वर्गिज सरको सम्झना

युनाइटेड मिसनले २०१७ सालमा स्थापना गरेको गोरखा, लुइँटेलको अमरज्योति जनता हाईस्कूललाई प्रख्याति र सफलताको शिखरमा पुर्‍याउने प्रमुख पात्र वर्गिज थोमस (सन् १९४१–२०१३) भौतिक स्वरुपमा हामीसामु नरहे पनि आफ्नो योगदानका कारण अमरज्योति मावि झैं अमर बन्न पुगेका छन् ।

भारतको केरलामा जन्मिएका वर्गिज २४ वर्षको उमेरमै गणित शिक्षकको रूपमा अमरज्योतिमा प्रवेश गरेका थिए । प्रवेश गरेको केही वर्षमै उनले अमरज्योतिको प्रधानाध्यापकको जिम्मेवारी ग्रहण गरे । त्यहींबाट शुरू भयो अमरज्योतिको सफलता र प्रख्यातिको सिलसिला । २०२६ को एसएलसी बोर्डमा आउने बाबुराम भट्टराई र उपेन्द्र देवकोटा वर्गिजका पहिलो पंक्तिका सफल उत्पादन थिए ।

वर्गिज थोमसको प्रशासनकै कारण स्कूल अनुशासनबद्ध थियो । धुम्रपान, मदिरापान त्यस क्षेत्रमा निषेध थियो । वर्गिज थोमसले त्यस विद्यालयमा पु¥याएको योगदानकै कारण त्यस विद्यालयबाट लगातार १५ वर्षसम्म एसएलसी परीक्षामा विद्यार्थीहरू प्रथम र द्वितीय श्रेणीमा मात्र उत्तीर्ण भएका थिए । उनको योगदानको कदर गर्दै तत्कालीन सरकारले गोरखा दक्षिणबाहु तथा राष्ट्रिय शिक्षा समिति, जिल्ला शिक्षा समिति र अन्य संघसंस्थाहरूले थुप्रै पुरस्कार र सम्मान प्रदान गरेका थिए । उनकी श्रीमती अनेमा वर्गिज पनि एक सफल विज्ञान शिक्षकको रूपमा सोही विद्यालयमा कार्यरत थिइन् । अविच्छिन्न रूपमा २१ वर्ष अमर ज्योतिमा सेवा गरेपछि वर्गिजले २०४२ सालमा उक्त विद्यालयबाट राजीनामा दिएर पोखरा लामाचौरस्थित गण्डकी आवासीय उच्च माविमा प्रवेश गरेका थिए । गणित शिक्षक, विभागीय प्रमुख, वरिष्ठ शिक्षक, सहायक प्राचार्य तथा कामु प्राचार्य समेतको जिम्मेवारी सम्हाल्दै करीब १४ वर्षसम्म कार्यरत रही २०५६ सालमा गण्डकी आवासीय उमाविबाट पनि उनले अवकाश लिए ।

त्यसपछि ललितपुरस्थित लिटिल एन्जेल्स स्कूलको आवासीयतर्फको प्राचार्य पदमा तीन वर्ष र २०६० सालदेखि गोङ्गबुस्थित श्वेत सदन उच्च माविमा सात वर्ष प्राचार्य भई सेवा गरे । यसै क्रममा २०७० साल वैशाखको अन्तिम साता आफ्ना इष्टमित्र, साथीभाइसँग भेटघाटका लागि पोखरा आएका थोमस अकस्मात् बिरामी परे । उनलाई उपचारार्थ मणिपाल शिक्षण अस्पताल पोखरामा भर्ना गरिएको थियो । तर उपचारकै क्रममा वैशाख ३० गते राति उनको दुःखद् निधन भएको थियो ।

शिवलाल धिताल, पोखरा

commercial commercial commercial commercial