भित्रैबाट चाहे यसरी सुध्रिंदो रहेछ !

शिक्षक मासिक २०७० फागुनमा प्रकाशित ‘पास खोजिएको परीक्षा’ शीर्षकमा सरस्वती उच्च मावि दुनै, डोल्पाका शिक्षक अर्जुनप्रसाद पोख्रेलको लेख पढेपछि समस्या समाधानका दुई–चार कुरा मनमा आएकाले लेख्ने प्रयास गरेको छु ।

म पनि २०५६ सालदेखि २०६० सालसम्म डोल्पा जिल्लाकै दुर्गम, काइगाउँमा विज्ञान–गणित विषयको मावि दरबन्दीमा काम गरेको शिक्षक हुँ । दुर्गम भए पनि काइगाउँको त्रिपुरा मावि भौतिक हिसाबमा आकर्षक थियो । विद्यालय अगाडि फूटबल खेल्न मिल्ने मैदान थियो । विद्यार्थी संख्या भने अत्यन्त कम । माध्यमिक तहमा स्थानीय शिक्षक न्यून र विद्यार्थीमा पढ्ने भावना पनि कम रहेको पाएँ । घरमा सानोतिनो काम परे विद्यालय नआउने; आए पनि विद्यार्थी दिउँसै घर फर्किने त्यहाँको परम्परा नै रहेछ । जेठ असारमा त विद्यार्थी यार्सागुम्बा टिप्न जाने भएकाले विद्यालय करीब करीब ठप्प नै हुँदा रहेछन् ।

शिक्षकमा लगावको कमी र विद्यार्थीमा मिहिनेत गर्ने बानीको अभाव अनि सचेत अभिभावक नहुनुबाट त्यस क्षेत्रको शैक्षिक स्तर निकै खस्केको थियो । शैक्षिक स्तरको मापन गर्ने एक मात्र आधार अनियमितता गरेर भए पनि एसएलसी उत्तीर्ण प्रतिशत थियो । शिक्षकले नपढाउन्, विद्यार्थीले नपढुन् अभिभावकले कुनै ख्याल नगरुन्— त्यसको कुनै मतलब छैन । एसएलसी परीक्षामा विभिन्न अमर्यादित काम गरेर भए पनि २०–५० प्रतिशतसम्म रिजल्ट आएमा राम्रो मान्ने परिपाटी बसेको रहेछ । शिक्षक तास खेलोस्, भट्टीमा रमाओस्, नपढाओस् तर एसएलसी परीक्षामा अमर्यादित काम गर्न सक्ने र त्यस्तो काम गरेर बढी विद्यार्थी पास गराउन सक्ने शिक्षकलाई सफल शिक्षक मानिंदो रहेछ । त्यस्ता शिक्षकको शान पनि छुट्टै हुँदो रहेछ । म आफू परिश्रम र लगावमा विश्वास गर्ने मानिस शुरूमा पठनपाठन र मिहिनेतमा जोड दिएँ । बिहान बेलुका विद्यार्थीलाई घरमा बोलाएर निःशुल्क पढाएँ पनि । तर खासै सुधार भएन ।

म गएको वर्ष हाम्रो विद्यालयबाट एसएलसी परीक्षामा १३ जना सामेल भए । तीमध्ये एक जना मात्र उत्तीर्ण भए । अर्काे वर्ष एसएलसी केन्द्र; दुनैमा विद्यार्थी लिएर म नै गएको थिएँ । त्यस वर्ष हाम्रो विद्यालयबाट कोही पनि पास भएनन् । शिक्षक, विद्यार्थी, विद्यालय सबैको इज्जत गयो । बीएस्सी शिक्षक भएकाले अभिभावक, हेडमास्टर सबैको आलोचना मैले बढी पाउनु स्वाभाविकै थियो । त्यतिवेला कुन विद्यालयको बीएस्सी शिक्षक को हो भन्ने कुरा बडो महŒवका साथ हेरिन्थ्यो । हाम्रा हेडसरलाई अन्य विद्यालयका हेडसरले “तिम्रा विद्यालयका बीएस्सी शिक्षक त चिट चोराउन नसक्ने लुरे रहेछन्, त्यसैले शून्य आयो” भनेर जिस्काएर आफू लज्जित हुनु परेको घटना सुनाउँदै हामीलाई अप्रत्यक्ष रूपमा मनोवैज्ञानिक दबाब दिनुहुन्थ्यो । मैले समग्र पक्षको मूल्याङ्कन गरें । एसएलसीको परिणाम शून्य आउनुमा मुख्य कमजोरी शिक्षककै हो भन्ने कुरा सबैले आत्मसात् गरेपछि शिक्षण क्रियाकलाप थप प्रभावकारी बनाउने योजना गरियो । शिक्षक, विद्यार्थी विद्यालयको इज्जत भनेको मर्यादित रूपमा सञ्चालन भएको एसएलसी परीक्षामा विद्यार्थी उत्तीर्ण प्रतिशत नै हो, यसका लागि सबैले मिहिनेत गर्नुपर्छ भन्ने कुरामा एकमत भयो ।

हिमाली जिल्लाहरूमा वर्षको एकैपटक जाडोयाममा मीनपचासको विदा हुने गर्दछ । पुस–माघमा अत्यन्तै जाडो हुने र हिउँ परी सम्पूर्ण धरातल ढाकेर गाउँ–गाउँ बीचको सम्पर्क समेत विच्छेद हुन्छ । त्यहाँ जाडो विदा शुरू हुनु अगाडि टेस्ट परीक्षा लिने र जाडो विदापछि एसएलसी परीक्षा शुरू हुने भएकाले उक्त समयमा आफ्ना छोराछोरीलाई त्यहाँका अभिभावकले नेपालगञ्ज, सुर्खेत आदि बाहिरका ठाउँमा पढ्न पठाउँछन् । मावि शिक्षक प्रायः बाहिरका हुने र तिनीहरू पनि आफ्नो घर जाने भएकाले कोही बस्दैनन्, त्यहाँ । सुर्खेत, नेपालगञ्ज गएर पढ्न त्यस अवधिमा ४०–५० हजार खर्च हुन्छ । त्यस अवधिमा मुख्य विषय पढ्ने पढाउने एक–दुई शिक्षक जाडो विदामा त्यहीं बस्ने हो भने सबै विद्यार्थीले पढ्न पाउने, अभिभावकको पनि पैसा बच्ने साथै छोराछोरीलाई शहर पठाउनको झ्ञ्झ्ट पनि घट्ने भएकोले मलाई विदा अवधिमा त्यहाँ बसेबापत उचित पारिश्रमिक दिएर विद्यालयमा पढाउने प्रस्ताव आयो । सबै अभिभावक र विद्यालय परिवारले आग्रह गरेपछि मैले पनि नमान्ने कुरै भएन ।

हामीलाई शैक्षिक स्तर उकास्नु थियो । अंग्रेजी पढाउने स्थानीय हीराबहादुर थापा निमावि शिक्षक हुनुहुन्थ्यो । एसएलसी दिने विद्यार्थीलाई १० बजे बोलाइन्थ्यो र अंग्रेजी, गणित र विज्ञान विषय ३–३ घन्टा पढाइन्थ्यो । शिक्षक, विद्यार्थी दुवैले मिहिनेत गरी अगाडि बढियो, अभिभावकको पनि सहयोग पाइयो । हिउँ परिरहेको समयमा पनि विद्यार्थीले घरबाट बोकेर ल्याएका दाउरा कक्षाकोठामा बालेर त्यसैको वरिपरि बेन्च राखी पढियो । हिउँ नपरेको समयमा हिउँमाथि बेन्च राखेर बाहिर घाममा पढियो । विद्यार्थीको घरमा गएर पढाइको वातावरण मिलाउने काम पनि बीचबीचमा गरियो । विद्यार्थी खारिंदै गए, परिवर्तनका संकेतहरू देखा पर्दै गए ।

चैतबाट सदरमुकाम दुनैमा २०५९ सालको एसएलसी परीक्षा शुरू भयो । विद्यार्थी व्यवस्थापनका लागि त्यहाँ म गएको थिएँ । मर्यादित रूपमा एसएलसी परीक्षा सम्पन्न भयो । म पनि डोल्पा जिल्लाबाट जागीर छोडी काठमाडौंतिर लागें । असारमा एसएलसीको रिजल्ट आयो । हाम्रो विद्यालयबाट विद्यार्थी पास मात्रै भएनन् उत्तीर्ण प्रतिशतमा जिल्लामै दोस्रो भयो । यसरी त्रिपुरा माविको बिग्रिएको साख एकैचोटि उकालो लाग्यो । शिक्षक, विद्यार्थी, समाज सबैको इज्जत बढ्यो । त्यतिवेला म काठमाडौंमा थिएँ । चिट्ठी र सदरमुकाम आएको वेला त्यहाँका सरहरूसँग टेलिफोनमा सम्पर्क हुँदा स्कूलको प्रगति थाहा पाएर गद्गद् हुन्थें । छोराछोरी पास भएका घरमा सरहरूलाई बोलाएर भोज खुवाइ खुशी मनाउने परम्परा पनि त्यतिवेलाबाट शुरू भएछ ।

परीक्षामा अमर्यादित काम गरेर दुई–चार जना विद्यार्थी पास गराएर वर्षभरि छाती खोलेर हिंड्ने परिपाटीलाई तोड्दै मिहिनेत गरे सफलता प्राप्त हुन्छ भन्ने यो भन्दा ठूलो प्रमाण अरू के हुन सक्छ ? त्यो वर्ष धेरै विद्यार्थी उत्तीर्ण गराउने विद्यालय र शिक्षकलाई जिल्ला शिक्षा कार्यालयले अभिनन्दन गर्ने कोटामा म पनि परेछु । कतिपय ठाउँमा अमर्यादित काम गरी उत्तीर्ण प्रतिशत बढाउने र चाकडीका भरमा विजयको माला पहिरिने गरेको सुनिन्छ तर म भने काठमाडौंमा बसी डोल्पामा सम्मानित भएको थिएँ । त्यो क्षण मेरो लागि निकै स्मरणीय छ ।

हो, एक दुई ठाउँ बाहेक आज पनि डोल्पा जिल्लाको प्रवृत्ति अर्जुनप्रसाद पोख्रेलले उल्लेख गरे अनुसार नै भएको कुरा हाल त्यहाँ कार्यरत उतिवेलाका सहकर्मीबाट सुनिन आएको छ । अर्जुन सरको आशय र मेरो अनुभव ठ्याक्कै मिलेको छ । यदि शिक्षक, विद्यार्थी अभिभावकले मनभित्रबाटै परिवर्तन चाहने हो भने परिवर्तन सम्भव हुन्छ ।

हाल म कार्यरत जिल्ला अर्घाखाँचीमा पनि वि.सं. २०६० तिर एसएलसी परीक्षा अर्जुन सरको लेख ‘पास खोजिएको परीक्षा’ जस्तै हुन्थ्यो । आजभन्दा ६ वर्ष अगाडि यहाँका जिशिअ विष्णुबहादुर द्वारे (हाल परीक्षा नियन्त्रक; सानो ठिमी, भक्तपुर) हुनुहुन्थ्यो । उहाँकै कुशल नेतृत्वमा एसएलसी परीक्षालाई मर्यादित बनाउने कुरामा जिल्लाका शिक्षक संघ, संगठनका साथै सम्पूर्ण शिक्षक, अभिभावक एक भए, शुरूमा एकाध त्रुटि देखिए पनि अर्काे अर्काे वर्ष एसएलसी परीक्षा क्रमशः सुधार हुँदै गयो ।

हाल अर्घाखाँची जिल्लाको एसएलसी परीक्षा निकै मर्यादित र व्यवस्थित बन्दै गएको छ । एसएलसीमा उत्तीर्ण प्रतिशत केही घटे पनि उत्पादित जनशक्ति उच्चस्तरको छ । यहाँका एसएलसी उत्तीर्ण विद्यार्थी देशका राम्रा कलेजमा छात्रवृत्ति पाउन सफल हुन थालेका छन् । जिल्लाको इज्जत पनि आकाशिएको छ । यसरी सबै पक्षमा भित्रबाट सुध्रिने इच्छा पलाएमा सम्भव नहुने कुनै कुरा छैन । यसो भएमा ‘पास खोजिएको परीक्षा’ लाई ‘पास हुन सकिने परीक्षा’ मा बदल्न सकिन्छ ।

जनता कृष्ण उमावि किमडाँडा–३
पकले, अर्घाखाँची

commercial commercial commercial commercial