सजाय

हामी ती केटाहरूसँग बिहे गर्न चाहन्छौं; उनीहरूसँग हाम्रो ‘चक्कर चलिरहेको छ’ जस्ता घिनलाग्दा कुरा त ‘ठूला मान्छे’ का खोपडीमा मात्रै पलाएका हुन्, साँच्चैको बिहे कस्तो हुन्छ र किन गरिन्छ भन्ने हामीलाई थाहासम्म पनि थिएन त्यतिबेला । त्यो संवेदनहीन सजायबाट हामीले एउटै पाठ सिक्यौं— ‘जे मन लाग्छ गर तर लुकेर गर, प्रमाण बाँकी नराख र पक्राउ नपर । कथं पर्‍यौ भने दण्डित हुने निश्चित छ ।’

सन् १९८३ तिरको कुरा हो । म एउटा कन्या विद्यालयको कक्षा ६ मा पढ्थें । म र केही साथीहरू स्कूल छुट्टी भएपछि नाटकको रिहर्सलमा जाने गर्दथ्यौं । त्यो नाटकमा हाम्रो कक्षाबाट चारजनाले भूमिका पाएका थियौं । हामी चारैजना आपसमा खूब मिल्थ्यौं पनि । एकदिन शिक्षक नआएकाले मध्यान्तर अघिको पिरियड खाली भयो । ‘फ्री पिरियड’ को माहोलमा के गर्ने भनेर सोच्दासोच्दै हामीलाई एउटा गज्जबको आइडिया आयो— आफ्नै विवाहको निमन्त्रणापत्र तयार पार्ने ! विवाहको कार्ड बनाउने काम शुरू पनि गरिहाल्यौं । बधुको रूपमा हामी चार जनाको नाम लेख्ने कुरा तय नै थियो; तर चार चार जना वर (दुलाहा) को नाम कसरी जुराउने ? निकै बेरसम्म माथापच्ची गरेपछि एकजना साथीले आफ्ना काकाका तीनजना छोराको नाम सुझाई । के के गरेर चौथो बेहुलोको नाम पनि जुराइयो । यति गर्दागर्दै निमन्त्रणापत्रको मोटामोटी खाका तयार भइसकेको थियो । विशेषगरी विवाह कार्डमा प्रयोग हुने शब्दहरू लेख्दा हामीलाई खूब रमाइलो भएको थियो । ‘ईश्वरको अनुकम्पा’ को सट्टा के लेख्ने ? ईश्वर बाहेक अरू कसैको ‘अनुकम्पाबाट’ पनि केटीहरूको बिहे सम्भव हुन्छ र ? हाम्री एकजना सहेली परिवारकी आठौं छोरी परिछ । ‘ईश्वरको अनुकम्पाले हाम्री आयुष्मती आठौं कन्या .... को विवाह... ।” यहाँ ‘आठौं  कन्या’ लेख्नु राम्रो होला कि अरू नै केही ? यस्ता हरेक शब्द र प्रसंगको टुंगो लगाउन हामीले निकै कसरत गर्‍यौं । निमन्त्रणा कार्डको पुछारमा ‘कृपया उपहार ल्याउन नभुल्नुहोला, हाम्रो प्राथमिकता नगद उपहार !’ लेख्न त हामीले बिर्सने कुरै थिएन ।

यसरी कार्डमा एक एक शब्दबारे छलफल गरेर लेख्दा उठेको हाँसोले हाम्रो बेहाल भइसकेको थियो । मध्यान्तरमा खाजा खाँदा पनि कार्डकै कुरामा हाँसिरहेका थियौं । खाजापछि कक्षामा फर्कने बेलामा चाहिं हामी सबैले आ–आफ्ना ‘बिहेका कार्ड’ च्यातेर फ्याँकिदियौं ; अनि यो प्रसंग नै बिर्सियौं पनि ।

यो घटनाको चार–पाँच दिनपछि हेडमिसले हामी चारै जनालाई आफ्नो कोठामा बोलाउनुभयो । हामी सामुन्ने पुगेका मात्रै के थियौं; उहाँले विना कुनै भूमिका सीधै झम्टिनुभयो, “हिजोआज स्कूलमा तिमीहरू के चक्कर चलाइरहेका छौ हँ ?” यो प्रश्न हाम्रा लागि एकदमै अनपेक्षित थियो । हामी हेडमिसको व्यवहार र उहाँको प्रश्नको भेउ पाउन नसकेर अलमल्ल परेका थियौं । यत्तिकैमा उहाँले हामीले तयार पारेको निमन्त्रणा कार्डका केही टुक्रा हाम्रासामु राखिदिनुभयो । बल्ल हामीलाई मेडमको प्रश्नको आशय खुल्यो । तर त्यसमा हामीले के गल्ती गर्‍यौं भन्ने चाहिं हामी अझै पनि बुझिरहेका थिएनौं । यसैबीच हेडमिसले फरमान जारी गरेको शैलीमा भन्नुभयो, “तिमीहरूले आफ्नो गल्तीको सजाय अवश्य भोग्नुपर्नेछ ।” यति भनेर उहाँ कोठाबाट निस्की पनि हाल्नुभयो ।

शायद ‘यी चारवटी केटी कक्षामा सँगसँगै बस्छन् । यसैले यिनको दिमागमा त्यस्ता नचाहिने कुरा खेल्ने गर्छन् । यी चारैजना सँगै बस्न नपाउने कुनै व्यवस्था गर्नुपर्छ’ भन्ने सोचेर हुनसक्छ हामीलाई सजायस्वरुप अलग अलग सेक्सनमा पठाउने निर्णय गरिएछ । त्यो निर्णय कार्यान्वयन गर्ने क्रममा चारवटै सेक्सनको नाम लेखिएका चिट हाम्रासामु राखिए । हामी चारैजनाले अत्यन्त अपमानित महसूस गर्दै एउटा एउटा चिट टिप्यौं । म ‘क’ सेक्सनमा परेछु । साथीहरू क्रमशः ‘ख’, ‘ग’ र ‘घ’ मा परे ।

हामीलाई नयाँ सेक्सनका केटीहरूसँग कसरी घुलमिल हुने, साथी कसरी बनाउने भन्ने थाहा थिएन । पुरानै सेक्सन र पुरानै साथीहरूको मात्र याद आइरहन्थ्यो । पढाइमा पनि मन लाग्दैनथ्यो । नयाँ सेक्सनमा आएदेखि नै हाम्रो मनमा ‘स्कूलका प्रत्येक केटी; शिक्षक र कर्मचारीले हामीलाई नै हेरिरहेको, तिनले हाम्रै कुरा गरेको’ जस्तो लाग्ने गर्दथ्यो । कहिलेकाहीं त कक्षामा बस्दाबस्दै भक्कानो छुटेर आउँथ्यो, आँसुको भेल नै बग्थ्यो । स्कूलको बरण्डा र चउरमा निस्कनु पर्दा हाम्रो शिर सधैं झुकेको हुन्थ्यो । जताततै अपमानबोध मात्रै हुन्थ्यो ।

हामी चारजना जहिले पनि भेट्दा उही प्रश्न दोहोर्‍याउँथ्यौं— ‘आखिर हामीले यति कठोर सजाय पाउने त्यस्तो के गल्ती गर्‍यौं ?’ विवाहको कार्ड तयार पार्दा हामीलाई खूब मजा भएको थियो, तर हामीले अरू कसैलाई दुःखकष्ट त पुर्‍याएका थिएनौं ! सजाय सुनाउनुभन्दा पहिले कमसेकम एकपटक सोध्नुपर्ने हैन र ‘तिमीहरूले बिहेको निम्ता किन बनाएको ?’ भनेर । तर, हामीसँग कसैले पनि त्यस सम्बन्धमा सोधखोज गरेन, हाम्रो भनाइ सुन्ने र यथार्थ थाहा पाउने प्रयत्न नै गरिएन ।

शिक्षक–शिक्षिकाहरू जो उमेरमा हामीभन्दा धेरै ठूला थिए; उनीहरूले निमन्त्रणापत्रलाई आफ्नो दृष्टिकोणबाट हेरे, त्यसैगरी अर्थ लगाए, जुन कुरा हाम्रो मनमस्तिष्कमा त्यतिबेला छिरेकै थिएन । उनीहरूको आँखाले हाम्रो त्यो खेललाई गम्भीर अपराध र हामीलाई बाइफाले, उत्ताउली देख्यो । निम्तापत्र बनाउँदा हामीलाई भएको मजा र खुशी ती शिक्षकका आँखाले देखेनन् भने त्यसमा हाम्रो के दोष ? हामी ती केटाहरूसँग बिहे गर्न चाहन्छौं; उनीहरूसँग हाम्रो ‘चक्कर चलिरहेको छ’ जस्ता घिनलाग्दा कुरा त ‘ठूला मान्छे’ का खोपडीमा मात्रै पलाएका हुन्, साँच्चैको बिहे कस्तो हुन्छ र किन गरिन्छ भन्ने हामीलाई थाहासम्म पनि थिएन त्यतिबेला ।

त्यो कठोर र संवेदनहीन सजायबाट हामीले एउटै पाठ सिक्यौं— ‘जे मन लाग्छ गर तर लुकेर गर, प्रमाण बाँकी नराख र पक्राउ नपर । कथं पर्‍यौ भने दण्डित हुने निश्चित छ ।’

ती दिन सम्झ्ँदा मेरो मनमा बारम्बार आज पनि पुरानै प्रश्न तेर्सिन आइपुग्छन्— आखिर बालबालिकालाई त्यस्तो सजाय किन दिइन्छ ? त्यसबाट के प्रतिफल प्राप्त हुन्छ ? सजाय पाउने व्यक्तिले यदि कुनै गल्ती नै गरेको छ भने पनि उसले किन र के–कस्तो गल्तीका निम्ति सजाय पाउँदैछु भन्ने थाहा हुनुपर्ने होइन र ? गल्ती गर्ने व्यक्तिले सजाय पाउनुअघि नै आफ्नो गल्तीका बारेमा थाहा पायो भने मात्र त्यसको जिम्मेवारी स्वीकार गर्न र आफूलाई सुधार्ने मौका पाउँछ । त्यति मात्रै होइन, आफ्नो त्रुटिका कारण उत्पन्न परिणामको दायित्व समेत उसले स्वीकार गर्नुपर्छ, त्यसबाट भएको नोक्सानी या क्षतिको शोधभर्ना गर्न ऊ बाध्य हुनुपर्छ । तर, जब गल्ती गर्ने व्यक्तिलाई उसले गरेको गल्ती, त्रुटि र त्यसबाट अरूलाई पुगेको क्षतिको बारेमा कुनै जानकारी नै दिइँदैन, खाली दण्डित मात्र गरिन्छ भने न उसले आफ्नो गल्ती–त्रुटि महसूस गर्न सक्छ न त गल्ती नदोहोर्‍याउने र सुध्रिने अवसर नै पाउँछ । बरु, ‘अनाहकमा पाएको दण्ड’ का कारण जीवनभर उसको मन कुँडिइरहन्छ, कुण्ठा, अपमानबोध र चिडचिडाहटले उसलाई सताइरहन्छ ।

हामी चारजनालाई जुन सजाय दिइयो, त्यसबाट के–कस्तो लक्ष्य प्राप्त भयो ? के हामीले जे गरेका थियौं त्यो गलत भएछ भनेर स्वीकार गर्‍यौं त ? अर्थात्, आफूबाट गल्ती भएको अनुभव हामीले गर्‍यौं त ? अहँ; गरेनौं । हाम्रो दृष्टिमा त हामीले कुनै गल्ती गरेकै थिएनौं । यो कुरा हामीलाई त्यतिबेला पनि लागेको थियो र अहिले त झ्नै लाग्ने भइहाल्यो । जब हामी आफूले गल्ती नगरेको कुरामा दृढ छौं भने गल्तीको जिम्मेवारी ग्रहण गर्ने कुरै भएन । हाम्रो क्रियाकलापका कारण भएको नोक्सानीको कुरा गर्ने हो भने पनि सबैभन्दा ठूलो नोक्सानी हाम्रै भएको छ । समाजमा लज्जाले शिर झुकाएर हिंड्नु; निरन्तर अपराधबोधको पीडा खप्नु; पढाइ र सिर्जनात्मक कार्य गर्ने उत्साह र जाँगर मरेर जानु— सारा क्षति त हाम्रै भयो । अब हामीले कसको क्षतिको भर्पाई कसरी गर्नु ?

दण्ड दिनुको एउटा उद्देश्य त्यसले गल्ती गर्ने व्यक्तिको सोचाइ र व्यवहारमा सकारात्मक परिवर्तन ल्याओस् भन्ने पनि हुन्छ । त्यो घटनाले मेरो जीवनमा परिवर्तन त ल्याइदियो तर वाञ्छित होइन अवाञ्छित, सकारात्मक होइन नकारात्मक । त्यो घटना (मूलतः हेडमिसलगायत शिक्षकहरूले दिएको दण्ड) पश्चात् मेरो स्वभावमा आएको परिवर्तन भनेको, म जे कुरालाई पनि नकारात्मक र शंकाको दृष्टिबाट हेर्न थालें । स्थापित विचार र मान्यता एवं मान्यजनबारे एकदमै फरक किसिमले सोच्न थालें । त्यसपछि त जहाँजहाँ मेरो मर्जी अनुरूप हुँदैनथ्यो म विरोध गरिहाल्थें, बबण्डर नै खडा गरिदिन्थें । यस्तो विद्रोही प्रवृत्ति सधैंका लागि मेरो स्वभावको अंग बन्न पुग्यो, जुन आजपर्यन्त त्यससँगै बाँच्न विवश छु ।

पालक नीति (मराठी मासिक, पुणे, भारत सेप्टेम्बर २००३ बाट साभार)

हिन्दीबाट रूपान्तरः राजेन्द्र दाहाल

शिक्षक  मासिक, २०७१ असोज अंकमा प्रकाशित । 


commercial commercial commercial commercial