कृषि विज्ञ बन्नुछ !

हाम्रो स्कूलमा गुरुपूर्णिमाको दिन विशेष कार्यक्रम हुने गर्छ । संस्कृत भाषा–साहित्यमा गुरुको विशेष स्थान छ । शायद त्यसैले पनि यो दिनलाई हाम्रो स्कूलमा विशेष उत्सवका रूपमा मनाउन थालिएको होला । हाम्रो स्कूलमा संस्कृतको पनि पढाइ हुन्छ । त्यो दिन हामीहरू गुरुप्रति विशेष तवरले सत्कार र सम्मान प्रकट गर्ने गर्छौं । गत वर्ष आयोजित गुरुपूर्णिमाको कार्यक्रममा मलाई नृत्य गर्ने अवसर दिइएको थियो । मैले आफैंभित्र डुबेर नृत्य गरें । अरूले मलाई कसरी हेरे, कस्तो ठाने, मलाई थाहै भएन । नृत्य गर्दा म आफैंभित्र हराएकी थिएँ ।

नाँच सक्नासाथ ‘वाह ! क्या नाचेकी यो फुच्चीले’ भन्दै तालीको गडगडाहट पाएँ । त्यसले मलाई झ्ंकृत तुल्यायो । म नाँच्न जान्ने रहिछु भन्ने लाग्यो, हर्षले विभोर भएँ । ती खुशीका अनुभूति व्यक्त गर्न मसित शब्द नै छैनन् । त्यो दिनले मेरो जीवनमा नयाँ पाना थपिदियो । म अलिकति फुर्सद भयो कि गुनगुनाउन र नाँच्न थालें । विस्तारै यो त जीवनलाई खुशियालीपूर्वक जिउने कला रहेछ भन्ने लाग्न थाल्यो । अहिले कुनै कार्यक्रममा पुरस्कार थापेर आएपछि वा घरमा खुशियालीको कुनै क्षण आउँदा हामी पाँचै दिदीबहिनी मज्जाले नाँच्छौं । म त केही तनाव भयो भने पनि नाँच्ने गर्छु । नाँचले मानिसलाई विगत र भविष्यबाट मुक्त गराएर मनलाई पूर्ण रूपेण वर्तमानमा केन्द्रित गराउँदोरहेछ !

मलाई पहिलो दिन स्कूल जाँदाको मधुरो दृश्य आज पनि याद छ । वर्षात्को समय थियो । म भर्खर पाँच वर्षमा पाइला टेक्दै थिएँ । मेरो घरबाट निस्केर सडक पार गर्ने बित्तिकै स्कूल पुगिन्थ्यो । म प्लाष्टिकको झेलामा कपी र पेन्सिल बोकेर गएकी थिएँ । शिक्षकले स्कूलमा मलाई मन पर्ने खेलौना दिनुभयो । त्यो दिन खूब मज्जाले खेलियो । पहिलो दिनले मेरो मनमा स्कूलप्रतिको धारणा सारै सकारात्मक बनायो । भोलिपल्ट पनि म खेल्न र धर्सा तान्नकै लागि स्कूल गएँ । शिक्षकहरूले विस्तारै हात समातेर लेख्न सिकाउन थाल्नुभयो । अक्षर लेख्न तुरुन्तै त के जानिथ्यो, सकी नसकी धर्सा तान्न थालियो । मेरो मनमा परेको स्कूलप्रतिको पहिलो दिनको सकारात्मक छाप आजसम्म मेटिएको छैन । मैले अहिलेसम्म शिक्षकबाट कहिल्यै पिटाइ खानु परेको छैन ।

शिशु कक्षादेखि अहिले ९ कक्षासम्मको मेरो अनुभवले भन्छ, असल र सफल विद्यार्थी बन्नको निम्ति अभिरुचि, परिश्रम र जागरुकताको महŒवपूर्ण हात रहँदोरहेछ । विद्यार्थीको सोच, प्रवृत्ति र क्रियाकलापले धेरै कुरा निर्धारण गर्दोरहेछ । त्यहाँ शिक्षकको पनि उत्ति नै ठूलो भूमिका रहँदोरहेछ । सिक्ने वातावरणको निर्माण, सिक्ने रुचि पैदा गर्ने, सिकाउने तरीका, नजानेका/ननबुझेका कुरा खुलस्त बनाइदिने काम शिक्षकको हो । अर्को शब्दमा भन्नुपर्दा, शिक्षकको प्रभावकारी भूमिका विना हामी सफल विद्यार्थी बन्न सक्दैनौं । शिक्षकहरूले कक्षालाई कति रसिलो बनाउनुहुन्छ, विद्यार्थीको रुचिलाई कति ध्यान दिनुहुन्छ, विद्यार्थीको क्षमता कतिको चिन्नुहुन्छ र त्यसको विकास गराउने कला कतिको छ भन्ने कुराले हामी कति राम्रो विद्यार्थी बन्नेछौं भन्ने कुरा निर्धारण गर्दोरहेछ । हामी विद्यार्थीहरूको भाग्य नै भन्नुपर्ला, हाम्रा स्कूलमा भएका सबै शिक्षकहरू त्यस दृष्टिले योग्य हुनुहुन्छ । सबै जना गुरुहरू हाम्रो शिक्षा र व्यक्तित्व विकासप्रति जागरुक र प्रतिबद्ध पाएकी छु ।

शिक्षकहरूको व्यक्तित्वले हामी विद्यार्थीलाई नजानिंदो गरी तर गहिरो तरीकाले प्रभावित गर्दोरहेछ । नारायण घिमिरे गुरुको हँसाएर पढाउने कलाबाट हाम्रो कक्षाका मात्र होइन, सिंगो स्कूल नै मुग्ध छ । जुनसुकै पाठ पढाउँदा वा कुरा बुझउँदा त्योसित मिल्ने यति राम्रो जोक बनाउनुहुन्छ कि हामी सुन्ने बित्तिकै पेट मिचिमिची हाँस्छौं । प्राथमिक तहमा पढाउने गीता पराजुली गुरुमासित पनि हँसाउने विशिष्ट कला छ । उहाँहरू दुवैबाट अभिप्रेरित भएर हामी पनि साथीसाथीमा त्यस्तै तरीकाले जोक गर्ने र हँसाउने नक्कल गर्छौं । अर्का गुरु, शैलेन्द्रनाथ चौवे जे पाठ पढाउनुहुन्छ, कथा हालेर पढाउनुहुन्छ । हरेक पाठमा अन्तरनिहित ज्ञान र सन्देशलाई हाम्रो मनमा गहिरो छाप पर्ने गरी उहाँ कथा हाल्नुहुन्छ । अरू जति पनि गुरु वा गुरुमाहरू हुनुहुन्छ, केही न केही प्रभाव हामीमा छाड्ने तरीकाले स्कूलमा समय व्यतीत गर्नुहुन्छ । उहाँहरूले हामीलाई विनम्र हुन, राम्रोसित बोल्न, भाषण गर्न, किताबको किरो मात्रै नबनी समाज, पाका मानिसहरू, पत्रपत्रिका सबैबाट ज्ञान लिनुपर्छ भन्ने शिक्षा दिनुभएको छ ।

त्यस दृष्टिले भन्नुपर्दा, सरकारी स्कूलमा पढ्छु भन्दा मलाई गर्व महसूस हुन्छ; हीनताबोध त पटक्कै छैन । हामीले यति राम्रा, प्रतिबद्ध र क्षमतावान गुरु र गुरुमा पाएका छौं, जसले हाम्रो जीवनलाई हरपल समृद्ध र परिस्कृत गर्ने प्रयत्न गरिरहनुभएको छ । मलाई विश्वास छ, उहाँहरूले आफूलाई समय अनुरुप अझ् योग्य, क्षमतावान बनाउँदै लग्नुहुनेछ । बूढो भएँ, अब थाकियो भनेर आफूलाई खुम्च्याउनु हुने छैन । किनकि उहाँहरूले हामीलाई जीवनभर नवीन कुरा सिक्न, आफूलाई सधैं जाँगरिलो बन्न र आफूले लिएको जिम्मेवारी अब्बल तरीकाले पूरा गर्न सिकाउनुभएको छ । कर्तब्य पालना गर्न सिकाउनुभएको छ ।

गुरुमा ज्ञानको ज्योति चम्किलो जब बन्दछ
त्यही वेला शिष्यमा पनि ज्ञानको ज्योति छर्दछ ।

अघिल्लो वर्ष कक्षा ८ मा छँदा फणि नारायण सिग्देल गुरुको प्रेरणाले मैले कविता लेख्न थालें । गत वर्षको गुरुपूर्णिमाको दिन मैले यो कविता लेखेकी थिएँ । यो मेरो पहिलो प्रयास थियो । संस्कृत व्याकरण पढाउने उहाँ (हाल अवकाशप्राप्त) साहित्यकार पनि हुनुहुन्थ्यो । उहाँले मलाई हौस्याउँदै तिमीमा राम्रो कवि हुने संभावना छ भनेर भन्नुभएको थियो । त्यसपछि मैले अलिकति फुर्सद मिलेको वेला यतातिर ध्यान दिन थालें । अहिलेसम्म पन्ध्र बीस वटा जति कविताको खेस्रा कोरिसकेकी छु । केही दिनअघि मात्र कविता लेख्ने मोटो र बलियो गाता भएको छुट्टै कपी किनेर ल्याएकी छु ।  कविता अभिव्यक्तिको एउटा भिन्न मात्र होइन, सशक्त माध्यम पनि रहेछ भन्ने महसूस गरेकी छु । सिग्देल गुरुले भन्नुभएको छ, “लेखन जति धेरै लेख्यो उति नै परिस्कृत हुँदै जान्छ ।” एक वर्षको छोटो लेखनीका क्रममा मैले पनि त्यो कुरा अनुभव गरेकी छु । यस क्रममा मैले थाहा पाएँ, अरू साहित्यकारका राम्रा कृति जति धेरै अध्ययन गर्ने मौका पायो, उति नै आफ्नो लेखनी पनि तिखारिंदै जाने रहेछ । तर हाम्रो स्कूलको पुस्तकालयमा त्यस्ता साहित्यिक कृति खासै छैनन् । स्कूलको पुस्तकालयमा नेपाली र विश्व साहित्यका चुनिंदा कृतिहरू थपिए म सबैभन्दा बढी प्रफुल्ल हुनेथिएँ !

साहित्य मेरो हवी भए पनि मेरो सपना चाहिं कृषि वैज्ञानिक बन्ने हो । खोइ किन हो कुन्नि, मलाई सानैदेखि माटो र खेतीको काम गर्न औधी मन पर्छ । हाम्रो आफ्नै खेत नभएकाले खेतीपातीमा खासै भिज्न पाएको छैन । कहिलेकाहीं मौका पाएको वेलामा साथीहरूसित खेतको काम गर्न जान्छु । म कृषिविज्ञ भएर नेपाली माटो र भूगोलको निम्ति उपयोगी हुने प्रविधिहरूको आविष्कार गर्न चाहन्छु, जसले हाम्रा किसान दाजुभाइ दिदीबहिनीहरूको कष्ट हरण गरोस्, उत्पादन धेरै होस् । हाम्रो देशमा त्यस्तो कृषि क्रान्तिको आवश्यकता छ, जसले देशलाई धेरै धनी बनाओस्, गरीब मानिसहरूले कहिल्यै भोकै बस्नु नपरोस् !
तर मेरो सपना त्यति सहजै साकार हुने छैन । पढाइको निम्ति धेरै पैसा चाहिन्छ । परिवारसित धेरै धन छैन । पाँच दिदीबहिनी, दुई दाइ, बा आमा गरी ९ जनाको हाम्रो परिवारको आयस्रोत सानो छ । भर्खरै एसएलसी पास गरेकी मेरी दिदीले चाहेर पनि स्टाफ नर्स पढ्न पाइनन् । मेरो सानु दाइले बुटवल गएर उच्च मावि तहमा विज्ञान पढ्न चाहेका थिए । तर उनको धोको पनि पूरा हुन पाएन । भोलि मेरो पनि त्यस्तै अवस्था आउन सक्छ । यो कुरामा म बढी नै सजग र संवेदनशील छु । सुनेकी छु, एसएलसीमा उच्च अंक ल्याउने विद्यार्थीले ११ पढ्दा छात्रवृत्ति पाउँछ रे ! त्यसैले म एसएलसीमा विशिष्ट श्रेणी हासिल गर्ने गरी पढ्ने तयारी गरिरहेकी छु । एसएलसीमा अब्बल अंक आयो भने उच्च मावि निःशुल्क पढ्न पाइनेछ । उच्च माविमा पनि अब्बल अंक ल्याउन सकियो भने कृषि क्याम्पसमा छात्रवृत्तिमा पढ्न पाइनेछ र यही बाटोबाट म एक दिन कृषि वैज्ञानिक बन्न समर्थ हुनेछु भन्ने मेरो विश्वास छ । यो सपनालाई साकार तुल्याउन म धेरै मिहिनेत गर्नेछु । अहिले पनि म साँझ् घरमा तीन घण्टा जति पढ्छु । बिहान पनि एक घण्टा जति पढ्छु । नबुझेका कुरा शिक्षकहरूलाई सोध्न र त्यसबारेमा राम्रोसित बुझन कुनै कसर बाँकी राख्दिनँ । अनुशासन, समर्पण, जिज्ञासा, धैर्य र इमान्दारपूर्ण प्रयत्न अनि गुरुहरूको मार्गनिर्देशन र सहयोगले आफ्नो सपना साकार पार्न समर्थ हुनेछु भन्ने मेरो विश्वास छ ।

(१४ वर्षीया गुप्ता तौलेश्वर संस्कृत उच्च मावि, तौलिहवा, कपिलवस्तु, कक्षा ९ की छात्रा हुन् ।)

commercial commercial commercial commercial