महेश संस्कृत गुरुकुल अब्बल अभ्यासमा अगाडि

वैदिक सनातन धर्मको सम्वद्र्घन तथा संस्कृत शिक्षाको प्रवद्र्घन गर्ने उद्देश्यका साथ स्थापना भएको महेश संस्कृत गुरुकुलले अढाइ दशकको अवधिमा शैक्षिक र भौतिक अवस्थामा ठूलो फड्को मारेको छ। परिणामतः संस्कृत शिक्षाको प्रवद्र्घनमा यो संस्था आपूmलाई ‘अब्बल गुरुकुल’ को रूपमा उभ्याउन सफल भएको छ । 

  •    बर्दिया , भुरीगाउँका रूपेश रिजालको घरमा २०६८ सालमा भागवत पुराण चल्दै थियो । पुराणका मूल वाचक (पण्डित) ले उप–वाचकका रूपमा आफ्ना छोरालाई पनि सँगै ल्याएका थिए । उप–वाचकको भागवत पाठ र वाचनशैलीबाट रूपेश निकै आकर्षित भए । अनि उनलाई पनि भित्रभित्रै ‘पण्डित’ बन्ने हुटहुटी चल्न थाल्यो । घरमा आफ्नो रहर सुनाए । खोज्दै जाँदा २०६९ सालमा तनहुँको देवघाटस्थित महेश संस्कृत गुरुकुलमा आइपुगे । हाल सो गुरुकुलमा शास्त्री प्रथम वर्षमा अध्ययन गरिरहेका रूपेश भन्छन्, “मेरो त्यो रहर गुरुकुलले पूरा गर्दैछ ।”
  •    त्रिभुवन  विश्वविद्यालय, संस्कृत केन्द्रीय विभागका प्रमुख प्रा.डा. नारायण गौतम र नेपाल प्रज्ञा प्रतिष्ठानकी सहसचिव लक्ष्मी गौतमले आफ्ना १० वर्षीय छोरा आनन्दलाई पनि संस्कृत पढाउने अठोट गरे । त्यसको निम्ति उनीहरूको पहिलो रोजाइमा प¥यो, महेश संस्कृत गुरुकुल । काठमाडौंको एउटा निजी स्कूलबाट छुटाएर आनन्दलाई गत वैशाखमा गुरुकुलको कक्षा ६ भर्ना गरिदिए । आनन्द पनि गुरुकुलको वातावरणप्रति निकै प्रसन्न देखिन्छन् ।
  • चितवन , भरतपुरका असिम आचार्य, गौरीगञ्जस्थित एसओएस हर्मन माइनर स्कूलमा पढ्दै थिए । असिमले कक्षा ५ उत्तीर्ण गर्ने वित्तिकै बुवा मधुप्रसाद र आमा ताराको नजर पनि महेश संस्कृत गुरुकुलमै प¥यो र छोरालाई यहीं पढ्न अनुरोध गरे । बुवा–आमाको अनुरोधलाई असिमले सहर्ष स्वीकार गरे । गत वैशाखदेखि गुरुकुलमा कक्षा ६ मा पढ्न थालेका असिमलाई शुरूका एक महीना घरको न्यास्रोले औधी सतायो । तर अहिले उनी गुरुकुलको वातावरणबाट धेरै खुशी छन् । भन्छन्, “अहिले त घरभन्दा यतै रमाइलो छ ।”

रूपेश, आनन्द र असिम जस्ता २७५ जना छात्रहरू यो गुरुकुलमा अध्ययनरत छन् । यिनले पूर्वी नेपालको इलाम, पाँचथर, ओखलढुङ्गादेखि पश्चिमका जुम्ला, अछामसम्मका लगभग ५० जिल्लाको प्रतिनिधित्व गर्छन् । माध्यमिक तह (कक्षा १२ सम्म) मा १६५ र विद्यापीठ तहमा ११० जना छन् । यो वर्ष १९ जनाले पूर्वमध्यमा (एसईई) परीक्षा दिंदैछन् भने आचार्य तहमा ११ जना पढ्दैछन् । उनीहरूका निम्ति गुरुकुलले निःशुल्क पठनपाठन, भोजन र आवासको व्यवस्था गरेको छ ।

वैदिक सनातन धर्मको संरक्षण तथा संस्कृत शिक्षाको प्रवद्र्धन गर्ने उद्देश्य राखेर डा. स्वामी रामानन्द गिरिले २०५० सालमा ‘महेश संन्यास आश्रम’ को स्थापना गरे । आश्रम अन्तर्गत रहने गरी त्यही वर्ष खुलेको हो, महेश संस्कृत गुरुकुल पनि । २०५२ सालमा यसको विधिवत् दर्ता भयो । २०५६ सालमा पुग्दा पहिलो समूहले पूर्वमध्यमा (कक्षा १०) उत्तीर्ण गरे । त्यही साल गुरुकुलले तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयबाट उत्तरमध्यमा पठनपाठनको निम्ति ‘विद्यापीठ’ को समेत सम्बन्धन प्राप्त ग¥यो । त्यसपछि २०५८ र २०६१ सालमा क्रमशः शास्त्री र आचार्य तहको सम्बन्धन प्राप्त गरी पठनपाठन हुँदै आएको छ । गत वर्ष गुरुकुलले विराट महायज्ञका साथ आफ्नो रजत जयन्ती मनाएको छ ।

आश्रम तथा गुरुकुलका संस्थापक पीठाधीश डा. गिरिको २४ असार २०७४ (गुरुपूर्णिमाको दिन) मा ७० वर्षको उमेरमा निधन भयो । त्यसपछि उनका शिष्य एवं गुरुकुलकै पूर्व छात्र रमणानन्द गिरिलाई गुरुकुलको पीठाधीश बनाइएको छ । शाङ्करवेदान्तमा आचार्य गरेका रमणानन्द आफ्नो ‘ब्याच’ का ‘गोल्ड मेडलिस्ट’ हुन् । उनी भर्खर ३२ वर्ष पुग्दैछन् । पीठाधीश नै महेश संन्यास आश्रम र गुरुकुल व्यवस्थापन समितिको अध्यक्ष रहने व्यवस्था छ । गुरुकुलको विद्यालय तह (कक्षा ६–१२) र विद्यापीठ तह (शास्त्री÷आचार्य) मा क्रमशः उप–प्राध्यापक फणीन्द्रप्रसाद पौडेल र सह–प्राध्यापक डा. गुरुप्रसाद सुवेदी प्राचार्य छन् ।

स्तरीय पठनपाठन, उत्कृष्ट नतिजा
गुरुकुलमा प्रवेश परीक्षाका आधारमा कक्षा ६ मा नयाँ भर्ना लिइन्छ । २५–३० सिटका निमित्त १५० भन्दा बढीको आवेदन पर्ने गरेको छ । छात्रको पृष्ठभूमि हेरेर कक्षा ११ मा पनि भर्ना लिने गरिएको छ । कक्षा १२ सम्म सरकारले निर्धारण गरेको पाठ्यक्रमका अतिरिक्त भागवत र अन्य विषयमा शिक्षण हुन्छ । प्राचार्य फणीन्द्रप्रसाद पौडेल भन्छन्, “औपचारिक पाठ्यक्रमले संस्कृतका सबै विषयलाई नसमेट्ने भएकाले अतिरिक्त विषय पनि राखिएको छ ।” शास्त्री र आचार्य तहमा शाङ्करवेदान्त र व्याकरणको पठनपाठन हुन्छ ।

गुरुकुलको दुवै तहमा गरी २३ जना अध्यापकहरू कार्यरत छन् । नेपाल संस्कृत विश्वविद्यालयले एक सह–प्राध्यापक र तीन जना उप–प्राध्यापक काजमा उपलब्ध गराइदिएको छ । यस बाहेक पाँच जना स्वयंसेवी शिक्षक छन् । काठमाडौं, मध्यबानेश्वरका सच्चितानन्द पौडेल तिनैमध्येका एक हुन् जो गुरुकुलमा अंग्रेजी र सङ्गीत विषय पढाउँछन् । शास्त्री र आचार्य तहका छात्रहरूले पनि तल्लो कक्षामा अध्यापन गराउँछन् ।

कालीगण्डकी नदीको नजिकै शान्त, हरियाली र कोलाहलमुक्त वातावरणमा अवस्थित छ, महेश संस्कृत गुरुकुल । अनुशासित परिवेशमा बिहानदेखि साँझ्सम्म गुरुहरूको प्रेरणा र सान्निध्यमा रहेर सिक्ने अवसर छात्रहरूले पाएका छन् । मर्यादित संस्कार र जीवन दर्शनका विषयमा नियमितजसो हुने सत्सङ्ग र प्रवचन यहाँका थप विशेषता हुन् । गुरुकुलको यो पारिवारिक माहोलमा छात्रहरू निकै रमाएर बसेका भेटिन्छन् । शास्त्री द्वितीय वर्षका मनिष गौतम भन्छन्, “संस्कृतको दायरा समाजले सोचेभन्दा निकै फराकिलो रहेछ । सार्थक जीवनका धेरै कुरा सिकिएको छ ।” धनकुटाबाट आएर कक्षा ९ मा पढिरहेका छात्र हरिश्चन्द्र मिश्र पनि गुरुकुलबाट आफूले घर र विद्यालय दुवैको शिक्षा पाएको अनुभव सुनाउँछन् । विद्यालय र विद्यापीठ दुवै तहका निम्ति छुट्टाछुट्टै कम्प्युटर ल्याबको व्यवस्था छ । यहाँको पुस्तकालयमा २० हजारभन्दा बढी पुस्तक छन् ।

महेश गुरुकुलका छात्रले विभिन्न तहका परीक्षामा उत्कृष्ट नतिजा ल्याउँदै आएका छन् । एसईई परीक्षामा सबैले ‘ए’ र ‘ए प्लस’ का साथ शतप्रतिशत नतिजा हासिल गर्ने गरेका छन् । शास्त्री र आचार्य तहमा पनि यहाँका छात्रले धेरै पटक विश्वविद्यालय टप गरेका छन् । महेश संस्कृत गुरुकुलमै पढेकामध्ये १० छात्रहरू नेपाल संस्कृत र त्रिभुवन विश्वविद्यालयमा उप–प्राध्यापक छन् । तीमध्ये पाँच जना यहींबाट आचार्य गर्नेहरू छन् । यहाँ अध्ययन गरेका अधिकांश शिक्षण पेशा र कर्मकाण्डमा सक्रिय छन् भने कतिपय नेपाली सेनामा ‘पण्डित’ पनि बनेका छन् । सह–प्राध्यापक डा. गुरुप्रसाद सुवेदी भन्छन्, “यहाँका छात्रहरू कोही पनि बेरोजगार रहेको जानकारी हामीलाई छैन । यो हाम्रो निम्ति गौरवको कुरा हो ।”

गुरुकुलको कक्षा १० को पढाइ पूरा हुँदासम्म यहाँका छात्रहरू जन्मदेखि मृत्युसम्मका १६ वटा संस्कार गराउन निपुण भइसकेका हुन्छन् । त्यही भएर पूजा, अनुष्ठानमा उनीहरूको माग भइरहन्छ । एउटा गुरुकुलको पूर्णताका निम्ति आवश्यक मानिने ‘पञ्चशाला’ अर्थात् पाठशाला, यज्ञशाला, पाकशाला, धर्मशाला र गौशालाको राम्रो संयोजन यहाँ पाउन सकिन्छ । यहाँ कक्षा १२ सम्मका छात्रहरूलाई मोबाइल फोनको प्रयोग निषेध गरिएको छ । अभिभावकसँग कुरा गर्नका निम्ति गुरुकुल हातामै ल्याण्डलाइन टेलिफोनको व्यवस्था छ । साँझ् चारदेखि पाँच बजेसम्म उनीहरूले यो टेलिफोन प्रयोग गर्न सक्छन् ।
शिक्षा मन्त्रालयका अनुसार, मुलुकभर विद्यालय तहका १०० भन्दा बढी गुरुकुल र नेपाल संस्कृत विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धनप्राप्त गरी १८ वटा संस्कृत विद्यापीठ सञ्चालनमा छन् । तिनको माझ्मा महेश संस्कृत गुरुकुललाई सबैभन्दा ‘अब्बल’ ठान्छन्, वाल्मीकि विद्यापीठका सह–प्राध्यापक श्रीराम अधिकारी । उनी भन्छन्, “नेपालको गुरुकुलीय शिक्षामा महेश गुरुकुलको विशिष्ट पहिचान छ । अन्यसँग यसको तुलना हुन सक्दैन ।” त्रिवि, संस्कृत विभाग प्रमुख प्रा.डा. नारायण गौतम पनि महेश संस्कृत गुरुकुललाई ‘दुई कदम अगाडि’ देख्छन् । यहाँबाट उत्पादित जनशक्ति क्षमतावान रहेको उनको मूल्याङ्कन छ ।

कुनै समय विपन्न वर्गका ब्राह्मण परिवारका बालकलाई मात्रै गुरुकुलमा पढ्न पठाइने आम धारणा व्याप्त थियो । यताका वर्षहरूमा मध्यमवर्गीय र शिक्षित परिवारको निम्ति समेत संस्कृत आकर्षणको विषय बन्न थालेको छ । काठमाडौं घर भएका १५ भन्दा बढी छात्रहरू यहाँ अध्ययनरत छन् ।

सिर्जनशील वातावरण
छात्रहरूलाई साहित्य सिर्जनाप्रति अभिप्रेरित गर्ने उद्देश्यले महेश गुरुकुलमा काव्य साधनाका विभिन्न क्रियाकलाप हुने गर्छन् । हरेक वर्ष पुस मसान्तको दिन आयोजना गरिने ‘मकर काव्य यामिनी’ त्यसैको एउटा स्वरूप हो । २०६० सालमा शुरू गरिएको यस कार्यक्रममा छन्द साहित्यको वाचन हुन्छ । काव्य यामिनीमा छात्रहरूले गुरुकुल बाहिरका साहित्यकारसँग समेत साक्षात्कार हुने अवसर पाउँछन् । ‘आशीर्वाद’ कविता संग्रह समेत प्रकाशन गरिसकेका कक्षा ११ का छात्र प्रवीण काफ्ले काव्य सिर्जनाको निम्ति आफूले यही कार्यक्रमबाट प्रेरणा पाएको बताउँछन् । यताका वर्षमा देवघाटका अन्य गुरुकुलले समेत काव्य यामिनीको अनुसरण गर्न थालेका छन् ।

कक्षा ६ देखि नै यहाँका छात्रहरू हार्मोनियम र तबला वादनसँगै भागवत कथा वाचनको अभ्यास गर्न थाल्छन् । गुरुकुलले वर्षमा एक पटक छात्रहरूबीच भागवत कथा वाचनको प्रतिस्पर्धा पनि गराउँदै आएको छ । छात्रहरू हरेक एकादशीका दिन भरतपुरको हरिहर मन्दिर पुगेर कथा वाचन गर्छन् । कक्षा ८ का दिग्विजय लामिछाने (१३ वर्ष) र कक्षा ९ का प्रभात रिजाल (१४ वर्ष) त्यस्ता प्रतिभा हुन्, जो यति कम उमेरमै कथा वाचनको राम्रो कौशल देखाउँछन् । गुरुकुलले वक्तृत्वकला र अन्य अतिरिक्त क्रियाकलाप समेत सञ्चालन गर्दै आएको छ । यस्ता गतिविधिले गुरुकुल भित्र र बाहिर हुने कार्यक्रममा प्रस्तुतिको निम्ति आत्मविश्वास बढाएको छात्रहरूको अनुभव छ । कक्षा १२ का छात्र प्रदीप पौडेल हरेक हप्ता चितवन, बसेनीको सुधार केन्द्रमा पुगेर लागूऔषधको कुलतमा परेकाहरूमाझ् प्रवचन दिने गर्छन्  ।
गीत र भजन रेकर्ड गर्न गुरुकुलमा एउटा रेकर्डिङ स्टुडियो नै बनाइएको छ । संगीत शिक्षक सच्चिदानन्द पौडेलको संगीत र छात्रहरूको गायनमा एक दर्जनभन्दा बढी गीत र भजन रेकर्ड भइसकेका छन् । छात्रहरू आफैंले ‘म्युजिक भिडियो’ समेत बनाएका छन् ।

गुरुकुल परिसरमा १० रोपनीभन्दा बढी जग्गालाई करेसाबारी बनाइएको छ । तरकारी खेतीको आधारभूत सीप छात्रहरूले यहींबाट सिक्छन् । पर्याप्त मैदानसहितको फूटबल, भलिबल र टेबलटेनिस खेल्ने सुविधा उनीहरूले पाएका छन् । भान्सामा पाकेको भोजन समूहगत रूपमा छात्रहरूले नै भाग लगाउँछन् । विभिन्न तिथि, पर्वमा हुने कार्यक्रममा आएका अतिथि र भक्तजनको स्वागत, सत्कार र भोजनमा छात्रहरू आफैं सक्रिय हुन्छन् । यसबाट दैनन्दिनका व्यावहारिक क्रियाकलापको निम्ति समेत उनीहरूले आफूलाई सक्षम बनाउँदै लगेका देखिन्छन् ।

आफ्ना छोरालाई गुरुकुलमा पठाएका अभिभावक पनि उनीहरूको सिकाइ प्रगतिप्रति सन्तुष्ट छन् । कक्षा ६ का छात्र असिम आचार्यकी आमा तारा आचार्य भन्छिन्, “दैनिक नित्य कर्मदेखि असल आचरणका धेरै कुरा बाबुले सिकिसकेछ । जुन अपेक्षाले हामीले बाबुलाई गुरुकुलमा पठायौं, उसको प्रगति देखेर हामी खुशी छौं ।” यो अवधिमा असिम परिवारका सदस्यलाई हार्मोनियम बजाउन सिकाउन सक्ने भइसकेका छन् । 

दाताको समर्पण
धेरै वर्षसम्म काठमाडौंका विद्यालय र कलेजमा संस्कृत व्याकरण पढाएर संन्यास ग्रहण गर्न पुगेका स्वामी रामानन्द २०५० सालतिर गुरुकुल खोल्ने अठोटका साथ देवघाट आए । केही महीनासम्म उनी त्यहाँको गलेश्वर आश्रममा बसे । त्यो आश्रम नजिकैको एउटा घरसहितको चार रोपनी जग्गा उनलाई चित्त बुझयो । ललितपुर, जावलाखेलका माधवप्रसाद पौड्यालले रु.८० हजार व्यवस्था गरिदिए । त्यसमा रु.४० हजार उनी एक्लैले दान गरेका थिए । उक्त जग्गालाई करीब रु.१ लाख परेको थियो ।

त्यही चार रोपनी जग्गाबाट शुरू भएको महेश गुरुकुल अहिले झण्डै  ७० रोपनी क्षेत्रफल र २६ वटा भवनसहितको संरचनामा विस्तार भएको छ । गुरुकुलप्रति आस्था राख्ने कैयौं दाता र भक्तहरूको समर्पणकै कारण यो सम्भव भएको हो । काठमाडौंकी जीवकुमारी लामिछाने त्यस्तै दातामध्येकी एक हुन्, जसले गुरुकुल परिसरको सन्त सेवा आश्रम निर्माणको निम्ति रु.१ करोड २५ लाख अर्पण गरेकी छन् । यस्तै, त्रिवेणीदेवी संघाईले ‘गोपाल भवन’ को पहिलो र दोस्रो तला गरी १४ कोठा निर्माण गरिदिइन् । सोही भवनको तेस्रो तला बनाइदिए, काठमाडौंका जनकदेव पाण्डेयले ।

गत वर्ष करीब साढे चार करोड रुपैयाँमा बनाइएको ‘शिक्षण भवन’ को लागि विश्वविद्यालय अनुदान आयोगले रु.३७ लाख ५० हजार दियो भने बाँकी रकम ३२ जना दाताबाट प्राप्त भयो । यस्तै पोखराका भक्तहरूको सहयोगमा ‘गुरु निवास भवन’ बनेको छ । जावलाखेल सत्सङ्ग परिवार गुरुकुल उत्थानको लागि शुरूदेखि नै समर्पित छ । केही वर्ष पहिले काठमाडौंका समाजसेवी केदार विष्टले ८ र मैयाँदेवी श्रेष्ठले २ रोपनी जग्गा दान गरेका छन् । यी प्रतिनिधि उदाहरण मात्रै हुन् । गुरुकुलको प्रवद्र्धनका निम्ति यसरी सहयोग गर्नेको सूची लामो छ । यस्तै सहयोगको प्रतिफल स्वरूप गुरुकुल परिसरमा विभिन्न भौतिक संरचना बनेका छन् । दाताकै सहयोगबाट फूटबल मैदान, विद्येश्वर शिव मन्दिर र संस्थापक पीठाधीश गिरिको स्मृतिमा गुरु मन्दिर बनेको छ । स्थापनादेखि नै महेश संन्यास आश्रमका सदस्य–सचिव रहेका माधवप्रसाद पौड्याल अहिले ८३ वर्ष पुगे । गुरुकुलको स्तरोन्नतिमा उनी अहिले पनि उत्तिकै समर्पित देखिन्छन् । भन्छन्, “मलाई आफ्नो घरभन्दा बढी माया छ, यो गुरुकुलको ।”

संस्थापक पीठाधीश गिरि सत्सङ्ग, प्रवचनका क्रममा भक्तहरूसामु गुरुकुल स्तरोन्नतिको योजना सुनाउँथे र त्यसमा सहयोगको निम्ति निर्धक्क अनुरोध गर्थे । त्यस्तो अनुरोधलाई भक्तहरूले कहिल्यै नाइँनास्ति गरेनन् । जावलाखेल सत्सङ्ग परिवारका सदस्य दीपक रिमाल भन्छन्, “भक्तहरूलाई प्रभावित पार्ने एक किसिमको क्षमता स्वामीजीसँग थियो । जसले गर्दा उहाँको सङ्कल्पमा सहयोग गर्न हामी सधैं प्रेरित हुन्थ्यौं ।”

गुरुकुलका शिक्षक, कर्मचारी, छात्र र बेलाबखत आउने भक्तहरूका निम्ति वर्षभरिलाई पुग्ने खाद्यान्न मुठ्ठीदानबाटै जुट्ने गरेको छ । हेटौंडा, सिमरा, काठमाडौं लगायतका ठाउँका भक्तहरूले दाल, चामल, गेडागुडी, तेल, चिनी गुरुकुलमा पठाउँदै आएका छन् । यसबाहेक विभिन्न तिथि, पर्वमा भक्तहरूले गुरुकुलमा सन्त भोजन र भण्डारा लगाउने गर्छन् ।

गुरुकुल व्यवस्थापन समितिका अनुसार, शिक्षक÷कर्मचारीको तलब, स्टेशनरी, पूजाआजा, सब्जी खरीद र अन्य प्रशासनिक कार्यको निम्ति मासिक करीब रु.६ लाख खर्च हुन्छ । यो आवश्यकता पनि दाता र भक्तले नै धान्दै आएका छन् । गुरुकुलका पीठाधीश स्वामी रमणानन्द गिरि भन्छन्, “दाता र समाजबाट पाएको श्रद्धाकै कारण हामी यहाँसम्म आएका छौं ।”
गुरुकुल सञ्चालनार्थ दिगो स्रोत व्यवस्थापनको निम्ति दुई वर्षअघि कपिलदेव सुवेदीको संयोजकत्वमा गुरुकुल प्रवद्र्धन समाज गठन भएको छ । समाजले रु.१५ करोडको अक्षय स्थापनाको निम्ति ‘छात्रको अभिभावक’ र ‘अल्पहार कार्यक्रम’ अगाडि सारेको छ । हाल यो कोषमा डेढ करोड रुपैयाँभन्दा बढी जम्मा भएको छ ।

अनुसन्धान केन्द्रको पर्खाइ
महेश संस्कृत गुरुकुललाई वैदिक र संस्कृत भाषाको अनुसन्धान केन्द्रको रूपमा स्थापित गर्ने स्वामी रामानन्द गिरिको धोको थियो । वेदान्त दर्शन, सनातन धर्म र संस्कृत भाषा÷साहित्यका दुर्लभ स्रोत सामग्रीसहितको सुविधासम्पन्न अनुसन्धान केन्द्र स्थापनालाई गुरुकुलले पहिलो प्राथमिकतामा राखेको छ । हालका पीठाधीश रमणानन्द गिरि भन्छन्, “गुरुको सङ्कल्पलाई हामी अधुरो राख्दैनौं । स्वदेशी तथा विदेशी अध्येताका निम्ति एउटा उदाहरणीय अनुसन्धान केन्द्र बनाउनेछौं ।”

पीठाधीश गिरिका अनुसार, अनुसन्धान केन्द्रसँगै ई–लाइब्रेरी व्यवस्था गर्ने र वेदान्त दर्शन एवं संस्कृत वाङ्मयका अन्वेषणात्मक स्रोत ग्रन्थको प्रकाशन गर्ने योजना गुरुकुलले बनाएको छ । हाल गुरुकुलले श्रीमद्भागवत महापुराणको आठ वटा खण्डसहितको नेपाली अनुवाद र अन्य एक दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशन गरिसकेको छ । संस्कृत भाषाका वेदान्त दर्शनलाई नेपाली भाषामा अनुवाद गर्ने, इन्टरनेट र दुर शिक्षाको माध्यमबाट संस्कृत भाषा÷साहित्यको प्रवद्र्धन गर्ने जस्ता कार्यहरू गुरुकुलका थप प्राथमिकतामा छन् । 
२०७६ चैत अंकमा प्रकाशित । 

commercial commercial commercial commercial