लैंगिक द्विरूपता यस्ता भाले, यस्ता पोथी

विज्ञान–शिक्षकहरूको गोष्ठीमा कसैले प्रश्न उठायो— “कागको भाले–पोथी छुट्याउन सकिन्छ ?”

एकजना महिला शिक्षकले हतारहतार भनिहालिन्— “एकदम सजिलै ! भाले काग पूरै कालो हुन्छ, पोथी कागको चाहिं टाउको र घाँटी खरानी रंगको हुन्छ ।”

तर कुरो यति सजिलो छैन । एकदमै काला र अरू रंग मिसिएका/हल्का कालो रंगका कागहरू वास्तवमा अलग अलग प्रजातिका हुन् । दुवै प्रजातिमा भाले र पोथी हुन्छन् तर तिनलाई चिन्न वा छुट्याउन सजिलो हुँदैन ।

भाले र पोथीका सम्बन्धमा कोइलीबारे पनि भ्रम पाइन्छ । निकै चर्को । हाम्रा कविहरूले ‘काली कोइली’ को यति गुणगान गरेका छन् कि वसन्त ऋतुमा कुहू–कुहू गर्ने पोथी कोइली हो भन्ने आम धारणा बन्न पुगेको छ । वास्तविकता चाहिं के हो भने कुहू–कुहू गर्ने भाले कोइली हुन्छ र त्यसको रंग पूरै कालो हुन्छ । पोथी कोइली चाहिं हल्का खैरो रंगको हुन्छ, त्यसले कुहू–कुहू गर्न सक्तैन — केवल किक्–किक् आवाज मात्र निकाल्न सक्छ ।

कुनै पनि प्रजातिका भाले र पोथी बाहिरबाट हेर्दा फरक देखिन्छन् अर्थात् तिनलाई परबाटै छुट्याउन सकिन्छ भने त्यसलाई लैंगिक द्विरूपता (sexual dimorphism) भनिन्छ । तर कागमा जस्तै प्राणीका कतिपय प्रजातिमा लैंगिक द्विरूपता हुँदैन । लैंगिक द्विरूपता भएका प्राणीमा भाले र पोथीको बनावटमा फरक भए पनि सामान्यतः यी एकै प्रजातिका हुन् भनेर सजिलै चिन्न सकिन्छ । तर, कतिपय प्रजातिमा यो फरक कति धेरै हुन्छ भने भाले र पोथी बेग्लाबेग्लै प्रजातिका जस्ता लाग्छन् । जस्तै कोइलीमा ।

लैंगिक द्विरूपता किन ?
लैंगिक द्विरूपताको सम्बन्ध भाले र पोथी लिंग अर्थात् लैंगिक प्रजननसँग छ । मूलतः लैंगिक प्रजनन एकल कोशिकाहरूको खेल हो । जन्तु चाहे ठूलोभन्दा ठूलो होस् अथवा सानोभन्दा सानो, उसको प्रारम्भ अण्डाणु नामको कोशिकाबाट हुन्छ जो पोथीको शरीरमा रहेको एउटा ग्रन्थि अर्थात् अण्डाशयमा बन्छ । तर अण्डाणुबाट प्राणी तबसम्म बन्न सक्तैन, जबसम्म उसको मिलन भालेको वृषण ग्रन्थिमा बनेको अर्को कोशिका अर्थात् शुक्राणुसँग हुँदैन । अण्डाणु र शुक्राणु दुवैलाई युग्मक भनिन्छ र यिनीहरू परस्परमा मिल्ने प्रक्रियालाई निषेचन । अण्डाशय र वृषण (अण्डकोष) लाई प्राथमिक प्रजनन अंग मानिन्छ र प्रजनन–तन्त्रका बाँकी सबै अंगलाई सहायक प्रजनन अंग भनिन्छ ।

भाले स्तनधारी प्राणीहरूमा मात्र वृषण हुन्छ । त्यो प्रायशः शरीर बाहिर एउटा थैली (वृषण–कोश) मा झुण्डिएको हुन्छ । यस आधारमा भाले स्तनधारी चिन्न सजिलो हुन्छ । अरू सबैखाले प्राणीमा वृषण, र अण्डाशय पनि, शरीरभित्र रहेका हुन्छन् । कागलाई चिरेर हेर्ने हो भने उसको शरीरभित्र अण्डाशय अथवा वृषण भेटिन्छ जसका माध्यमबाट त्यो भाले अथवा पोथी के रहेछ भन्ने पत्ता लाग्छ । तर बाहिरबाट हेर्दा उसमा लैंगिक द्विरूपता देख्न सकिंदैन । हुँदैन ।

अधिकांश जन्तुमा कुनै न कुनै सहायक प्रजनन अंग शरीर बाहिर हुन्छ जसको सहायताले भाले–पोथी छुट्याउन सकिन्छ । कतिपय जन्तुमा चाहिं यस्ता लक्षण पाइन्छन् जसको प्रजननसँग सोझे सम्बन्ध हुँदैन । भाले कुखुराको टाउकामा हुने सिउर, भाले कोइलीको कालो रंग, पुरुषका दाह्री–जुँघा अनि पोथी स्तनधारीका स्तन यसका उदाहरण हुन् । यिनलाई गौण लैंगिक लक्षण भनिन्छ ।

प्रजननका विभिन्न तरीका
पानीमा रहने केही जन्तु, जसको शरीर रचना निकै सरल हुन्छ, तिनले प्रायः आफ्ना अण्डाणु र शुक्राणु पानीमै छोडिदिन्छन् । यस्ता जन्तु एकै ठाउँमा ठूलो संख्यामा रहन्छन् र तिनले असंख्य अण्डाणु र शुक्राणु त्यहाँको पानीमा छोडिरहेका हुन्छन् । पानीको सुरक्षात्मक आवरणमा रहेका अण्डाणुबाट निस्कने रसायनले शुक्राणुलाई आकर्षित गर्छन् र निषेचन प्रक्रिया पानीमै सम्पन्न हुन्छ । सहायक प्रजनन अंगका रूपमा यी जन्तुलाई केवल एउटा यस्तो नली आवश्यक हुन्छ जसले युग्मकहरूलाई शरीरबाट बाहिर निकालिदिन सकोस् । पोथीको यस्तो नलीलाई अण्डवाहिनी र भालेको नलीलाई शक्रुवाहिनी भनिन्छ ।

जमीनमा रहने जन्तुहरूमा प्रजनन प्रक्रिया यति सजिलो हुँदैन । युग्मकहरूलाई शरीरबाट बाहिर निकालेर छोड्न सकिंदैन किनभने पानीको सुरक्षात्मक आवरण नभएकाले ती जीवित रहन सक्तैनन् । यस समस्याबाट उम्कन जमीनमा रहने जन्तुहरू दुइटा तरीका अपनाउँछन् । भ्यागुता जस्ता उभयचर जन्तु (एम्फिबिया) अधिकांश समय जमीनमा रहे पनि प्रजननका निम्ति पानीमा पस्छन् र आफ्ना युग्मकलाई त्यहाँ छोडिदिन्छन् । यसरी तिनका अण्डाणु र शुक्राणुको निषेचन तथा त्यसपछिको भ्रूण विकासको प्रक्रिया पानीमै सम्पन्न हुन्छ ।

अधिकांश भूमिचर जन्तुहरूले प्रजननको बढी सुरक्षित प्रक्रिया अपनाएका छन् । तिनीहरूमा अण्डाणु पोथीकै शरीरमा रहन्छन् र भालेले आफ्ना शुक्राणु पोथीको शरीरमा, अण्डाणु रहेको ठाउँमा पुर्‍याइदिन्छ । निषेचनको प्रक्रिया पोथीको शरीरभित्र, अण्डवाहिनीमा सम्पन्न हुन्छ । यीमध्ये केही जन्तु आफ्नो भ्रूणलाई कडा कवचले बेरेर शरीर बाहिर निकालिदिन्छन् । यिनको अण्डवाहिनीमा यस्ता ग्रन्थिहरू हुन्छन् जसले अण्डाको कवच निर्माण गर्दछन् । अन्य भूमिचर जन्तुहरूमा भने पोथीले भ्रूणलाई आफ्नो शरीरमा तबसम्म राखिरहन्छ, जबसम्म उसको विकास प्रक्रिया पूरा हुँदैन । तिनीहरूमा भू्रणको विकास गर्भाशय नामको अंगमा हुन्छ । बुझिहाल्नुभयो होला, मान्छे यसै वर्गमा पर्छ ।

भाले जन्तुका सहायक प्रजनन अंगहरूमा शुक्रवाहिनीका अतिरिक्त यस्ता अंग पनि हुन्छन् जसले शुक्राणुहरू सञ्चित गर्ने र तिनलाई पोथीको शरीरमा यथास्थान पु¥याइदिने काम गर्छन् । पोथीको शरीरमा शुक्रणु पुर्‍याउने क्रियालाई मैथुन भनिन्छ । कतिपय भालेमा यस्ता अंगहरू हुन्छन् जसले मैथुनका बेला पोथीलाई अँठ्याएर राख्ने काम गर्छन् ।

मेरुदण्डविहीन जन्तुमा लैंगिक द्विरूपता लैंगिक प्रजनन गर्ने सबैखाले जन्तुमा लैंगिक द्विरूपता कुनै न कुनै रूपमा विद्यमान हुन्छ । कहीं कहीं त यसको स्वरूप निकै रोचक पनि हुन्छ ।

गँड्यौलासँग गोरु बेचेको नाता पर्ने बोनेलिया नामको जन्तु (फाइलम एकियुरा) गहिरो समुद्रतलको हिलोमा पाइन्छ । स्थिर प्रकृतिको यस जन्तुमा भाले र पोथीको मिलनका लागि प्रकृतिले अनौठो व्यवस्था गरेको छ । यसको लार्भा समुद्रमा स्वतन्त्र रूपमा तैरिरहेको हुन्छ र त्यतिन्जेल उसको लिंग छुट्टिएको हुँदैन । वयस्क बन्नुअघि यो लार्भा समुद्रतलतर्फ अघि बढ्छ ।

समुद्रतलमा पुग्यो भने त्यो पोथी बन्छ । तर, त्यहाँ पुग्नु अगावै कुनै पोथीका फैलिएका भुजामा अड्किन पुग्यो भने ऊ भाले बन्छ र त्यही पोथीको शरीरमा परजीवीका रूपमा स्थायी बसोबास गर्न थाल्छ । पोथी बोनेलियाले आफ्नो जीवनसाथीलाई सधैं बोकिरहनुपर्ने कठिन काम गर्नुपर्छ तर यसबाट प्रजननका बेला उसका अण्डाणुलाई निषेचित गर्न शुक्राणु प्राप्त हुने सुनिश्चित हुन्छ ।

जोडी खुट्टा वा भुजा (दुई, चार, आठ आदि) हुने जन्तुहरू (फाइलम आथ्रोपोडा) संसारमा अत्यन्तै ठूलो संख्यामा र अत्यधिक विविधताका साथ पाइन्छन् । यिनका विभिन्न वर्गमा फरक फरक प्रकारको लैंगिक द्विरूपता पाइन्छ । गँगटाहरूमा भालेका अगाडिका खुट्टा पोथीका अगाडिका खुट्टाभन्दा ठूला हुन्छन् । तिनको उपयोग उसले मैथुनका वेला पोथीलाई अँठ्याएर राख्न र शुक्राणुहरूलाई उसको शरीरमा यथास्थान पुर्‍याउनका निम्ति गर्छ ।

कीट वर्ग (इन्सेक्टा) मा भाले र पोथीको पेटको तल्लो भागमा प्रजनन सम्बन्धी बेग्लाबेग्लै अंग हुन्छन् र तिनका कारण बाहिरबाट हेरेर भाले–पोथी छुट्याउन सकिन्छ । कतिपय कीटहरूमा लैंगिक द्विरूपताको अतिरिक्त कारण पनि हुन्छ । यस्ता प्रजातिहरूमा भालेले पोथीलाई आकर्षित गर्न तीखो आवाज उत्पन्न गर्छ । रोचक कुरा के भने यो आवाज मुख अथवा घाँटीबाट निस्कँदैन । भालेको पखेटा अथवा खुट्टामा यस्तो संरचना हुन्छ जसलाई शरीरमा रगड्दा आवाज निस्कन्छ । त्यसैले यसलाई ‘घर्षणनाद’ भनिन्छ । पोथीमा यस्तो अंग नहुने भएकाले भालेलाई फ्याट्टै छुट्याउन सकिन्छ ।

माकुराहरूमा चाहिं लैंगिक द्विरूपता मुख्यतः भाले र पोथीको आकारको अन्तरमा हुन्छ । कतिपय प्रजातिमा त पोथी माकुरो भालेभन्दा निक्कै ठूलो हुन्छ । पोथीलाई मैथुनका निम्ति प्रेरित गर्न भालेले उसका सामु नृत्य गर्छ । यसको फलस्वरुप पोथीले उसलाई आफ्नो नजीक आउन त दिन्छ, तर मैथुन गरिभ्याउनासाथ भाले स्वाट्टै भागेन भने पोथीले उसलाई खाइदिन्छ ।

सिपी र चिप्लेकिरा जस्ता खबटे खोलभित्र रहने जन्तुलाई बाहिरबाट हेरेर भाले–पोथी छुट्याउन कठिन हुन्छ । तर यसै समूह (फाइलम मोलस्का) अन्तर्गतको समुद्री जन्तु अक्टोपसमा स्पष्टै देखिने लैंगिक द्विरूपता पाइन्छ । भाले र पोथी दुवैका आठ–आठ भुजा हुन्छन् तर भालेको एउटा भुजाको अग्रभाग अरूको भन्दा चौडा हुन्छ । त्यसको उपयोग उसले पोथीको शरीरभित्र आफ्नो शुक्राणु यथास्थान पुर्‍याउनका निम्ति गर्छ ।

मेरुदण्ड हुने जन्तुमा लैंगिक द्विरूपता
माछाहरू प्रायः आफ्ना युग्मक पानीमा छोडिदिन्छन् र तिनको निषेचन पोथीको शरीरभन्दा बाहिर पानीमै हुन्छ । तर, यसका केही अपवाद पनि छन् । शार्क र त्यस जातिका भाले माछाहरूमा शरीरको तल्लो भागमा छड जस्ता दुइटा ‘आलिंगक’ हुन्छन् । तिनको उपयोग उनीहरू मैथुनका वेला पोथीलाई अँठ्याई राख्न र आफ्ना शुक्राणु उसको शरीरभित्र अण्डाणुसम्म पुर्‍याउनका लागि गर्दछन् ।

घोडाको जस्तै मुख भएकाले एकजातको माछाको नाम समुद्री घोडा (सी हर्स) रहेको छ । यस माछामा लैंगिक द्विरूपताको एउटा रोचक स्वरूप पाइन्छ । भालेको पेटमा, बाहिरतिर, गोजीजस्तो एउटा थैली (भ्रूणकोष) हुन्छ जसमा पोथीले आफ्ना अण्डा राखिदिन्छ । ती अण्डा र तिनबाट निस्कने बच्चा आफ्ना बाबुको यही थैलीमा सुरक्षित हुन्छन् । बच्चाहरू अलिक ठूला भएपछि थैलीबाट बाहिर निस्केर समुद्रमा तैरिन थाल्छन् अनि कुनै खतराको संकेत पाउनासाथ हतारहतार थैलीमा गएर बस्छन् ।

बोनेलियाको जस्तै व्यवस्था गहिरो समुद्रमुनि बस्ने लिनोफ्रिन जस्ता कतिपय माछाहरूमा पनि पाइन्छ । यी माछा समुद्रमा यति तल हुन्छन् जहाँ सूर्यको प्रकाश कहिल्यै पुग्दैन । त्यो घना अन्धकारमा भाले–पोथीले एकअर्कालाई खोज्न र भेट्न लगभग असम्भव हुन्छ । त्यसैले, प्रजननका निम्ति भाले परिपक्व भएको होस् अथवा नहोस्, संयोगवश ठोकिन÷भेटिन पुग्ने कुनै पनि पोथीको शरीरमा ऊ च्याप्प टाँसिइहाल्छ र जीवनभर उसैका शरीरमा परजीवी भएर बस्छ ।

पानी र जमीन दुवैतिर बस्ने सबैभन्दा परिचित जन्तु भ्यागुतो हो । प्रजनन कालमा पोथीलाई आकर्षित गर्न भाले भ्यागुतो ट्वार–ट्वार गर्छ । त्यो आवाज निकाल्न उसको घाँटीमा दुइटा थैली जस्ता अवयव अथवा स्वरकोष हुन्छन् । यसैगरी, मैथुनका वेला पोथीलाई अँठ्याउन भालेको अगाडिका पञ्जाको एउटा औंला अलि ठूलो, सुन्निएको जस्तो हुन्छ ।

सर्प, कछुवा, गोही, छेपारा आदि जन्तु सरीसृप वर्ग (रेप्टिलिया) कहलाउँछन् । यिनीहरूमा सामान्यतः लैंगिक द्विरूपता देखिंदैन । त्यसैले नाग र नागिनीलाई चिन्छौं भन्ने ‘सपेरा’ हरूको दावी शंकास्पद छ । कति सपेराहरूले त धामन सर्पलाई नै नागिनी भनिरहेका हुन्छन् । त्यसो त, भाले सर्पको जनन–छिद्र नजिकै औंलाले थिचेर हेर्ने हो भने त्यहाँ दुइटा अर्ध–शिश्न (हेमिपेनिस) देखिन्छन् । तर परबाट हेरेर भाले–पोथी छुट्याउन सकिंदैन ।

पक्षीहरूको लैंगिक द्विरूपताबारे सिंगै किताब लेख्न सकिन्छ । सबैभन्दा महत्वपूर्ण कुरा के भने अधिकांश पक्षीका शरीर विविध रंगहरूबाट सजिएका हुन्छन् जसका कारण लैंगिक द्विरूपतामा अति धेरै विविधता पाइन्छ । साथै, अधिकतर पक्षी दिनचर भएका र बेलाबखत उडिरहने भएकाले यिनलाई सजिलै देख्न सकिन्छ । मोटामोटी अनुमानका आधारमा के भन्न सकिन्छ भने पक्षीहरूका लगभग आधा प्रजातिहरूमा लैंगिक द्विरूपता हुन्छ र बाँकीमा भाले–पोथी उस्तै देखिन्छन् ।

लैंगिक द्विरूपता हुने पक्षीका प्रजातिहरूमा भालेको रंग चड्किलो र सजिलै देखिने खालको हुन्छ, अथवा त्यसको पुच्छर वा शिरमा ठूलठूला प्वाँख हुन्छन्, अथवा टाउकामा सिउर हुन्छ । यो सम्पूर्ण प्राकृतिक सिंगारपेटारको उद्देश्य पोथीलाई आकर्षित गर्नु हो ।

यसका विपरीत, पोथीको रंग धमिलो–धुर्मैलो र परिवेशसँग मिल्दोजुल्दो हुन्छ जसका कारण अरू जन्तुले उसलाई सजिलै देख्न सक्तैनन् । अण्डामाथि ओथारो बसिरहेको एकाग्र भएर बच्चाको हेरचाह गरिरहेको पोथीलाई आक्रमणकारी जन्तुले सजिलैसँग शिकार बनाउन सक्छन्; त्यसैले परिवेशसँग मिल्दोजुल्दो, त्यसैमा लुकाइदिने रंगरूप उसका निम्ति उपयोगी हुन्छ ।

पक्षीका जुन प्रजातिहरूमा भालेको रंग चड्किलो हुँदैन अथवा ठूला प्वाँख वा सिउर जस्ता सजावटी अंग हुँदैनन् तिनलाई प्रकृतिले प्रायः सुुरीलो स्वर प्रदान गरेको हुन्छ, जसका कारण उनीहरू गाएर पोथीलाई आकर्षित गर्न सक्छन् । कतिपय भाले पक्षी पोथीलाई रिझउन नाच्छन् अथवा अन्य हाउभाउ देखाउँछन् । यसको सबैभन्दा परिचित उदाहरण परेवा हो । प्रजनन कालमा भाले परेवा आफ्नो घाँटीका प्वाँख फुलाएर पोथीका सामु नृत्य गर्छ । यस्ता खाले पक्षीका पोथीहरू प्रायः बढी संकोची र लजाउने हुन्छन् ।

लैंगिक द्विरूपताको अभावमा उत्पन्न हुने कठिनाइको असाध्यै रोचक उदाहरण पेंगुइनमा पाइन्छ । यी दक्षिणी ध्रुव–प्रदेशमा हजारौंको झुण्डमा बस्छन् । लैंगिक द्विरूपता ठ्याम्मै नभएका कारण यिनीहरू स्वयं पनि आपसमा को भाले हो र को पोथी भन्ने चिन्न सक्तैनन् । भाले पेंगुइन कर्कश आवाज निकाल्न सक्छ र त्यस्तै आवाज पोथीले पनि निकाल्छ । भालेमा नाच्ने, गाउने वा अन्य किसिमको कुनै कला पनि हुँदैन । त्यसैले, जब कुनै भाले पेंगुइनलाई ‘घरबार गर्ने’ इच्छा हुन्छ त्यसवेला ऊ एउटा सानो ढुंगा आफ्नो चुच्चोमा च्यापेर हिंड्छ र आफ्नो झुण्डका अन्य पेंगुइनलाई दिने प्रयास गर्छ । यसरी दिन खोज्दा अर्को पेंगुइन झवाँक्किएर ऊसँग लडाइँ खेल्न खोज्यो भने पहिलो पेंगुइनले बुझछ— उसले भयंकर गल्ती गरेछ र भाले पेंगुइन सामु प्रेम प्रस्ताव राख्न पुगेछ । अर्को पेंगुइनले, उसले दिन खोजेको ढुंगोलाई वास्ता गरेन भने पहिलो पेंगुइनले बुझछ— त्यो पोथी त रहेछ तर समागमका लागि इच्छुक वा तयार रहेनछ अथवा अर्कै भालेसँग लागिसकेको रहेछ । अर्को पेंगुइन पोथी रहेछ र उसको प्रस्ताव स्वीकार्न तयार रहेछ भने चाहिं त्यसले पहिलो पेंगुइनले दिएको ढुंगो आफ्नो चुच्चाले च्याप्छ । अनि दुवै मिलेर परिवार बनाउने प्रक्रिया शुरू गर्छन् ।

स्तनधारी जन्तुहरूमा भने बाह्य जननांगहरू तथा स्तनका कारण लैंगिक द्विरूपता हुन्छ नै । यसका साथै स्तनधारी जन्तुका कतिपय प्रजातिमा लैंगिक द्विरूपताका अन्य लक्षण पनि हुन्छन् । पुरुषको अनुहारमा दाह्री–जुँघा हुन्छन् र उनीहरूको आवाज मोटो हुन्छ जबकि स्त्रीहरूमा यी दुवै लक्षण हुँदैनन् । भाले सिंहको शिर र गर्धनमा लामा झयाप्ले रौं हुन्छन्, पोथीमा हुँदैनन् । भाले नीलगाईको रंग पोथीको तुलनामा ज्यादै गाढा हुन्छ, उसका दुइटा सीङ हुन्छन् र घाँटीमा दाह्रीजस्तै रौंको गुच्छा हुन्छ । पोथीको रंग हल्का खैरो हुन्छ, उसका सीङ हुँदैनन् र घाँटीमा रौंको गुच्छा पनि हुँदैन ।

लैंगिक द्विरूपताको विकास
जन्तु–जगतमा व्यापक रूपमा पाइने लैंगिक द्विरूपताका केही उदाहरणबारे हामीले चर्चा गर्‍यौं । यसबाट के तथ्य प्रकट हुन्छ भने लैंगिक प्रजनन गर्ने जन्तुहरूमा लैंगिक प्रजननसँग सम्बन्धित भिन्न भिन्न आवश्यकताहरूको पूर्तिका निम्ति अलग अलग प्रकारले लैंगिक द्विरूपताको विकास भएको छ । जस्तैः

१. पोथीसम्म पुग्नः समुद्रको गहीरो पींधमा रहने बोनेलिया र लिनोफ्रिन जस्ता कतिपय जन्तुहरूमा भाले स्थायी रूपमा पोथीको जीउमा बस्छ भन्ने हामीले थाहा पाइसक्यौं । यहाँनेर प्रश्न उठ्न सक्छ— त्यसो भए पोथी पनि भालेको जीउमा परजीवी भएर बस्न सक्छ त ? जीवशास्त्रको दृष्टिले यसको उत्तर नकारात्मक हुन्छ । अण्डाणु र शुक्राणु दुवैलाई युग्मक भने पनि यी कोशिकाहरूमा पर्याप्त गुणात्मक तथा मात्रात्मक अन्तर हुन्छ । अण्डाणुमा पोषक पदार्थहरू सञ्चित हुन्छन् र त्यसको आकार शुक्राणुको तुलनामा कैयौं–कैयौं गुणा ठूलो हुन्छ । त्यसैले, स्वाभाविक रूपमा, अण्डाशयको आकार पनि वृषणभन्दा निकै ठूलो हुन्छ । सानो आकारको वृषण सानो आकारको भालेको जीउभित्र अटाउन सक्छ, तर त्यसभन्दा निकै ठूलो आकारको अण्डाशयलाई शरीरभित्र धारण गर्न पोथीको आकार पनि ठूलो हुनु आवश्यक हुन्छ । यस स्थितिमा, भालेको आकार सानो छ र पोथीको आकार ठूलो छ भने भाले नै पोथीको शरीरमा परजीवी भएर बस्न सक्छ, पोथी भोलेको शरीरमा बस्न सक्तैन । र, यसरी बस्दा भालेमा वृषण बाहेक अन्य समस्त अंगको अपविकास अर्थात् ह्रास हुन्छ जसले गर्दा पोथीको जीउबाट उसले कमभन्दा कम भोजन लिएर काम चलाउन सकोस् । बोनेलिया र लिनोफ्रिनको चित्रबाट यो कुरा स्पष्ट हुन्छ ।

२. पोथीलाई आकर्षित गर्नः पोथीलाई आकर्षित गर्न भाले जन्तुहरूमा अनेक प्रकारका जुक्तिहरूको विकास भएको छ । रातको अँध्यारोमा आफ्नो उपस्थिति विज्ञापित गर्न झयाउँकिरी र भाले भ्यागुता आवाजको सहारा लिन्छन् भने पक्षी लगायतका दिनचरहरू पोथीलाई प्रभावित पार्न श्रव्य र दृश्य दुवै तरीका अपनाउँछन् । कि त भालेको जीउको रङ चड्किलो हुन्छ, कि उसको शरीरको कुनै अंग सामान्यभन्दा ठूलो हुन्छ, कि ऊसँग सिउर, सीङ, ठूलठूला प्वाँख जस्ता सजावटी अंग हुन्छन् अथवा उसले आफ्नो हाउभाउ, नृत्य, अनौठा क्रियाकलाप आदिको माध्यमबाट पोथीको ध्यान आफूतिर आकर्षित गर्न खोज्छ । कुनै अग्लो ठाउँमा बसेर भालेले आफ्नो तान छेडिरहँदा उसले पोथीलाई आकर्षित गर्न मात्र खोजेको हुँदैन, अन्य भालेहरूलाई यो मेरो क्षेत्र हो भनेर सूचना पनि दिइरहेको हुन्छ र मेरो क्षेत्रको अतिक्रमण गर्ने प्रयास नगर भन्ने चेतावनी पनि ।

३. अरू भालेहरूलाई खेदाउनः जन्तु–जगतमा लैंगिक प्रजनन प्रक्रिया प्रायः प्रतिस्पर्धात्मक हुन्छ र भालेहरूबीच पोथीमाथि अधिकार जमाउने होड चलिरहन्छ । अधिकांशतः यस्तो होड शान्तिपूर्ण नै हुन्छ । कुनै भाले पक्षीले कुनै अग्लो ठाउँबाट गाएर यो मेरो क्षेत्र हो भनी घोषणा गरिसकेपछि अरू भाले पक्षीहरू सामान्यतः त्यस क्षेत्रमा पोथीका निम्ति प्रवेश गर्दैनन् । स्तनधारी भालेहरू प्रायः रूख, ढुंगा आदिमा आफ्नो गन्ध छोडेर आफ्नो क्षेत्रको सीमा निर्धारित गर्छन् । र, अन्य भालेहरूले त्यसको सम्मान गर्छन् । तैपनि, एउटा पोथीका लागि दुइटा भालेबीच लडाईं परिहाल्यो भने सीङ, जगर, रंग आदि लक्षण तिनलाई काम लाग्छन् । यस्ता वेला सीङले सामान्यतः हतियारको काम गर्छन् । तर यस्तो लडाईं पहलमानहरूले अभ्यास गरेजस्तो मात्र हुन्छ; शायदै कुनै योद्धा गम्भीर रूपले घाइते हुन्छ । भालेको टाउको र गर्दनमा झयाप्ले जगर हुनु, उसको रंग बढी गाढा हुनु जस्ता लक्षण उसलाई बढी डरलाग्दो, शक्तिशाली र खतरनाक देखाउन सहायक हुन्छन् । यिनका कारण शत्रु यथासम्भव लडाईं शुरु हुनु अगावै डराएर भाग्न सक्छ ।

४. मैथुनका वेला पोथीलाई अँठ्याई राख्नः भाले गँगटा, कीट र भ्यागुता आदिमा यस्ता अंग पाइन्छन् जसले मैथुन–क्रियाका वेला पोथीलाई अँठ्याएर राख्न सहयोग पु¥याउँछन् ।

५. शुक्राणुलाई पोथीको शरीरभित्र पु¥याउनः प्रजननको प्रक्रियामा यो ज्यादै महत्वपूर्ण कडी हो किनभने शुक्राणु अति नै नाजुक र संवेदनशील हुने भएकाले तिनलाई भालेको शरीरबाट पोथीको शरीरभित्र यथास्थानमा पुर्‍याउनु असाध्यै चुनौतीपूर्ण काम हुन्छ । यो काम सम्पन्न गर्न विभिन्न समूहका भाले जन्तुहरूमा विशिष्ट अंगहरूको विकास भएको छ र यिनको सहायताले भालेलाई चिन्न पनि सकिन्छ । भाले अक्टोपसको एउटा भुजाको अलिक ठूलो अग्रभाग (हेक्टोकोटाइलस), भाले शार्कको आलिंगक र भाले स्तनधारीको शिश्न यस्तै अंग हुन् ।

६. सन्तानको सुरक्षा र तिनको पोषण गर्नः समुद्री घोडाको पेटमा रहेको थैली (भ्रूणकोष) उसका बच्चाहरूलाई संरक्षण गर्न बनेको संरचना हो । तिनीहरू आत्मनिर्भर नहुन्जेल त्यसैमा बस्छन् । यसका विपरीत, पोथी स्तनधारीका स्तनहरू विशुद्ध रूपमा शिशुको पोषणका लागि बनेका हुन्छन् । यस्ता अंगहरूको प्रजनन क्रियासँग सोझे सम्बन्ध नभए पनि यिनका कारण लैंगिक द्विरूपता त हुन्छ नै ।

७. अन्य कारणः यी बाहेक लैंगिक द्विरूपताका अन्य कारण पनि हुन सक्छन् । कतिपय अवस्थामा शरीरको कुनै अंगमा परिवर्तन हुँदा त्यसैका कारण अन्य केही अंगहरूमा पनि परिवर्तन हुन सक्छ । यसरी परिवर्तन हुनुको विशेष कारण वा प्रयोजन भने हुँदैन भलै त्यसले लैंगिक द्विरूपता देखाओस् । साथै, हरेक प्रजातिमा पाइने लैंगिक द्विरूपताको कुनै न कुनै कारण हुनैपर्छ भन्ने पनि जरूरी छैन ।  

(साभारः शैक्षिक सन्दर्भ, जुन–जुलाई २०००)

भाषान्तरः शरच्चन्द्र वस्ती

commercial commercial commercial commercial