विपद् व्यवस्थापनमा सूचना प्रणालीको योगदान

जलवायु परिवर्तनले प्रकोपको जोखिम बढाउन सक्ने अवस्थामा विपद्का जोखिम न्यूनीकरण गर्नका लागि दिगो, व्यावहारिक र प्रभावकारी पूर्वसूचना प्रणाली मुलुकभरि स्थापना गर्नु आजको आवश्यकता हो ।

भारतमा सन् २०१३ मा विध्वंसकारी आँधी–बेहरी र अतिवृष्टिका दुई वटा घटना भए । त्यसबाट व्यापक धनजनको क्षति भयो । उत्तराखण्ड प्रान्तमा मनसुन पूर्वाह्नमै हाँडीघोप्टे वर्षाका कारण ठूलो बाढी आयो भने उडिसा र आन्ध्र प्रदेशमा ‘फैइलिन’ नामक चक्रवातबाट लाखौं जनता प्रभावित भए । ‘फैइलिन’ ले उडिसा र आन्ध्र प्रदेशका १९ जिल्लामा करोडौंको भौतिक संरचना र सम्पत्ति नष्ट गरे पनि त्यहाँ मानवीय क्षति भने भएन । उता उत्तराखण्डमा मानवजीवनको व्यापक क्षति भयो ।

यी दुई विपद्को प्रकृति वेग्लावेग्लै भए पनि यिनको तुलनात्मक अध्ययन उपयोगी छ । प्रश्न उठ्छ, किन र कसरी उत्तराखण्डमा मानव क्षति भयो तर उडिसामा हुन पाएन ? जवाफ सरल छ, उत्तराखण्डले विगतका विपत्तिबाट पाठ सिक्न सकेको थिएन भने उडिसाले सन् १९९९ मा आएको सुपर चक्रवातको अनुभवबाट धेरै कुरा सिकिसकेको थियो । सिकेका तिनै विधिहरूको कार्यान्वयन ग¥यो र बहुमूल्य मानव जीवनको रक्षा हुन सक्यो ।

कुनै पनि विपद्को प्रभाव न्यूनीकरण गर्न सूचना सम्प्रेषण आवश्यक पूर्वाधार हो । उत्तराखण्डमा रहेका दुई वटा मौसम मापन केन्द्रले २०१३ जून १० मा भारी वर्षा रेकर्ड गरेका थिए । तर त्यो विवरण समयमै सम्बन्धित निकायमा पुग्न सकेन । पाएको सूचनालाई पनि सम्बन्धित निकायले गम्भीरतापूर्वक लिन सकेन र क्षति व्यापक भयो । उत्तराखण्डमा विगत केही वर्षयता धार्मिक पर्यटकहरूको सुविधाका लागि थुप्रै पूर्वाधारहरू निर्माण गरिए । तर तिनको उचित अनुगमन हुन नसक्दा स्तर खस्क्यो । विपद्का वेला हजारौं–हजार पर्यटकहरू त्यस स्थानमा भएको हुँदा ती विपद्मा परे । यदि स्थानीय सरकार नियमनमा चनाखो भएको भए क्षति यति व्यापक हुन पाउने थिएन ।

उडिसामा भने भारतीय मौसम विभागले ‘फैइलिन’ को बाटो, त्यसको तीव्रता, कता आइपुग्यो, कुन समयमा त्यो तटीय क्षेत्रमा आइपुग्छ भन्ने सूचना समयमै सङ्कलन गरी सम्बन्धित निकायहरूलाई उपयुक्त समयमा उपलब्ध गराएकै कारण विपद् व्यवस्थापनमा ठूलो सहयोग पुग्यो । अग्रिम सूचनाहरू लक्षित समूहसम्म पुग्ने र उनीहरूको ज्यान जोगाउन उपयोग नभए तिनको महŒव हुँदैन । उडिसामा यस्ता विषयमा ध्यान पुगेको थियो । ‘फैइलिन’ सम्बन्धी सूचना टीभी लगायत अन्य सञ्चारमाध्यमलाई उपलब्ध गराइयो । टीभी हेर्दै गरेका दर्शकले जानकारी पाए र आँधीको बाटोबाट हट्नुपर्छ भन्ने वास्तविकता अनुभूत गरे । परिणामतः आँधी आउने बाटोका बासिन्दालाई सुरक्षित क्षेत्रमा लान सकियो । यसरी भरपर्दो सूचनाका कारण विपद् व्यवस्थापनमा सहयोग पुग्यो । सन् १९९९ को सुपर चक्रवातमा उडिसामा यस्तो हुनसकेको थिएन, जसका कारण हजारौंको ज्यान गएको थियो ।

विपद् सामना गर्नका लागि सही सूचनासँगै पूर्वतयारीले ठूलो भूमिका खेल्छ । लक्षित क्षेत्रबाट लाखौंको सङ्ख्यामा मानिसलाई सुरक्षित क्षेत्रमा लैजानु, उनीहरूको गाँसबासको व्यवस्था मिलाएर सुरक्षित स्थितिमा फर्काउनु अत्यन्तै चुनौतीपूर्ण कार्य हो । यसका लागि सम्बद्ध निकायहरूबीच समन्वय आवश्यक पर्छ । उडिसा राज्यमा यस्तो प्रयास सफल हुन सक्यो भने उत्तराखण्डमा हुन सकेन ।

उत्तराखण्डको जस्तै कमजोर पहाडी धरातल र मनसुनी वर्षा हुने क्षेत्र भएकाले नेपालमा प्रकोप निरन्तर दोहोरिरहन्छ । बाढी र पहिरोका कारण नेपालमा हरेक वर्षजसो मानिसहरू प्रभावित हुन्छन्, तर त्रासदीका यस्ता अनुभव हामी सधैं बिर्सन्छौं । जबकि विगतको अनुभव र अन्यत्रका उदाहरणले विपद् व्यवस्थापनमा सहयोग पुग्छ ।

जलवायु परिवर्तनले प्रकोपको जोखिम बढाउन सक्ने अवस्थामा विपद्का जोखिम न्यूनीकरण गर्नका लागि दिगो, व्यावहारिक र प्रभावकारी पूर्वसूचना प्रणाली मुलुकभरि स्थापना गर्नु आजको आवश्यकता हो । राज्यस्तरबाट व्यवस्थापन गरिने पूर्वसूचना प्रणालीमा एफएम रेडियो, टीभी र मोबाइल फोन आदि समेतबाट सूचना सम्प्रेषण हुन सक्दा जोखिम कम हुन सक्छ । उडिसा र हाम्रै देशमा सन् २०१२ मा सेती नदीमा आएको बाढीको सूचना सम्प्रेषण गर्न मोबाइल फोन लगायतका माध्यम प्रयोग भई दिंदा मानवीय क्षति कम हुन सक्यो । वास्तवमा २४ घण्टा र सातै दिन अनवरत चल्ने सञ्चार प्रणालीमा विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वसूचना व्यवस्था जोड्नु हरेक किसिमले उपयोगी र गर्नुपर्ने काम हो । विभिन्न सञ्चारमाध्यमबाट प्रवाह हुँदा सूचना र जानकारीहरू छरपस्ट हुने सम्भावना पनि रहन्छ । यसका लागि सूचना प्रवाह गर्ने माध्यमहरूबीच राम्रो समन्वय जरूरी हुन्छ । सरकारी, गैरसरकारी संस्था र निजी निकायबीच समन्वय हुनु पनि जरूरी पर्छ ।

पूर्वसूचनाका लागि मौसम÷जलवायु गतिविधि अनुगमन र मापन गर्ने स्टेसनहरू राख्नु जरूरी छ । साथै राष्ट्रको मूल्यवान भौतिक, किसान र सर्वसाधारण उपभोक्ताले समेत बुझने र प्रयोग गर्न सक्ने स्तरमा तिनमा पु¥याउनु आवश्यक हुन्छ । यसनिम्ति दक्ष मानवीय स्रोत र साधनको खाँचो पर्छ । मानव जीवनको रक्षाका साथै संकलित सूचनाहरू पनि सही तरीकाबाट विश्लेषण गरी संरचनाहरू जोगाउन पनि यस्ता कार्यहरू गरिनु आवश्यक छ ।

(यादव आइसेट–नेपालमा अनुसन्धान कार्यमा संलग्न छन् ।)

commercial commercial commercial commercial