कदर–पत्र

मैले मेरा शिष्यहरूलाई चाहिनेजति सक्षम बनाएको छु । उनीहरू विद्यावारिधि हासिल गर्न; डाक्टर, नर्स, पाइलट अनि इन्जिनियर बन्न सक्षम नभए पनि कुल्ली काम गरेरै भए पनि भोकै मर्ने छैनन् । मैले उनीहरूलाई स्वावलम्बी र स्वाभिमानी बन्न सिकाएको छु । खोक्रो आदर्शमा रम्न होइन, वास्तविक धरातलमा टेक्न सिकाएको छु ।

एसएलसी परीक्षाको रिजल्ट आउँदैछ रे ! हल्ला सुनेर मेरो मुटुको ढुकढुकी बढ्न थाल्यो । फेरि एकचोटि मेरो निन्दा र चर्चा हुनेछ । ममाथि गाली बर्सिनेछन् । ‘म’ अर्थात् ‘सरकारी विद्यालयको शिक्षक’ अचानोको पर्यायवाची शब्द जस्तै भइसकेको छु । मिडियामा चर्चा चल्नेछ– मैले नपढाइकनै तलब पचाएँ । विभिन्न अन्तर्वार्ता आउनेछन् । सबैले भएभरको दोष ममाथि थुपार्नेछन् । लाठी, मुंग्री, असिना र अझ् भनौं ममाथि बम वर्षा हुनेछ । चोक–चोक अनि गल्ली–गल्लीमा मेरै कार्यको चर्चा हुनेछन् ।
“मास्टरले पढाएनन् !”
“मास्टरले सित्तैंमा तलब खाए !”
“फलानो मास्टर कामै नलाग्ने रहेछ । उसको विषयमा एकजना पनि विद्यार्थी पास भएनन् !”
“विद्यार्थी पास नहुनुको दोष सबै मास्टरको हो । मास्टरले सरकारको तलब खाएर घरको काम गरेकाले विद्यार्थी फेल भए ।”
“मास्टरले विद्यार्थीलाई नपढाइकन तास खेलेर बसेपछि कसरी विद्यार्थी पास हुन्छन् त ?”
“मास्टर जाँड खाएर हल्लिएर हिंड्छन् अनि कसरी पास हुन्छन् त ?”

यस्तै निन्दाले मेरा कान भरिनेछन् । यस्तो कुनै वर्ष भएन जसमा मेरो निन्दा नहोस्, प्रशंसा होस् । लाग्छ, अब त कुनै वर्ष यस्ता गाली सुन्न पाइनँ भने म बहुलाउनेछु । अझ् भनौं मलाई बाँच्नै कठिन हुनेछ । हे भगवान् ! मैले यो कस्तो जागिर भेट्टाएछु ?
मलाई कसैले कहिल्यै सोधेनन्,
“तँ अघाएको छस् कि भोकै छस् ?”
“तेरो चुहिएको छानो मर्मत गरिस् कि गरिनस् ?”
“तेरो रोगी र वृद्ध आमाबाबुलाई के खान दिइस् ?”
“तैंले आफ्ना छोराछोरीलाई राम्रो विषय र राम्रो कलेजमा पढाइस् कि पढाइनस् ?”

सारा दुनियाँलाई रोजगारीको लागि सक्षम बनाउने म आफैं भिखारी भएर हिंडेको हेर्ने फुर्सद यहाँ कसलाई छ र ? म त एउटा माझ्ी हुँ । ज्याला लिएर अरूलाई खोला तारिदियो बस्यो, बस् । यात्रा गर्नेहरू टाढा पुग्छन्, आफू जहाँको तहीं । नदीमा डुबेर बग्न लागेकाहरूका लागि त म छु । कुनै दिन म आफैं खसेर बगें भने मलाई बचाउने को छ र ? मैनबत्ती झ्ैं आफू जलेर अरूको लागि उज्यालो छर्ने म पग्लिएर खिइएर समाप्तिको सँघारमा पुगिरहेको छु । मेरो जीवनमा खुशीको एक झ्ुल्को उज्यालो छर्ने को छ र ? आफ्ना लागि कम र अरूका लागि बढी जिइयो । तर जश कहिल्यै मिलेन । कहिल्यै आत्मसन्तुष्टिको अनुभव गर्न पाइएन । म के मानिस होइन ? मलाई मात्र मेरा शिष्यहरू असफल होऊन् भन्ने इच्छा कहाँ छ र ?

विद्यार्थी किन फेल हुन्छन् ? कसैले वास्तविक कारण खोज्नै चाहेनन् । जसलाई थाहा छ– उनीहरू बोल्नै चाहेनन् । जसले कारण खोज्ने जिम्मा पाए उनीहरूले भेट्टाउनै चाहेनन् । कारण खोज्नेहरूले आलिशान बैठकमा सेमिनार गरे । विदेशी सहयोगमा उनीहरूकै देशको शिक्षानीति भिœयाए । एउटा असल किसान चाहिएको देशमा आणविक भट्टी बनाउने शिक्षा नीति बनाए । नांगा मानिसहरू भएको देशका बासिन्दालाई धोबीको तालिम दिए । खोला नभएको गाउँका सोझसीधा जनतालाई पुलको सपना बाँडे । शिक्षामा भेदभाव भिœयाए । अभिभावक सक्षम भएका विद्यार्थी सबै निजी तथा विदेशी विद्यालयमा थुपारे । खान नपाएका भोका नांगा विद्यार्थी मात्र मेरा भागमा पारिदिए ।

विद्यार्थीको अवस्था देखेर मेरा आँखा रसाउँछन् । उनीहरूको खाने बस्ने ठेगान छैन । उनीहरू कठ्यांग्रिने तुषारे बिहानी र चिसा साँझ्मा ईंटाभट्टामा काम गरेर पढ्न आउँछन् । कोही कुनै कारखानामा गलैंचा बुन्दैमा गृहकार्य गर्न भ्याउँदैनन् । घरेलु कामदार बसेकाहरू मालिकको क्रूरता पचाएर आफ्नो सुन्दर भविष्यका लागि विद्यालय आउने गर्छन् । उनीहरूसँग किताब, कापी, कलम र चाहिने कुरा हुँदैनन् । अभिभावकको बेफुर्सदीले गर्दा महीनौं धुन नपाएका मयल र पसिनाले कट्कटिएका र फाटेका लुगा लगाउन बाध्य छन् । त्यति धेरै दुःख गरेर पढ्न आएका उनीहरू एसएलसीमा असफल हुनु के आश्चर्यको कुरा भयो र ? मलाई त उनीहरूको दिल खोलेर प्रशंसा गर्न मन लाग्छ । उनीहरूले आफ्नो धरातलबाट जति प्रयास गरेका छन् त्यो थोरै भन्नै मिल्दैन । उनीहरू एसएलसीमा असफल भए पनि जीवनको परीक्षामा सफल छन् ।  

यहाँ सरकारी विद्यालय सुधार्ने धेरै योजना बनाइए । कसैले भने, “सबै कर्मचारीका छोराछोरीलाई अनिवार्य रूपमा सरकारी विद्यालयमा पढाउनुपर्छ ।”  

अर्काथरीले भने, “सबै नेताका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन अनिवार्य गर्नुपर्छ ।”

यस्तो पनि आवाज सुनियोे, “सबै शिक्षक कर्मचारीका छोराछोरीलाई निजी विद्यालयमा पढाउन निषेध गर्नुपर्छ ।”
यस्ता कथनमा आंशिक सत्यता भए पनि अन्यायपूर्ण भएकाले यिनको कुनै तुक थिएन र व्यवहारमा आउन पनि सकेनन् ।
मैले अपजशका वचनवाणको प्रहार धेरै सुनें, मुटु मिचेर सहें । मुठ्ठी कसेर सहें । दाह्रा किटेर सहें । सहँदा सहँदा मुटु जल्न थाल्यो । छाती दुखेर सास फेर्न कठिन भयो । तब म कलम उठाउन बाध्य भएँ । वास्तविकता बताउने पालो अब मेरो ।

बाहिरबाट स्वतन्त्र देखिने म बलियो साङ्लामा जकडिएको छु । आफूले चाहेको गर्न पाउँदिनँ । स्वस्फूर्त रूपमा आफ्ना शिष्यहरूको हितमा समेत आफ्नो इच्छाले केही गर्न पाउँदिनँ । मैले धक फुकाएर आफ्नो प्रतिभा देखाउने मौका कहिल्यै पाउन सकिनँ । उफ् ! मेरो यो कस्तो स्वतन्त्रता ? आफूलाई म शिक्षक हुँ भनेर इज्जतका साथ चिनाउन सक्दिनँ । आफू र परिवारको दुई छाक, एकसरो कपडा अनि टाउको लुकाउने बासको चिन्तामा रुमल्लिनुपरेको छ ।

म सबैतिरबाट ठगिएको शिक्षक हुँ । म दशकौंसम्म अस्थायी राख्ने, शिक्षकहरूलाई बीसौं थरीमा विभाजन गर्ने, निजी र सरकारीको नाममा द्वैध तथा अव्यावहारिक शिक्षा ऐन बनाउने सरकारी शिक्षा नीतिबाट चेपिएको छु । मलाई निजी विद्यालयले लुटेका छन् । सक्षम अभिभावकका सन्तान निजी र विदेशी प्रतिष्ठानले थुपार्छन् । मेरो भागमा त ती गरीबका छोराछोरी पर्छन् जो दुई छाक पनि राम्ररी खान पाएका हुँदैनन् ।

मलाई औंला ठड्याएर मेरो योग्यता र क्षमतामा प्रश्नचिन्ह लगाउनेहरूलाई म चुनौती दिएर भन्छु, “मलाई ती निजी विद्यालयका सम्पन्न अभिभावकका जस्ता विद्यार्थी दिएर हेर जो हरप्रकारले शिक्षाका लागि लगानी गर्न सक्षम छन् र त्यसकै लागि दिनरात चिन्तनशील रहन सक्छन् । त्यसपछि पनि पढाउन सकिनँ भने मात्र प्रश्न गर । होइन भने मेरा ती शिष्यहरूको गाँस, बास र कपासको प्रत्याभूति देऊ । अनि मात्र यो देशको सरकारी विद्यालयको शिक्षामा सुधार हुनेछ । मेरो योग्यता र क्षमतामा शंका नगर । निजी विद्यालयका एसएलसी र दश जोड दुई उत्तीर्ण शिक्षकहरू भन्दा म कैयौं गुणाले योग्य छु । कतिपय निजी विद्यालयले असफल घोषणा गरेका विद्यार्थीलाई सफल बनाएको छु । मैले गर्व गर्नुपर्छ म धेरै प्रकारले तालिमप्राप्त छु ।”

मैले मेरा शिष्यहरूलाई चाहिनेजति सक्षम बनाएको छु । उनीहरू विद्यावारिधि हासिल गर्न; डाक्टर, नर्स, पाइलट अनि इञ्जिनियर बन्न सक्षम नभए पनि कुल्ली काम गरेरै भए पनि भोकै मर्ने छैनन् । मैले उनीहरूलाई स्वावलम्बी र स्वाभिमानी बन्न सिकाएको छु । खोक्रो आदर्शमा रम्न होइन, वास्तविक धरातलमा टेक्न सिकाएको छु । मैले उनीहरूलाई नैतिकता र अनुशासन सिकाएको छु । उनीहरूले मैले सिकाएको जीवनको यथार्थता र वास्तविकतालाई जीवनभरि बिर्सने छैनन् । मलाई उनीहरूले कतै भेटे भने ओठमा मीठो मुस्कान छरेर श्रद्धाले शिर झ्ुकाउनेछन् । म कतै मूर्छा परेर ढलेछु भने पनि अलपत्र छाडेर जाने छैनन् । बस्, मलाई यति भए पुग्छ । मलाई कुनै प्रकारको झ्ूटो कदर–पत्र चाहिएको छैन । ७

शिक्षक, आदर्श आजाद उमावि, भक्तपुर

commercial commercial commercial commercial