नेताका स्कूलको बिजोग !

आफ्ना हकहितप्रति सचेत र जागरुक शिक्षक नेताहरू छात्रछात्राको सिकाइप्रति पनि उत्तिकै जागरुक र जिम्मेवार होलान् भनेर कल्पना गर्नु अस्वाभाविक होइन । तर इलाममा शिक्षक नेता रहेका स्कूलको नतीजा दयनीय आएको छ ।

नेपाल शिक्षक युनियनका अध्यक्ष पूर्णप्रसाद गौतमले पढाउने इलाम–४ स्थित भगवती माविको एसएलसी नतीजा ४.२६ प्रतिशत छ । नेपाल शिक्षक संघका पूर्व अध्यक्ष डोरकुमार पौडेल पनि त्यहीं कार्यरत छन् । संघका हालका अध्यक्ष खडानन्द अधिकारी प्रअ रहेको जितपुर उमाविको पनि ५.५६ प्रतिशत नतीजा आएको छ । त्यहाँ शिक्षक युनियनका जिल्ला सचिव सीबी योङहाङ्ग पनि कार्यरत छन् । त्यस्तै संघीय लिम्बूवान राज्य परिषद् (पालुङ्वा) निकट लिम्बूवान शिक्षक संघका केन्द्रीय अध्यक्ष डाकप्रसाद गौतम र नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष गोपाल नेपाल कार्यरत बरबोटेको अमर उमाविले ५.३३ प्रतिशत छात्रछात्रा मात्र उत्तीर्ण गराएको छ । अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष राजेन्द्र चौहान कार्यरत फिक्कल उच्च माविका १६.९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शिक्षक संघका सचिव खगेन्द्र पिठाकोटे, शिक्षक युनियनका सहसचिव हेमलता उप्रेती र शिक्षक संगठनका सचिव प्रकाश खनाल कार्यरत इलाम सदरमुकामको आदर्श उमाविले ५.३२ प्रतिशत नतीजा हासिल गरेको छ ।  नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व अध्यक्ष किरण सुवेदी कार्यरत साङरुम्बा उमाविका पनि १०.५८ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

इलाम जिल्लाभरिबाट यसपालि जम्मा २०.५८ प्रतिशत परीक्षार्थी एसएलसीमा उत्तीर्ण भएको जिशिका इलामले जनाएको छ । एसएलसीमा गत वर्ष ६ वटा स्कूल मात्र सफलताशून्य भएकोमा सो संख्या बढेर १३ पुगेको छ । सामुदायिक र निजी गरी ११६ स्कूलका चारहजार ३७३ जना सामेल भएकोमा विशिष्ट श्रेणीमा ३५, प्रथम श्रेणीमा ३४४, द्वितीय श्रेणीमा ४८२ र तृतीय श्रेणीमा ३९ जना सहित जम्मा ९०० परीक्षार्थी उत्तीर्ण भए भने तीनहजार ४७३ अनुत्तीर्ण रहे ।
लक्ष्मीप्रसाद मिश्र, इलाम

commercial commercial commercial commercial