ज्ञानको दायरा विस्तार गर्न

शिक्षक  मासिक वास्तवमा नेपालको बजारमा पाइने विभिन्न दैनिक, साप्ताहिक तथा मासिक पत्रिकाहरूको भीडमा छुट्टै पहिचान बनाउन सफल पत्रिका हो— जसले एक अध्ययनशील शिक्षकको लागि प्रेरणा र स्रोत–सामग्रीको खानी बनिदिएर सबैलाई सहयोग पुर्‍याएको छ । यसले शिक्षा क्षेत्रमा भएका विकृति–विसंगति लगायत शिक्षक तथा शिक्षाविद्का अनुभव, पठनपाठनका नयाँ शैली, विचार, भावना, गुनासा, जिज्ञासा लगायतका शिक्षा क्षेत्रका दुर्बल तथा सबल पक्षहरूलाई उजागर पार्ने प्रयास गरेको छ ।  शिक्षक  मासिकले आफ्नै विरोध गरिएका लेखलाई समेत उत्तिकै ठाउँ दिएको पाइन्छ । त्यसैगरी यसले विभिन्न समाचारमूलक लेख–रचना, आयोग गतिविधि, पाठ्यक्रम, शिक्षक सेवा आयोग सहयोगी विशेष सामग्री समेत प्रकाशन गरी आयोगको तयारीमा जुटेका शिक्षक मित्रलाई अत्यन्त ठूलो गुन लगाएको छ । झेले स्कूल सम्बन्धी विश्लेषणात्मक समाचार प्रस्तुत गरी शिक्षा क्षेत्रका विकृतिलाई उदाङ्गो पार्ने यसको साहसलाई कहिल्यै बिर्सन सकिंदैन ।

सानो क्षेत्रको ज्ञानमा सीमित रहेर बसिरहनुपर्ने स्थितिको अन्त्य गर्दै यस पत्रिकाले समय र सन्दर्भ अनुसार देश–विदेशका शैक्षिक इतिहास र विचार समेत समेट्ने प्रयास गरेको छ । त्यसबाट एउटा कर्मठ शिक्षकले आफूलाई अरूसँग तुलना गरी सोही अनुसार कसरी अगाडि बढ्ने भन्ने प्रेरणा प्राप्त गर्न सक्छ ।

सिकाइ निरन्तर प्रक्रिया हो । शिक्षक स्वयं एक सिकारु पनि हो । उसले नयाँ नयाँ ज्ञान र अनुभव प्राप्त गरेमा आफ्नो व्यवहारमा सोही अनुसार परिवर्तन ल्याउन सक्दछ । शिक्षक मित्रहरू जसले शिक्षक  मासिकलाई अध्ययनको नियमित सामग्री बनाउनुभएको छ, उहाँहरूले निश्चय नै शिक्षण कार्यमा केही न केही सुधार अवश्य ल्याउनुभएको छ ।

शिक्षक एक खोजकर्ता पनि हो । उसले विद्यार्थीलाई ज्ञान प्रदान गर्ने क्रममा पाठ्यपुस्तकमा रहेका विषयवस्तुलाई सरसर्ती पस्कँदैमा शिक्षण सफल भएको मान्न सकिंदैन । त्यस्ता विषयलाई पुष्टि गर्नको लागि उसले विभिन्न किसिमका दृष्टान्त र अनुभवहरू प्रदान गर्नुपर्ने हुन्छ । यस्ता दृष्टान्त र अनुभव प्राप्त गर्न शिक्षक स्वयं विद्यार्थी वा अध्येता बन्नुपर्दछ ।

अध्यनशीलता— एउटा शिक्षकमा हुनैपर्ने गुण हो । यसको अभावमा कोही पनि सफल शिक्षक बन्न सक्दैन । ज्ञानको सागर अथाह छ । अध्ययनको क्षेत्र विशाल छ । अनुभवको क्षेत्र व्यापक छ । यस अवस्थामा हरेक क्षेत्रमा रहेका ज्ञान, सीप र अनुभवलाई एकीकृत गरी विद्यार्थीमाझ पुर्‍याउने कार्य चुनौतीपूर्ण छ । छरिएर रहेका त्यस्ता विषयवस्तु, ज्ञान तथा अनुभवलाई कसैले एकत्रित गरिदिएको खण्डमा एउटा व्यस्त शिक्षकलाई शिक्षण सिकाइ प्रक्रियामा अवश्य पनि सहजता मिल्ने हुन्छ । त्यस्तो कार्यको सहजीकरण बजारमा निस्केका विविध पत्रपत्रिकाहरूले नगरिरहेको अवस्थामा शिक्षकहरूलाई शिक्षण पेशामा उपयोगी हुने हरेक जानकारी, अनुभव तथा ज्ञान–सीप अभिवृत्ति जस्ता विषयहरू छन्, शिक्षक  मासिकले पस्कने साहस गरेको छ ।

प्रकाशनको छैटौं वर्षमा अगाडि बढिरहँदा हालसम्म यसले विविध विषय र क्षेत्रका सामग्रीहरूलाई समेटी उत्कृष्ट खुराक दिने काम गरेको छ भन्दा शायद यसको प्रशंसा मात्र गरेको नठहरी यथार्थता जाहेर गरेको हुन्छ भन्ने लाग्दछ ।

शिक्षक आफैंमा परिवर्तनको संवाहक हो र नेपालको सन्दर्भमा उसलाई साथ दिने सारथि वर्तमान अवस्थामा शिक्षक  मासिक नै हो । तसर्थ शिक्षक  मासिकले सारथिको भूमिका निर्वाह गर्ने कार्यमा कहीं कतै पनि चुक्नुहुँदैन । यसमा विभिन्न शिक्षाविद्का लेखरचना, शिक्षण पेशामा लामो समय बिताएका व्यक्तिका जीवन्त अनुभव, दुर्गम क्षेत्रका शिक्षा क्षेत्रका समस्या र चुनौतीसँग सम्बन्धित विषय समेटिएका लेख नछुटाई यथार्थपरक ढंगले पस्कँदै जाने हो भने यसका पाठक संख्यामा वृद्धि हुने कुरामा शंका छैन । यसको लागि शुभकामना समेत छ । साथै शिक्षक मित्रहरूलाई यसले पस्कने खुराक ग्रहण गर्नका लागि पनि अनुरोध गर्दछु ।

श्री सिद्धार्थ उमावि, फेदीखोला–२, स्याङ्जा

commercial commercial commercial commercial