अतिरिक्त क्रियाकलाप: बालबालिकाको व्यक्तित्व विकासको अस्त्र

उमेर सुहाउँदो र समयसापेक्ष ज्ञान दिनु बाहेक विद्यालयकोमहत्वपूर्ण काम हो, हरेक विद्यार्थीको व्यक्तित्वको सबै आयामको विकास गर्नु । अतिरिक्त क्रियाकलाप व्यक्तित्व विकासको निम्ति महत्वपूर्ण र प्रभावकारी अस्त्र सिद्ध भइसकेको छ । अतिरिक्त क्रियाकलाप विना विद्यालय सर्वथा अधुरो र अपुरो नै रहन्छ ।

केही दिनअघि काठमाडौंको रत्नराज्य स्कूल नजिकै एउटी महिला छोरीलाई स्कूलतिर घिच्याउँदै थिइन् । उनकी छोरीले स्कूल जान नमानेको स्पष्ट थियो । त्यसको कारण सोध्दा ती महिलाले भनिन्,  “स्कूल रमाइलो भएन रे !” यस पंक्तिकारको जिज्ञाशामा उनले थपिन्, “सधैं त यस्तो होइन । नाचगान, खेलकूदहरू भएका बेला त खूब रमाउँछे ।” उनका कुराबाट बुझियो, उनकी छोरी पढ्न अल्छी गर्दिनन् तर उनलाई अतिरिक्त क्रियाकलाप मन पर्छन् तर स्कूलमा ‘प्यारेन्ट्स् डे’ को तयारीका बेला बाहेक अतिरिक्त क्रियाकलाप हुँदैनन् र उनलाई स्कूल मन पर्दैन ।

स्कूल जान मन नगर्ने बालबालिका धेरै हुन्छन् । उनीहरूले अभिव्यक्त गर्न जाने पनि नजाने पनि त्यसका पछाडिको मुख्य कारण विद्यालयमा उनीहरूलाई मन पर्ने, रमाइलो र आकर्षक क्रियाकलाप भएनन् भन्ने नै हुन्छ । आम अभिभावक सोच्छन्, “विद्यालयमा त पढाइ पो हुने हो । अतिरिक्त क्रियाकलाप त विद्यालयको स्वेच्छिक गतिविधि हो । पढाइ भएन भने हामीले विद्यालयमा केही भन्न मिल्छ, अतिरिक्त क्रियाकलाप भएन भनेर गुनासो गर्न मिल्दैन ।” केही सचेत अभिभावकले बालबालिकाको चाहना बुझेका हुन्छन्, तर उनीहरू पनि निरुपाय हुन्छन् । त्यसैले उनीहरूमध्ये कोही गाली गरेर त कोही फकाउँदै आफ्ना बच्चालाई विद्यालय लिएर गइरहेका भेटिन्छन् ।

बुझाइ नै मुख्य समस्या
बहुसंख्यक विद्यालयमा अतिरिक्त क्रियाकलाप धेरै कम हुने गरेका छन् । अधिकांश शिक्षक प्रधानाध्यापकहरूले मात्र होइन, अभिभावकले पनि अतिरिक्त क्रियाकलापलाई शाब्दिक अर्थ झैं अतिरिक्त नै ठानिरहेका छन्– गरे पनि हुने नगरे पनि हुने । छिटपुट हुने क्रियाकलाप  पनि केही गरेको देखाएर विद्यालयप्रति आकर्षण बढाउनका लागि मात्र गरिएको बुझन कठीन छैन । यसको मूल मर्म अनुसार हरेक विद्यार्थीको सहभागिता सुनिश्चित गरेर अधिकाधिक अतिरिक्त क्रियाकलाप गराउने विद्यालय ज्यादै न्यून छन् । सन् २००४ मा त्रिभुवन विश्वविद्यालय शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) ले गरेको एउटा अध्ययनको निष्कर्ष पनि यस्तै छ ।

तर अतिरिक्त भनेको फाल्तु हैन, मूल पाठ्यक्रम बाहिरको मात्र हो । बाहिरको भए पनि अनिवार्य क्रियाकलाप नै हो । आधुनिक शिक्षाशास्त्रले यसै भन्छ । विद्यालयमा विद्यार्थीले ज्ञान मात्र आर्जन गर्ने होइन, त्यहाँ उसको व्यक्तित्वका  विभिन्न आयामको विकास पनि हुनुपर्छ भन्ने मान्यताका कारण नै अतिरिक्त क्रियाकलापको अवधारणा आएको हो ।

पश्चिममा यस्तो अवधारणा धेरैअघि आएको भए पनि नेपालमा यसलाई भिœयाइएको चार दशक नाघिसक्यो । २०२८ सालको नयाँ शिक्षा योजनाले पहिलोपल्ट अतिरिक्त क्रियाकलापलाई पाठ्यपुस्तकको पढाइ जत्तिकै अनिवार्य गराएको थियो । त्यति मात्र होइन, विषयगत रूपमा पाठ्यक्रमले निर्दिष्ट गरे अनुसारको क्रियाकलापको कक्षागत रूपमा समेत अतिरिक्त क्रियाकलाप पहिचान गरेर तिनको सूची नै बनाइएको थियो ।  यद्यपि ती क्रियाकलाप विद्यालयमा गर्नका लागि ‘क्रेडिट आवर’ चाहिं छुट्याइएको भने थिएन ।

परम्परागत परीक्षा पद्धतिले विद्यार्थीले  पढाएको कुरा के–कति सम्झेर लेख्न सक्छ भन्ने मात्र जाँच्छ । हाम्रा अधिकांश विद्यालयहरू यही पुरातन शैलीको घोकन्ते शिक्षा (रोट लर्निङ) लाई मात्र बढावा दिइरहेका छन् । फलतः बालबालिकाको व्यक्तित्वका विभिन्न आयामहरूको उद्घाटन र विकास गर्ने गतिविधि अझै पनि उपेक्षित भइरहेका छन् । पाठ्यपुस्तकमा मात्र आधारित पाठ्यक्रम हुनु यसको मुख्य कारण हो । पाठ्यक्रम बनाउँदा विद्यार्थीको व्यक्तित्व विकासमा पाठ्यपुस्तकको अंश धेरै सानो छ, अतिरिक्त क्रियाकलाप लगायत त्योभन्दा पर र बाहिरका धेरै पक्षहरूको भूमिका सबभन्दा धेरै महत्वपूर्ण छ भन्ने कुरामा ध्यान दिइएको छैन । शिक्षक, अभिभावक, विद्यालयका अगुवा सबैलाई शिक्षित र जागरुक तुल्याउने मुख्य जिम्मेवारी बोकेको शिक्षा मन्त्रालय नै यस विषयमा सचेत भएकाले नै बालबालिकालाई स्कूल जान मन नलाग्ने अवस्था सिर्जना भएको हो ।

सानैदेखि चाहिन्छ, सबैलाई चाहिन्छ

नयाँ शिक्षा योजना आरम्भ भएपछि माध्यमिक तहमा मात्रै अतिरिक्त क्रियाकलाप धेरै भएकोले होला, अतिरिक्त क्रियाकलाप भनेकै हाईस्कूल तहमा हुने क्रियाकलाप हो भन्ने छाप नेपाली समाजमा पर्न गएको हो । तर यथार्थमा अतिरिक्त क्रियाकलाप सानै कक्षादेखि अपरिहार्य देखिन्छ । किनभने, पहिलो कारण हो, हरेक व्यक्तिमा अन्तरनिहित प्रतिभाको प्रस्फुटन र विकास गराउने हाम्रो पाठ्यक्रमको पहिलो उद्देश्यको परिपूर्ति अतिरिक्त क्रियाकलाप विना संभव छैन । दोस्रो, हरेक बालक या बालिकाको व्यक्तित्वका अनेक आयाम छन् । तिनको विकासका लागि उचित प्रकारको प्रयोग, परीक्षण र अनुभवजन्य अवसरहरूको खाँचो पर्दछ । ती कुराका  लागि विद्यालयमा पढाइ–लेखाइका अतिरिक्त थुप्रै अरू क्रियाकलाप हुनुपर्दछ, जहाँ हरेक विद्यार्थीको अर्थपूर्ण सहभागिता हुनसकोस् । तेस्रो, विद्यालय शिक्षाको अर्को महŒवपूर्ण लक्ष्य हो, हरेक विद्यार्थीमा म सिक्न सक्छु, म गर्न सक्छु, म केहीमा अलिकति पछाडि भए पनि केहीमा अगाडि छु भन्ने आत्मविश्वास भर्नु ।

शिक्षाशास्त्रीहरूको मात्र होइन, मनोवैज्ञानिक र समाजशास्त्रीहरूको पनि भनाइ छ, बालबालिकाले आफूले जानेका क्षेत्रमा अर्थपूर्ण सहभागिता जनाउन पाए भने तिनीहरूको व्यक्तित्व विकास र सिकाइ प्रभावकारी तवरले अघि बढ्छ । स्टाटस अफ को एण्ड एक्ट्र करिकुलर एक्टिभिटी इन प्राइमरी स्कुल्स अफ नेपालः प्रोब्लेम्स एण्ड प्रोस्पेक्ट्स नामक सेरिडको अध्ययन प्रतिवेदन अनुसार, हरेक विद्यार्थीको सिकाइको स्तर माथि उकास्न र विद्यालयमा सिकाइको वातावरणको निर्माण तथा विकास गर्न अतिरिक्त क्रियाकलापलाई शिक्षणको एक अभिन्न अङ्गका रूपमा विकसित गर्न आवश्यक छ । प्रतिवेदन अगाडि भन्छ, “विद्यार्थीले सिक्नुपर्ने मानवीय मूल्य, सामाजिक विश्वास र मान्यता, शिष्टता, सोच्ने तरीका आदि कुराहरू परोक्ष पाठ्यक्रम (हिडेन करिकुलम) का माध्यमबाट सिकाउन सकिन्छ, जसलाई सिकाउने एउटा महत्वपूर्ण तरीका अतिरिक्त क्रियाकलाप नै हो ।”

मूल्यमान्यता, बानीबेहोरा भन्ने कुरा ठूलो भएपछि होइन, सानैमा सिकिने वा जानी नजानी निर्माण हुने कुरा हुन् । त्यसैले तिनका लागि पनि पूर्व प्राथमिक तहदेखि नै अतिरिक्त क्रियाकलापका गतिविधि आरम्भ गरिनु बुद्धिमानी देखिन्छ । यसका साथै प्राथमिक तहको कक्षा १ देखि चाहिं पाठ्यक्रमको तहगत, कक्षागत र विषयगत उद्देश्यहरूसित तादात्म्य मिलाएर नै अतिरिक्त क्रियाकलापहरू गर्नु उचित देखिन्छ । त्यसो गर्दा, हप्तामा कम्तीमा दुई तीन दिन विद्यार्थी शारीरिक, मानसिक दुवै रूपमा सक्रिय हुनुपर्ने केही न केही क्रियाकलाप हुँदा उनीहरूको मानसिक, शारीरिक र संवेगात्मक विकासमा सघाउ पु¥याउँछ भने अर्कोतिर पाठ्यक्रमको उद्देश्य अनुरुपको सिकाइ उपलब्धि पनि ह्वात्तै बढ्न जान्छ । यदि साँच्चै पाठ्यक्रममा लेखिएका तीनै थरी उद्देश्य हासिल गर्ने क्रियाकलाप हरेक विद्यालयका प्रत्येक कक्षामा हुने हो भने वर्षमा धेरैभन्दा धेरै गतिविधि र क्रियाकलापमा विद्यार्थीले भाग लिन पाउँछन्, जसले बालबालिकाको मनमा आजको तुलनामा कैयन् गुणा बढी आकर्षण पैदा गर्दछ ।

हुन त सानो कक्षामा सिर्जना अभिव्यक्ति र कलाको बारेमा पढाइ हुने विषय नै राखेर सरकारले यसको महत्वलाई स्वीकार गरेको देखिन्छ । तर त्यो मूलतः पढाइ भन्दा पनि क्रियाकलापको माध्यमबाट सिक्ने कुरा हो । विद्यालयमा हुनुपर्ने पनि बढीभन्दा बढी क्रियाकलाप नै हो । जति बढी क्रियाकलाप भयो, उति नै बढी सिकाइ हुन्छ । किनकि हरेक बालबालिकाले सबभन्दा प्रभावकारी तरीकाले सिक्ने त क्रियाकलापबाटै हो । तर  सबैलाई अवसर दिने र सबैको आत्मविश्वास बढाउने अतिरिक्त क्रियाकलापमा समेत केही फुर्तिला र सिपालु विद्यार्थीले मात्र भाग लिने अवसर पाउने गरेको देखिन्छ । केहीलाई हिरो बनाउने र बाँकीको तेजोबध गर्ने विद्यालयको काम होइन । आज जानी नजानी भइरहेको यस किसिमका कमी–कमजोरीको सुधारका लागि शिक्षक/प्रधानाध्यापकहरूले विशेष ध्यान दिनु जरूरी भइसकेको छ ।

माध्यमिक तहमा चाहिं केटा र केटीको रुचि र आवश्यकतामा केही न केही फरक देखिने भएकाले तदनुरुपका अतिरिक्त क्रियाकलाप हुनुपर्छ भन्ने आवाज उठ्न थालेको छ । जर्नल अफ एजुकेशनल रिसर्च अनलाइनमा हालै मात्र प्रकाशित यसै सम्बन्धी एक अनुसन्धान रिपोर्टले भन्छ, मिडिल स्कूलमा अध्ययन गर्ने केटीहरू नाच, कार्यशाला, संगीत र कम शारीरिक अभ्यासका गतिविधिहरूमा संलग्न हुन रुचाउँछन् जबकि केटाहरूको पहिलो प्राथमिकता खेलकुद हुने गरेको छ । नेपालका विद्यालयमा पनि केटा र केटीको मनोविज्ञान, आवश्यकता र रुचि बुझेर सोही अनुसारका नवीन र उपयुक्त क्रियाकलापहरूको विकास गर्न जरूरी भइसकेको छ ।

एमआई र मूल्याङ्कनसित जोड्नुपर्‍यो

हरेक विद्यार्थीमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउने हाम्रो पाठ्यक्रमको एक नम्बरको उद्देश्य हासिल गर्ने हो भने अब अमेरिकी मनोविद् हवार्ड गार्डनरले प्रतिपादित गरेको मल्टिपल इन्टलिजेन्स (एमआई) अवधारणासित जोडेर विद्यालयमा हुने यावत् गतिविधि, विशेषगरी अतिरिक्त क्रियाकलापलाई रि–डिजाइन गर्नु वाञ्छनीय देखिन्छ । शिक्षाशास्त्रमा ठाउँ पाइसकेको गार्डनरको सिद्धान्त अनुसार हरेक बालक या बालिकासित एक वा सोभन्दा बढी प्रतिभा हुन्छन् । उनले जन्मजात रूपमा मानिससित हुने प्रतिभालाई ८ भागमा बाँडेका छन् । जन्मजात रूपमा बालबालिकाले लिएर आएको प्रतिभा, क्षमताको प्रस्फुटन गराउनका लागि सर्वप्रथम बालबालिकाको रुचि र प्रतिभा शिक्षकले चिन्न सक्नुपर्‍यो । त्यो चिन्ने एक मात्र तरीका भनेको विद्यार्थीको क्रियाकलाप र तिनको सूक्ष्म अध्ययन नै हो । विद्यालयले त्यस्ता क्रियाकलाप गराउनु पर्‍यो, जसले हरेक बालबालिकाको प्रतिभा, रुचि, क्षमतालाई मिहिन रूपमा प्रदर्शन गर्न सघाउँछ । बालबालिकाको क्रियाकलाप, सोच्ने तरीका, आदिबाट यो कुरा पत्ता लगाउन सकिन्छ (हे. शिक्षक मासिक जेठ २०६८ः विद्यार्थीको जन्मजात प्रतिभा कसरी चिन्ने ?)

गार्डनरको सिद्धान्तको सार हो, जो जुन कुरामा गहिरो रुचि राख्छ, तिनैसित सम्बन्धित क्रियाकलापमा तिनलाई भाग लिन दिनुपर्दछ । उदाहरणको लागि साहित्यमा विशेष रुचि भएकाहरूको लागि कथा, कविता, निबन्ध र सिर्जनात्मक लेखन क्रियाकलाप बढी उपयोगी हुन्छ भने शारीरिक क्षमता भएकाहरूको लागि खेलकुद । विद्यालयले अब अतिरिक्त क्रियाकलापको डिजाइन गर्दा यस मामिलालाई विशेष ध्यान दिंदा युगको मागलाई सम्बोधन गरेको ठहर्छ । त्यसैगरी अतिरिक्त क्रियाकलापलाई उच्च तहको सिर्जनशील चिन्तन, समीक्षात्मक चिन्तन, सञ्चार सीप, निर्णय क्षमता, समस्या समाधान लगायतका सीप विकाससित पनि जोड्दै लैजानु आवश्यक छ । बरु स्मरणशक्तिको मात्र विकास गराउने हाजिरीजवाफ प्रतियोगिता जस्ता क्रियाकलाप घटाउँदै लैजानुपर्दछ । अबको दुनियाँमा तिनको महत्व घट्दै गइरहेको छ ।

त्यसैगरी, अतिरिक्त क्रियाकलापलाई कक्षाको त्रैमासिक/वार्षिक मूल्यांकनसित जोड्न अब ढिलाइ गरिनुहुँदैन । किनभने यसले परम्परागत मूल्यांकन पद्धतिले बालबालिकाको समग्र मूल्यांकन गर्न सकेन र घोकन्ते बनायो भन्ने गुनासोलाई सम्बोधन गर्दछ । त्यसैले पाठ्यक्रम विकास केन्द्रका पदाधिकारीदेखि विद्यालयका प्रअ/शिक्षकसम्मले आ–आफ्नो ठाउँबाट अतिरिक्त क्रियाकलापलाई मूल्यांकन पद्धतिको मूलप्रवाहमा ल्याउन आजैबाट सार्थक प्रयत्न थाल्नु जरूरी देखिन्छ ।

सुदर्शन घिमिरे 


मूल्याङ्कनको आधार बनाउनै पर्छ

दिवाकर ढुङ्गेल, कार्यकारी निर्देशक, पाठ्यक्रम विकास केन्द्र

अतिरिक्त क्रियाकलाप भन्नाले ?

विद्यालयमा पढाइ हुने नियमित र औपचारिक विषयका अतिरिक्त सञ्चालन हुने विभिन्न क्रियाकलाप नै अतिरिक्त क्रियाकलाप हुन् । शिक्षा नियमावलीको नियम ७६ मा पनि यसलाई समेट्न खोजिएको छ । चित्रकला र हस्तकला, वाद्यवादन, नृत्य, नाटक, वक्तृत्वकला, हाजिरीजवाफ, हिज्जे, खेलकुद, साहित्यिक गतिविधि, फूलबारी र व्यक्तित्व विकासका अन्य क्रियाकलाप पर्दछन् ।

अतिरिक्त क्रियाकलाप गरेर विद्यार्थीलाई के लाभ हुन्छ ?
विद्यार्थीको शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक विकास गर्न, विद्यार्थीमा सामाजिक भावना, सहयोग, समानुभूतिको भावना विकास गर्न यो आवश्यक छ । सिर्जनशील र रचनात्मक सोचको विकास गर्न, सामाजिक मूल्यमान्यता, गीत–संगीत, भेषभूषाप्रति परिचित भई तिनको संरक्षण, सम्वद्र्धन कार्यमा सहभागी रहन यसले सहयोग गर्दछ । त्यस्तै, मनोरञ्जन लिन र फुर्सदको समयको सदुपयोग गर्न, विद्यार्थीमा लुकेको प्रतिभाको पहिचान र प्रस्फुटन गर्न पनि यसको अहं भूमिका रहन्छ । त्यसैगरी, व्यावहारिक सिकाइमा जोड दिन अनि अनुशासन र सकारात्मक प्रवृत्तिको विकास गर्न यसको भूमिका रहन्छ ।

ती क्रियाकलापहरू सम्पन्न गर्न विद्यालय, अभिभावक र सरकारी निकाय कसको के कस्तो भूमिका हुन्छ ?
अतिरिक्त क्रियाकलापका क्षेत्र पहिचान गर्ने अनि अतिरिक्त क्रियाकलापको वार्षिक कार्ययोजना बनाउने र कार्यान्वयन गर्ने, स्रोतसाधनको व्यवस्था गर्ने काम विद्यालयकै हो । त्यसैगरी विद्यार्थी, शिक्षक, अभिभावक समुदाय, गैसस, जिशिका, नगरपालिकासित समन्वय गर्ने र पुरस्कार तथा प्रमाणपत्रको व्यवस्था गर्ने काम पनि विद्यालयले नै गर्नुपर्छ ।

यसमा अभिभावकको पनि महत्वपूर्ण अभिभारा हुन्छ । अतिरिक्त क्रियाकलापको योजना बनाउँदा विद्यालयलाई सहयोग गर्नेदेखि आफूले जानेका कुरामा सहभागी हुने, कार्यक्रम भएका दिन विद्यालयमा गई सघाउने, व्यवस्थापन र स्रोत संकलनमा सघाउने, आफ्ना केटाकेटीका लागि पोशाक, खाजा, सामग्री आदिको व्यवस्था गर्ने कामहरूमा अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ ।

अतिरिक्त क्रियाकलाप उपेक्षित हुनाका कारण के के होलान् ?
अतिरिक्त क्रियाकलापको महत्व बोध नहुनु तथा औपचारिक कक्षामा हुने पाठ्यपुस्तक पढाइलाई प्राथमिकतामा राख्ने सोच र प्रवृत्ति हुनु नै यसको मूल कारण हो । यो पनि सिकाइको क्षेत्र हो र यसले औपचारिक सिकाइलाई अझ् मद्दत गर्छ भन्ने बुझाइ नहुँदा यस्तो अवस्था सृजना भएको हो । वास्तवमा, हामीकहाँ यस विषयमा तालीमप्राप्त र दक्ष व्यक्तिको कमी छ । त्यसनिम्ति चाहिने आवश्यक स्रोतसाधनको व्यवस्था हुनसकेको छैन । अनि बाध्यकारी नियमको अभावले उपेक्षालाई बढावा दिइरहेको छ ।

अतिरिक्त क्रियाकलाप मूल्याङ्कनको ठोस आधार हुनुपर्ने होइन ?
हो, अतिरिक्त क्रियाकलापमा विद्यार्थीले देखाएको क्षमता, दक्षता, सहभागिता, सिर्जनशीलता, मिलेर कार्य गर्ने शैली, वाक्पटुता, विषयवस्तुप्रतिको जानकारीलाई अभिलेखबद्ध गरी यसलाई मूल्याङ्कनसँग आबद्ध गर्नु अत्यन्त आवश्यक छ । यसलाई निरन्तर मूूल्याङ्कन पद्धतिसँग पनि जोड्न सकिन्छ ।

तपाईंको विचारमा विगतबाट के कस्तो शिक्षा लिनुपर्दछ र अब कसरी अगाडि बढ्नुपर्ला ?
विद्यालयमा कम चासो रहने गरेको छ । आवश्यक निर्देशिकाको अभाव छ । नियमले बाध्यकारी बनाउन सकिएको छैन । केही विद्यालयले राम्रो व्यवस्थापन गरिरहेको भए पनि अनुगमन निरीक्षणमा यसले कम महत्व पाउने गरेको छ । जसले गर्दा राम्रो गर्ने विद्यालयहरूले पनि प्रोत्साहन पाइरहेका छैनन् । यस शीर्षकमा आर्थिक अनुदानले प्राथमिकता पाउन सकेको छैन । सरकार, विद्यालय, अभिभावक कसैले पनि यसलाई प्राथमिकता दिन सकेका छैनौं । त्यसो गर्दा हाम्रा बालबालिकाको समग्र विकास जुन किसिमले हुनसक्थ्यो र हुनपथ्र्यो, त्यो हुन सकेन ।

अतिरिक्त क्रियाकलापलाई सिकाइसँग आवद्ध गर्न विद्यालय, अभिभावक, व्यवस्थापन समिति कम्मर कसेर लाग्नुपर्दछ । हामी सरकारी निकायहरूको पनि विद्यालयलाई झ्कझ्क्याउन र उनीहरूसित मिलेर काम गर्न महत्वपूर्ण भूमिका रहन्छ । सबभन्दा पहिले यसको व्यावहारिक निर्देशिका बनाउनु जरूरी छ । यस विषयका लागि शिक्षकको व्यवस्था गरेर यसलाई वार्षिक र आवधिक मूल्याङ्कनको आधार बनाउन पनि आवश्यक छ । स्थानीय, जिल्ला र राष्ट्रियस्तरबाट हुने शैक्षिक अनुगमनमा पनि ठोस योजनाका साथ यसलाई समेट्नु आवश्यक छ र थानीय निकायको भूमिका बढाउन सकेमा पनि अतिरिक्त क्रियाकलापको विकास र विस्तारका लागि धेरै काम गर्न सकिन्छ ।


आत्मविश्वास बढाउँदै

झापाका केही विद्यालय अतिरिक्त क्रियाकलापको माध्यमले विद्यार्थीमा आत्मविश्वास अभिवृद्धि गराउन सफल भएका छन् ।

चेतन अधिकारी, झापामा

१३ भदौमा दुर्गा उमावि गरामुनीको प्रअ कक्षामा बसिरहेको बेला एक जना दृष्टिविहीन विद्यार्थी कार्यालयमा गएर प्रअ कृष्णप्रसाद पाठकलाई बाल दिवसको अवसरमा राष्ट्रिय बालगीत महोत्सव कहिले र कहाँ हुन्छ भनेर सोधिन् । पाठकले केन्द्रीय बालकल्याण समितिमा सोध्न भनेपछि उनले फोन गरिन् र प्रतियोगिताका नियम सोधिन् । संगीतमा रुचि भएकी उनले त्यही मौकामा साहित्यकार नवराज लम्साललाई भेट्ने योजना बनाइन् । फोन पनि लगाइहालिन् “सर म झापाबाट मेनुका पौडेल । म काठमाडौं आउँदा हजुरलाई भेट्छु । हजुरसँगको भेटले मलाई गीत, संगीतमा सहयोग पुर्‍याएको छ । यही कारणले स्कूलमा हुने अतिरिक्त क्रियाकलापमा म प्रथम हुने गरेकी छु ।”

दुर्गा उमावि झापा जिल्लाकै सबैभन्दा बढी अतिरिक्त क्रियाकलाप हुने विद्यालय हो । पाँच सात वर्षअघिदेखि विद्यालयले वार्षिक क्यालेन्डर बनाएर नै अतिरिक्त क्रियाकलाप गर्ने गर्दछ । कार्यालयको भित्तामा यस्ता क्रियाकलापको तालिका टाँसिएको छ । विद्यालयमा भित्ते पत्रिका निस्कन्छ । हरेक हप्ता फरक फरक खाले कार्यक्रम हुन्छन् । यहाँका विद्यार्थी भन्छन्, अतिरिक्त क्रियाकलापले अनुशासित हुन सिकाएको छ, पढाइलाई पनि साथ दिएको छ, विद्यालयमा उपस्थिति पनि बढाएको छ अनि समाजमा पहिचान पनि बनाइदिएको छ । हरेक साताको शुक्रबार यो विद्यालयमा कुनै न कुनै कार्यक्रम हुने गरेका छन् नै । विद्यार्थीहरू अतिरिक्त क्रियाकलापको यो नियमलाई शुक्रबारे कार्यक्रम भन्छन् ।

जिल्ला शिक्षा कार्यालयका अनुसार अतिरिक्त क्रियाकलापमा सबभन्दा राम्रो उपलब्धि हासिल गरेको विद्यालय यही हो । यहाँका विद्यार्थी सबै विधामा राम्रा भए पनि खेलकुद सबभन्दा उपलब्धि गरेको विधा हो । यहाँ कक्षा ९ मा पढ्ने विद्यार्थी गीता आचार्य अहिले राष्ट्रिय धावक हुन् । यहाँ कात्तिकदेखि चैतसम्म हरेक बिहान तीन घण्टा खेलकुद अभ्यास हुन्छ । “विद्यालयले प्रशिक्षक राखेरै विद्यार्थीलाई निःशुल्क खेलकुद गराउँछ” प्राचार्य पाठक भन्छन्, “त्यसैले यहाँका विद्यार्थी खेलकुदमा अब्बल छन् । अधिकांश जिल्लास्तरीय प्रतियोगितामा हामी नै प्रथम हुने गरेका छौं ।”

तर यी उपलब्धीहरू त्यत्तिकै हासिल भएका भने होइनन् । विद्यालयमा विद्यार्थीलाई खेलाएको, नचाएको, गाउन लगाएको नरुचाएर एक पटक त अभिभावकले नै विद्यालयको कार्यक्रममा अवरोध गरे । सम्झइबुझइ गर्दा पनि पार लागेन । र त्यही साल आयोजित वीरेन्द्र शिल्ड प्रतियोगिता जितेका विद्यार्थीलाई गाडीमा हालेर विद्यालयले हर्षबढाइँ गर्दै गाउँ घुमायो । “स्कूलका खेलाडी, नाचगान गर्न जान्ने विद्यार्थीको पनि इज्जत धेरै हुँदोरहेछ भन्ने देखाएर अतिरिक्त क्रियाकलापप्रति अभिभावकको सकारात्मक धारणा बनाउनका लागि यसो गरेका थियौं” प्राचार्य पाठक सम्झ्न्छन् “पछि फेरि विद्यालय अगाडिको मन्दिरमा कार्यक्रम आयोजना गरेर ती विद्यार्थीलाई अभिनन्दित गरेपछि अलि सकारात्मक वातावरण तयार भयो ।”

विद्यालयकै अतिरिक्त क्रियाकलापकै कारण  गीता आचार्य राष्ट्रिय धावक बनेकी हुन् । “सानैदेखि  सेनामा जाने चाहना थियो के गर्ने होला भन्दैथिएँ” अचार्यले भनिन्, “स्कूलले दौड्न लगायो । शुरूदेखि नै प्रथम भएकी अहिलेसम्म दोस्रो भइनँ ।” उनले १० किलोमीटरसम्मको दौड पार लगाएकी छन् । अहिले उनी बिहान चारबजे उठेर दौडको अभ्यास गर्छिन् ।

कक्षा १० का खगेन्द्र नेपाल विद्यालयमा जति वक्तृत्वकला प्रतियोगिता हुन्छन् सबैमा प्रथम नै भएका छन् । उनलाई अतिरिक्त क्रियाकलापले बोल्ने क्षमता बढाउने, ज्ञान आदानप्रदान गर्न र सामाजिक हुन सिकाउँछ भन्ने लाग्छ । उनी भन्छन्, “यस्ता क्रियाकलापमा भाग लिन नपाएको भए त स्कूले जीवन नै अपुरो हुने रहेछ ।”

भदौको पहिलो साता झापाको लखनपुरस्थित हिमाली इङ्गलिस बोर्डिङ स्कूलका विद्यार्थीले देशभरिका बाढीपीडितलाई राहत संकलनका लागि टोली बनायो । विद्यालयमा कक्षैपिच्छे रहेका क्लबको सक्रियतामा उनीहरूले तीन हजार रुपैयाँ संकलन गरे ।

उनीहरूले हरेक हप्ता ५ रुपैयाँका दरले बचत गर्ने गरेको रकम पनि ३ हजार कटेको छ । यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने उनीहरूको योजना छ । “विद्यालयले हामीलाई सामाजिक गतिविधिमा लाग्न सिकायो” कक्षा ९ को ट्विन्कलिंक स्टार क्लबका अध्यक्ष सुजन लिम्बू भन्छन्, “अतिरिक्त क्रियाकलापले पढाइले भन्दा फरक र फराकिलो ज्ञान दिंदोरहेछ ।” अतिरिक्त क्रियाकलापका कारण आत्मविश्वास बढेको अनुभव गर्ने विद्यार्थी यहाँ अरू पनि धेरै छन् ।

अतिरिक्त क्रियाकलापले विद्यार्थीको जीवनमा पार्ने प्रभाव कक्षा ९ का यतिस ओझ (१४) मा स्पष्ट देखिन्छ । पढाइमा रुचि भए पनि सामाजिकीकरणमा चासो नभएका, एक्लै बस्न रुचाउने यी विद्यार्थीको व्यवहार त्यतिबेला परिवर्तन हुन थाल्यो जब यिनलाई अतिरिक्त क्रियाकलापमा सामेल गराउन थालियो । “समूहमा खेल्नुपर्ने खेल जस्तै भलिबल, फूटबलमा उनलाई अनिवार्य सहभागी गराउन थालेपछि साथीसँगको उनको घुलमिल बढेको हो” प्रिन्सिपल अनुप वस्ती भन्छन्, “त्यसपछि उनले मजाले हाँस्न, समूहमा बोल्न सिके  । अहिले त विद्यालयको सबभन्दा अब्बल छात्र यतिस नै हुन् ।”

आफ्नै विगत सम्झँदा लजाउने यतिस भन्छन्, “अतिरिक्त क्रियाकलाप नहुने अथवा त्यसमा जाँगर गर्नेलाई मात्र सहभागी गराउने विद्यालयमा पढेको भए म पढाइमा अब्बल भए पनि अतिरिक्त ज्ञान र आत्मविश्वास अहिले जस्तो हुने थिइनँ होला ।”

यिनै कक्षामा गठन गरिएका क्लबले गत चैतमा इच्छुक विद्यार्थीका लागि पत्रकारिता तालीम आयोजना ग¥यो । सय जना भन्दा बढी विद्यार्थी यो तालीममा सहभागी भए । उनीहरूले समाचार कसरी खोज्ने, कसरी लेख्ने भन्ने मात्र जिज्ञासा राखेनन्, ले–आउट र डिजाइन के हो जस्ता जिज्ञासा थुपारे । पत्रकारिताका आधारभूत कुरामा यिनीहरूले गहिरो रुचि राख्नुको मुख्य कारण थियो विद्यालयले मासिक रूपमा प्रकाशन गर्ने हिमाली पत्रिकको जिम्मेवारी लिनु ।  कक्षा १० का विद्यार्थी प्रभाकर सापकोटा भन्छन्, “अहिलेसम्म यो पत्रिकाका लागि हामी लेख–रचना मात्र उपलब्ध गराइरहेका छौं तर आफैं सबै जिम्मेवारी लिएर पत्रिका प्रकाशनको जिम्मा लिन चाहन्छौं ।”

विद्यालयले हरेक हप्ता विभिन्न किसिमका अतिरिक्त क्रियाकलाप आयोजना गरेकै हुन्छ । पछिल्ला वर्षहरूमा यो कुरा शिक्षकले सम्झउनु पनि पर्दैन । “यतिबेला त कार्यक्रमको छनोट र सञ्चालन विद्यार्थीले नै गर्छन्” शिक्षक शंकर चापागाईं धनकुटे कान्छा भन्छन्, “हामी सहयोगी मात्र हौं ।”


विपत्को सहारा !

वर्षामा बाढीले विद्यालय भवन बगाएपछि अप्ठेरोमा परेका शिक्षकहरूले अतिरिक्त क्रियाकलापलाई विपत्को सहारा बनाएर नूतन उदाहरण प्रस्तुत गरेका छन् ।

कलेन्द्र सेजुवाल, सुर्खेतमा

यसपालिको वर्षामा बाढीले विद्यालय बगाएपछि नेपाल राष्ट्रिय प्रावि सिस्नेरीका प्रधानाध्यापक रामवली ठाकुरको मन निकै बेचैन भयो । न पढाउने ठाउँ छ, न विद्यार्थीको हातमा पाठ्यपुस्तक । विद्यालयको सेवाक्षेत्र रहेको सिस्नेरी गाउँ पनि विस्थापित भएर गिरीघाट जंगलमा बसाइँ सर्‍यो । यस्तैमा उनले सोचे– अब नयाँ बस्तीमा कुनै उपाय निकालेर विद्यालय चलाउनुपर्छ ।

विद्यालय सञ्चालनको लागि उनले सरकारी तथा गैरसरकारी निकायसँग पहल शुरू गरे । सेभ द चिल्ड्रेन र समाज जागरण केन्द्र (स्याक) ले करीब दुई लाख रुपैयाँमा विद्यालयको अस्थायी पूर्वाधार उठाइदिए । त्यही टहरोमा सिस्नेरी प्राविले नयाँ यात्रा थालेको छ । “अहिले पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेका छैनन्”, रामवली भन्छन्, “त्यसैले अतिरिक्त क्रियाकलाप सञ्चालन गरेर विद्यार्थीलाई भुलाइरहेका छौं ।” यसले बालबालिकालाई एकआपसमा घुलमिल गराएर कक्षाकोठाको शैक्षिक वातावरणलाई सहज बनाएको उनले बताए ।

विपत्को बेला अतिरिक्त क्रियाकलापको सहारा लिंदा विद्यालय सञ्चालन सहज हुनुका साथै बालबालिकाको मनोसामाजिक पक्षमा पनि सुधार आएको छ । नृत्य, गीत, मनोरञ्जनात्मक खेल र सांस्कृतिक कार्यक्रमले विपत्को पीडा भोगेका बालबालिकामा स्फुर्ती बढाएको प्रअ ठाकुर बताउँछन् । “यस्तो बेला किताबका पाठ घोकाएर उपलव्धि हासिल गर्न सकिंदैन”, उनी भन्छन्, “त्यसैले हामीले अतिरिक्त क्रियाकलापमै जोड दिइरहेका छौं ।”

बाढीले गिरीघाटमा सिस्नेरी प्राविलाई मात्र ल्याएन, गाउँसँगै विद्यालय बगेपछि प्रावि डोक्पा पनि त्यहीं मिसिएको छ । अहिले दुवै विद्यालयलाई गाभेर त्यहाँ अस्थायी सिकाइ केन्द्र (संयुक्त विद्यालय) सञ्चालन गरिएको छ । पाँच कक्षासम्म पढाइ हुने केन्द्रमा डोक्पाका ४८, सिस्नेरीका ५०, रानीघाटका १० र पाग्मका एकजना बालबालिका अध्ययनरत छन् ।

प्रावि डोक्पाका शिक्षक कमल कोइराला अतिरिक्त क्रियाकलापले चार ठाउँबाट आएका बालबालिकाबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित गराउन सघाएको बताउँछन् । शुरूमा एउटै कक्षामा पढ्ने विद्यार्थी पनि एक–आपसमा बोल्न असहज मान्थे । यसले गर्दा शिक्षकलाई पढाउन झन् मुश्किल हुन्थ्यो । मनोरञ्जनमूलक क्रियाकलापमा जोड दिइएपछि भने कक्षाकोठा मैत्रीपूर्ण बनेको उनले बताए । “गीत गाउने र नाच्ने भनेपछि बालबालिका छिट्टै घुलमिल हुन्छन्, यही विधिले हामीलाई संकटको बेला सहज बनाएको छ”, उनले भने ।

भदौ दोस्रो सातादेखि सञ्चालनमा आएको संयुक्त विद्यालयमा अतिरिक्त क्रियाकलापको लागि अन्यत्रजस्तो शुक्रबार कुर्नु पर्दैन । हरेक दिनको प्रार्थनासभाबाटै गीत, कविता जस्ता क्रियाकलापको अभ्यास गराइन्छ । शिक्षकहरू आफैं पनि कविता सुनाउँछन्, गीत गाउँछन् । “यस्तो बेला हामीले बालबालिकाको आत्मबल बढाउने र एकआपसमा मैत्रीपूर्ण व्यवहार गर्न प्रेरणा दिने खालका गीत र कविता रचना गरेका छौं”, प्रअ ठाकुर भन्छन्, “यसले छोटो समयमा राम्रो प्रतिफल पनि दिएको छ ।” हरेक दिनजसो विद्यालयमा कुनै न कुनै अतिरिक्त क्रियाकलाप सञ्चालन हुने गरेको उनले बताए ।

विद्यालयमा हुने यस्तै गतिविधिले थातथलो छोडेर अस्थायी शिविरमा पुगेका बालबालिकाबीच मित्रता बढाएको छ । सिस्नेरीका चेतन बिक र डोक्पाका सुनिल नेपालीबीच यसअघि कहिल्यै भेटघाट थिएन । साउन अन्तिम साता भेरी नदीको बाढीले यी दुवैको घर र स्कूल बगाएपछि अनौठो संयोग जुर्‍यो । दुवै बालक परिवारसँगै विस्थापित भएर गिरीघाट जंगलमा पुगे ।

उनीहरूको पढ्ने ठाउँ पनि संयुक्त विद्यालय बन्यो । असजिलो र अत्यास लाग्दो यही दैनिकीबीच उनीहरूको चिनापर्जी मात्र भएन, छोटो समयमा मित्रताको साइनो पनि कसिलो बन्यो । “मेरो साथी मिलनसार छ, स्कूलमा पनि रमाइलो हुन्छ”, चेतन भन्छन्, “आजकल त कतिबेला स्कूल गएर साथीसँग रमाइलो गरौंला जस्तो लाग्छ ।”

सिस्नेरीकी ९ वर्षीया सुनिता गरञ्जालाई एक्कासी बिरानो ठाउँमा आइपुग्दा निकै न्यास्रो लागेको थियो । विपदले निम्त्याएको पीडाभन्दा पनि साथीभाइको माया, पढे/खेलेको स्कूल र गाउँको यादले शुरूमा उनलाई निकै सतायो । डोक्पाबाट आफू जस्तै पीडा बोकेर आएकी गीता वादीको संगतले भने उनलाई अतीतका सम्झ्नाबाट टाढा लग्दै गएको छ । “गीता राम्रो गीत गाउँछिन्, व्यवहार पनि मिलनसार छ”, सुनिता भन्छिन्, “उनीसँग कुरा गर्दा, खेल्दा, सँगै बसेर खाँदा निकै रमाइलो लाग्छ ।”

फरक–फरक गाउँ र विद्यालयबाट आएका बालबालिका छोटो समयमै असल साथी बनेको देख्दा विद्यालयका शिक्षक पनि अचम्मित छन् । प्रावि सिस्नेरीका शिक्षक सन्तोष कार्कीलाई शुरुको चरणमा देखिएको अलमलले यस्तो सुमधुर सम्बन्ध स्थापित होला भन्ने लागेकै थिएन । अपरिचित अनुहार र शंकालु नजरले विद्यार्थी मात्र होइन, दुई स्कूलका शिक्षक पनि अलमलमा थिए ।

“विद्यार्थीलाई कक्षाकोठाभित्र राखेपछि जोड्नै गाह्रो हुन्थ्यो”, उनी भन्छन्, “एकअर्काको नजिक जान पनि अप्ठेरो मान्थे, अब त त्यस्तो अवस्था छैन ।” विद्यालयमा दिनहुँ सञ्चालन हुने अतिरिक्त क्रियाकलापले बालबालिकाबीच मित्रता जुराएको उनले बताए ।

बालमनोविज्ञान क्षेत्रमा कार्यरतहरू पनि विपत्ले समाज अस्तव्यस्त बनेको बेला बालबालिकालाई अतिरिक्त क्रियाकलापमा जोड दिइनु राम्रो हुने बताउँछन् । मनोविमर्शकर्ता विमला डाँगीको विचारमा यस्तो बेला बालबालिकालाई पाठ्यपुस्तकमै केन्द्रित गर्नु थप पीडा दिनु हो । “उनीहरूलाई पीडाबाट मुक्त गर्न विद्यालय होस् वा घरमा रमाइलो वातावरण निर्माण गर्नुपर्छ”, उनी भन्छिन्, “सामान्य अवस्था सिर्जना भएपछि मात्र पढाइमा केन्द्रित गर्नुपर्छ ।”


commercial commercial commercial commercial