मेरो संकल्पः जीवनपर्यन्त सिकाइ

सिद्धराज लेखक

भनिन्छ ‘सिकाइ कोक्रोबाट शुरू भई चिहानमा अन्त्य हुन्छ ।’ मानिस जीवनपर्यन्त सिकिरहेको हुन्छ । सिकाइकै क्रममा ऊ भागिरहेको, दौडिरहेको छ । सिकाइको यात्रा कहिल्यै टुङ्गिदैन । त्यसैले मैले सिक्नुपर्ने, गर्नुपर्ने सबै काम सम्पन्न गरिसकें अब मैले विश्राम गर्दा हुन्छ, मृत्युवरण गर्दा हुन्छ भनी आजसम्म कसैले भन्न सकेका छैनन् । सिद्धार्थ गौतम २९ वर्षको उमेरमा राजकाज त्याग गरी सत्यको खोजमा निस्के । सात वर्षको अथक् साधनापश्चात् ३६ वर्षको उमेरमा सत्य बोध गरे । उनले दुःखको कारण खोज्ने प्रयत्न गर्दा बौद्ध दर्शनको उत्पत्ति भयो । गान्धीजीले सत्य, अहिंसा र त्याग सम्बन्धी आफ्नो विचारलाई कहिल्यै पूर्ण सम्झ्ेनन् । यसैगरी युगको विभिन्न कालखण्डमा अनेक महापुरुषहरूको आगमन भयो र तिनीहरूकोे त्याग र समर्पणबाट प्रतिपादित जीवन अनुभव नै पछिल्लो पिंढीका लागि मार्गदर्शन बन्दै आएका छन् ।

समस्या आउँछन् तर समाधानका बाटा लिएर । समस्याबाट भाग्नु जीवनको अर्थ हैन; बरु समस्यालाई अवसरको रूपमा स्वीकारी जीवन परिष्कृत बनाउने स्वार्थ पाल्नु श्रेयस्कर हुन सक्दछ । समस्या समाधानको प्रमुख लक्ष्य भने मानव जीवनको कल्याणमा निहित हुनुपर्दछ । महान् दार्शनिक कन्फ्युशियसका अनुसार, “त्यस्तो व्यक्तिले मात्र पूर्ण प्रगति गर्न सक्दछ जो निष्ठापूर्वक बुद्धि एवं ज्ञानको खोजतलासमा सदासर्वदा लागिरहन्छन् ।” अर्थात् जीवनपर्यन्त सिकाइ सामाजिक दायित्व हो र यसमा नै मानवीय हित समाहित छ भन्ने कुरा महापुरुषहरूको दिव्य अनुभव÷सन्देशहरूले पुष्टि गरिसकेका छन् ।

मानव जीवन प्रक्रियासँगै सिकाइ भइरहेको हुनुपर्ने सर्वव्यापी मान्यता रहे पनि कतिपय व्यक्तिहरू समयसापेक्ष निरन्तर सिकाइ गर्न नसकी जीवनमा पछिपरिरहेका हुन्छन्, किन ? त्यसका अनेक कारण हुन सक्छन् जस्तै– सिकाइको क्षेत्र असीमित हुनु, समय बित्दै जाँदा सिकाइ पनि पुरानो भई काम नलाग्ने हुनु र व्यक्तिले त्यसलाई समयसापेक्ष परिमार्जन गर्न नसक्नु, सिकाइको उपयुक्त वातावरण बन्न नसक्नु, सिकाइको लागि उत्प्रेरणा, हौसला जागरणमा कमी हुँदै जानु आदि । समयको मागलाई स्वीकारी सो अनुरूप आफ्नो जीवन ढाल्नकै लागि आजका युवा हतारमा देखिन्छन् । हतारमा अगाडि बढिरहेको समाजबाट बूढाबूढीहरू भने छुट्दै गएका छन् । युवा तथा वृद्धहरू बीचको कडी कमजोर बन्दै गएको छ । परिणामतः वृद्धहरूका उपयोगी एवं कालजयी अनुभव, ज्ञान र सीप भावी पुस्तामा हस्तान्तरण हुन कठिन भइरहेको छ । यो समाजको निम्ति ठूलो क्षति हो । तर जीवन अनुभवको नाममा पुराना मूल्य–मान्यता, संस्कृति, म्याद नाघिसकेका र उपयोगहीन विचार÷अनुभवले भने नयाँ पुस्ताका अगाडि कुनै अर्थ राख्दैन । जीवनको अन्तिम कालखण्डसम्म पुग्दा पनि निरक्षर जीवन भोगाइलाई के भन्ने ? आज हामी देख्दैछौंं कि आफ्नो व्यतीत जीवनमा अनेकौं व्यावहारिक अनुभव सँगालिसकेका प्रौढ वर्गले बल्ल आएर साक्षरता कक्षामा सहभागी भई साक्षर बन्ने अभीष्ट पूरा गरिरहेका छन् । आफूलाई जे–जति अनुभवी ठाने पनि जीवनको यति लामो यात्रामा केही पनि जानेका रहेनछौं भन्ने अभिव्यक्ति दिन थालेका छन् । वृद्धभत्ता बुझन जाँदा औंठाछाप दिनु नपरोस् भन्ने चाहना राख्न थालेका छन् । यो पनि सिकाइकै क्रम हो ।

जीवनपर्यन्त सिकाइको क्रममा हामीले जान्नै पर्ने कुन–कुन पक्ष समेटेनौं त ? हामीले हाम्रा वरिपरिका झरपात, बोट–वृक्षलाई चिन्न सकेनौं, जन्तु जनावरहरूको बारेमा पृथक् धारणा राख्यौं, गरीब, असहाय र दीनदुःखीको सहारा बन्नबाट चुक्यौं, वनजंगल, माटो र पानीको मूल्य थाहा पाएनौं, हाम्रा वरिपरि घटिरहेका घटनाप्रति चासो राखेनौं, मानवीय सम्बन्धको उपेक्षा गर्दै आयौं, मानवीय मूल्यमान्यता तथा विज्ञान तथा प्रविधिले ल्याएको परिवर्तनलाई आत्मसात् गरेनौं, आत्म अनुशासन कायम राख्न सकेनौं, जिम्मेवारीबाट विमुख भयौं, मानव जीवनको वास्तविक मूल्यप्रति अनभिज्ञ रह्यौं, हाम्रा पूर्वजहरूले चलाएका चालचलन, रीतिरिवाज, संस्कृति राम्रा भए पनि नराम्रा भए पनि शिरोधार्य गर्दै आयौं, उनीहरूको आदेश निर्देशलाई नै सामाजिक संस्कार बनायौं । सारांशमा भन्ने हो भने आफूले आफैंलाई नै चिन्नसकेको र मानव जीवनलाई चिन्नसकेको अनुभव समेट्न सकेनौं ।

जिन्दगी एक महान् पुरस्कार हो । यसलाई होशियारीका साथ परिचालन गर्नु आफ्नै कर्तव्य हो । जीवनलाई कसरी डो¥याएर लैजाने भन्नेमा हरेक व्यक्ति स्वतन्त्र छ तर उमेर नाघिसकेपछि पनि आफ्नै बारेमा चिन्तनमनन गरिरहनु शेष जीवनको लक्ष्य बन्नुहुँदैन । जीवनको वास्तविक रहस्य बुझन सत्यको यात्रामा लाग्नै पर्दछ । बेकारमा समय खेर फाली, मनमा अनेक कुविचार, कुसंस्कार पाली, अरूले गरेको उन्नति, प्रगतिप्रति रीस, डाह गरी खुट्टा तान्ने प्रवृत्तियुक्त जीवन पनि के जीवन ? बरु अरूले गरेका राम्रा कार्य र गुणहरूको सम्मान गर्दै आफूमा भएका कमी–कमजोरीहरूलाई अरूका असल गुणहरूद्वारा प्रतिस्थापन गर्दै जिउन सिकेमा जीवनलाई सुखदायी र आनन्दमयी बनाउन सकिन्छ । डा. सरोज धितालका शब्दमा, “ओठमा मुस्कान, हातमा कर्म, हृदयमा करुणा र मनमा विचारको गहिराइ लिएर जीवनमा असल घटना पक्कै घटित हुनेछन् भनी पर्खेर बस्ने धैर्य भयो भने खुशी हुनबाट कसैले रोक्न सक्दैन । यो बुझइले जिन्दगीको यात्रालाई सजिलो बनाएको छ ।”

आज जीवनपर्यन्त शिक्षा जीवनबाट शिक्षामा रूपान्तरित हुँदै गएको छ । त्यसैले होला महान् दार्शनिक तथा शिक्षाविद् जोन डिवेले ‘जीवन नै शिक्षा र शिक्षा नै जीवन हो’ भन्ने उद्घोष सन् ५० को दशकमा नै गरेका थिए । हाम्रा वरिपरि विद्यमान सिकाइका अनेक परिवेशहरूको उपयोग गरी जीवन प्रक्रिया सञ्चालन गर्न समयले निरन्तर आह्वान गरिरहेकै हुन्छ । कसले भन्छ हामीसँग स्रोत साधनको अभाव छ भनेर । हामी हाम्रा अगाडि जे देख्दछौं त्यही अध्ययनको विषय बन्न सक्दछ । त्यो नै हाम्रो लागि पुस्तक हो । आवश्यक छ त केवल इच्छाशक्तिको, चाहनाको, तत्परताको, जाँगरको र सकारात्मक सोचको ।

प्रकृतिको यस विशाल पाठशालामा सबैको लागि हरपल ढोका खुला रहन्छ तर सदुपयोग गर्न तत्पर रहनुपर्दछ, जान्नुपर्दछ ।

शैक्षिक सेवाबाट निवृत्त भइसक्दा पनि मेरोे अध्ययनको धोको पूरा हुन सकिरहेको छैन । पुनः विद्यार्थी जीवनमा फर्केर उच्च तहको अध्ययन अनुसन्धान गर्ने चाहना प्रबल हुँदै गएको छ । झ्न् झ्न् धेरैभन्दा धेरै कुरा सिक्ने अभिलाषा पलाएर आइरहेछ । कविवर माधवप्रसाद घिमिरेका जीवन अनुभवहरूले मेरो मन गहिराइसम्म छोएको छ, “रहस्य खोलेर रहस्य बाँकी हुन्छ । सामान्य प्रश्नले पनि उत्तर पाउँदैनन् । अल्मलिन्छु, रन्थनिन्छु र पनि म सिकिरहन्छु । कतिपय कुरा जान्ने हुन जागीर खान वा लेख्न, विषयवस्तु जुटाउन पनि सिकियो होला तर म त्यत्तिकै पनि जीवनको पाठशालामा पढिरहन्छु, सिकिरहन्छु किनभने म जिज्ञाशुका भरमा मात्र अरूभन्दा फरक हुनसकेको प्राणी हुँ ।”

आज मलाई यस्तो लागिरहेको छ कि जीवनमा थोरबहुत अनुभव बटुले पनि धेरै कुरामा म पछिपरेको रहेछु । म मेरा पुराना अनुभवहरूमा परिमार्जन गर्न चाहन्छु । जीवनपर्यन्त सिकाइको निहुँमा समस्या नै नभए पनि समस्या सिर्जना गर्न चाहन्छु र समाधानका बाटा पहिल्याउनमा आफ्नो शेष जीवन व्यतीत गर्न चाहन्छु । जीवनपर्यन्त सिकाइको सन्दर्भमा मलाई गिजुभाईका यी अभिव्यक्ति दोहो¥याउन मन लाग्छ, “बालबालिकाले स्नेह र सम्मान दिएर मलाई नयाँ बनाइदिए । उनीहरूलाई तलबाट माथि उचाल्दा सँगसँगै म पनि माथि उक्लिंदै जान पाएँ । साँच्चै भनुँ भने उनीहरूलाई सिकाउने नाममा मैले सिकें, म उनीहरूको गुरु भए पनि मैले उनीहरूमा गुरुत्व देख्न पाएँ ।”

मेरो बाल्यकालदेखि सेवा निवृत्त हुँदासम्मका ६२ वर्ष विभिन्न चरणमा गुज्रिए । पहिलो चरणमा म स्वाभाविक रूपमै शिक्षार्थी रहें भने दोस्रोमा शिक्षक र तेस्रो चरणमा प्रशिक्षक (सेती प्रोजेक्ट) बनें । अहिलेको जीवन चरणमा म पुनः शिक्षार्थी (एम.एड. दोस्रो वर्ष) बनेको छु । किन ? धेरैजसोले यही प्रश्न सोध्ने गर्दछन् । किनभने म अझ्ै अधुरो छु, हिजो मैले देखेको दृश्यमा आज म नयाँ रूप देख्दैछु । लिखित÷अलिखित पुस्तकहरूले नयाँ–नयाँ प्रश्नहरूको उत्तर माग गरिरहेका छन् । म बढी जिज्ञासु बन्दै गएको अनुभव हुन थालेको छ । उच्च तहको चिन्तनका लागि उच्च तहकै अध्ययन चाहिंदो रहेछ भन्ने बोध हुँदै गएको छ ।

यसरी अध्ययन÷अनुसन्धानबाट समय निकाल्न मलाई गाह्रो भइरहेको छ । म पुराना अनुभवहरूको सिंहावलोकन गरी काम नलाग्ने, डेट एक्स्पाएर अनुभवलाई परिष्कृत गर्न र सिकेको ज्ञान, सीप, धारणालाई अपडेट गर्ने प्रयासलाई नै निरन्तरता दिन चाहन्छु । जीवनपर्यन्त सिकाइको यो क्रम जीवन शेषपर्यन्त रहिरहोस् भन्ने अपेक्षा गर्दछु ।

निवृत्त प्रअ, वीरेन्द्र आदर्श उमावि, वीरेन्द्रनगर, चितवन

commercial commercial commercial commercial