‘पढाउने’ बाट ‘सिकाउने’ तिर

कुनै वस्तु वा मालसामानको मोल आँक्ने, भाउ राख्ने वा मूल्य तोक्ने काम, उपयोगिताका आधारमा गरिने महत्व, विशेषता आदिको निर्धारण वा कुनै वस्तुको मूल्य निर्धारण गर्ने प्रक्रिया मूल्याङ्कन हो । निर्धारित उपलब्धिहरू कति मात्रामा हासिल भए भन्ने कुराको निर्धारण गर्न जानकारी सङ्कलन गर्ने, विश्लेषण गर्ने र अभिव्यक्त गर्ने एउटा क्रमबद्ध प्रक्रियालाई मूल्याङ्कन भन्ने गरिन्छ । मूल्याङ्कन लगानी, प्रक्रिया र उत्पादन तीनै चरणमा गरिन्छ ।

मूल्याङ्कनलाई– निर्णय गर्न सङ्केत गरिएको सूचना (Cronbach), विद्यार्थीले देखाएको प्रगतिको निर्धारण (James M Lee), निर्णय गर्नका लागि सूचना प्रदान गर्ने काम (Stuffle Beam), गुणात्मक र परिमाणात्मक मूल्य निर्धारण (Gronlund), तथ्याङ्क सङ्कलन र विद्यार्थीको व्यवहार निर्धारण (Willy), सिकारुको वैयक्तिक विकास सोचाइ, अनुभव र कार्य लक्षित व्यवहारतर्फ परिवर्तन (Moffat), उद्देश्य प्राप्तिको मूल्य निर्धारण गर्ने प्रक्रिया (Thorndike) का रूपमा पनि बुझने/बुझाउने गरेको पाइन्छ ।

मानव व्यवहारका सम्पूर्ण पक्षको मूल्य निर्धारण गर्न, तुलनात्मक अध्ययन गर्न, भावी उपलब्धिको भविष्यवाणी गर्न, विद्यार्थीका विविध पक्षका बारेमा स्पष्ट धारणा बनाउन, परिमाणात्मक र गुणात्मक निर्णय लिन र विश्वसनीयता एवं वैधताको आकलन गर्न मूल्याङ्कन गरिन्छ ।

मूल्याङ्कनका दुई प्रकारमध्ये निर्माणात्मक वा निरन्तर मूल्याङ्कन– शिक्षण सिकाइका क्रममा आन्तरिक मूल्याङ्कनका साधन प्रयोग गरी पृष्ठपोषण लिन गरिने मूल्याङ्कन हो । यसका लागि प्रयोगात्मक कार्य वा परियोजना कार्य, कक्षा सहभागिता, सिकाइसम्बद्ध सिर्जनात्मक कार्यहरू, कक्षा कार्य, उपलब्धि परीक्षा (साप्ताहिक परीक्षा, एकाइ परीक्षा, मासिक परीक्षा), सिकाइ व्यवहारमा आएको परिवर्तन (सिकाइ उपलब्धि हासिल गरे नगरेको), शिक्षकले मूल्याङ्कन गर्न चाहेका अन्य पक्षलाई मापदण्डका रूपमा स्वीकार गरिएको छ ।  


निरन्तर विद्यार्थी मूल्याङ्कन पद्धति शिक्षणबाट सिकाइतर्फ वा पढाउनेबाट सिकाउनेतर्फको पदार्पण हो । आजको जमानामा ज्ञान हस्तान्तरण हुने नभई सिर्जना हुने वस्तु हो र त्यो सिकारुमै हुन्छ । शिक्षकले सहजकर्ताका रूपमा त्यसलाई बाहिर निकाल्न सहयोग गर्नुपर्छ । त्यसैले आजका शिक्षकले पढाउने होइन, सिकाउने हो ।

शिक्षण सिकाइ क्रियाकलापलाई सिकाइको अभिन्न अङ्गको रूपमा लिई विद्यार्थीको सिकाइको लेखाजोखा गरिने प्रक्रिया निर्माणात्मक मूल्याङ्कन हो । यसलाई सुधारात्मक मूल्याङ्कनर/निरन्तर मूल्याङ्कन आदि पनि भन्ने गरिन्छ । यो विद्यार्थीले के कति सिकिसकेका छन्, अब के सिकाउने, सिकाउन चाहेको कुरो सिके कि सिकेनन्, नसिकेका भए अब कुन तरिकाले सिकाउने भन्ने बारेमा जानकारी लिन गरिने मूल्याङ्कन हो । यसको माध्यमबाट विद्यार्थीको कमजोरी पत्ता लगाई थप सुधारात्मक शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्दछ । यस्तो मूल्याङ्कन प्रक्रियाको माध्यमबाट प्रत्येक विद्यार्थीको सिकाइस्तर तथा रुचि पत्ता लगाउन सजिलो हुने हुँदा सिकाइमा सुधार गर्न सहयोग पुग्छ । निर्माणात्मक मूल्याङ्कनमा मूल्याङ्कनका विभिन्न साधन प्रयोग गर्न सकिने भए पनि अवलोकनलाई सबैभन्दा प्रभावकारी साधनको रूपमा लिने गरिन्छ । यस्तो मूल्याङ्कन प्रक्रिया सबै तह र कक्षाका विद्यार्थीहरूका लागि उपयोगी हुने भए पनि तल्ला कक्षाका विद्यार्थीहरूका लागि अझ् बढी प्रभावकारी हुन्छ । विशेष गरेर आधारभूत तहका विद्यार्थीको निरन्तर रूपमा मूल्याङ्कन गरेर त्यसको अभिलेख समेत राखी त्यसैको आधारमा कक्षोन्नति गर्नु राम्रो मानिन्छ । यसबाट विद्यार्थीको सिकाइमा सुधार हुनुको साथै साना बालबालिकालाई औपचारिक परीक्षा र त्यसबाट गरिने पास फेलको तनावबाट मुक्त गर्न सकिन्छ ।

निर्माणात्मक मूल्याङ्कन गर्दा शिक्षकले परम्परागत परीक्षा प्रणाली मात्र अपनाएर पुग्दैन । यसका लागि छलफल तथा समूह कार्य, सिर्जनात्मक कार्यसम्बद्ध क्रियाकलाप, स्व–आत्ममूल्याङ्कन, शिक्षक, साथीहरू र अभिभावकको मूल्याङ्कन, परियोजना कार्य, अवलोकन, व्यक्तिगत फायल विकास र त्यसको अध्ययन, लिखित कार्य/उपलब्धि परीक्षा, प्रश्नोत्तर र निरन्तर अभिभावक सम्पर्क जस्ता उपाय अपनाउनुपर्छ ।

सुधारात्मक मूल्याङ्कनको एउटा रूप निरन्तर मूल्याङ्कन हो भने यसको सैद्धान्तिक आधार रचनावाद (Constructivism) हो । सबै प्रकारका सुधारात्मक मूल्याङ्कन नै निरन्तर मूल्याङ्कन भने होइनन् । परीक्षा तथा जाँच पनि निरन्तर मूल्याङ्कनका केही साधन मात्र हुन् ।

विद्यार्थीको सिकाइ उपलब्धिको वैधता र विश्वसनीयतामा सुधार गर्न, विद्यार्थीको सही मूल्याङ्कन सहजतापूर्वक गर्न, सिकाइस्तर कम भएका विद्यार्थीलाई सुधारात्मक शिक्षण गर्न, विद्यार्थीमा पाठ्यक्रमले निर्धारण गरेका ज्ञान, सीप र व्यवहारलाई दिगो रूपमा स्थापित गर्न, विद्यार्थीको प्रभावकारी सिकाइ र कार्य व्यवहारमा सहयोग पुर्‍याउन, विद्यार्थी मूल्याङ्कनका लागि आवश्यक हुने अतिरिक्त समय र स्रोतको बचत गर्न, बालमैत्री सिकाइ र मूल्याङ्कनको वातावरण बनाउन, विद्यार्थीमा परीक्षाबाट हुने उत्तीर्ण र अनुत्तीर्णको सन्त्रास हटाउन, विद्यार्थीको नियमित उपस्थितिमा वृद्धि गर्न, कक्षा छाड्ने र दोहोर्‍याउने दरमा कमी गर्न तथा तह पूरा गर्ने दर र सिकाइ उपलब्धिस्तरमा वृद्धि गर्न निरन्तर मूल्याङ्कन पद्धति अत्यन्त उपयोगी हुन्छ । यसका लागि शिक्षकले भगीरथ प्रयत्न पनि गर्नुपर्दैन, मात्र आफ्नो पुरातन शिक्षण कौशललाई अलिकति परिमार्जन र अद्यावधिक गरिदिए पुग्छ । शिक्षण योजना, समय व्यवस्थापन, क्रियाकलापको शृङ्खलाबद्धता, कक्षा कार्यमा विद्यार्थी सहभागिता, तात्क्षणिक मूल्याङ्कन र तत्काल पृष्ठपोषण यसका आधारभूत अवयव हुन् । यिनले निरन्तर मूल्याङ्कनलाई सफल पार्ने मात्र होइन शिक्षकको शिक्षण कौशल र योग्यता–दक्षता पनि बढाउँछ ।

निरन्तर मूल्याङ्कन गर्दा शिक्षण योजना निर्माण अत्यन्त महत्वपूर्ण हुन्छ । यस्तो योजना बनाउँदा शिक्षण, मूल्याङ्कन, निदान र आवश्यकतामा आधारित सुधारात्मक शिक्षणको चरणलाई ख्याल गर्नुपर्छ । शिक्षकले पहिलो चरणमा कक्षामा जानुपूर्व गरिने, कक्षामा गरिने र कक्षापछि गरिने मुख्य क्रियाकलाप सोची योजना निर्माण गर्नुपर्छ । कक्षापूर्वको योजनामा पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका र सन्दर्भ सामग्री अध्ययन तथा शिक्षणका लागि आफूलाई सक्षमीकरण गर्ने कार्य पर्छन् ।

सक्षमीकरण भनेको योग्यता बढाउनु, तालिम लिएर कक्षामा प्रयोग गर्नु, जान्नेबाट सिक्नु र आफूलाई अद्यावधिक गर्नु हो ।

कक्षामा विषय वस्तुसम्बद्ध क्रियाकलाप गरिन्छ । कक्षापछि आफूले सन्तोषजनक ढंगले कक्षा लिन सके/नसकेको र विद्यार्थीले सन्तुष्टि प्राप्त गरे/नगरेको आकलन गरिन्छ । यति तयारी नगरी कुनै कक्षाकोठामा पसेर ‘म पढाउँछु’ भन्ने गर्व गर्ने आँट कुनै शिक्षकमा आउँछ भने त्यो उसको आत्महत्याको दुष्प्रयास सरह मात्र हुन्छ । शिक्षणका क्रममा शिक्षकले विद्यार्थीलाई निरन्तर मूल्याङ्कन कार्य (Continious Assessment Tasks– CATs) मा सहभागी गराउनुपर्छ । यसका लागि विद्यार्थीलाई स–साना समूहमा विभाजन गरी गरेर सिक्ने अनेकौं कार्य दिनुपर्छ । यस्ता कार्यमा विद्यार्थीलाई सहभागी गराउन नसकेर वा क्रियाकलाप निर्माण गर्ने बुद्धि, दक्षता र पेशागत इच्छाशक्ति नभएर शिक्षकले विद्यार्थीलाई सिक्न नसक्ने ठान्छ र पास हुन नसक्ने मान्छ भने त्यो पनि उसको दुर्बलता हो । विद्यार्थीले सिकाएको कुरा सिक्छन्, न कि नसिकाएको । जब सिकाएको कुरा मात्र सिक्छ भने शिक्षकले सिकाउन नसकेको कि विद्यार्थीले नसिकेको ? विद्यार्थीले नसिकेको भए सिकाउन के के गरियो ? यो पाटो निरन्तर मूल्याङ्कनमा शिक्षकको इच्छाशक्ति र पेशानिष्ठताको पक्ष हो ।

निरन्तर मूल्याङ्कनका क्रममा कक्षामा अवधारणा मात्र जान्ने, बोध क्षमता भएका वा तर्क गर्न जान्ने र सिकाइका प्रक्रिया जान्ने विद्यार्थीको तह सिर्जना हुन्छ, जसलाई निम्न, मध्यम र तीक्ष्ण क्षमताका विद्यार्थी मान्न सकिन्छ । विद्यार्थीको सिकाइ अवस्थाको यस्तो जानकारीपछि सिकाइको तह उकास्न शिक्षकले आवश्यकतामा आधारित शिक्षणका रूपमा सिकाइका थप अवसर दिने, सिकाइ सहजीकरण गर्ने र सुधारात्मक शिक्षण गर्ने जस्ता कार्य गर्नुपर्छ । यति कार्य गरिसकेपछि मात्र शिक्षकले अर्को विषयवस्तुको योजना बनाउनुपर्छ । के निरन्तर विद्यार्थी मूल्याङ्कन र तदनुकूल शिक्षणका लागि यसो गरिएको छ ? कि आफूले बढी शिक्षण कौशल विकास गर्नुपर्दा परम्परागत शिक्षणलाई राम्रो मान्दै झन्झट हुने, थप सुविधा चाहिने वा फेल पार्न नपाइने भन्ने जस्ता झटारो हानेर  निरन्तर विद्यार्थी मूल्याङ्कन पद्धतिलाई घाइते पार्न खोजिएको छ ? यसैमा मूल्याङ्कनको प्रभावकारिता निहित हुन्छ ।

यस सन्दर्भमा केही पक्ष अझ् महत्वपूर्ण देखिन्छन् । निरन्तर विद्यार्थी मूल्याङ्कन पद्धति शिक्षणबाट सिकाइतर्फ वा पढाउनेबाट सिकाउनेतर्फको पदार्पण हो । आजको जमानामा ज्ञान हस्तान्तरण हुने नभई सिर्जना हुने वस्तु हो र त्यो सिकारुमै हुन्छ । शिक्षकले सहजकर्ताका रूपमा त्यसलाई बाहिर निकाल्न सहयोग गर्नुपर्छ । त्यसैले अब शिक्षकले पढाउने कि सिकाउने ? यदि सिकाउने हो भने विद्यार्थीले त शिक्षकले सिकाएका सबै कुरा सिक्नुपर्ने हो । विद्यार्थीले सिक्न सकेन भने विफल को भयो होला ?

सिद्धान्ततः निरन्तर विद्यार्थी मूल्याङ्कन पद्धति नसिकाइ कक्षोन्नति गर्ने पद्धति होइन, कक्षोन्नति हुन सक्ने गरी सिकाउने पद्धति हो । शिक्षकले विद्यार्थीलाई सिकाउनै पर्छ । आफूले खुशीसाथ त्यही पेशा रोजेपछि शायद झन्झट मान्न, नपढाए पनि हुने उपाधि भिराइदिन र थप सुविधाको आश गर्न पनि नैतिक सवालले दिंदैन कि ? प्रश्न उठ्न सक्छ, त्यसो भए निरन्तर मूल्याङ्कन सफल पार्ने दायित्व शिक्षाको मात्र हो ? त्यो चाहिं होइन । यसमा नीति निर्माता, कार्यान्वयनका सरोकारवाला, विद्यालय व्यवस्थापन, शिक्षक, अभिभावक, विद्यार्थी र समाज कुनै न कुनै रूपमा भागिदार छन् । तर शिक्षाको उद्देश्यको निकास कक्षाकोठाबाट हुने र त्यसको सार्वभौम सहजकर्ता शिक्षक भएकाले बढी जिम्मेवारी शिक्षककै हो । दिनमा चार पाँच घन्टी खट्नुपर्ने शिक्षकमा तनाव पक्कै हुन्छ । धेरै विद्यार्थी हुँदा यस्तो मूल्याङ्कन पक्कै कठिन हुन्छ । तर थोरै विद्यार्थी भएका विद्यालयमा त नतिजा खोजिनु स्वाभाविक नै हो नि ? पाँच घन्टी खट्ने शिक्षक प्रति पिरियड एक मिनेट ढिलो कक्षाकोठामा गएर एक मिनेट छिटो निस्कनुभयो भने प्रतिदिन विद्यार्थीको दश मिनेट समय शिक्षकको पोल्टामा पर्छ र १९२ दिनको निर्धारित पठनपाठन समयमा यसले ३२ घण्टा नोक्सानी गर्छ । यो पनि पारिश्रमिक तिरिएको र फेल पार्न नपाइने कलिला बालबालिकाकै समय हो भन्ने हामी ठूलाले बुझनुपर्ने निरन्तर मूल्याङ्कनकै पाटो होइन र ?

उपनिर्देशक, पाठ्यक्रम विकास केन्द्र


commercial commercial commercial commercial