सामाजिक शिक्षा विषयका चुनौती

सामाजिक शिक्षा– बालबालिकालाई घरपरिवारदेखि लिएर समाज, राष्ट्र, अन्तर्राष्ट्र तथा विश्व ब्रह्माण्ड चिनाउने विषय हो । सामाजिक शिक्षा विषय अध्ययनबाट बालबालिकाले आफ्नो देशको समाज, कला, संस्कृति, इतिहास, भूगोल, अर्थशास्त्र, राजनीतिशास्त्र, मानवशास्त्र लगायत विभिन्न विषयको जानकारी हासिल गर्दछन् । यो विषय व्यावहारिक जीवनमा अत्यन्त उपयोगी सावित भएको छ ।

सामाजिक शिक्षा आफैंमा एक व्यापक प्रकृतिको विषय हो । तथापि अत्यन्तै फराकिलो दायराको विषयको रूपमा पाठ्यक्रम तयार पारिंदा यसका हरेक पक्ष अधुरो बन्न गएको प्रतीत हुन्छ । हाल समाजमा देखा परेको परिवर्तन, विश्वव्यापीकरण, विषयवस्तुको उपयोगिता तथा व्यावहारिक जीवनमा यसको प्रयोग आदि कुरालाई मध्यनजर राख्दा सामाजिक शिक्षाको पाठ्यवस्तुको दायरा साँघुरिंदै गए झ्ैं लाग्दछ । इतिहास, भूगोल, अर्थशास्त्र, राजनीतिशास्त्र जस्ता गहन विषयलाई एकदमै साँघुरो दायरामा; विषयवस्तुको छनकको मात्र जानकारी गराइँदा विद्यार्थीले कति ज्ञान आर्जन गर्न सक्लान् ? यो प्रश्न गम्भीर रूपमा उब्जिएको छ ।

आफ्नो देश, यहाँको परम्परा, कला, संस्कृति आदिको बारेका जानकारी पाएका विद्यार्थी आफ्नो मूल्यमान्यता, परम्पराप्रति गौरवान्वित रहन्छन् । सामाजिक शिक्षा विषयको अन्तरवस्तुबाट दीक्षित विद्यार्थी नैतिकवान्, चरित्रवान्, कर्तव्यनिष्ठ, कर्मशील, राष्ट्रप्रति वफादार तथा आफ्ना माता–पिताप्रति भक्तिभाव र मान्यजनप्रति आदरभाव राख्ने खालका पनि हुन्छन् । यसबाट आफ्नो राष्ट्रको नैतिक सदाचारलाई जीवन्त राख्न मद्दत पुग्दछ । पछिल्लो समयमा आएर समाजमा उच्छृंखलता बढ्नुमा– यही सामाजिक शिक्षा विषयको अन्तरवस्तुको अध्ययनमा कमी भएर पो हो कि भनी शंका गर्ने ठाउँ रहेको छ ।

यसर्थ, सामाजिक विषयका पाठ्यपुस्तकका अन्तरवस्तुलाई विस्तृत, व्यापक बनाउन विषयवस्तु थप गर्नुपर्ने र समयघण्टी पनि वृद्धि गर्नु जरूरी देखिन्छ । तर यसो गर्नका लागि अन्य विषयलाई खुम्च्याउन पनि सम्भव छैन । त्यसैले सामाजिक शिक्षाका विभिन्न पक्षका विषयलाई छुट्टाछुट्टै ऐच्छिक विषयको रूपमा पठनपाठन गराउनु उचित हुन सक्छ । विद्यार्थीले आफ्नो रुचिको विषय छनोट गरी पढ्न सक्दछन् ।

सामाजिक शिक्षा विषय शिक्षण गर्ने शिक्षक बहुमुखी प्रतिभावान् हुनु आवश्यक छ । सामाजिक जीवनका समग्र पक्षहरूमा पठनपाठन गराउनुपर्ने हुँदा इतिहास, भूगोल, राजनीतिशास्त्र, विज्ञान, नैतिक विज्ञान आदि विषयहरूमा जानकारी राख्ने हुनुपर्छ । सामाजिक शिक्षा विषय शिक्षण गर्ने शिक्षक दैनिक जीवनमा राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा घट्ने घटनाबारे सुसूचित भइरहनुपर्दछ । शिक्षकहरूलाई समय–समयमा तालीम, गोष्ठी, छलफल, अवलोकन भ्रमण जस्ता कार्यक्रमद्वारा ‘अपडेट’ गराइराख्नुपर्छ ।

परिवर्तित घटनाक्रमलाई परिष्कृत रूपमा समावेश गरिरहनुपर्दछ । तर सामाजिक शिक्षा विषय शिक्षण गर्ने शिक्षकहरूको छनोट र नियुक्ति गर्दा जसले पनि पढाउन सक्छ भने जस्तो गरी शिक्षकको विषयक्षेत्र र क्षमतामा त्यति प्राथमिकता दिइएको पाइँदैन । एकातिर तालीमप्राप्त शिक्षकको अभाव छ भने अर्कोतर्फ अन्य विषय क्षेत्रका शिक्षकहरूलाई सामाजिक शिक्षा विषय शिक्षण गर्न दिंदा शिक्षणकार्य प्रभावकारी हँुदैन । तसर्थ विषयले अपेक्षा गरेको उपलब्धि हासिल गर्न काविल शिक्षकद्वारा शिक्षण गरिनु अपरिहार्य छ ।

केही वर्षयताका एसएलसी परीक्षाका सामाजिक शिक्षा विषयका प्रश्नपत्र नियाल्दा; प्रश्नपत्रले विशिष्टीकरण तालिममा उल्लिखित दायरालाई नाघेको र “असजिलो प्रश्न निकालियो भने कडा शिक्षक भइन्छ” भन्ने मनोविज्ञानबाट निर्देशित भएर प्रश्नपत्र निर्माण गरिएको अनुभूति हुन्छ । प्रश्नपत्रमा प्रतिवेदन लेखन कार्यलाई अत्यन्त जटिल र विद्यार्थीले बुझन नसक्ने गरी सोध्न थालिएको पाइन्छ । कतिपय प्रश्न पाठ्यपुस्तकमा अध्ययन गरेको भन्दा फरक तरीकाले विद्यार्थीले नै नबुझने गरी सोधिएको पाइन्छ ।

कतिपय प्रश्न विद्यार्थीको स्तरभन्दा धेरै माथिका हुने गरेका छन् । परीक्षामा हुने चिटिङ्ग र अन्य अनियमिततालाई रोक्न केही हदसम्म पाठ्यपुस्तक बाहिरका प्रश्नले मद्दत गर्दछन् तर अधिकांश प्रश्न जटिल बनाएर सोधिदिंदा धेरै विद्यार्थी अनुत्तीर्ण हुने हुँदा पढ्ने विद्यार्थी र अध्यापन गराउने शिक्षक दुवै थरीमा निराशा पैदा हुन जान्छ । विशिष्ट प्रतिशत हासिल गर्ने विद्यार्थीको अभिलाषामा पनि यो पद्धतिले लगाम लगाइदिएको छ ।

एसएलसी परीक्षामा सोधिने प्रश्नहरूको प्रभाव तल्ला कक्षाहरूमा पनि पर्ने भएकोले प्रश्नपत्र निर्माण गर्दा निकै होशियारी अपनाउनु आवश्यक छ । कमसेकम एसएलसी परीक्षाको नतीजा प्रकाशन भइसकेपछि प्रश्नपत्र कस्तो रह्यो भन्ने बारेमा सम्बन्धित विषय पठनपाठन गराउने शिक्षक परीक्षार्थीहरूमध्ये केही उच्च, मध्यम र निम्न अंक हासिल गर्ने विद्यार्थी तथा विषय विशेषज्ञहरूसँग छलफल र अन्तरक्रिया गरिएमा प्रश्नपत्रबारे सम्बन्धित पक्षको धारणा बुझन र सोही अनुसार प्रश्नपत्र परिमार्जन गर्न सजिलो हुन जान्छ ।

आफ्नो समुदाय, समाज, देश र अन्तर्राष्ट्र चिनाउने बुझउने सामाजिक शिक्षा विषयलाई अझ् व्यापक र व्यावहारिक बनाउनुपर्दछ । सामाजिक जीवनका विषयवस्तुलाई विद्यार्थीमाझ् परिचित गराइराख्न ऐच्छिक विषयकै रूपमा भए पनि इतिहास, भूगोल, समाजशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्र, संस्कृति, मूल्य–मान्यता र नैतिक शिक्षाका विषयवस्तुलाई पाठ्यक्रममा समावेश गरिनुपर्दछ । सामाजिक शिक्षालाई अनिवार्य विषयको रूपमा समावेश गरिनु अत्यन्त सराहनीय छ । अबको ध्यान पाठ्यपुस्तक परिमार्जन, विषय शिक्षकलाई सीपयुक्त बनाउने तथा मूल्याङ्कन पद्धतिमा सुधार गर्नु आवश्यक छ ।

द ओल्ड क्यापिटल उमावि, रानीवन, गोरखा

commercial commercial commercial commercial