शिक्षा र शिक्षण

मनुष्यमा अन्तर्निहित पूर्णतालाई अभिव्यक्त गर्नु नै शिक्षा हो । ज्ञान मनुष्यमा स्वभाव–सिद्ध छ; कुनै पनि ज्ञान बाहिरबाट आउँदैन, सबै उसैभित्र हुन्छ । हामी मानिसले सिक्छ वा जान्दछ भन्छौं तर, यथार्थमा, भन्नुपर्ने हो– आविष्कार गर्छ, अनावृत गर्छ, प्रकट गर्छ । मनुष्यले जेजति ‘सिक्छ’, त्यो वास्तवमा ‘आविष्कार गर्नु’ नै हो । ‘आविष्कार’ को अर्थ हो– आफ्नो अनन्त ज्ञानस्वरूप आत्मामाथि रहेको आवरण हटाउनु । हामी भन्छौं– न्यूटनले गुरुत्वाकर्षणको आविष्कार गरे । के त, त्यो ‘आविष्कार’ बाहिरफेर कतै न्यूटनलाई पर्खेर बसिरहेको थियो ? होइन । त्यो उनको मनमै अन्तर्निहित थियो । समय आएपछि उनले आफ्नो मनको आवरण हटाए र त्यो ज्ञान अनावृत भयो । आविष्कृत भयो । संसारलाई जेजति ज्ञान प्राप्त भएको छ त्यो मनबाटै निकालिएको, आविष्कार गरिएको हो । असीम ज्ञानको भण्डार तिम्रै मनमा अन्तर्निहित छ; बाहिरी संसार त सुझाव दिने वा प्रेरक मात्र हो जसले तिमीलाई आफ्नै मनको अध्ययन गर्न प्रेरित गर्छ । रूखबाट स्याउ खसेको देख्ता न्यूटनलाई केही सुझन पुग्यो र उनले आफ्नो मनको अध्ययन गरे । उनले आफ्नो मनभित्र रहेका विचारका कडीहरूलाई पुनः व्यवस्थित गरे र त्यसै क्रममा एउटा त्यस्तो कडी देख्न पुगे जसलाई हामी गुरुत्वाकर्षणको नियम भन्छौं । त्यो न स्याउमा थियो न त पृथ्वीको केन्द्रमा अवस्थित कुनै वस्तुमा नै ।

ज्ञान आफैंभित्र हुन्छ
समस्त ज्ञान, चाहे त्यो लौकिक होस् अथवा आध्यात्मिक, मनुष्यको मनभित्रै छ । सामान्यतः त्यो प्रकाशित नभएर ढाकिएको, अप्रकट अवस्थामा रहेको हुन्छ । जब अज्ञानतारुपी आवरण बिस्तारै हट्दै जान्छ, त्यसबेला हामी भन्छौं– म सिकिरहेको छु । आविष्करणको यो क्रिया जति जति बढ्दै जान्, हाम्रो ज्ञान पनि त्यति त्यति बढ्दै जान्छ । जुन मानिसको मनबाट यो आवरण हट्दै गएको छ त्यो अरूको अपेक्षा बढी ज्ञानी हो अनि जसको मनमा आवरणका अनेकौं पत्र विद्यमान छन् त्यो अज्ञानी हो ।

जसको मनबाट यो आवरण पूरै हट्छ त्यो सर्वज्ञ, सर्वदर्शी बन्न पुग्छ । दर्सनढुंगाको टुक्राभित्र आगो झैं मनभित्र ज्ञान निहित छ र सुझव वा प्रेरणा नै त्यो घर्षण हो जसले त्यो ज्ञानाग्निलाई उद्दीपित गरिदिन्छ । पवित्रता एवम् निस्वार्थताद्वारा हामी मनको आवरणको सघनतालाई बिस्तारै–बिस्तारै शिथिल पार्दै, पातलो बनाउँदै जान्छौं र अन्ततः त्यो पूरै नष्ट हुन्छ । त्यसपछि ज्ञान स्वतः प्रकाशित हुन पुग्छ ।

सिकाउनेः आफूले आफैंलाई
वास्तवमा कहिल्यै कुनै व्यक्तिले कसैलाई सिकाएन । कसैले–कसैलाई सिकाउन सक्तैन । हामी प्रत्येकले, आफूले आफैंलाई सिकाउने हो । बाहिरी गुरुहरू त केवल सुझाव या प्रेरणा दिने माध्यम मात्र हुन् जसले हामीभित्र रहेको– अन्तःस्थ– गुरुलाई विषयवस्तुहरूको मर्म बुझन, आविष्कार गर्न उद्बोधित गरिदिन्छन् । त्यसपछि सबै कुरा हाम्रै अनुभव र विचारको शक्तिद्वारा स्पष्टतर हुन पुग्छन् र हामी आफ्नो आत्मामा तिनको अनुभूति गर्न थाल्छौं । त्यो विशाल वटवृक्ष जो आज यति ठूलो भू–भागमा फैलिएको छ, एउटा सानो बीउमा अन्तर्निहित थियो– जो शायद तोरीको गेडाको आठ खण्डको एक खण्डभन्दा ठूलो थिएन ।


दर्सनढुंगाको टुक्राभित्र आगो झैं मनभित्र ज्ञान निहित छ र सुझाव वा प्रेरणा नै त्यो घर्षण हो जसले त्यो ज्ञानाग्निलाई उद्दीपित गरिदिन्छ । पवित्रता एवम् निस्वार्थताद्वारा हामी मनको आवरणको सघनतालाई बिस्तारै–बिस्तारै शिथिल पार्दै, पातलो बनाउँदै जान्छौं र अन्ततः त्यो पूरै नष्ट हुन्छ । त्यसपछि ज्ञान स्वतः प्रकाशित हुन पुग्छ ।

तर, यो समग्र विस्तार, यो सम्पूर्ण शक्ति–राशि त्यही एउटा बीउमा निबद्ध थियो । हामीलाई थाहा छ, विशाल बुद्धि एउटा सूक्ष्म जीवाणुकोष (प्रोटोप्लाज्मिक सेल) भित्र घुसु्रक्क टाउको लुकाएर बसेको हुन्छ । हामीमध्ये प्रत्येक व्यक्ति एउटा जीवाणुकोषबाट उत्पन्न भएका हौं र हाम्रा सारा शक्तिहरू त्यसैभित्र खुम्चिएर बसेका थिए । हाम्रो शक्ति खाद्यान्नबाट उत्पन्न भएको हो पनि तपाईं भन्न सक्नुहुन्न, किनभने खाद्यान्नको एउटा पर्वत नै खडा गरिदिए पनि त्यहाँबाट कुनै शक्ति प्रकट हुन सक्तैन । शक्ति त जीवाणुकोषमै थियो, भलै अव्यक्त अथवा प्रसुप्त अवस्थामा होस् । त्यस्तै, मनुष्यको आत्मामा अनन्त शक्ति निहित छ, भलै उसलाई थाहा होस् वा नहोस् । यसलाई जान्नु, यसको बोध हुनु नै यो प्रकट हुनु हो ।

सहयोगी मात्र हो शिक्षक
तपाईं कुनै बालकलाई शिक्षा दिन वा सिकाउन त्यसैगरी असमर्थ हुनुहुन्छ, जसरी कुनै बिरुवालाई बढाउन । बढ्ने प्रकृति बिरुवामै अन्तर्निहित हुन्छ र उसले त्यसको विकास स्वयम् गर्छ । बालकमा पनि सिक्ने प्रवृत्ति प्राकृतिक तवरमै अन्तर्निहित हुन्छ र त्यसैमार्फत उसले स्वयम् सिक्छ । अँ, तपाईं त्यस प्रक्रियामा बाहिरबाट उसलाई सहयोग पुर्‍याउनसम्म सक्नुहुन्छ । तपाईंको जम्माजम्मी भूमिका यत्ति हो । यस क्रममा तपाईं जे जति गर्न सक्नुहुन्छ त्यो पनि निषेधात्मक हुन्छ, विध्यात्मक (निर्माणात्मक) होइन । तपाईं केवल बाधा, अवरोध हटाइदिनुहोस्; उसभित्र रहेको ज्ञान स्वाभाविक रूपमा प्रकट भैहाल्छ । जमीनलाई केही खुकुलो बनाइदिनुहोस्, जसले बीउलाई उम्रन सजिलो होस् । चारैतिरबाट बारिदिनुहोस्; गाईबाख्राले नष्ट नगरिदिऊन् । बीउबाट उम्रिरहेको बिरुवाको शारीरिक बनावटका लागि माटो, पानी र हावाको समुचित प्रबन्ध गरिदिनुहोस् ।

बस्, तपाईंको काम, तपाईंको भूमिका यहीं समाप्त हुन्छ । बिरुवाले आफ्नो प्रकृति अनुसार जे जति आवश्यक हुन्छ स्वयम् लिनेछ । ऊ आफ्नो प्रकृति अनुरूप नै सबै कुरा पचाएर बढ्नेछ । बालकको शिक्षाका बारेमा पनि कुरा यही हो । बालकले आफूलाई स्वयम् शिक्षित गर्छ । म शिक्षा दिंदैछु भन्ने ठानेर त शिक्षकले काम कुरो बिगार्ने मात्र हो । फेरि भनौं, समस्त ज्ञान मानिसभित्रै अन्तर्निहित छ, केवल त्यसलाई जगाउन जरूरी छ– र, शिक्षकले गर्ने काम यति मात्र हो । बालकका निम्ति हामीले गर्नुपर्ने के मात्र हो भने, उनीहरू हात, खुट्टा, मुख, कान र आँखाको उचित उपयोगका निम्ति आफ्नो बुद्धिको प्रयोग गर्न जानून् ।

एकजनालाई कसैले सिकाएछ– गधालाई बेस्कन चुट्यो भने त्यो घोडा हुन सक्छ । गधाको मालिकले त्यसलाई घोडा बनाउने इच्छाले यति चुटेछ, यति चुटेछ, बिचरो गधा मास छर्न गएछ । तसर्थ, केटाकेटीलाई ठोक–पीट गरेर, जबर्जस्ती शिक्षित बनाउने जुन परम्परा छ, त्यसलाई समाप्त पार्नैपर्छ । आमाबाबुको अनुचित दबाबका कारण हाम्रा बालबालिकाले विकासको अवसर नै पाउँदैनन् । हरेकमा यस्ता असंख्य प्रवृत्ति र सम्भावना हुन्छन् जसको विकासका निम्ति समुचित क्षेत्र र वातावरण जरूरी हुन्छ । सुधारका लागि जबर्जस्ती गर्नुको परिणाम सधैं उल्टो हुन्छ । तपाईंले कसैलाई सिंह बन्न दिनु भएन भने ऊ बन्न पुग्ने स्याल नै हो ।

निषेध होइन, प्रोत्साहन
बालबालिकाका सामु हामीले विधायक अर्थात् बनाउने, सिर्जना गर्ने प्रकृतिका विचार राख्नुपर्छ । निषेधात्मक विचारले तिनलाई दुर्बल बनाइदिन्छ । तपाईंले देख्नुभएकै होला, जो आमाबाबु सधैंभरि ‘पढ–पढ’ भनेर आफ्ना छोराछोरीका पछि लागिरहन्छन् र ‘तैंले पढेर खान्नस्, तेरो बुद्धि छैन’ भनेर गाली गरिरहन्छन्, तिनका केटाकेटी यथार्थमा त्यस्तै बन्न पुग्छन् । त्यसको सट्टा, यदि तिनले उनीहरूसँग सहानुभूतिपूर्ण कुरा गर्ने र उत्साह जगाउने काम गर्ने हो भने क्रमशः उनीहरूको उन्नति हुने निश्चित छ । तपाईंले उनीहरूसामु विधायक विचार राख्नुभयो भने तिनमा मनुष्यत्व आउँछ र उनीहरूले आफ्ना खुट्टामा उभिन सिक्छन् । भाषा र साहित्य, काव्य र कला अर्थात् हर–एक विषयमा हामीले मानिसका विचार र कार्यमा रहेका गल्ती–कमजोरी मात्र उधिनेर गम्म पर्ने होइन, बरु विद्यार्थीलाई त्यस्तो बाटो देखाइदिनुपर्छ जसबाट तिनले ती सबै कुरा झन् सुचारु रूपले गर्न सकून् । विद्यार्थीको आवश्यकता अनुसार शिक्षामा परिवर्तन हुनुपर्छ । जे जहाँ छ, उसलाई त्यहींबाट अघि बढाउनुपर्छ ।

आत्मसात् गर्न जरूरी
शिक्षा भन्ने कुरा अनेकन् जानकारीको थुप्रो होइन जसलाई तपाईंको मस्तिष्कमा खाँदियोस् र दिमागलाई अपच भएर तपाईंको जिन्दगीभरि त्यसले गडबडी मच्चाइराखोस् । हामीले त्यस्ता विचारलाई पचाउनु, आत्मसात् गर्नु जरूरी छ, जो जीवन–निर्माण, ‘मनुष्य’–निर्माण तथा चरित्र–निर्माणमा सहायक होऊन् । यदि तपाईंले केवल पाँचवटा मात्र, अनुभवको कसीमा खरा साबित भएका विचारलाई आत्मसात् गरेर तदनुरूप आफ्नो जीवन र चरित्रको निर्माण गर्न सक्नुभयो भने तपाईं सिंगो पुस्तकालय कण्ठस्थ गर्ने व्यक्तिभन्दा कता हो कता बढी शिक्षित हो । शिक्षाको अर्थ सूचना वा जानकारी मात्र हुन्थ्यो भने त पुस्तकालय नै संसारका सबैभन्दा ठूला सन्त हुन्थे र विश्वकोष नै महान् ऋषि कहलाइन्थे ।

कस्तो शिक्षा ?
विदेशी भाषामा अर्काका विचारहरू रटेर, तिनलाई आफ्नो दिमागमा खाँदेर अनि विश्वविद्यालयले दिने केही प्रमाणपत्र हासिल गरेर नै तपाईं आफूलाई शिक्षित भएको ठान्नुहुन्छ ? के यही शिक्षा हो ? तपाईंको  शिक्षाको उद्देश्य के हो ? नायब सुब्बा अथवा शाखा अधिकृत बन्नु, वकील–इन्जिनियर बन्नु अथवा बढीभन्दा बढी जी.एम्., सचिव बन्नु नै शिक्षाको उद्देश्य हो ? आँखा खोलेर हेर्नुहोस्— के लाभ दिएको छ यस्तो शिक्षाले तपाईं र तपाईंको देशलाई ? जुन देश अन्नको अक्षय भण्डार थियो र विदेशी मुलुकहरूलाई समेत अन्न ख्वाउँथ्यो त्यही देश आज बाहिरी मुलुकले अन्न नपठाइदिए भोकै पर्ने भएको छ । मानिसको मानिसप्रतिको विश्वास, प्रेम, दया र सद्भावको ठाउँ अविश्वास, घृणा, क्रूरता र दुर्भावले लिंदै गएको छ । तपाईंको शिक्षाले यस्ता समस्याको समाधान गर्छ ? त्यस्तो शिक्षा, जसले जनसमुदायलाई जीवन–संग्रामका निम्ति उपयुक्त बनाउँदैन, जनतामा चरित्र–शक्तिको विकास गर्दैन अनि मानिसमा प्राणी मात्र प्रति दयाको भाव र सिंहको साहस पैदा गर्दैन, त्यसलाई पनि हामीले ‘शिक्षा’ भन्न सुहाउँछ ?

हामीलाई त यस्तो शिक्षा चाहिन्छ, जसबाट चरित्रको निर्माण होस्, मानसिक बल बढोस्, बुद्धिको विकास होस् अनि मानिस आफ्नो खुट्टामा उभिन सकोस् । हामीले दिमागलाई विदेशी दबदबाबाट मुक्त गरेर आफ्नो ज्ञानभण्डारका विभिन्न शाखा सँगसँगै अंग्रेजी भाषा तथा पाश्चात्य विज्ञानको समेत अध्ययन गर्नुपर्छ । हामीलाई यान्त्रिक र त्यस्ता सबै शिक्षाहरूको आवश्यकता छ, जसबाट उद्योगधन्दाको वृद्धि र विकास होस्, मानिस जागिरका लागि मरिहत्ते गर्नुको सट्टा आफ्नै ज्ञान र सीपको भरमा आफ्ना आवश्यकताको पूर्तिका निम्ति पर्याप्त कमाइ गर्न सक्ने अनि आपतविपतका लागि केही संचय समेत गर्न सक्ने होऊन् ।

मनुष्यको निर्माण
सबै प्रकारका शिक्षा र अभ्यासको मूल उद्देश्य ‘मनुष्यको निर्माण’ नै हुनुपर्छ । सबै प्रशिक्षणको अन्तिम ध्येय मनुष्यको विकास गर्नु नै हुनुपर्छ । जुन प्रक्रियाबाट मनुष्यको इच्छाशक्तिको प्रवाह र प्रकाश संयमित भएर फलदायी बन्न सक्छ, त्यसैको नाम हो— शिक्षा । आज हाम्रो देशलाई जसको आवश्यकता छ, त्यो हो— फलामे मांसपेशी तथा दुर्दमनीय प्रचण्ड इच्छाशक्तिले सम्पन्न ‘शिक्षित’ नागरिक, जसले सृष्टिका गुप्त तथ्य र रहस्यहरूलाई भेदन गर्न सकोस् अनि कुनै पनि हालतमा आफ्नो उद्देश्य पूर्ति गर्ने सामथ्र्य राखोस्ः चाहे त्यसका निम्ति समुद्र–तलमै किन पुग्नु नपरोस्, साक्षात् मृत्युकै सामना किन गर्नु नपरोस् ! हामी ‘मनुष्य’ बनाउनेवाला धर्म नै चाहन्छौं, हामी ‘मनुष्य’ बनाउनेवाला सिद्धान्त नै चाहन्छौं, हामी सबै क्षेत्रमा ‘मनुष्य’ बनाउनेवाला शिक्षा नै चाहन्छौं । 

(रामकृष्ण मठ, नागपुर (भारत)बाट प्रकाशित स्वामी विवेकानन्दको कृति ‘शिक्षा’बाट साभार ।)
भाषान्तरः शरच्चन्द्र वस्ती

शिक्षक  मासिक, २०७० वैशाख अंकमा प्रकाशित । 



 

commercial commercial commercial commercial