बाबा हो, पढ्नू है !

ए, बाबा हो !
पढ्नू है, पढ्नू !!

पढेर भोलि—
ठूला मान्छे हुनेछौ
सक्षम मान्छे हुनेछौ
ज्ञानी मान्छे हुनेछौ
असल मान्छे हुनेछौ
सफल मान्छे हुनेछौ
महान् मान्छे हुनेछौ
हो, भविष्य उज्ज्वल पार्नेछौ !

गाह्रो÷अप्ठ्यारो छ नभन्नू
सजिलो भन्नु केही पनि हुन्न
गरेपछि असम्भव केही पनि रहन्न !
पढेर जीवनमा—
अरूलाई मधुरस पिलाउने माहुरी हुनू
अरूलाई शीतलता दिने छहारी हुनू !

पुतली बन्ने लार्भा जस्तै हुनू
ज्वालामुखीका गर्भको लाभा जस्तै हुनू
पहराको शिलाजित् जस्तै हुनू
दही मथेर बनेको नौनी
अझ् खारिएको घिउ जस्तै हुनू
पत्थरमा लुकेको हीरा
अझ् पारसमणि बन्नू !
दिव्य–चेतनाको बीउ हुनू !!
 
जीवनलाई बगिरहने नदी
अझ् अथाह गहिरो सागर जस्तै बनाउनू
पढेर जीवनलाई उज्यालो राँको
वा रातको चन्द्रमा
अझ् बिहानी–घाम जस्तै बनाउनू !

आफ्नो जीवनलाई
फलेर नुहेको हाँगा जस्तै बनाउनू
गण्डकीको शालिग्राम,
दृढताको चोमोलोङ्मा,
निष्ठाको धाम बनाउनू !
बालुवाको सुन,
हिलोमै फुल्ने कमल,
पखेरीमै फुल्ने सुनगाभा जस्तै बनाउनू !
कञ्चन छहरा–छाँगा जस्तै बगाउनू !

पढेर के हुन्छ र !, कहिल्यै नसोच्नू
के नै गरिएला ! कहिल्यै नभन्नू !
आज यी बाउबाजेले—
भाँडभैलो मच्चाए भनेर निराश नहुनू
देश लथालिङ्ग छाड्न खोजे भनेर नआत्तिनू !

भोलि—
यो देशलाई थाम्ने काँध, तिमीहरूकै त हो
देश सुन्दर पार्ने सीप, तिमीहरूकै त हो
देश सुसंस्कृत पार्ने विवेक, तिमीहरूकै त हो
देश समृद्ध पार्ने पौरख, तिमीहरूकै त हो
देश शक्तिशाली बनाउने आँट, तिमीहरूकै त हो
देश विकसित बनाउने पसिना, तिमीहरूकै त हो
देश बलियो बनाउने एकता, तिमीहरूकै त हो
देश गौरवशाली बनाउने नेतृत्व, तिमीहरूकै त हो
देश सभ्य बनाउने चेतना, तिमीहरूकै त हो
देश सपार्ने ज्ञान, तिमीहरूकै त हो
देश गतिशील बनाउने जिम्मा, तिमीहरूकै त हो !

देश बिर्सनेहरूलाई सम्झ्ेर समय खेर नफाल्नू
देश बिगार्नेहरूको कुरा काटेर निकम्मा नरहनू !
सत्य यो हो कि—
पढेर तिमीहरू यही धर्तीको माटोमा फुल्दै सुवास छर्नू,
यही आकाशमाथि चम्किँदै उज्यालो छर्नू !

ए, बाबा हो
पढ्नू है, पढ्नू !!
आत्मज्ञानको ज्योति नभेटेसम्म पढ्नू  !
आत्मशक्तिको मोती नभेटेसम्म गहिराइमा डुब्नू !!

commercial commercial commercial commercial