शैक्षिक आभास र लघुताभासका कथा

आभास अनि लघुताभास कथाको पात्र म नै हुँ । मभन्दा पर शायदै अरू को हुँदो हो ? सवाल आफैंसित तेस्र्याएँ । आभास संकोचमा परिणत भइदिन्छ । आभास सम्भवतः संकोचै थियो । यकिन नहुनु संकोचै हो । सन्देह लाग्दो धारणा, सोच, विचार सबै सबै नै आभास । आभास एउटा भान ।

लाग्छ आभासको आभासैमा, भनौं कि आभासको क्यानभासमा तिरमिरे रेखा छर्किदिंदा लघुताभास लाग्ने रहेछ । आभासप्रतिको प्रत्याभास, शायद, लघुताभास । मलाई लघुताभास धुन मन लाग्छ । म धोबी हुँ लघुताभास धुने, पखाल्ने । लघुताभास पखालेरै मैले मेरो ‘म’ बनाउन पाएँ । लघुताभास धुने प्रयास मेरो शिक्षा ।

मैले पाँच वर्षको उमेरमा अक्षर आरम्भ गरेको झझल्को अब मैसित मात्र टाँसिएको छ । अहिलेको पिंढीका लागि त्यो एकादेशको कुरो भइसकेको छ । १५ महीनैदेखि शिशु स्याहार केन्द्र प्रवेश गराउनैपर्ने परिस्थिति झङ्गिएको छ । दुई वर्षमै नर्सरी, जुनियर/एल.के.जी. तीनै वर्षमा, सिनियर/यु.के.जी. चारै वर्षमा पुर्‍याइसकेकै हुनुपर्ने जमाना ।

अन्तर्राष्ट्रका पर्यटक, शिक्षक भन्छन्, “हाम्रामा त पाँच वर्षपछि मात्र स्कूलिङ थालिन्छ ।” तर तिनलाई यहाँको मर्म थाहा छैन । चाहे खेती होस्, नोकरी या व्यापार व्यवसाय नै सही । मजदूरकै पनि बाध्यता बनेको छ शिशुलाई आफ्नो न्यानो मायालु काखबाट स्याहार केन्द्रमा सुम्पने । शिशु स्याहार केन्द्र आश्रित भएर आमालाई भार मुक्त पार्छ शिशु । आमाको पनि चिन्ता हरण हुन्छ । शिशु सेवा केन्द्रमुखी बन्छ । आमाबाबुको मायाभन्दा बढी मिस/गुरुमुखी बन्छ । यता मम्मी, ड्याडी भन्दै गर्छन् “अचेल नानीहरू मिसहरूकै कुरा मान्छन् । हामीले भन्यौं भने मिसले यसो भन्नुभएको, त्यसरी सिकाएको । मम्मीलाई थाहै छैन” आदि ।

म भने यहींनिर बाल मनोविज्ञान सिक्न र बुझने प्रयास थाल्छु । शिशुलाई आमाभन्दा बढी विश्वासिलो मिस लाग्छ । उनीहरू उज्यालोभरि मिससित बस्छन्, सिक्छन्, नाच्दै गाउँदै रमाउँछन् । मम्मीभन्दा नजिकिन्छन् मिससित शिशुहरू । शिशु अवस्थादेखि आर्जेको व्यहोरा बालकले नर्सरी, जे./एल.के.जी., एस./यु.के.जी. हुँदै क्रमशः हुर्काउँदै लान्छ । त्यसको निचोड युवावस्था हुँदा मम्मी, ड्याडीसित पूरै विमुख नभए पनि टाढिइसकेको हुन्छ । यौवन भन्नुस् या जीवन मिलन । विवाहपछि छोराछोरी त दीर्घ हनिमुनमै मस्तिन्छन् । मनोविज्ञानमूलक यी यथार्थ कहानी हो, घर दैलाभरिकै ।


हामीले शिशु स्याहार केन्द्र भन्यौं ‘डे केयर सेन्टर’ लाई । त्यसरी नै ‘फाउन्डेसन/प्ले ग्रुप’ लाई बाल शिक्षाको सन्दर्भमा ‘चिचिला समूह/कक्ष’ भन्ने आँट गरे के हुन्छ ? त्यसैगरी ‘नर्सरी’ लाई ‘मुना समूह’ भनेर के बिग्रिन्छ र ? ‘जे./एल.के.जी.’ लाई ‘कोपिला समूह’ र ‘एस./यु.के.जी’ लाई ‘पालुवा समूह’ भने के पो बिग्रिएला ?

शिशु अवस्थादेखि नै मिसहरूका काख परेका बालबालिका आमाबुबाको न्यानो मायाको स्वाद चाख्न नपाउने भइदिन्छन् । दिनभर विद्यालयमा समय बिताउँछन् । घरमा पनि दाइदिदीहरूसित साँझ् बिताउँछन् । आमाबाबु आफ्ना कामबाट अबेर घर फर्कन्छन् । केटाकेटीहरू सुतिसकेका हुन्छन् । सुति नै सकेका नभए पनि टेलिभिजन र कम्प्युटरमा मगनमस्त रहन्छन् । आमाबुबाभन्दा तिनै यन्त्रहरूप्रति प्रतिबद्ध रहन्छन् । क्रमिक तवरले एकपछि अर्को र अर्कोपछि अर्कोे गर्दै बालबालिकाहरू यान्त्रिक बन्न पुगेका छन् । यस्ता यान्त्रिकीकरणका थालनी गर्भावस्थादेखि नै भइदिन्छ । आमाबुबा पनि त गर्भे भू्रण पालेर टेलिभिजन निरन्तर हेर्ने गर्छन् । के पत्तो र उहाँहरूलाई कि गर्भे बालकमा त्यसको असर पर्छ, प्रभाव पर्छ भनेर । जानी नजानी हामी यस्ता प्रगाढ छाप पार्ने क्रियाकलाप मच्चाई नै रहेका हुन्छौं । यस्तो पाठ बालबालिकाका पाठ्यसामग्रीभित्र क्रमिक तवरले समावेश गरिए कसो होला ?

अब त समय र समाजले हाम्रा सांस्कृतिक संस्कारलाई तिलाञ्जली नै दिइसकेका छन् । सुत्ने कोठाका भित्तामा ईश्वरका सुन्दर चित्र राख्ने, महान आत्माहरूका तस्वीर र फोटो राख्ने मन्त्र पनि भुलिसक्यौं । मन्त्रै मासिएपछि त्यसभित्रको मनोविज्ञान कसरी मनन गर्ने ? मनोविज्ञानकै मनन नहुने परिवेशमा मनोविश्लेषण कसरी गर्ने ? एक चुनौती नै बनेको छ सबैका सामु । स्वीकारौं या नस्वीकारौं टड्कारो स्थिति यस्तै छ । लाग्छ मै नाच्न नजान्ने भएर आँगन टेढिए जस्तो छ । तैपनि म स्वीकार्न तयार हुन्न । कस्तो विडम्बना !

के हो सांस्कृतिक संस्कार ? मान्छे र मान्छेको परिवार एक संस्कार हो । आफ्ना संस्कारको श्री भन्नु नै परिवार भन्छु म । एउटै संस्कारमा हुर्के बढेका उस्तै उस्तै संस्कारयुक्त परिवारहरू एकतमास बाँचून्, बढून् र हुर्कियुन् । समाज तिनैबाट पलाएर रूप लिन्छ । मेरो सांस्कृतिक संस्कारको सन्दर्भ चिन्तन र व्यवहारसित सम्बन्ध राख्छ । ठीक छ अब हामी पाश्चात्य संस्कारले बेरिएर बाँचेका छौं । कमसेकम एक दुई शब्दान्तर त गर्न सक्दा हौं । अठोट गरे पक्कै हुन सक्छ भन्छु दृढतापूर्वक । हामीले शिशु स्याहार केन्द्र भन्यौं ‘डे केयर सेन्टर’ लाई । के बिग्रेको छ त्यसमा ? आँट गर्नुपर्छ, भै जाँदो रहेछ । त्यसरी नै ‘फाउन्डेसन/प्ले ग्रुप’ लाई बाल शिक्षाको सन्दर्भमा ‘चिचिला समूह/कक्ष’ भन्ने आँट गरे के हुन्छ ? त्यसैगरी ‘नर्सरी’ लाई ‘मुना समूह’ भनेर के बिग्रिन्छ र ? ‘जे./एल.के.जी.’ लाई ‘कोपिला समूह’ र ‘एस./यु.के.जी’ लाई ‘पालुवा समूह’ भने के पो बिग्रिएला ?

चाहिने एकै थोक मात्र– सकारात्मक सोच । नेपाली शिक्षा पूरापूर पाश्चात्य शैलीमा विधि र प्रविधि अनुरुप भइरहेछ । तैपनि त्यसमा नेपालीपन समाहित गर्न सकिने ठाउँ छन् । हाम्रै लागि हामीले नगरे कसले गर्दो हो ? त्यसनिम्ति हामीले लघुताभास मात्र त्याग्नु जरूरी छ, बस् ... !

भक्तपुर



 

commercial commercial commercial commercial