सलह आए-गए तर तिनलाई चिनिराखौं !

धेरै वर्षपछि, यसपालि सलहको बगाल नेपालमा भित्रियो । हामीले रेडियो, टेलिभिजन, पत्र–पत्रिका तथा सामाजिक सञ्जालमा यसको चर्चा सुन्यौं र देख्यौं पनि । भनिन्छ, सलह आयो भने अनिकाल लाग्छ । भोकमरी पर्छ । बालीनाली सबै सखाप हुन्छ । यसै सन्दर्भमा सलहबारे केही आधारभूत कुराहरू हाम्रा बालबालिकालाई पनि बुझाइराखौं । जस्तो; सलह कस्तो कीरा हो ? यसको जीवनी र भाग्य कस्तो हुँदोरहेछ ? हाम्रो जीवनी र हाम्रो भाग्यसँग यसको कस्तो साइनो हुँदोरहेछ ? यो लेख यिनै प्रश्नको जवाफ खोज्नमा केन्द्रित रहनेछ ।

अरुणा लामाको मधुर स्वरमा गुन्जिने राजेन्द्र थापाको ‘यसपालि त मनै फाट्यो ...’ गीतको एउटा हरफ ‘सलहको भाग्य मेरो— मर्ने बाँच्ने ठेगान छैन’ भन्ने बोलतिर एकैछिन घोत्लियौं भने सलहको भाग्य बारे सुझबुझ उघ्रिन सक्छ ।

यथार्थमा सलह एक प्रकारको फट्याङ्ग्रो हो । गाउँघरमा घाँसपात र बालीनालीसँग खेल्ने बालबालिकाले त फट्याङ्ग्रो देखेकै हुन्छन् । अझ खेलेकै पनि हुनसक्छन् । मान्छे उफ्रेर हिंड्दा वा खेल्दा ‘फट्याङ्ग्रो झैं उफ्रियो’ भन्ने चलनै छ । फट्याङ्ग्राका पछिल्ला खुट्टा ज्यादै लामा र बलिया हुन्छन् । तिनले नै उसलाई उफार्ने काम गर्दछन् । फट्याङ्ग्रोले आफ्नो शरीरभन्दा बीस गुणा लामो दूरीसम्म फड्को मार्न सक्छ । उसका अगाडिका चार वटा खुट्टाले उफ्रेको जीउलाई सुरक्षित जमीनमा टेक्न र पकड जमाउन मद्दत गर्दछन् । कीट प्रजाति हुनाले फट्याङ्ग्रा वा सलह ६ खुट्टे प्राणी अन्तर्गत पर्छन् । झिंगा, लामखुट्टे, माहुरी, भमरा, पुतली वा कमिला पनि ६ खुट्टे प्राणी हुन् । यी सबै कीट प्रजाति (insects) का शरीर तीन खण्डमा प्रष्टसँग विभाजन गर्न सकिन्छ— टाउको, छाती र पेट । फट्याङ्ग्रो वा सलहका दुई जोडी पखेटा हुन्छन् । यी पखेटा उड्नका लागि मात्र नभई गीत गाउने र आवाज निकाल्ने काममा पनि प्रयोग हुन्छन् । यिनले पखेटा र खुट्टालाई रगडेर वा रेटेर विभिन्न आवाज निकाल्छन्, साथी बोलाउँछन्, पोथी बोलाउँछन् । तर यसरी आवाज निकाल्ने कीराहरूमध्ये झयाउँकिरीलाई अरूले जित्न सक्दैन ।

यस वर्ष नेपाल आइपुगेका सलहको उद्गम र यात्र–मार्ग । नक्साः एफएओ

नेपालमा आइपुग्ने सलह अफ्रिका र अरब क्षेत्रको मरुभूमिमा पाइने विशेष प्रकारका फट्याङ्ग्रा हुन् । तिनलाई रेगिस्तानी या मरुभूमिका सलह (Desert Locust) भनिन्छ । सामान्य परिस्थितिमा यिनीहरू पनि हाम्रा फट्याङ्ग्रा जस्तै एकलकाँटे स्वभावका हुन्छन् । आफ्नै धुनमा उफ्रन्छन्, उड्छन्, खान्छन्, पिउँछन्, सन्तान जन्माउँछन् । तर परिस्थिति बदलियो, स्थानीय वातावरणमा फेरबदल आयो, खाद्यसंकटको संकेत भयो भने तिनै फट्याङ्ग्राहरू आफ्नो चोला र भाग्य बदल्न थाल्छन् । तिनले अस्तित्व जोगाउन आफ्नो वासस्थान छोडेर हूल बाँधेर विदेशिनुपर्ने बाध्यता सिर्जना भयो भने त्यस अवस्थामा यिनीहरूले आफ्नो शारीरिक बनावट नै परिवर्तन गर्न थाल्छन् । त्यो अवस्थामा यिनमा थप बलिया पखेटा पलाउँछन् । त्यसपछि एक्लो जीवन छोड्छन् र हूल बाँध्न थाल्छन् । सलहको जस्तो हूल बाँध्ने स्वभाव अरू कुनै प्राणीको हुँदैन । सलहको एउटा झुण्डमा लाखौं हैन करोडौं कीराले एकै साथ यात्रा गरिरहेका हुन्छन् । यिनले एकै दिनमा १५० किलोमिटर टाढासम्मको दूरी सजिलै पार गर्दछन् । महाकालीबाट मेची पुग्न यिनलाई एक हप्ता पनि लाग्दैन ।


हुन त, एउटा सलहले एक दिनमा दुई ग्राम जति मात्र खान सक्छ । त्यो भनेको एउटा ठूलो केराउको कोसा वा एउटा सानो सिमी जति मात्र हो । तर करोडौंको संख्याले एकैपल्ट खाइदिने हुनाले हाम्रो ठूलो विनाश हुन्छ । एक वर्गकिलोमिटर क्षेत्रमा फैलिएको सलहको एउटा बगालमा १५ करोड वटासम्म कीरा हुन्छन् । 

सलहहरू उड्दा आकाशै ढाकिने गरी उड्छन् । खेतबारी, बगैंचा वा वनलाई छपक्कै छोपेर बस्छन् । अन्न, बालीनाली, सागपात सखाप हुने गरी खाइदिन्छन् । हुन त, एउटा सलहले एक दिनमा दुई ग्राम जति मात्र खान सक्छ । त्यो भनेको एउटा ठूलो केराउको कोसा वा एउटा सानो सिमी जति मात्र हो । तर करोडौंको संख्याले एकैपल्ट खाइदिने हुनाले हाम्रो ठूलो विनाश हुन्छ । एक वर्गकिलोमिटर क्षेत्रमा फैलिएको सलहको एउटा बगालमा १५ करोड वटासम्म कीरा हुन्छन् । तिनले एकै दिनमा खाइदिने खाद्यवस्तु जोख्यौं भने ३५ लाख मानिसले खाने खाद्यवस्तु बराबर हुन्छ । तसर्थ समस्या सलहको नभई सलह संख्याको हो । जनसंख्याका कारण यस्तै समस्या मानिसमा पनि पर्न सक्छ भन्ने पाठ सलहबाट सिक्न सकिन्छ ।

सलह कीराले अरू कुनै जीवलाई हानिनोक्सानी गर्दैन । यसले अरूलाई मारेर खाँदैन । हरिया वनस्पति मात्र खान्छ । बारुलो, माहुरी वा कमिलाले जस्तो यसले चिल्दैन । लामखुट्टेले जस्तो टोक्दैन । झिंगाले जस्तो रोग–कीटाणु पनि बोक्दैन । अप्रिय गन्ध वा विषादी ओकल्दैन । तसर्थ, सलहलाई यतिकै छोपेर खाने चलन पनि छ । नेपालमा सलह आउँदा तिनलाई बटुलेर थैलाका थैला, बोराका बोरा बेच्ने गरेको घटना पनि पढ्न पाउँछौं । सरदार भीमबहादुर पाँडेको पुस्तक त्यसबखतको नेपालमा  वि.सं. १९८५ मा सलह नेपालमा आएको कुरा उल्लेख छ । यस्तै अर्को घटना २००८ सालमा घटेको थियो । त्यसवेला म दरबार हाईस्कूलमा कक्षा–८ मा पढ्दैथिएँ । हामी स्कूले केटाहरू टुँडिखेल र टुकुचाको तरकारी बारीमा गएर सलह टिपेर ल्याउँथ्यौं । गोलटिनका गोलटिन सलह पोलेर खान्थ्यौं । सलहको टाउको थुतिदियौं भने टाउको सँगै भित्री आन्द्राभुँडी सबै बाहिर आउँछ ।

काठमाडौं  नजिक चन्द्रागिरि क्षेत्रको २४०० मिटर उँचाइमा भेटिएको सलह । तस्वीरः ला दोर्चे शेर्पा

सलह शिकारको कुरा गर्दा यो कीरालाई आकाशमै टिपेर भोज मनाउने कौवाहरूको पनि सम्झना आउँछ । कौवाका अहारा हुनाले काठमाडौंका नेवारहरू सलहलाई ‘को–बुईंचा’ भन्दछन् । ‘को’ ले कौवा र ‘बुईंचा’ ले फट्याङ्ग्रा बुझाउँदछ । कौवाहरू आफ्ना अहारा लुकाउन पनि जान्दछन् । मेरो महाबौद्धको घरमा झिंगटीको छानो थियो । झिंगटीका कापकापमा सलह लुकाएर राख्दथे बाठा कागहरू । ती सलह पनि बटुलेर खान ‘चोर माथि चकार’ गर्न हामी पल्केका थियौं । भनिन्छ, कौवाहरू आफूले खाजा लुकाएको ठाउँ छिट्टै बिर्सन्छन् । त्यसैले आमाबुवाहरू हामीलाई कौवा जस्तो बिर्सुवा भनी टिप्पणी पनि गर्नुहुन्थ्यो । तिनताका, २००८ सालको सलह प्रकोपमा असनको बजार भने सलहमय बनेको थियो । त्यहाँ बोराका बोरा सुकुटी–सलह बेच्न राखिएका हुन्थे । स–साना भागमा सलहका थुप्रो किन्न पाइन्थ्यो । सलह किनेर घरमा ल्याई तेलमा भुटेर चिउरासँग गज्जबको खाजा बन्दथ्यो । पाँच पैसाको सलहले चार/पाँच जनाको खाजा तयार हुन्थ्यो ।

सलह एकप्रकारले पौष्टिक खुराक पनि हो । धेरै देशमा सलहका विभिन्न परिकार पाक्ने गरेका छन् । आजभोलि सलह नियन्त्रण गर्न विषादीको प्रयोग हुन थालेको छ । तर २००८ सालका सलह विषादीमुक्त थिए । अब चाहिं सलह खानु वा खुवाउनु भन्दा पहिले विषादी मुक्त छ/छैन भन्ने हेक्का राख्नुपर्ने भएको छ ।


२००८ सालको सलह प्रकोपमा हाम्रो असन बजार भने सलहमय बनेको थियो । त्यहाँ बोराका बोरा सुकुटी–सलह बेच्न राखिएका हुन्थे । सलह किनेर घरमा ल्याई तेलमा भुटेर चिउरासँग गज्जबको खाजा बन्दथ्यो । 

सलहहरू कर्‍याङकुरुङ वा चखेवा–चखेवी झैं हरेक वर्ष आउने–जाने प्राणी हैनन् । सलह कहिले वा कति–कति वर्षमा आउँछन् भन्ने हामीलाई थाहा हुँदैन । वेलावेलामा सलहको महामारी के कारणले फैलन्छ, त्यो तथ्य पनि स्पष्ट छैन । तर पनि सलहको उत्पत्ति सम्बन्धमा आजसम्म भएका अध्ययन अनुसार, बसोबास गरिरहेका भूक्षेत्रमा हावापानी र वातावरणको फेरबदल हुने सुईंको पाएपछि सलहहरू ठूलो संख्यामा एकै ठाउँमा जम्मा हुने गर्दा रहेछन् । त्यसपछि भाले लागेका पोथी सलहहरू एउटै थलोमा जम्मा भएर अण्डा पार्न थाल्दछन् । त्यसवेलामा यी कीराका नितम्ब (पिंध) ले कमलो जमीनमा प्वाल छेड्छन् । लगभग ५० देखि १०० वटा अण्डाको थुप्रो त्यहाँ छोडेपछि जमीनको प्वाललाई आफ्नै फिंज भएको र्‍यालले टालिदिन्छन् । त्यसपछि आमाको धर्म समाप्त हुन्छ ।

कपिलवस्तुको तौलिहवास्थित नयाँटोलमा देखिएको सलहकाे बथान। तस्वीरः मनोज पौडेल

सलहको कर्ममा आमाको माया भन्नु सुरक्षित ठाउँमा अण्डा पार्नु मात्र हो । त्यसपछि जे हुन्छ प्रकृतिले नै निर्धारण गर्छ । सामान्यतया १० देखि २० दिनभित्र ती फूलबाट शिशु फट्याङ्ग्राहरू सलबलाउन थाल्दछन् । यिनको जीवनचक्र पुतली, माहुरी, बारुला झैं लार्भा–प्युपा जस्तो हुँदैन । फूलबाट सीधै निस्केका शिशु फट्याङ्ग्राले हुर्कने क्रममा चार/पाँच पटकसम्म काँचुली फेर्छन् । त्यसपछि यी वयस्क अवस्थामा पखेटा हालेर उड्ने सलह बन्न पुग्छन् । सामान्य अवस्थामा हूल बाँध्न नरुचाउने यी फट्याङ्ग्रा जातिका कीराहरू विशेष परिस्थितिमा हूल बाँध्न पुग्छन् । यी कीराहरू आपसी भीडभाडमा शरीरको रगडाइमा पर्छन् । यही शरीर घोटाइले गर्दा हूल बाँध्ने प्रवृत्तिको विकास हुन्छ । फलस्वरूप हूल बाँधेर हिंड्ने समूहमा र उडेर लामो–लामो यात्रा गर्ने सलह प्रवृत्तिलाई अरू कुनै प्राणीले भेट्न सक्दैन । करोडौंको संख्यामा सलह उड्न थालेपछि आकाशै ढाकिन्छ । सलहको प्रकोपलाई पनि कतै कतै प्लेग भन्ने चलन छ ।

कपिलवस्तुको तौलिहवास्थित नयाँटोलमा सलह । तस्वीरः मनोज पौडेल

यसपालिको सलह प्रकोप पूर्वी अफ्रिकी देश केन्याबाट प्रारम्भ भएको हो । सन् २०२० को जनवरी महीनामा केन्या, इथियोपिया, सोमालिया तथा सुडानसम्म फैलन गयो । फेब्रुअरी महीनामा पाकिस्तानतिर फैलियो । मे महीनाको आखिरीसम्ममा भारतको पञ्जाब, राजस्थान, गुजरात, मध्यप्रदेश, हरियाणा, महाराष्ट्र तथा उत्तरप्रदेशसम्म फैलिएपछि सलहको हूल नेपाल भित्रिन थाल्यो । २०७७ असारको १३–१४ गतेतिर नेपालको तराई र मधेशका जिल्लाबाट छिरेर पहाडी जिल्लाहरूमा समेत फैलन पुग्यो । सलहहरू हावाको प्रवाहसँग फैलने गर्छन् र १५०० मिटरको उँचाइसम्म मात्र उड्न सक्छन् । तर नेपाल पसेपछि सलहलाई पनि पहाड चढ्न मन लागेको हुनुपर्छ ! यसपालि मकवानपुरबाट काठमाडौं छिर्ने क्रममा २४०० मिटर उँचाइको चन्द्रागिरिको सेरोफेरोमा समेत केही सलह देखिए । यहाँ समावेश भएको सलहको एउटा चित्र ला दोर्चे शेर्पाले चन्द्रागिरि क्षेत्रको त्यही उँचाइमा खिचेका हुन् । ऐंसेलुको बोटमा बसेको यो सलह ५.७ सेन्टिमिटर लामो छ । औसत भन्दा यो कीरा ठूलो छ र भौगोलिक उँचाइमा पनि कीर्तिमानी छ ।

अन्तमा, सामान्यतः अफ्रिका र अरबका मरुभूमि क्षेत्रमा रम्ने सलहहरू कुन भाग्यले नेपाल आइपुग्छन् अनि नेपाली युवाहरू सलहको जस्तै हूल बाँधेर कुन बाध्यता र भाग्यले खाडी मुलुक पुग्न विवश छन्; जहाँ दुवैको मर्ने बाँच्ने ठेगान हुँदैन ? के होला यिनको साझा बाध्यता ? यता आउने सलह र  उता जाने युवा वर्गलाई दाँजेर सोचौं । अस्तु ।

commercial commercial commercial commercial