पठनपाठनमा सुधारः ‘नयाँ शिक्षकले चाहे सम्भव छ !’

शिक्षा क्षेत्रका अनेक चुनौतीबाट पार पाउन नयाँ नियुक्त शिक्षकले चाहेमा सम्भव छ । शिक्षकको इमान्दारी, लगनशीलता र निरन्तरताको अगाडि कुनै पनि चुनौती टिक्न सक्दैनन् । एउटा असल शिक्षकलाई राज्यले पनि रोक्न सक्दैन भन्ने कुराका थुप्रै उदाहरण छन् । असल शिक्षकले प्रतिकूलतामा पनि अनुकूलता देख्छ र निर्दिष्ट लक्ष्य प्राप्तिमा सफलता पाउँछ ।

“जबसम्म आशा जीवित रहन्छ तबसम्म सबै कुरा पुनर्जीवित गर्न सकिन्छ । त्यसैले आशा सधैं जीवित राख्नुपर्छ ।”
मैले यो प्रेरणादायी सूक्ति २१ वर्ष पहिले पोखरामा माध्यमिक शिक्षकहरूका लागि सञ्चालित एकमहीने तालीममा सुनेको थिएँ । यो कुरा हामीलाई सुनाउने क्यानेडियन टिचर्स फेडरेशनका प्रशिक्षक र शिक्षक क्याथी ब्युडेट अहिले कहाँ हुनुहुन्छ थाहा छैन तर मलाई भने आजसम्म त्यही सकारात्मक सोचले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने हौसला दिइरहेको छ ।
हाम्रो शिक्षण कर्ममा कहिलेकाहीं निराश पनि होइन्छ । तर यस पटक नयाँ नियुक्त शिक्षकहरूको विद्यालय प्रवेशले मेरो आशाको किरणमा चहक थपिदिएको छ । त्यो चहकलाई कहीं कतैबाट पनि मधुरो बनाउने काम नहोस् भन्ने मेरो विशेष आग्रह हो ।

शिक्षक सेवा आयोगको भनाइ अनुसार २०६० सालअघिसम्म नेपालमा कुल दरबन्दीको करीब पचास प्रतिशत मात्र स्थायी शिक्षक थिए । लामो समयसम्म स्थायी सेवामा प्रवेशका लागि विज्ञापन नहुनाले शिक्षण पेशा असुरक्षित बन्न पुग्यो । त्यसको परिणामस्वरुप दक्ष जनशक्तिलाई शिक्षण पेशाप्रति आकर्षित गर्न सकिएन, ती अन्यत्रै पलायन भए । यो तीतो विगत हाम्रो यथार्थ हो । सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्कनुमा ती विद्यालयले समयानुकूल कक्षाकोठा व्यवस्थापन गर्न, पाठ्यक्रमको मर्म र भावना अनुरुप शिक्षण–सिकाइ क्रियाकलाप सञ्चालन गर्न तथा विषयवस्तुलाई विद्यार्थीको परिवेश, रुचि, क्षमता र आवश्यकता अनुरुप सान्दर्भिक बनाउने लगायतका काम सम्पादन गर्न सक्षम र दक्ष शिक्षक नपाउनु नै हो । शैक्षिक गुणस्तरका लागि प्रमुख अभियन्ता शिक्षक नै हो, त्यसैले भनिन्छ, “कुनै पनि देशको शिक्षाको स्तर त्यहाँका शिक्षकको भन्दा राम्रो हुन सक्दैन ।”

शिक्षक सेवा आयोगले १३ हजार ५९ दरबन्दीका लागि खुल्ला विज्ञापन गरी शिक्षा संकाय अध्ययन गरी शिक्षक अध्यापन अनुमतिपत्र प्राप्त करीब सवा चार लाख प्रतिस्पर्धीमध्येबाट १२ हजार ७४३ जनालाई पारदर्शी ढंगबाट छनोट गरेको छ । यी पढेलेखेका र आफ्नो योग्यता प्रमाणित गरिसकेका नवनियुक्त शिक्षकहरूलाई क्षमता प्रदर्शनको उपयुक्त वातावरण बनाइदिनु सरकारी निकाय र विद्यालय परिवार लगायत हामी सबैको दायित्व हो ।  

सहज वातावरणको निर्माण
नवनियुक्त शिक्षकलाई नियुक्ति पत्र दिएर विद्यालय पठाउनुअघि नै सम्बन्धित विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, विद्यालय निरीक्षक, स्रोतव्यक्ति र नवनियुक्त शिक्षकलाई साथमै राखेर हाजिर गराउने सम्बन्धमा वा हाजिर नगराएमा विद्यालयले भोग्नुपर्ने क्षति र नवनियुक्त हुने शिक्षकलाई हुने अर्को व्यवस्था सम्बन्धमा स्पष्ट पार्नुपर्छ । यसले नवनियुक्त शिक्षकले कुनै मानसिक तनाव विना, कसैसँग मोलाहिजा तथा कसैको डर नमानी आफू राज्यबाट संरक्षित भएकै आधारमा नयाँ जोश र जाँगरका साथ कार्य क्षेत्रमा डट्ने वातावरण बन्छ । अन्यथा विद्यालयमा हाजिर हुन जाँदा हाजिर हुन नपाएपछि विद्यालय प्रशासनप्रतिको नकारात्मक छापले अगाडिका दिनमा समेत मनमुटाव भइरहने र नवनियुक्त शिक्षकहरूको जाँगरमा सुस्तता ल्याउन सक्छ ।

राजनीतिक हस्तक्षेपबाट मुक्ति
भविष्यमा अवसरको लोभ देखाएर अथवा डर–त्रास देखाएर नवनियुक्त शिक्षकलाई स्थानीय तथा पेशागत संघ–संगठनका सदस्यता वितरण गर्ने एवम् दलीय राजनीतिक प्रभावमा पार्ने काम कहीं कतैबाट पनि हुनुहुँदैन । यस्तो फोहोरी प्रयासले नवनियुक्त शिक्षकहरूलाई कर्तव्यच्यूत बनाउन सक्छ । अवसरको लोभ र लालचमा आफ्नो पेशागत दायित्व लत्याएर कुनै पनि राजनीतिक दलको झेला बोकेर विद्यालयको पठनपाठनमा बाधा पार्ने काम नयाँ नियुक्त शिक्षकहरूबाट हुनुहुँदैन ।

पुराना शिक्षकबाट अपेक्षा
एकमुष्ट हेर्दा १२ हजार ७४३ जना नयाँ शिक्षक देशले पाउने देखिन्छ । तर विद्यालयमा प्रवेश गर्ने नयाँ शिक्षकको संख्या विद्यालयमा कार्यरत पुराना शिक्षकको तुलनामा नगन्य हो । त्यसैले विद्यालयमा शिक्षण–सिकाइ प्रक्रियाको सन्दर्भमा कसले कसको अनुसरण गर्ने भन्ने सम्बन्धमा विचार पु¥याउनु आवश्यक छ । अवश्य पनि कार्यशैलीमा परिवर्तन सहज हुनै सक्दैन ।

तर शैक्षिक गुणस्तरमा सुधारका लागि राम्रोको अनुसरण गर्न हामी सबै तयार हुनैपर्छ । अबको समय नयाँ नियुक्त हुने शिक्षकको हो तर भोटो फटाएकै आधारमा अनुभवको ध्वाँस लगाएर परम्परागत शैलीमै नयाँ शिक्षकलाई गिजोल्ने काम भयो भने शिक्षामा दुर्भाग्यको किलोले जरो गाड्छ । नयाँ नियुक्त शिक्षकका जोश र प्रविधिलाई पारसमणिको रूपमा प्रयोग गर्ने वातावरण पुराना शिक्षकको सकारात्मक सहयोग र साथले मात्र सम्भव हुन्छ ।

विद्यालय प्रशासनको पारदर्शी र न्यायपूर्ण व्यवहार
अधिकांश विद्यालयमा स्वार्थ मुक्त विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन पाउन कठिन छ । विद्यालय निर्माणका लागि सबैले एक भएर काम गर्ने हो भने मात्र सामुदायिक विद्यालयको समग्र विकास सम्भव हुन्छ । तर जिम्मेवार निकायमा बसेकाहरूले समेत आफ्नो अनुकूल कानून कार्यान्वयन गराउने परम्पराले त्यहाँ त हुने यहाँ किन नहुने भन्ने पेलाहा प्रवृत्ति हावी छ । यस्ता प्रवृत्तिले पनि नयाँ शिक्षकहरूको काम गर्ने जोश र जाँगरमा ह्रास ल्याउँछ ।

पिरियड व्यवस्थापन सम्बन्धमा नयाँ शिक्षकहरूलाई बढी पिरियड पढाउन दिनुपर्छ भन्ने पुराना शिक्षकहरूको मानसिकताले काम गर्ने गरेका थुप्रै दृष्टान्त भेटिन्छन् । तर त्यसो गर्दा नयाँ र पुराना बीचको द्वन्द्व शुरू हुन्छ । तसर्थ विद्यालय प्रशासनले पारदर्शी ढंगबाट साप्ताहिक कार्यतालिका निर्माण गर्नु आवश्यक हुन्छ । कार्यतालिका बनाउँदा प्रधानाध्यापक, सहायक प्रधानाध्यापक लगायत थप कार्यभार वहन गर्ने अन्य शिक्षकहरूलाई स्पष्ट रूपमा के–कति पिरियड कम दिने सम्बन्धमा सबै सहमत गराएर र सबै शिक्षकहरूलाई विषयगत नियुक्तिको आधारमा र विद्यालयको आवश्यकता महसूस गराएर आवश्यक अन्य विषय समेत अध्यापन गर्नुपर्ने भएमा अन्य विषय समेत मिलाएर साप्ताहिक रूपमा सबैलाई बराबर पिरियड र भार पर्ने गरी तयार गरी कार्यान्वयन गरिनुपर्छ । यसो गर्न सकिएन भने नयाँ शिक्षकलाई विद्यालयप्रतिको अपनत्व जगाउन धेरै समय लाग्न सक्छ र त्यति बेलासम्म विद्यालयले ती शिक्षकबाट पाउनुपर्ने धेरै कुरा गुमाइसक्छ ।

विद्यालयको शैक्षिक विकासका लागि जिल्ला शिक्षा कार्यालय तथा विभिन्न संघ–संस्थाले आयोजना गर्ने विभिन्न गोष्ठी, तालीम तथा कार्यक्रमहरूमा सहभागी सम्बन्धमा पनि विषयगत र विशेष जिम्मेवारीभन्दा फरक नपर्ने गरी सबैलाई समान अवसरको वातावरण निर्माण गर्न सकिएन भने पनि नयाँ शिक्षकहरूलाई दायित्वबाट पलायन बनाउन सक्छ । तसर्थ यस्ता कार्यक्रमहरूमा सहभागिता सम्बन्धमा विद्यालय प्रशासन पारदर्शी बन्न आवश्यक छ ।

शैक्षिक कार्यक्रममा नयाँ शिक्षकले देखाउने जाँगरमा रोक लगाउने खालका अभिव्यक्ति दिने काम पुराना शिक्षकबाट हुनुहुँदैन । जस्तै नियमित गृहकार्य तथा कक्षा कार्य परीक्षण गरिरहेको अवस्थामा, दैनिक पाठयोजना निर्माण गरी शिक्षण गर्न खोज्दा, शैक्षिक सामग्रीसहित शिक्षण गर्न खोज्दा, विद्यार्थीहरूलाई नयाँ–नयाँ परियोजना कार्यमा संलग्न गराउन खोज्दा, अभिभावकहरूसँग नियमित सम्पर्क र छलफल गर्न खोज्दा, कक्षाकोठा नयाँ ढंगबाट व्यवस्थापन गर्न खोज्दा, परीक्षाका उत्तरपुस्तिकाहरू पृष्ठपोषण सहित अभिभावकको उपस्थितिमा वितरण गर्न खोज्दा, प्रयोगात्मक विधिबाट विद्यार्थीलाई शिक्षण गर्न खोज्दा, विद्यार्थीको निरन्तर मूल्यांकनका अभिलेखहरू व्यवस्थापन सहित विद्यार्थीको सिकाइ उपलब्धि बढाउन विद्यार्थीलाई नियमित परामर्श दिन खोज्दा तथा समग्रमा नयाँ शिक्षकहरू सक्रिय हुन खोज्दा पुराना शिक्षकले नयाँ शिक्षक साथीहरूको मनोबल बढोस् भन्ने कुरामा सधैं सचेत रहनु आवश्यक हुन्छ ।

खरो प्रतिस्पर्धाबाट विद्यालयमा प्रवेश गरेका यी युवा जोशमा बल प्रदान गर्ने काममा सबैले सकारात्मक र रचनात्मक भूमिका खेल्न सकेमा पक्कै पनि यो देशको शैक्षिक गुणस्तरमा परिवर्तन ल्याउन सकिन्छ । यहाँनेर मलाई एउटा वाक्य थप्न मन लाग्यो, “सके सपारांै, नसके नबिगारौं ।”

अन्तमा, यी चुनौतीबाट पार पाउन ‘नयाँ नियुक्त शिक्षकले चाहेमा सम्भव छ ।’ शिक्षकको इमान्दारी, लगनशीलता र निरन्तरताको अगाडि यी चुनौतीको दम छैन । एउटा असल शिक्षकलाई राज्यले पनि रोक्न सक्दैन भन्ने कुराका थुप्रै उदाहरण छन् । एउटा असल शिक्षकलाई अभावले पनि निराश बनाउन सक्दैन । एउटा असल शिक्षकले प्रतिकूलतामा पनि अनुकूलता देख्छ र निर्दिष्ट लक्ष्य प्राप्तिमा सफलता पाउँछ । सम्पूर्ण नवनियुक्त शिक्षक साथीहरूलाई हार्दिक बधाइका साथसाथै सबैखाले चुनौतीको सामना गर्ने क्षमता वृद्धिमा तपाईंहरूसँगै रहने प्रतिबद्धता व्यक्त गर्दछुु ।

(तीन दशकदेखि शिक्षण कार्यमा संलग्न, हाल प्रशिक्षक तथा स्रोतव्यक्ति, पाटन उमावि, अगुवा स्रोतकेन्द्र ललितपुर)

commercial commercial commercial commercial