शिक्षाको समाजशास्त्र

शिक्षा समाजमा चल्ने विशिष्ट प्रक्रिया हो । शिक्षा र समाजका बीच जटिल सम्बन्ध छ । शिक्षाले समाजलाई प्रभावित पार्छ र समाजले शिक्षालाई ।

घाम राम्ररी लागिसकेको थिएन; अचाक्ली जाडो थियो । म केही किसानसँग एउटा घरको आँगनमा, डोरीको खाटमा बसेको थिएँ । सबैले धुस्सा ओढेका थियौं र तातो चिया सुरुप्–सुरुप् पार्दै थियौं । मैले उनीहरूलाई भनें, ‘तपाईंहरूको जिन्दगीसँग शिक्षाको के सम्बन्ध छ, मलाई जान्न मन लागेको छ ।’ मेरो कुरा सकिन नपाउँदै एक जना किसानले उछिने, ‘पढाइ ?... त्यो त बेकारको कुरा हो । पढेर के गर्नु हामीले ?’ उनले नजिकै उभिएको एउटा ठिटोलाई देखाएः ‘ल हेर्नोस्, यो मेरो छोरो दश कक्षासम्म पढेर काम नलाग्ने भयो । न यसले शहरमा कुनै जागीर पायो, न त अब खेती गर्न नै सघाउँछ । यस्तो पढाइसँग हामीलाई के मतलब ?’

हाम्रो समाज आज बहुआयामिक परिवर्तनहरूबाट गुज्रिरहेको छ । प्रत्येक पाइलामा हामी नयाँ र जटिल प्रश्नहरूसँग ठोकिन पुग्छौं । अनि आफैंसँग सोध्छौं– पुराना तरीका र मूल्यमान्यता अब कति सान्दर्भिक छन् ? तीमध्ये कतिलाई छोड्ने र कतिलाई कायम राख्ने ? हाम्रा बाउबाजेले जे–जस्ता संस्कार अँगालेका थिए, आज स्कूल–कलेजले तिनको शिक्षा दिंदैनन् । उल्टो, कतिपय अवस्थामा, यस्तो बाटो र मूल्यमान्यतातर्फ डोर्‍याउँछन् जसको कल्पना हाम्रो परिवारमा यसअघि कसैले गरेको थिएन होला । यस्तो लाग्छ, समाजमा व्यापक बजारीकरण हुँदैछ जसले परिवार र समाजलाई जोड्ने बन्धनहरूलाई खुकुलो र कमजोर पारिरहेको छ । बढी तलब आउने जागीरले प्रायः व्यक्तिलाई घरपरिवारबाट टाढा पुर्‍याई नै हाल्छ । नयाँ पुस्ता मोबाइल र कम्प्युटरमा बढी समय बिताउँछ, आफ्नो परिवारसँग कम । ऊ क्रमशः अशिष्ट र ओठे जवाफ फर्काउने बन्दै गएको छ । उनीहरूलाई व्यावसायिक (भोकेशनल) र पेशागत (प्रोफेशनल) शिक्षा हासिल गर्न प्रोत्साहित गरिन्छ किन भने अधिकाधिक जागीर यिनै क्षेत्रमा पाइन्छन् । तर यस्ता जागीर केहीले मात्र पाउँछन् । खेती–किसानीमा खासै भविष्य देखिंदैन त्यसैले शिक्षालाई त्यसको विकल्प खोज्ने उपाय मानिन्छ । दर्शनशास्त्र र मानविकीका विषयहरूमा, जसबाट संवेदनशीलता, सोच्ने तरीका र दृष्टिकोण विकसित हुन्छ, कोही भर्ना हुनै चाहँदैन । महिलाहरू पढ्न चाहन्छन् र केवल पत्नी अथवा आमा बनेर बस्न चाहँदैनन् । इतिहासकालदेखि नै शिक्षाबाट टाढा रहन पुगेका समुदायहरू पनि अब शिक्षा चाहियो भन्दैछन् । शिक्षा भए नोकरी पाइन्छ भन्ने आम धारणा छ । तर नोकरी छैनन् । शिक्षितहरूको संख्या जति बढ्दैछ, बेरोजगारको संख्या पनि उत्तिकै बढ्दैछ । हामी आफैंसँग प्रश्न गर्छौं र अनुत्तरित हुन्छौं– अब गर्ने के त ?

समाजशास्त्रीय दृष्टि
शिक्षालाई प्रायः मनोवैज्ञानिक दृष्टिले हेर्ने गरिन्छ । यसका समस्यालाई कक्षा र परिवारसम्म सीमित राखेर हेरिन्छ । शिक्षामा सुधार ल्याउने प्रयासहरूको ध्यान बढी राम्ररी पढाउने विधि, बढी रोचक पाठ्यपुस्तक जस्ता कुरामा केन्द्रित हुन्छ । तर, यो समग्र प्रक्रियामा समाजको स्वरूपले निकै गहिरो असर पारिरहेको हुन्छ । समाजमा जे–जस्ता प्रकारका परिवर्तन भइरहेका हुन्छन् तिनको असर पनि उत्तिकै पर्छ । उदाहरणका निम्ति, सीमित मानदण्ड रहेको गतिहीन समाजका शिक्षासँग हुने कतिपय अपेक्षा बृहत् मानदण्ड सहितको गतिशील समाजले शिक्षासँग गर्ने अपेक्षा भन्दा फरक हुन्छन् । मानवशास्त्री मार्गरेट रीडले भनेकी थिइन्– गतिहीन समाजमा केटाकेटीले त्यही सिक्नु जरूरी हुन्छ जो जेठा–बाठाहरूलाई पहिलेदेखि नै थाहा छ; तर गतिशील समाजमा जेठा–बाठाहरूले आफूभन्दा सानाहरूबाट सिक्नु फाइदाजनक हुन्छ । भन्नुको आशय, शिक्षाको उद्देश्य र अर्थको समाजको स्वरूपसँग गहिरो सम्बन्ध हुन्छ र ती उसको स्वरूप सँगसँगै बदलिन पनि सक्छन् ।

समाजशास्त्रीय दृष्टि व्यक्तिगत अथवा जीववैज्ञानिक दृष्टिभन्दा फरक हुन्छ । उदाहरणका लागि, परीक्षामा बोर्ड टप गर्ने छात्रालाई लिऊँ । यसका पछाडि उसको परिश्रम र अध्यवसाय रहेको मान्नैपर्छ, जो उसका वैयक्तिक गुण र विशेषता हुन् । उसको भनाइ ‘म आफ्ना विषयलाई प्रेम गर्छु’ भन्ने पनि हुन सक्छ । तर समाजशास्त्रीहरूले यसका पछाडि थप कारणहरू पनि जोड्न सक्छन् । जस्तैः ऊ यस्तो परिवार र समाजकी हो जहाँ शिक्षाको ज्यादै कदर गरिन्छ । त्यहाँ केटाहरूको मात्र होइन, केटीहरूको शिक्षालाई पनि पर्याप्त महत्व दिइन्छ । परिवारकै कारण ऊ यस्तो स्कूलमा जान पाई जहाँ राम्रो पढाइ हुन्थ्यो ।

उसले आफ्नो सम्पूर्ण ध्यान पढाइमा लगाउन पाओस् भनेर परिवारले उसलाई कुनै घरेलु काममा जोतेन होला । उसको परिवार किन यस्तो थियो र अरूका परिवार जस्तो किन भएन ? उसको परिवार के–कस्ता सामाजिक प्रक्रियाबाट गुज्रिंदै आएको थियो ? बितेका ५० वर्षमा त्यो कहाँ–कहाँ बस्न पुग्यो ? त्यसको पेशा अथवा व्यवसाय के थियो ? त्यसको जाति, धर्म, संस्कृति र परम्परा के थियो ? पारिवारिक वृत्तभन्दा बाहिर सक्रिय रहेका महिलाहरूका के–कस्ता उदाहरण उसका सामु थिए ? इत्यादि ।

बोर्ड टप गर्ने विद्यार्थीसँग त्यसको जैविक आधार अवश्य नै हुन्छ किनभने ऊ बोधका निम्ति सक्षम (कोग्निटिभली कम्पिटेन्ट) हुन्छ अनि कुपोषणग्रस्त र मन्द मस्तिष्कको हुँदैन । तर उसका जैविक क्षमताहरूको उचित विकास हुन पाउँछ कि पाउँदैन भन्ने कुरा धेरै हदसम्म केमा निर्भर हुन्छ भने ऊ कुनखाले सामाजिक परिवेशमा हुर्के–बढेको छ अनि ऊ स्वयंले कति मिहिनेत गरेको छ । यस सन्दर्भमा उसको व्यक्तिगत र जैविक पक्षभन्दा अघि बढेर उसको जीवनको समाजशास्त्रीय पक्षलाई पनि बुझनु जरूरी हुन्छ ।

समाजको हस्तक्षेप
समाजशास्त्रीहरूका अनुसार, ‘सिकाइ र शैक्षणिक उपलब्धि व्यक्तिगत एवं निजी मामिला हो’ भन्ने बुझाइ अधूरो हो । किनभने यसमा समाजको निकै बृहत् हस्तक्षेप हुन्छ । भारतमा सन् २००९ मा कलेज जाने उमेरका युवकहरूमध्ये १७ प्रतिशतले मात्र कुनै पनि किसिमको शैक्षिक संस्थामा आफ्नो नाम लेखाएका थिए । अर्थात् पाँचमध्ये चार भारतीय युवकका निम्ति उच्च शिक्षा उपलब्ध थिएन । यसो गर्नु उनीहरूको व्यक्तिगत अरुचि अथवा निजी निर्णय थिएन । आफ्नो बुद्धि उच्च शिक्षा हासिल गर्न जैविक रूपले अक्षम भएका कारण उनीहरूले यस्तो निर्णय लिएका पनि थिएनन् । त्यसको मुख्य कारण त बेग्लै थियो । जस्तैः तीमध्ये अधिकतरको परिवारले तिनको उच्च शिक्षाको खर्च धान्न सक्तैनथ्यो । अथवा उनीहरूलाई कलेजको पढाइ पूरा गरेपछि पनि राम्रो जागीर पाउन सकिन्छ भन्ने आशा थिएन अथवा छोरीहरूलाई उच्च शिक्षा दिलाउँदा उनीहरूको बिहा गर्न (खासगरी दाइजो जुटाउन) गाह्रो पर्छ भन्ने परिवारले बुझेकाे थियो; आदि । स्पष्ट छ यी व्यक्तिगत कारण अथवा निजी निर्णय मात्र थिएनन् । यसका पछाडि उनीहरूको परिवार कस्तो सामाजिक पर्यावरणमा रहँदै आएको थियो र त्यसले उसमा कस्तो मनोविज्ञानको विकास गरिदिएको थियो भन्ने कुराले निर्णायक भूमिका खेलेको थियो । अंग्रेजी बोल्ने शहरी परिवारको विद्यार्थी अवश्य नै कलेज जान्छ; आफ्नो अथवा अन्य शहरका सरकारी कार्यालय अथवा कम्पनी–कारखानाहरूमा जागीर पाउने कुरामा ऊ विश्वस्त हुन्छ । तर, गाउँको किसान परिवारको विद्यार्थीले पहिले त कलेजमा पढ्न नै कठोर मिहिनेत र असाधारण अठोट प्रदर्शन गर्नुपर्छ; त्यसपछि पनि जागीर पाउने सम्भावना असाध्यै धमिलो हुन्छ ।


विद्यालयका हरेक कक्षामा केही विद्यार्थीले चाँडै सिक्छन् र केहीले निकै ढीलो । कुनै पनि विद्यार्थीले स्कूलमा कति चाँडो र कति रुचिपूर्वक सिक्छ भन्ने कुराको सम्बन्ध उसको व्यक्तिगत क्षमतामा मात्र सीमित नरहेर स्कूलको वातावरण तथा सामाजिक परिवेशका साथै उसको परिवार र उसका आमाबाबु कस्तो सामाजिक समूहका अंग हुन् भन्ने कुरामा पनि निर्भर हुन्छ ।

विद्यालयका हरेक कक्षामा केही विद्यार्थीले चाँडै सिक्छन् र केहीले निकै ढीलो । सामान्यतः के सुनिन्छ भने, चाँडै सिक्न सक्ने विद्यार्थी अरूभन्दा बढी बुद्धिमान हुन्छन् । तर, समाजशास्त्रले यस मामिलालाई अलि बेग्लै ढंगले हेर्छ । किनभने, प्रायः के देखिएको छ भने, ढीलो सिक्ने विद्यार्थीहरूलाई जब यस्ता स्कूलमा भर्ना गरिन्छ जहाँ उनीहरूप्रति शिक्षकले बढी ध्यान दिन्छन् र सिक्न विशेष मद्दत गर्छन्, त्यसबेला उनीहरूको सिक्ने गति बढ्छ । उनीहरू पनि चाँडै सिक्न सक्ने हुन्छन् । कुनै पनि विद्यार्थीले स्कूलमा कति चाँडो र कति रुचिपूर्वक सिक्छ भन्ने कुराको सम्बन्ध उसको व्यक्तिगत क्षमतामा मात्र सीमित नरहेर स्कूलको वातावरण तथा सामाजिक परिवेशका साथै उसको परिवार र उसका आमाबाबु कस्तो सामाजिक समूहका अंग हुन् भन्ने कुरामा पनि निर्भर हुन्छ । यी सबै कुरा नबुझेसम्म विद्यार्थीको सिक्ने प्रक्रियालाई बुझन र उसलाई कसरी मद्दत गर्न सकिन्छ भन्ने थाहा पाउन कठिन हुन्छ ।

सामाजिक आकांक्षा
समाजले कस्तो शिक्षा चाहन्छ भन्ने कुरा निकै महत्वपूर्ण हुन्छ । आज पनि हाम्रो समाजमा डाक्टर अथवा इंजिनीयर बन्नु नै प्रतिभा र सफल शिक्षाको कसी अनि उज्ज्वल भविष्यको ग्यारेन्टी मानिन्छ । त्यसैले, अधिकांश आमाबाबुले आफ्ना छोराछोरीलाई त्यतै जान प्रत्यक्ष–अप्रत्यक्ष तर अनवरत उत्प्रेरित गरिरहेका हुन्छन् । तर, कुनै समाजमा दार्शनिक र कवि पैदा हुन छोडे भने त्यस समाजमा अनेक खाले समस्या शुरू हुन थाल्छन् । दार्शनिक र कवि बन्न पनि धेरै कुरा सिक्नुपर्छ । सबै जना डाक्टर–इंजिनीयर बन्ने दौडमै लाग्ने हो भने दार्शनिक अथवा कवि बन्ने उद्देश्य कसले लिने ? त्यसका लागि आवश्यक कुरा कसले सिक्ने अनि कसले सिकाउने ? यस बाहेक पनि समाजका शिक्षासँग सम्बन्धित थुप्रै आवश्यकता हुन्छन् । उदाहरणका लागि, अनेक किसिमका वर्ग, जाति र समूह भएको समाजका लागि यस्तो सांस्कृतिक शिक्षा आवश्यक हुन्छ जसले तिनलाई आपसी सामञ्जस्य, मित्रता, सम्मान र सद्भावका साथ रहन मद्दत पुर्‍याओस् । मानव इतिहासमा सांस्कृतिक शिक्षाको विशेष भूमिका रहँदै आएको पनि छ । तर आज सांस्कृतिक शिक्षा र प्राविधिक/पेशागत शिक्षाबीच आगो–पानीको जस्तो सम्बन्ध सिर्जना हुन पुगेको छ । यो र यस्ता खाडल पुर्न पहिले त समाज र त्यसभित्र चल्ने तानातानी तथा सामाजिक आवश्यकता गहिरोसँग बुझनु जरूरी हुन्छ, त्यसपछि तदनुरूप शिक्षाको उद्देश्य तथा नीति निर्धारण गरिनुपर्छ । समाजको संरचना र त्यसका आकांक्षालाई सम्बोधन नगर्ने शिक्षा नीतिले समाजमा सामञ्जस्य सिर्जना गर्न सक्तैन, न त समाजलाई सही दिशातिर अभिमुख गराउन नै सक्छ ।

मानव पर्यावरण
समाजशास्त्रले मानिसलाई उसको निजी व्यक्तित्व र जैविक शरीरको सट्टा मानव पर्यावरणका माध्यमबाट हेर्ने र बुझने दृष्टि प्रस्तुत गर्छ । यसको मान्यता होः मानिस एक्लै वा एकान्तमा बस्तैनन्, बरु खास किसिमको सामाजिक ढाँचामा बस्छन् जसले तिनको जीवनको हरेक पक्षलाई प्रभावित पार्छ । यसको अर्थ मानिस समाजको हातको कठपुतली हो र उसकै इशारामा नाचिरहन्छ भन्ने होइन । हामी सोच्न सक्छौं, विचार गर्न सक्छौं र आफ्नो इच्छा अनुसार ‘चयन’ गर्न सक्छौं । हामी कुनै चुनौतीको जवाफ धैर्य, करुणा र विवेकले दिन्छौं अथवा क्रोधले दुई झापड लगाइदिन्छौं भन्ने कुरा धेरै हदसम्म हामीमै निर्भर गर्छ । हामी आफूलाई विशेष उद्देश्यका साथ संगठित गर्न सक्छौं र आफूमाथि सक्रिय सामाजिक दबाबहरूलाई तोड्न, उपेक्षा गर्न पनि सक्छौं । तर हामी के गर्ने निर्णय वा चुनाव गर्छौं भन्ने कुरा हामी कस्तो सामाजिक परिवेशमा रहँदै आएका छौं भन्ने कुराबाट निकै हदसम्म प्रभावित हुन्छ । समाजशास्त्रले सामाजिक ढाँचा र व्यक्तिहरूका बीच चल्ने जटिल एवं बहुआयामिक आदानप्रदानलाई नियाल्छ । त्यसैले, शिक्षाका सन्दर्भमा, विभिन्न खालका परिवार, आर्थिक परिस्थिति, समुदायहरूबीचका द्वेष र द्वन्द्व, राजनीतिक पहिचान र आकांक्षा, एकअर्कालाई प्रेरित–प्रभावित गर्नेबारे समुदायका मान्यता आदि–इत्यादिको यसमाथि के–कस्तो असर पर्छ र परिरहेको छ भनेर हेर्ने गर्छ ।

व्यापक परिवेश
हाम्रो जीवन आज पहिलेभन्दा बढी जटिल हुन पुगेको छ । हाम्रो अनुभव आफ्ना परिवारजन, साथीभाइ, छरछिमेक आदिमा सीमित हुन्छ । यिनको संख्या दुई–चार सयभन्दा बढी हुँदैन । तर आज थुप्रै यस्ता कुराले हाम्रो जीवनलाई प्रभावित गर्छन् जो हाम्रो अनुभव–वृत्तभन्दा धेरै ठूलो घेरामा फैलिएका हुन्छन्; भूगोल र परिस्थिति दुवै दृष्टिले । समाजशास्त्रले त्यो व्यापक परिवेशलाई सतर्क दृष्टिले नियालेर त्यसका सन्दर्भमा हाम्रो — व्यक्ति र समूहको — अवस्थितिलाई, हाम्रा व्यवहार र हामीले सामना गर्ने परिस्थितिलाई हेर्ने गर्छ ।

उदाहरणका लागि, ग्रामीण क्षेत्रबाट शहरका स्कूल–कलेजमा पढ्न आएका विद्यार्थीका समस्या केलाउँदा समाजशास्त्रीय दृष्टिले हाम्रासामु एउटा बेग्लै तस्वीर प्रस्तुत गर्छ । शहरका जुन स्कूल–कलेजमा यी विद्यार्थी भर्ना हुन्छन्, त्यहाँका शिक्षकलाई लाग्छ— यिनीहरू या त विषय बुझदैनन् अथवा तिनमा रुचि राख्तैनन् । तर, समाजशास्त्रीहरू भन्छन्— हाम्रा विद्यालयका पाठ्यक्रम, पाठ्यपुस्तक, परीक्षा, शिक्षक सबै शहरिया कार्यालयका जागीरतर्फ अभिमुख छन् । अर्थात् उनीहरू त्यस्तै जागीरका लागि उपयुक्त पात्रको निर्माण गर्ने ध्याउन्नमा लागेका हुन्छन् । यसको फलस्वरुप तिनै छात्र विद्यालयमा सबैभन्दा बढी घुलमिल हुन पुग्छन् जो त्यस्ता जागीरदारका सन्तान हुन्छन् । अन्य सामाजिक परिवेशबाट आएका विद्यार्थी विद्यालयमा आफूलाई पराईजस्तो र आफैंमा हराएजस्तो महसूस गर्छन् । तिनीहरू त्यहाँको समग्र वातावरणमा घुलमिल हुनै सक्तैनन् । जब हामी परिस्थितिलाई यस दृष्टिले हेर्छौं त्यसवेला विद्यार्थीहरू स्कूलको वातावरणमा आफूलाई किन सहज महसूस गर्न र तदनुरुप ढाल्न सक्तैनन् भन्ने कुरालाई नयाँ कोणबाट बुझन थाल्छौं । समस्यालाई हेर्ने हाम्रो दृष्टिकोण नै बदलिन पुग्छ । त्यसबेला, सामाजिक व्यवस्थाबाट उत्पन्न असमानता र समस्याहरूका लागि ग्रामीण विद्यार्थीहरूलाई दोषी ठहर्‍याउन सकिंदैन भन्ने निष्कर्षमा हामी स्वतः पुग्छौं । स्वाभाविक छ, त्यसपछि समस्या समाधानका उपायका बारेमा पनि हामी बेग्लै तवरले सोच्न थाल्छौं ।


सबैजना डाक्टर–इंजिनीयर बन्ने दौडमै लाग्ने हो भने दार्शनिक अथवा कवि बन्ने उद्देश्य कसले लिने ? त्यसका लागि आवश्यक कुरा कसले सिक्ने अनि कसले सिकाउने ? यस बाहेक पनि समाजका शिक्षासँग सम्बन्धित थुप्रै आवश्यकता हुन्छन् ।

जीवन–जगत्सँग सम्बन्धित अनेकौं कुराका बारेमा सामान्य तवरले निर्माण हुन पुग्ने हाम्रो बोधमाथि समाजशास्त्रीय दृष्टि तथा खोजले पुनर्विचार गराउँछ । हाम्रो सामान्य बोध आफूले देखे–सुनेका साधारण कुराहरूबाट अथवा संचारमाध्यम जस्ता स्रोतहरूबाट निर्माण भएको हुन्छ । समाजशास्त्रले भने यसभन्दा बेग्लै प्रक्रिया अपनाउँछ र वैज्ञानिक पद्धतिहरूको उपयोग गरी व्यवस्थित अध्ययन गरेर आफ्नो दृष्टि निर्माण गर्छ, जो सामान्य बोधभन्दा गहिरो र विस्तृत सन्दर्भको परिप्रेक्ष्यमा निर्मित हुन्छ । ज्ञान प्राप्त गर्ने प्रक्रिया र प्रमाणका बारेमा समाजशास्त्र विशेष सतर्क हुन्छ । एउटा उदाहरणः

‘यति पनि थाहा छैन ?’
भारतको प्रसिद्ध शिक्षण संस्था आई.आई.टी. मा अनुसूचित जाति/जनजातिका विद्यार्थीहरूसँग राम्रो व्यवहार गरिंदैन भन्ने कुरा बहुचर्चित छ । त्यस्तै चर्चाको आधारमा आम धारणा बन्न पुगेको छ । यो कुरा वास्तवमा सत्य हो कि होइन र सत्य भए कसरी त भन्ने बुझन समाजशास्त्री एस्. श्रीनिवास रावले समाजशास्त्रीय अध्ययन विधि अपनाए । उनले एक वर्षको अवधि निर्धारण गरेर आई.आई.टी. को अध्ययन गरे जसअन्तर्गत खासगरी त्यहाँका विद्यार्थी, अध्यापक र कर्मचारीहरूसँग अन्तर्वार्ता गरे । यी अन्तर्वार्ता र निजी अवलोकनका आधारमा उनले कतिपय प्रक्रियाहरू रेखांकित गरे जसका कारण त्यहाँ अनुसूचित जाति/जनजातिका विद्यार्थीमाथि ‘लेबल’ लगाइन्थ्यो र त्यसका आधारमा उनीहरूप्रति नराम्रो व्यवहार गरिन्थ्यो । एउटा प्रक्रिया के थियो भने आई.आई.टी. को प्रवेश परीक्षा पास गर्न नसक्ने अनुसूचित जाति/जनजातिका विद्यार्थीलाई एक वर्षको तयारी कक्षा (प्रिपरेटरी कोर्स/पीसी)मा भर्ना गरिन्थ्यो । त्यो कक्षा उपहासको विषय बनेको थियो जसले त्यसमा भर्ना भएकाहरूप्रति अरूको सोचाइ र व्यवहारलाई प्रभावित गर्दथ्यो । त्यसबाट तयारी कक्षामा भर्ना भएका छात्रको स्वयंप्रतिको सोचाइ र भावना समेत प्रभावित भइरहेको थियो । एकजना छात्रले, अन्तर्वार्ताका क्रममा, रावलाई भनेको थियोः
“भौतिक विज्ञानको हाम्रो पहिलो क्लास थियो । त्यसका अध्यापकलाई मैले त्यहीं पहिलोपल्ट देखेको थिएँ । लेक्चर सकिएपछि उनले हामीलाई कुनै प्रश्न भए सोध भने । अनि मैले एउटा प्रश्न सोधें । अध्यापकले त्यसको उत्तर दिनुको सट्टा उल्टै मलाई सोधे— ‘तिमीलाई यति पनि थाहा छैन ? तिमी पीसीका विद्यार्थी हौ कि क्या हो ?’ म एकदमै लज्जित भएँ र आफ्नो बेइज्जती भएको महसूस गरें । पहिलो क्लासमै उनले त्यसो भन्दा सहपाठीहरूका सामु मेरो कस्तो छवि बन्यो होला ? त्यसपछि मलाई उनको कक्षा र भौतिक विज्ञानसँगै घृणा लाग्न थाल्यो । अब मलाई इंजिनीयर बन्ने इच्छा छैन । म अर्कै विषय लिएर पढ्छु ।”

अध्ययनका क्रममा रावले आई.आई.टी. को प्रणालीमा रहेका थुप्रै कमजोरी पत्ता लगाएका थिए । हामी अहिले यो एउटै उदाहरण र उनको अध्ययन–पद्धतिमा ध्यान दिऊँ । सर्वप्रथम त उनले धेरै सैद्धान्तिक पुस्तकहरूको अध्ययन गरे जसबाट ‘लेबल’ लगाउने प्रक्रियाले विद्यार्थीमा कस्तो असर पर्छ भन्नेबारे उनको बोध बढी पुष्ट भयो । उनले खालि किताबका आधारमा अथवा आफ्नो पूर्व–अनुभवका भरमा निष्कर्ष निकालेनन्, बरु एउटा व्यवस्थित र मान्य तरीकाबाट आई.आई.टी. का विद्यार्थी र शिक्षकहरूको अनि त्यसको समग्र प्रणालीको अध्ययन गरे । समाजशास्त्रको विशेषता नै यही हो । यसले वास्तविकतामा ध्यान दिन्छ र हाम्रा मान्यता तथा सिद्धान्तहरू वास्तविकतासँग कति तादात्म्य राख्छन् भन्ने कुराको विभिन्न तरीकाबाट जाँच गर्छ । यो समग्र प्रक्रिया पार गरेपछि बल्ल निष्कर्षमा पुग्छ जसले यथार्थलाई गहिराइबाट स्पर्श गरेको हुन्छ । यसले पूर्णतः वैज्ञानिक विधि अपनाउने भए पनि समाजशास्त्र भौतिक विज्ञान जस्तो चाहिं होइन । यसमा, हामीले हानेको ढुंगो कहाँ पुगेर खस्छ भनेर सूत्रबद्ध निष्कर्ष दिन सक्ने, न्यूटनले बनाएका जस्ता नियम हुँदैनन् । मानिस र उनीहरूबीचको सामाजिक सम्बन्धलाई बुझनु– हानेको ढुंगाको गति र गुरुत्वाकर्षण बुझनुभन्दा निकै बढी मुश्किल काम हो । किनभने मानिस ढुंगो जस्तो होइन, उसले सोच्न सक्छ र बीच बाटोबाटै आफ्नो दिशा बदल्न पनि सक्छ ।

आधारभूत प्रक्रिय
शिक्षाको सामाजिक परिवेश बुझन यसलाई निर्माण गर्ने आधारभूत प्रक्रियाहरू बुझनुपर्ने हुन्छ । यस्ता प्रक्रियाले शिक्षा र त्यसका सामु उभिएका चुनौतीलाई बढी राम्रोसँग बुझन मद्दत पुर्‍याउँछन् । हाम्रा सामु आइलाग्ने अधिकांश दैनिक समस्या र ऊहापोहहरू वास्तवमा यिनै प्रक्रियासँग जोडिएका हुन्छन् । तीमध्येका मुख्य चार प्रक्रिया यसप्रकार छन्ः

१. उत्पादन, आदानप्रदान र उपभोगका परिवर्तनशील प्रक्रियाहरू । यिनले हाम्रा मौलिक सम्बन्धमा प्रभाव पार्छन् । यिनले एकातिर दमनका कैयौं पुराना प्रक्रियाबाट मुक्ति दिलाइरहेका हुन्छन् भने अर्कातिर बजारीकरण र त्यस मार्फत शोषण बढाइरहेका हुन्छन् । जुनसुकै तरीकाबाट सम्पत्ति आर्जनलाई विश्वव्यापीकरणले एक किसिमको लक्ष्य र आदर्श बनाइदिएको छ । अर्कातिर, नैतिकता र संस्कृतिलाई मुनाफाभन्दा बढी महत्व दिनुपर्छ भन्ने स्वर पनि सशक्त छ । यसबीच लोकतान्त्रिक राजनीतिक व्यवस्थाले स्वयंमा अनेक खालका दबाब सृजना गरिरहेको हुन्छ । शिक्षा प्रणालीले मानिसलाई यी प्रक्रियाको भुमरीमा ठेलिदिन्छ र आफू स्वयं पनि प्रभावित हुन्छ ।

. बढ्दो सामाजिक जटिलता । आ–आफ्नो सामाजिक समूहमा छुट्टै बस्न अब सम्भव छैन । आज विभिन्न सामाजिक समूहहरूले एक–अर्कासँग मिलेर बस्ने तरीका सिक्न र त्यसमा बानी पर्नु जरूरी छ । कुनै समूह न अरूलाई छोडेर कतै जान सक्छ, न त अरूलाई कतै भगाउन सक्छ । औद्योगिकीकरण र आधुनिक राजनीति दुवैले हाम्रासामु यो परिस्थिति सिर्जना गरिदिएका छन् । आज शिक्षासामु उपस्थित चुनौती हो— कसरी सबै सामाजिक समूहहरूलाई एउटै सांस्कृतिक सूत्रमा बाँध्ने र त्यो सँगसँगै उनीहरूको मौलिकता, स्वतन्त्रता र जीवन्ततालाई कायम पनि राख्ने ।

३. कर्मचारीमुखी संगठनहरूको वृद्धि । समाजमा काम गर्ने विविध संगठनहरूको आकारमा वृद्धि हुँदैछ र त्यो सँगसँगै तिनीहरू बढी कर्मचारी–आधारित ब्युरोक्रेटिक बन्दैछन् जसले तिनको काम गर्ने तरीका पनि बदलिंदैछ । औपचारिक नियमहरूको संख्या बढ्दै जानु र निर्जीव ढंगबाट काम गर्नु यसको महत्वपूर्ण अभिलक्षण मान्न सकिन्छ । यस्तो परिवर्तन शैक्षिक संस्थाहरूमा पनि भएको छ र सरकारी कार्यप्रणालीमा पनि । शिक्षाका कैयौं विवाद र जटिलताहरू यससँग गाँसिएका छन् ।

. निजी र सामाजिक पहिचान । हामी समाजमा जे गर्छौं त्यो हामी को हौं र के हौं भन्ने हाम्रो आफ्नो पहिचानमा आधारित हुन्छ । यो पहिचान स्थिर हुँदैन, लगातार विकसित भइरहेको हुन्छ । छात्र र अध्यापकका बीच सृजना हुने तनाव प्रायः यसै प्रक्रियामा आधारित हुन्छ । शिक्षामा भाषागत, क्षेत्रगत, जातिगत र राजनीतिक पहिचानका प्रश्नहरू पनि यसै अन्तर्गत पर्दछन् ।

समाजीकरण अर्थात् हामी स्वयंको निर्माण
समाजशास्त्रले भन्छ— हामी सबै खाली पाना लिएर पैदा हुन्छौं अनि जीवनका अनुभवले त्यसलाई क्रमशः भर्दै जान्छौं । हाम्रो व्यक्तित्व, हाम्रा मान्यता, धारणा र उपलब्धिहरू आफू वरपरका मानिससँगको सम्बन्ध, व्यवहार, मेलजोल र पारस्परिकताका आधारमा बन्दै, खडा हुँदै जान्छन् । भर्खर जन्मेको मानिस स्वयं कति लाचार हुन्छ भने उसका वरिपरि अरू मानिस अर्थात् समाज नहुने हो भने उसलाई केही दिनसम्म बाँच्न पनि कठिन हुन्छ । समाजमा रहेर नै हामी मान्छे बन्न सम्भव हुन्छ ।


विद्यालयका हरेक कक्षामा केही विद्यार्थीले चाँडै सिक्छन् र केहीले निकै ढीलो । कुनै पनि विद्यार्थीले स्कूलमा कति चाँडो र कति रुचिपूर्वक सिक्छ भन्ने कुराको सम्बन्ध उसको व्यक्तिगत क्षमतामा मात्र सीमित नरहेर स्कूलको वातावरण तथा सामाजिक परिवेशका साथै उसको परिवार र उसका आमाबाबु कस्तो सामाजिक समूहका अंग हुन् भन्ने कुरामा पनि निर्भर हुन्छ ।

मानिसहरूबीचका थुप्रै फरक — सबै होइन — समाजकै कारण सृजना भएका हुन् । त्यसैले, कसरी अलग–अलग किसिमका समाजले मानिसलाई इमानदार बन्न सजिलो अथवा गाह्रो बनाइदिन्छन्, समाज कसरी बदलिन्छन्, समाजमा मानिसलाई सज्जनता अथवा दुर्जनतातिर डोर्‍याउने केकस्ता प्रक्रिया गतिशील रहन्छन् इत्यादिको अध्ययन गर्नु असाध्यै चाखलाग्दो हुन्छ ।

यस्तो अध्ययनले हामीलाई मानव जीवनमा शिक्षाको के महत्व छ भन्ने पनि छर्लङ्ग पारिदिन्छ । आखिर शिक्षाबाटै हामीले आफ्नो चरित्र, ज्ञान र कर्म प्राप्त गर्छौं । र, शिक्षा विद्यालयमा मात्र सीमित हुँदैन, समाजका कैयौं अवयवमा निरन्तर चलिरहेको हुन्छ — कदाचित् अझ प्रभावकारी तरीकाले ।

समाजीकरण त्यो प्रक्रिया हो जसबाट मानिस समाजका सदस्य बन्छन् । स्पष्टै छ, यो प्रक्रिया सरल र निर्विवादित हुन सक्तैन नै । कतिपय व्यक्ति वा समूहहरू समाजीकरण मार्फत राम्रा ‘दास’ निर्माण गर्न चाहन्छन् — जसलाई सहजै दबाउन सकियोस् र जसले कुनै प्रश्न नउठाऊन् । कतिपय चाहिं समाजीकरणले स्वतन्त्र चिन्तकहरूको निर्माण गरोस् भन्ने चाहन्छन् — जसले हरेक कुरामा प्रश्न उठाऊन् र त्यसको गहिराइसम्म पुगून् । दुवै लक्ष्यबाट निर्दिष्ट समाजीकरणको प्रक्रियामा शिक्षालाई महत्वपूर्ण साधन र माध्यमका रूपमा प्रयोग गरिनु अप्रत्याशित अथवा अस्वाभाविक हुँदैन । उदाहरणका रूपमा लर्ड मेकालेले भारतका लागि प्रतिपादन गरेको आधुनिक शिक्षा अथवा यहाँको परम्परागत गुरुकुलीय शिक्षालाई हेर्न सकिन्छ । आज बहुप्रचलित शिक्षाले कस्तो उद्देश्य अंगीकार गरेको छ र कस्ता मानिस उत्पादन गर्न चाहेको छ भन्ने कुरालाई पनि यसै परिप्रेक्ष्यमा अध्ययनको विषय बनाउन सकिन्छ । समाजशास्त्र र समाजशास्त्रीय दृष्टिले यसलाई व्यापकता र यथार्थपरक गहिराइ प्रदान गर्नेछ किनभने समग्र शिक्षण प्रक्रिया समाजीकरणकै एउटा अंग हो जसलाई समाज र सामाजिक सोच तथा मान्यताले प्रभावित पारिरहेको हुन्छ ।

(लेखक अजीम प्रेमजी विश्वविद्यालय बैंगलोरमा समाजशास्त्रका प्राध्यापक हुन् ।)
साभारः शिक्षा विमर्श, जुलाई–अगस्ट २०१४

भाषान्तरः शरच्चन्द्र वस्ती

शिक्षक  मासिक, २०७१ असोजमा प्रकाशित । 


commercial commercial commercial commercial