सिकाइ र सिकाउने कामः केही उपयोगी ‘टिप्स’
आजकल शिक्षा मन्त्रालयका नीतिगत दस्तावेजदेखि विद्यालयमा शिक्षकले तयार पार्ने पाठयोजनासम्म सिकाइ शब्दको प्रयोग बढिरहेको छ । अंग्रेजी शब्द ‘लर्निङ’ को नेपाली रूपान्तरको रूपमा सिकाइ शब्दको प्रयोग हुन थालेको हो । आखिर सिकाइ भनेको के हो ? यसको अवधारणात्मक पक्षदेखि व्यावहारिक ‘टिप्स’ सम्म यस लेखमा समेट्न खोजिएको छ ।
क. सिकाइ के हो
धेरै जनाले स्वीकार गरेको परिभाषाः ‘केही जानकारी पाएपछि व्यक्तिको व्यवहारमा आउने अपेक्षित परिवर्तन नै सिकाइ हो ।’ सिकाइको यो अर्थलाई आधार मान्दा सिकारुले कण्ठ गरेका, घोकेका कुरालाई नै ज्ञान वा सिकाइ भन्न मिल्दैन । ती त ज्ञान निर्माणका लागि चाहिने आधारभूत तथ्य मात्र हुन् । ती तथ्यलाई सिकारुले पुनःस्मरण गरेर विचारका रूपमा व्यक्त गरेपछि अथवा व्यवहारमा लागू गरेपछि अथवा विश्लेषण गरेर केलाउन सक्षम भएपछि अथवा ती तथ्यलाई संयोजन गरेर कुनै नयाँ कुरा विकास गर्न सक्षम भएपछि अथवा कुन ठीक र कुन बेठीक हो भन्ने कुरा छुट्याउन सक्षम भएपछि मात्र त्यसलाई ज्ञान वा शिक्षा पाएको भन्न सकिन्छ । बेन्जामिन एस ब्लुमको ट्याक्सोनमी अफ एजुकेसनल अब्जेक्टिभ्स (Taxonomy of educational objectives) मा दिइएका विभिन्न किसिमका सिकाइ र व्यवहारका क्रियापदहरूको उदाहरण अध्ययन गर्दा पनि यही कुरा अनुभव गर्न सकिन्छ ।
ख. सिकाइका केही प्रचलित भनाइ
१. व्यक्तिव्यक्ति बीच सिक्ने क्षमता फरक हुन्छ ।
२. सिकाइ आफैंले प्रयास गर्नुपर्ने कार्य हो, अरूले गरिदिएर मात्र पुग्दैन ।
३. सुनेर, देखेर मात्र भन्दा गरेर सिकिएको सिकाइ बढी प्रभावकारी हुन्छ ।
४. व्यावहारिक रूपमा मेल खाएमा सिकाइ प्रभावकारी र दिगो हुन्छ ।
५. विभिन्न तालीम विधिहरूको प्रयोगले सिकाइको प्रभावकारिता बढाउँछ ।
६. सिकारु स्वयं सिक्न उत्प्रेरित हुनुपर्दछ ।
७. सिकाइ एक निरन्तर, सक्रिय र सहभागितामूलक प्रक्रिया हो, एक्कासी घट्ने घटना होइन ।
ग. सिकाइका प्रमुख क्षेत्र के के हुन्
बेन्जामिन एस ब्लुमका अनुसार ज्ञान (Knowledge), सीप (Skill) र मनोभावना (Attitude) समेत सिकाइका तीन वटा प्रमुख क्षेत्र रहेका छन् । उक्त तीन वटा क्षेत्रका पनि विभिन्न तहहरू हुन्छन् । उदाहरणका लागि ज्ञान अन्तर्गत सम्झाइ, बुझाइ, प्रयोग, विश्लेषण, संश्लेषण र मूल्यांकन तहहरू पर्दछन् ।
घ. शरीरका अंगहरूसँग सिकाइका प्रमुख क्षेत्रहरूको सम्बन्ध
सिकाइका प्रमुख क्षेत्र शरीरका प्रमुख तीन अंगसित सम्बन्धित हुन्छन्ः— ज्ञान (Knowledge-K) टाउकोसित, सीप (Skill-S) हातसित र मनोभावना (Attitude-A) हृदयसित । यही कुरा तालिकामा हेरौंः
ङ. सिकाइमा प्रयोग हुने प्रमुख अंग
मानिसका नाक, कान, छाला, जिब्रो, हात, खुट्टा, औंला, आँखा, मस्तिष्क आदि अंगहरू नै सिकाइमा प्रयोग हुने हुन् । सिकाइमा शरीरका अंगहरू जति बढी संलग्न गराउन सकिन्छ, सिकाइ त्यति नै बढी प्रभावकारी हुन्छ । गरेर सिक्नु भनेको बढीभन्दा बढी शारीरिक अंगहरूको प्रयोग गरेर सिक्नु हो ।
च. कसरी सिकाउने
१. हेराइ : सबैलाई हेरेर, हँसिलो तबरले हेरी सिकाउने ।
२. बोलाइ : शुद्ध, सजिलो र चलनचल्तीको भाषा बोल्ने । सबैले सुन्ने गरी ठिक्कको स्वरमा बोल्ने ।
३. सुनाइ : सिकारुले गरेका प्रश्नलाई ध्यान दिएर सुन्ने । सबैका कुरा सुन्ने ।
४. देखाइ : सबैले सजिलैसित देख्ने ठाउँमा उभिने । सबैले देख्ने गरी सामग्री देखाउने । सामग्रीलाई प्रसंग मिलाएर देखाउने ।
५. बसाइ : सकभर सबैले सबैलाई देख्ने गरी बस्ने र बसाउने । समताका हिसाबले सुविधा हुने गरी बस्ने र बसाउने । बसाइ व्यवस्था अप्ठ्यारो र कष्टप्रद भयो भने सिकाइ प्रभावकारी बन्न सक्दैन ।
६. गराउँदा : पहिले सिकाउने मान्छेले यसरी गर्ने भनी नमूना देखाउने । बोलाइ र गराइको ताल मिलाउने । हेराइ र गराइ मिलाउने । गर्ने कार्यमा सबैलाई सहभागी गराउने ।
७. तयारी गर्ने : योजना गर्ने । सामग्रीको पूर्व तयारी र परीक्षण गर्ने, बस्ने र बसाउने व्यवस्थाको पूर्व तयारी गर्ने ।
छ. सिकाइमा प्रयोग हुने ज्ञानेन्द्रियहरूको भूमिका
कोबुन भन्ने एक जना विद्वान्को अध्ययन अनुसार सुँघेर ३ प्रतिशत, सुनेर १३ प्रतिशत, चाखेर ३ प्रतिशत, छोएर ६ प्रतिशत, हेरेर ७५ प्रतिशत सिकाइ हासिल हुन्छ ।
ज. सिक्ने प्रक्रियामा प्रभाव पार्ने तत्वहरू ख्याल गर्ने
१. सिकारु सिक्नका लागि उत्प्रेरित/उत्सुक छ कि छैन ?
२. सिकारुले कुनै कुरा सिक्न कत्तिको सहभागिता जनाउँछ ?
३. सिकारु सिक्नुपर्ने कुरामा अभ्यास गर्न कत्तिको रूचि राख्दछ ?
४. सिकारुलाई सिकाउने व्यक्तिले समयमा परिणामको बोध गराउने गरेको छ कि छैन ?
५. सिकाउने व्यक्तिले सिकारुको वैयक्तिक भिन्नतालाई कत्तिको ख्याल गर्छ ?
६. सिकारुका सिक्ने शैलीहरू विभिन्न हुन्छन् भन्ने कुरालाई सिकाउने व्यक्तिले कसरी सम्बोधन गर्छ ?
७. सिक्ने र सिकाउने कुराको क्षेत्र, क्रम र संगठन कत्तिको कायम गर्न सकिएको छ ?
८. सिकाइएका कुराको पुनरावृत्ति कसरी गर्ने गरिएको छ ?
९. सिकाउने व्यक्ति सिकाउने कुरा र सिकाउने विधिमा कत्तिको पोख्त छ ? त्यस्तै सिकारु सिकाइएका कुरा सिक्न कत्तिको योग्य छ ?
१०. सिकारुले सिकेको कुरालाई कसरी रूपान्तरण गर्ने गर्दछ ?
झ. शिक्षण सिकाइका प्रयोगात्मक चरण के के हुन्
१. उत्प्रेरणा जगाउने : वातावरणको सिर्जना गर्ने, विषयको महत्व झल्काउने, रूचि जगाउने
२. विषयवस्तुमा प्रवेश : शिक्षणका सूत्र (जस्तैः ज्ञातबाट अज्ञाततिर, प्रत्यक्षबाट अप्रत्यक्षतिर आदि) को प्रयोग गर्ने
३. विधि र सामग्रीको प्रयोग : ज्ञान, सीप, धारणामा अभिवृद्धि गर्ने, उपयुक्त शिक्षण विधि र सामग्रीको प्रयोग गर्ने
४. ग्रहण गरे, नगरेको हेर्ने : प्रश्नोत्तर गर्ने, प्रस्तुत गर्न लगाउने, मूल्यांकन गर्ने
५. सिकाइलाई टेवा दिने : पृष्ठपोषण दिने, अभ्यास गर्ने, संक्षेपीकरण गर्ने
ञ. सिकाइका रणनीति
१. सिकारु आफैंले स्वाध्यायन गर्ने र सिक्ने (Self-study learning) ।
२. प्रतिस्पर्धाको वातावरण सिर्जना गरेर सिक्ने (Competetive learning) ।
३. समूह कार्यमा संलग्न रहने, अनुभव आदानप्रदान गर्ने र ठोस निष्कर्षमा पुगी सहयोगात्मक तथा सहकारी विधिबाट सिकाइ गर्ने (Colaborative and cooperative learning) ।
ट. कस्तो वातावरण पाएमा सिकारुले प्रभावकारी रूपमा सिक्न सक्दछन् ?
१. शिक्षक र सिकारुबीचको व्यवहार सौहाद्र्रपूर्ण भएमा
२. सिकाइ प्रक्रियामा सिकारुको सहभागिता बढी भएमा
३. आवश्यकता र रूचि अनुसारको विषय भएमा
४. सिकाइको विषयवस्तु उपयोगी हुने खालको भएमा
५. डरले र करले सिक्नुपर्ने स्थिति नरहेमा
६. सिकाइने विषयवस्तु उपयोगी छन् भन्ने लागेमा
७. विभिन्न विधि र श्रव्यदृश्य सामग्रीकोे प्रयोग गरिएमा
८. सिकेको कुरामा अभ्यास गर्न पाएमा
९. सिकेको कुराको अनुभव आदानप्रदान गर्न पाएमा
ठ. कुनै कुरा सिकाउँदा कति पटक भन्ने ? निम्नानुसार तीन पटक भन्ने ।
१. म के सिकाउन लागिरहेको छु भनेर सिकाउनुअघि विषयवस्तुको सूची देखाउने र भन्ने
२. म अहिले यो—यो कुरा सिकाउँदैछु भनेर बीच–बीचमा बताउने
३. अहिले मैले के सिकाएँ भनी सिकाएको विषयवस्तुको सूची अन्त्यमा फेरि देखाउने र सम्झउने
एउटा उदाहरण हेरौं । रेडियो, टीभीले समाचार प्रसारणको क्रममा सबभन्दा पहिला मुख्य समाचार भन्छन्, बीचबीचमा फेरि ‘यो समाचार अमूक प्रसारण केन्द्रबाट सुन्दै हुनुहुन्छ’ भन्दै समाचारका मुख्य अंशहरू दोहोर्याउँछन् अनि समाचारको अन्त्यमा मुख्य समाचार पुनः बताएर समाचार बुलेटिन टुंग्याउँछन् । ख्याल गरौं, शिक्षण सिकाइ क्रियाकलापमा संलग्न रहँदा हामी आफूले पढाएका/सिकाएका कुरा कति पटक दोहोर्याउँछौं ? के एक पटक मात्र भनेर पुग्ने रहेछ त ?
ड. मान्छेले कुनै कुरा किन सिक्छ
मान्छेले त्यसै सिक्न खोज्दैन । त्यसबाट केही आशा गरेको हुन्छ । किनभने शिक्षा भनेको जीवनको लागि लगानी हो । लगानीपछि मान्छेले शिक्षालाई उपभोग गर्ने कार्य गर्दछ । त्यसैले सिकाउने काममा खटिएका व्यक्तिले निम्न कुरा ख्याल गर्न सक्नुपर्छ ।
१. मान्छेले शिक्षाबाट धन र सम्मान पाउन चाहन्छ । सुरक्षा चाहन्छ ।
२. मान्छेले शिक्षाबाट उन्नति र प्रगति चाहन्छ । सत्कार, माया र प्रशंसा खोज्दछ ।
३. मान्छे शिक्षाबाट सबैको प्रिय, इज्जतवाला र आधुनिक हुन खोज्दछ ।
४. मान्छेले शिक्षाबाट धन र समयको बचत गर्ने तरीका सिक्न खोज्दछ ।
५. मान्छेले शिक्षा पाएपछि डर, लाज र शंकाबाट आफूलाई बचाउन खोज्दछ ।
ढ. सिकाउने काम किन असफल हुन्छ
अरूलाई सिकाउने काममा संलग्न पक्षहरूले ख्याल गर्नुपर्ने कुरा के हो भने आफूले जानेको कुरा अरूलाई सरसर्ती सुनाउँदैमा वा बताउँदैमा सिकाउने कार्य सफल हुन्छ नै भन्ने छैन ।
निम्न कारणले गर्दा हाम्रो सिकाउने कार्य असफल हुन सक्दछ :
१. सिकारुका सम्पूर्ण समस्या सिकाउने मान्छे आफैंले समाधान गरिदिन खोज्दा
२. निश्चित लक्ष्यतर्फ सिकाउने काम केन्द्रित नहुँदा
३. सिकाउने व्यक्तिले राम्रो तयारी नगर्दा
४. सिकाएको कुरा उद्देश्यसित मेल नखाँदा
५. सिक्ने कुराप्रति सिकारु उदासीन रहँदा
६. सिकेको र सिकाएको कुरालाई परीक्षण र मूल्यांकन गर्ने उचित परिपाटी (authentic evalution system) को प्रयोग नहुँदा
ण. सिकारुले कुनै कुरा कति र कहिले सिक्ने
सिकारुले एकैचोटि सबै कुरा सिकिहाल्नुपर्छ भन्ने छैन । यसको पनि मात्रा र प्राथमिकता क्रम निर्धारण गर्न आवश्यक हुन्छ । अरूलाई सिकाउने काममा संलग्न व्यक्ति वा पक्षले सिकारूलाई यो कुरा बताइदियो भने सिकारुलाई क्रम मिलाएर सिक्न सजिलो हुन्छ, उनीहरू आत्तिंदैनन् ।
१. आफ्नो रूचि, स्तर, क्षमता र पेशा अनुसार नजानी नहुने र जान्नै पर्ने कुरा सबभन्दा पहिले सिक्ने ।
२. यी कुराहरू उपयोगी छन् र त्यसले मलाई उन्नति गर्न मद्दत पुग्छ भन्ने लागेमा ती कुराहरू त्यसपछि सिकिराख्ने ।
३. कतिपय कुरा यस्ता हुन्छन्, नजानेमा केही आपत्ति हुँदैन तर ती कुराहरू पनि सिकिराखे राम्रै हुन्छ भन्ने लागेमा फुर्सद मिलाएर सिक्ने ।
त. सिकाउनेले कुन कुरा पहिले सिकाउने
सिकारुले सबभन्दा पहिले सिक्नैपर्ने र नजानी नहुने कुरा पत्ता लगाउने । यो कुरा सिकारुलाई सबभन्दा पहिले बताइदिने । त्यसपछि क्रमैसित अरू कुराहरू सिकाउन शुरू गर्ने ।
थ. क्रियाकलापको नमूना प्रदर्शन कसरी गर्ने
१. सबभन्दा पहिले नियम र विधिको व्याख्या गरिदिने (explanation) ।
२. पहिले प्रशिक्षक आफैंले, त्यसपछि कुनै एकजना सहभागी र प्रशिक्षकले संयुक्त रूपमा र त्यसपछि सहभागी—सहभागी बीचमा नमूना अभ्यास प्रदर्शन गर्ने (demonstration) ।
३. सहभागीलाई के सिकियो त भनी प्रश्न गर्ने (checking understanding), बुझयौ, सिक्यौ भन्ने मात्र होइन ।
४. सहभागीले विधि राम्रोसित बुझेकाे कुरा सुनिश्चित (assurance) गर्ने ।
५. सहभागीलाई कार्यमा सरिक गराउने (participation) ।
द. सिकेपछि सिकारुले के के गर्न सक्ने हुनुपर्ने हो पत्ता लगाउने र भनिदिने
सिकेपछि सिकारुले केही गर्न सक्षम हुनुपर्दछ, जान्न वा बुझन सक्षम भएर मात्र हुँदैन । यो कुरा सिकारुलाई पनि बताइदिने कि यो कुरा सिकेपछि तिमीले यो यो काम गर्न सक्नुपर्दछ । सिकाउने काममा खटिनेहरूका लागि यो एउटा अर्को महत्वपूर्ण कुरा हो ।
ध. सिकाइका आधारभूत चरणहरूको पालना गर्ने
सिकाउने कार्यमा संलग्न व्यक्तिले सिकाइका आधारभूत चरणहरूको पहिचान गर्ने र तिनको पालना गर्ने बानी बसाउनु आवश्यक हुन्छ । यसले सिकाइलाई वैज्ञानिक र क्रमबद्ध बनाउन मद्दत गर्दछ । यहाँ केही आधारभूत चरण प्रस्तुत छन्ः
१. उत्प्रेरणा जगाउने
- सिकाइ वातावरणको सिर्जना गर्ने
- मस्तिष्क तपन तथा उत्प्रेरकहरूको प्रयोग गर्ने
- विषयको महत्व झल्काउने
- रूचि जगाउने
- पूर्व परीक्षा लिने
२. विषवस्तुमा प्रवेश गर्ने र प्रस्तुति दिने
- शिक्षणका सूत्रहरू प्रयोग गर्ने, जस्तैः ज्ञातबाट अज्ञाततिर, सरलबाट जटिलतिर, आदि ।
- ज्ञान, सीप र धारणामा अभिवृद्धि गराउने
- उपयुक्त शिक्षण सामग्रीको प्रयोग गर्ने
३. सिकारुले अपेक्षित ज्ञान, सीप ग्रहण गरे÷नगरेको परीक्षण गर्ने
- अवलोकन गर्ने
- प्रश्न गर्ने र उत्तर प्राप्त गर्ने
- प्रयोगात्मक कार्यमा सहभागी गराउने
- प्रस्तुति गर्न लगाउने
- पूर्व परीक्षा लिएको भए पाठपछिको परीक्षा लिने र अध्ययन—विश्लेषण गर्ने
४. सिकाइलाई सुदृढीकरण गर्न थप टेवा दिने
- पृष्ठपोषण दिने
- अभ्यास गराउने
- संक्षेपीकरण गरिदिने
- पाठपत्र तथा कार्यपत्र दिने
- फलोअप गर्ने
स्रोत : विभिन्न तालिमका कार्यपत्र तथा टिपोट
(उपनिर्देशक, क्षेत्रीय शिक्षा निर्देशनालय, दिपायल)
शिक्षक मासिक, २०७१ साउन अंकमा प्रकाशित ।