यस्तै गरेर गैंडाको खागको प्यालाले विषादी मिसिएको मदिरा वा अरू खाद्यवस्तु तुरन्तै छुट्याउने काम गर्छ भन्ने विश्वासले पनि खागको मूल्य आकाशमा पु¥याउन मद्दत गरेको छ । यस्ता परम्परागत विश्वास र अन्धविश्वासहरू कुनै पनि वैज्ञानिक अध्ययन वा अनुसन्धानबाट पुष्टि भएका छैनन् । फगत अन्धविश्वासको गहिराइमा डुबेका मानिसको सोख र चाहनाले गैंडाको खाग तस्करीको सञ्जाल एशिया र युरोपमा फैलन सफल भएको छ ।
गैंडा विनाशको अर्को अन्धविश्वास केही हिन्दूहरूको पितृ तर्पणसँग पनि जोडिएको छ । श्राद्ध गर्दा, पितृलाई जल र पिण्ड दान गर्ने परम्परा छ । प्रत्येक पिण्डमा एक टुक्रा गैंडाको अङ्ग (छाला, मासुको सुकेको टुक्रा) समावेश गर्ने चलन छ । काठमाडौंमा पूजा सामग्री बेच्ने पसलहरूमा गैंडाको सुकुटी मासु भनेर स–साना टुक्राहरू खरीद गर्न सकिन्छ । त्यसका अतिरिक्त, यहाँ पुरोहितले पनि गैंडाको छालाले बनेको खगौतो साथमा लिएर श्राद्ध कर्म गराउन आउने चलन छ । पितृ तर्पणमा त्यो वस्तु अनिवार्य मानिन्छ । तर यस्तो चलन सबैतिर नहुन सक्छ । पितृ तार्ने यस्ता अन्धविश्वास राजा महाराजाहरूमा बेग्लै ढङ्गले गाँजिएका हुन्छन् । यस विषयमा डा.हेमन्त मिश्रले गैंडाको आत्मा मा यसरी प्रकाश पारेका छन्— “नेपालको परम्परा अनुसार गद्दी आसन गरेपछि गैंडा तर्पण दिनुपर्ने हरेक राजाको धार्मिक कर्तव्य थियो । धार्मिक विधि अनुसार गैंडाको शरीरभित्रबाट राजाले पितृहरूलाई गैंडाको मुटुको रगतको तर्पण दिंदै, देशको शान्ति र समृद्धिको लागि पूजाआजा गर्नुपथ्र्यो । त्यसको अतिरिक्त, राजकीय रीतिरिवाज अनुसार तर्पण दिइने गैंडाको शिकार राजा वीरेन्द्रको आफ्नै हातले गर्नु अनिवार्य थियो । सुशील राजाको रेखदेखमा तर्पणका लागि उपयुक्त भाले गैंडा खोज्ने र त्यसको निगरानी गर्ने मेरो मुख्य जिम्मेवारी थियो । त्यो जिम्मेवारीले म वन्यजन्तु संरक्षकबाट शाही गैंडा शिकारीमा रूपान्तरण भएँ ।”
नेपालको प्रचलित कानून अनुसार गैंडा मार्ने व्यक्तिलाई पाँच वर्षदेखि १५ वर्षसम्म कैद र रु.५० हजारदेखि रु.१ लाखसम्म जरिवाना वा दुवै सजाय हुन्छ । तर यस्तो ऐन–कानून राजालाई लाग्दैनथ्यो । तसर्थ दिलोज्यानले गैंडाको संरक्षणमा लागेका कर्मचारी नै कसरी गैंडा शिकारीमा परिणत हुन पुगे र तत्कालीन राजाले गैंडाको आलो रगतले कसरी आफ्ना पितृलाई तर्पण दिए भन्ने कुराको मनोहर वृत्तान्त यो पुस्तकमा समावेश छ । लेखकको शब्दचित्रण र घटनाक्रमको सविस्तार वर्णन ज्यादै रोचक छ । शिकार र शिकारीका कुराहरू त्यसै पनि कौतूहलपूर्ण र घत लाग्ने हुन्छन् नै । तर डा. मिश्रको लेखन हृदयविदारक पनि छ ।
राजाले शिकार गर्ने र तर्पण दिनुपर्ने जनावर भाले नै हुनुपर्छ । पोथी पर्नुहुँदैन । तसर्थ, डा.मिश्र तथा उहाँका सहकर्मीहरूले भाले गैंडा कसरी ठम्याए, त्यसलाई कसरी निगरानीमा राखे र राजाको बन्दूकको निशानामा पारे भन्ने विवरण निकै हृदयस्पर्शी छन् । राजगुरु तथा पुरोहितहरूले राजा वीरेन्द्रबाट गरिने तर्पणको साइत २०३५ सालको २८ पुस निकालेका रहेछन् । गैंडा लगायत अन्य वन्यजन्तुको संरक्षण र संवद्र्धनका लागि राष्ट्रिय निकुञ्जहरूको स्थापनामा लागेका राजा स्वयं त्यस्तो अन्धविश्वासको खाल्डोमा फसे अथवा फसाइए भन्ने रहस्य बुझन सजिलो छैन । यो किताबले पनि त्यसको खुलासा गर्दैन ।
२०३५ सालको त्यो ऐतिहासिक शाही–शिकारको वृत्तान्त पस्किंदै डा.मिश्र आफ्नो किताबमा लेख्छन्— ‘राजारानी र राजपरिवारका अरू सदस्यहरू पनि सफारी पोशाकमा राष्ट्रिय निकुञ्जभित्र हात्तीमा सवारी हुन्छ । हात्तीको फौजले घेरिएको गैंडालाई राजाको निशानामा पारिन्छ । आरामले घाँसमा सुतेको गैंडालाई ढुङ्गामुडा गरी उठाइन्छ, किनभने सुतेका पशुलाई शिकार गर्न वर्जित छ । हाम्रो धार्मिक मान्यताभित्रको कुरा हो यो । चारैतिर हात्तीको घेरामा परेको निरीह गैंडा एकैछिनमा अत्तालिन्छ । त्यही क्रममा राजा चढेको हात्तीतिर जाइलाग्छ । त्यसपछि— “राजाले ढ्याङ्ग बन्दूक पड्काए । जङ्गल थर्कियो । गैंडा भुईंमा ड्याम्म लड्यो ।” तर त्यो गैंडा मर्दैन । रगत बगाउँदै हात्तीलाई हमला गर्दै जङ्गलभित्र विलाउँछ । घन्टौंको खोज–तलासपछि रगतको आहालमा गैंडा भेटिन्छ । हात्ती नजिक आएको देखेर त्यो प्राणी उठ्छ र आक्रमण गर्न खोज्छ । दोस्रो गोली त्यसको शरीरमा दागिन्छ । लड्खडाउँदै त्यो गैंडा अगाडि बढ्छ । तेस्रो गोली लागेपछि गैंडा ढल्छ तर फेरि उठेर आक्रमण गर्न खोज्छ, तुरुन्तै चौथो गोलीको प्रहारपछि त्यो प्राणी फेरि नउठ्ने गरी ढल्छ । श्री ५ महाराजाधिराज सरकारको जय भन्दै माहुतेहरू र शिकारी दल चिच्याउँछन् ।’
गैंडा ढलिसकेपछिको वर्णन लेखकले यसरी गरेका छन्— ‘त्यो गैंडालाई साँझ् राजाको क्याम्प पु¥याइन्छ । विशेषज्ञ कर्मचारीले चिरफार गरेर त्यो दुई टनको गैंडालाई चारै खुट्टा आकाशतिर फर्र्र्काएर रूखका हाँगाहरूमा बाँधिन्छ । राजपुरोहितहरू अनेक विधि–विधानमा लाग्छन् । त्यस मृत गैंडाको शरीरभित्र राजाले प्रवेश गर्छन् । गैंडाको आलो रगत लिएर पितृलाई तर्पण दिने काम हुन्छ ।’
डा.मिश्रले सबै विधि–विधानको क्रिया र प्रक्रियाहरू मिहिनसँग शब्दमा उतारेका छन् । यस्तो वर्णन अन्यत्र छ जस्तो लाग्दैन । गैंडाको शरीरै भित्र पसेर; त्यसको जीउभित्र उभिएर रगतको तर्पण दिइन्छ भन्ने मेरो कल्पनाभन्दा बाहिरको कुरा डा.मिश्रले उजागर गरिदिएका छन् ।
रहस्य र रोमाञ्चले भरिएको यो पुस्तकको आरम्भमा अर्को एउटा ‘रहस्यमय वाक्य’ पनि अङ्कित छ । त्यो हो— “के गर्देको छोरा तिमीले !, देवतुल्य राजाको मुखबाट झिनो स्वरमा निक्लेका, यिनै अन्तिम शब्द हुन् । यो वाक्य राजा वीरेन्द्रको सन् २००१ जून १ तारिख (१९ जेठ, २०५८) नारायणहिटी राजदरबारको पारिवारिक रात्रिभोजमा ढल्नु अगाडिको अन्तिम थियो ।”
एकातिर मरेका पितालाई तार्न बाँचेको छोराले गोली ठोकेर गैंडा मार्छ र अर्कोतिर बाँचेका पितालाई उनकै पुत्रले गोली नै ठोकेर हत्या गर्छ । डा.मिश्रको यो पुस्तक रहस्यै रहस्यले सजिएको एउटा दस्तावेज पनि हो । वास्तविक अभिलेख पनि हो ।
२०७६ फागुन अंकमा प्रकाशित ।