‘झेलेहरूलाई चाहिं काम नहोला !’

पूर्वीय दर्शन अनुसार गुरु अर्थात शिक्षक भनेका ज्ञानका भण्डार हुन् । यसको आशय हो, जुनसुकै ठाउँमा, आफ्ना चेला वा विद्यार्थीले जस्तोसुकै प्रश्न गरे पनि शिक्षकले सहज र सरल रूपमा उत्तर दिन सक्ने खुबी राख्नु पर्दछ । तर के आजको विश्व परिवेशमा यो भनाइ सार्थक होला त ? सूचना र प्रविधिको विकास र यसको सर्वसुलभताले विश्वलाई यति साँघुरो बनाइदिएको छ कि विश्वका कुनै पनि कुनाकाप्चा अव हाम्रा लागि टाढा वा बेखवर छैनन् ।  जिज्ञासु र चुलबुले उमेरका बालबालिकाहरू त यस्ता प्रविधिबाट टाढा रहने कुरै भएन । यस्तो अवस्थामा बालबालिकालाई ज्ञान प्रदान गराउने जिम्मा लिएको र त्यसबापत सरकारको नुनपानी खाएको शिक्षक ज्ञान, सूचना र प्रविधिको क्षेत्रमा ‘अप टु डेट’ भएन भने ऊ आफ्ना विद्यार्थीहरू भन्दा पनि पछि पर्न सक्दछ ।

शिक्षण भनेको केवल अरूलाई पढाउने मात्र होइन, आफूले पनि पढ्नु हो ।  शिक्षणमा त्यो व्यक्ति मात्र सफल हुन्छ, जो आफ्नो पेशालाई प्रभावकारी र मर्यादित बनाउन सदा तत्पर रहन्छ ।

हाम्रा कतिपय विद्यालयहरूमा बिहानभरि घरको काम गर्दागर्दै वा मकै गोड्दा गोड्दै विद्यालयमा घण्टी बजेको सुनेर “ला ! दश पो बजिसकेछ” भन्दै कोदालो फालेर हस्याङ–फस्याङ गर्दै दुई गाँस टिपेर विद्यालय पुग्ने अनि चक डष्टर बोकेर कक्षामा पुगी किताब पनि विद्यार्थीसँगै मागेर “आज कुन पाठ हो भन भन”, भनी विद्यार्थीसँगै सोध्ने अनि “हा...ई... ल, पढ है, आज मलाई त्यति सञ्चो छैन !” भन्दै थकाइ मार्ने प्रवृत्ति नदेखिने होइन । त्यस्तो प्रवृत्ति भएका र विद्यालयलाई आफ्नो राजनीतिको कर्मथलो बनाउने झेले शिक्षकहरूका लागि त शिक्षक मासिक पत्रिकाको कुनै अर्थ नरहला । तर आफ्नो पेशालाई मर्यादित बनाउन नचाहने शिक्षकहरूका लागि भने शिक्षक मासिक पत्रिकाले एक सिँढी माथि चढ्न मद्दत नै पुर्‍याउँछ ।

शिक्षक किन पढ्ने ?
असल शिक्षण गर्नको लागि पाठ्यपुस्तकको अलवा सन्दर्भ सामग्री, सहायक सामग्री, शैक्षिक सामग्री आदिको जरुरत पर्दछ । नयाँ नयाँ सूचनामूलक विषयवस्तुहरूको प्रस्तुतिले विद्यार्थीमा जिज्ञासा र रुचि जगाउन मद्दत पुग्दछ र उक्त विषय पढाउने शिक्षकसँग पढौं पढौं भन्ने भावना जाग्दछ । नयाँ नयाँ खोज, छलफल, अन्तरक्रिया, पत्रपत्रिका पढ्ने, रेडियो, टिभीका शिक्षा वा सूचनामूलक कार्यक्रम हेर्ने बानी भएका शिक्षकले नै आफ्नो अध्यापन कार्यलाई चुस्त र दुरुस्त बनाउन सक्छन् । जब शिक्षण प्रभावकारी हुन्छ, तब मात्र विद्यार्थीलाई सन्तुष्टि दिन सकिन्छ । विद्यार्थीलाई सन्तुष्टि दिलाउनु भनेको उनीहरूको उपलब्धि स्तर वृद्धि गर्नु हो । यसो भयो भने विद्यार्थी खुसी हुन्छन्, अभिभावक खुसी हुन्छन्, विद्यालय प्रशासन खुसी हुन्छ र समग्रमा भन्नुपर्दा भोलि गएर शिक्षकको वृत्तिविकासमा समेत सहयोग पुग्न जान्छ ।

पत्र–पत्रिका पढ्नु भनेको केवल समय कटाउनु मात्र कदापि होइन । यसबाट नयाँ नयाँ समाचारहरू प्राप्त हुनुको साथै विज्ञान, कला, राजनीति, खेलकुद, मनोरञ्जन, धर्म, संस्कृति, इतिहास, भूगोल, नागरिक चेतना, विद्धानहरूका विचारोत्तेजक लेख आदिको बारेमा जानकारी पाउन सकिन्छ, जुन कुरा एउटा सफल शिक्षकको लागि अपरिहार्य हुन्छ । आफू सधैं ‘अप टु डेट’ हुनुको साथै अरूका विचारलाई तार्किक किसिमले खण्डन–मण्डन गर्नको लागि पनि पत्रपत्रिका हेर्नै पर्ने हुन्छ । त्यसमा पनि यस पत्रिकाको त नामै शिक्षक । नामैले पनि बताउँछ कि यो पत्रिका शिक्षक वर्गले पढ्नै पर्ने पत्रिका हो । शिक्षकले मात्र होइन यो पत्रिका त पढ्ने, पढाउने र पढ्न पठाउने सबैका लागि उपयोगी छ, हरिवंश आचार्यले यसको विज्ञापनमा भने झैं ।

यस पत्रिकामा कामचोर खैराँते शिक्षकदेखि लिएर नमूनालायक शिक्षकहरूको वृत्तान्त, विद्यालय बनाउन निःस्वार्थ भावनाले लागेका विव्यसका पदाधिकारीदेखि शिक्षा क्षेत्रमा फेरबदल भइरहेका ऐन, नियमहरूको जानकारी र त्यसको समीक्षा, विभिन्न शिक्षाविद्का खोजमूलक लेख रचना, विभिन्न प्रकारका शिक्षण कौशल र विधिहरू, शिक्षकका सेवा, सर्त र सुविधाहरूको बारेमा राखिएका जिज्ञासाका सम्बन्धित निकायबाट उचित जवाफ समेत एकै ठाउँमा पाइन्छ ।

शिक्षक  पत्रिका किन पढ्ने भन्ने सवाललाई
बुँदागत रूपमा यसप्रकार राख्न सकिन्छ–

१.    विभिन्न सूचनामूलक, खोजमूलक र ज्ञानमूलक विषयहरूको जानकारीका लागि,
२.    शिक्षा क्षेत्रमा भइरहेका सुधार र परिवर्तनको जानकारीका लागि,
३.    शिक्षण पेसासँग सम्बन्धित आपूmमा रहेका दुविधाहरू केही हदसम्म मेटाउनका लागि,
४.    शिक्षा ऐन, नियममा भइरहेका परिवर्तन र विद्यमान ऐन नियमको जानकारीका लागि,
५.    शिक्षकहरूका सेवा, सर्त र सुविधाहरूको बारेमा राखिएका जिज्ञासा सम्बन्धित निकायबाटै मेटाउनका लागि,
६.    देशका विभिन्न कुना–काप्चामा रहेका नमूना शिक्षक, प्रअ विद्यालय व्यवस्थापन समिति आदिको बारेमा जानकारी लिई त्यसबाट शिक्षा लिनका लागि,
७.    नमूना शिक्षण विधि, शैक्षिक सामग्रीको जानकारी र त्यसको यथोचित प्रयोगका लागि,
८.    शब्दखेल, अन्ताक्षरी, हाजिरीजवाफ, सुडोकु जस्ता प्रतियोगिता–मूलक विषयमा सहभागिता जनाइ बुद्धि खियाउन र शब्दभण्डार वृद्धि गर्नका लागि ।

मित्रता उमावि, सत्रसय, तनहुँ

commercial commercial commercial commercial