सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम विद्यार्थीले न अंग्रेजी जाने, न नेपाली !

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निरन्तर ओरालो लाग्न थालेपछि निजी विद्यालयको आकर्षण बढ्यो । निजी विद्यालयमा विद्यार्थी ठेलमठेल भए भने सामुदायिक विद्यालयमा न्यून विद्यार्थी संख्याको कारण सामुदायिक विद्यालयप्रतिको आकर्षण घट्दै गयो तथा शैक्षिक गुणस्तर मा पनि प्रश्नचिह्न खडा भयो । यसैबीच सदरमुकाम तथा शहरकेन्द्रित केही सामुदायिक विद्यालयले निजी विद्यालयको सिको गर्दै अंग्रेजी माध्यममा कक्षा संचालन गरेर सामुदायिक विद्यालयमा नयाँ प्रयोगको थालनी गरे । यो प्रयोगबाट केही विद्यालय राम्रैको संख्यामा विद्यार्थी संकलन गर्न सफल पनि भए । अंग्रेजी माध्यमको लहर देशैभर चल्यो । सरकारी निकाय पनि खुशी नै देखि ए । अहिले थुप्रै निजी तथा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाइ भइरहेको अवस्था छ । तर अंग्रेजी माध्यमले विद्यार्थीको सिकाइ स्तर र मौलिक उत्तर दिने क्षमतामा कस्तो असर पारिरहेको छ भन्ने कुरा तर्फ कसैको पनि ध्यान गएको पाइँदैन । यो समस्या निजी विद्यालयमा भन्दा सामुदायिक विद्यालयमा बढी देखि एको छ । सामुदायिक विद्यालयले अंग्रेजी माध्यममा कक्षा संचालन गर्न थालेपछि विद्यार्थीले नेपाली विषयबाहेक सबै विषय अंग्रेजीमा पढ्नुपर्ने अवस्था आएको छ । पढ्ने र पढाउने माध्यम अंग्रेजी भए पनि विद्यालयका अतिरिक्त क्रियाकलाप का कार्यक्रमहरू भने नेपाली माध्यममा नै आयोजना गरिन्छ । घरपरिवार तथा साथीहरूसँग मातृभाषा वा नेपालीमा कुरा कानी गर्ने तर पाठ्यपुस्तक अंग्रेजीमा पढ्न र अभ्यास गर्न विद्यार्थीलाई निकै असजिलो महसूस भएको देखिन्छ । अंग्रेजीमा लेखिएको पाठ्यपुस्तक शिक्षकले नेपालीमा अनुवाद गर्दै पढाउनु अंग्रेजी माध्यममा कक्षा संचालन भएका विद्यालयका विशेषता नै हो । परीक्षामा प्रश्न अंग्रेजीमा सोधिन्छ— विद्यार्थीलाई नेपालीमा बुझइदिनुपर्छ । विद्यार्थीले विद्यालय क्षेत्र भित्र र कक्षाकोठामा अंग्रेजीमै कुरा कानी गर्नु पर्ने हुन्छ । अंग्रेजीमा बोल्नुपर्ने हुँदा विद्यार्थी कक्षाकोठामा शिक्षकसँग खासै अन्तरक्रिया गर्दैनन् । ‘नो नेपाली स्पिकिङ जोन’ लेखिएको पर्खालभित्र विद्यालयमा हुने विविध कार्यक्रम नेपाली माध्यममा संचालन हुनु के अंगेजी माध्यम हो र ? अंग्रेजी माध्यमले शिक्षामा गुणस्तर आउने हो र ? गुणस्तर मापनको आधार विद्यार्थीको संख्या वृद्धि हो कि सिकाइ उपलव्धि ? भाषारूपान्तरण विधिबाट विद्यार्थीको अंग्रेजी भाषाको ज्ञानमा सुधार आउला त ? विद्यालयमा अंग्रेजी माध्यमको सन्दर्भमा यस्तै यस्तै जिज्ञासाहरू उठ्ने गर्द छ । अंग्रेजी भाषाको कारण विद्यार्थीले जानेको कुरा पनि अभिव्यक्त गर्न नसकेको अवस्था छ । अंग्रेजी माध्यमको बाध्यताले गर्दा विद्यार्थीको सृजनात्मक अभिव्यक्ति दिने क्षमता पनि ह्रास भइरहेको छ । घोकेको कुरा लेख्न मिल्ने गरी परीक्षामा प्रश्न आयो भने त विद्यार्थीले केही लेख्ला अन्यथा प्रश्न सारेर छाडिदिने अवस्था छ । यसले पुनः घोकन्ते विद्या अर्थात् ‘रोट लार्निङ’ लाई नै बढावा दिएको देखिन्छ । अर्कोतिर अंग्रेजीको प्रयोगलाई मात्र बढी महत्व दिंदा नेपाली हेयको विषय बन्न पुगेको छ । जसको कारण विद्यार्थीले अंग्रेजी र नेपाली दुवै नजान्ने अवस्था सृजना भएको छ । सामुदायिक विद्यालय अन्तर्गत अंग्रेजी माध्यममा अध्ययन गर्ने केही विद्यार्थीले सामाजिक अध्ययन, जनसंख्या जस्ता विषयको परीक्षा दिने क्रममा अंग्रेजीमा उत्तर लेख्दै गर्दा भाषाका कारण बीचबीचमा नेपाली शब्द वा रोमनमा लेखेको पनि पाइएको छ । यसलाई अंग्रेजी माध्यमकै कारण विद्यार्थीले जानेको कुरा पनि व्यक्त गर्न नसकेको दरिलो प्रमाणको रूपमा लिन सकिन्छ । यदि पढाइ–लेखाइको माध्यम नेपाली भएको भए त्यस्ता विद्यार्थीले परीक्षामा मौलिक उत्तर लेख्न सक्ने संकेत भने प्रष्टै देखिन्छ । यसरी ‘ननेपांग्रेजी’ मा लेखिएको उत्तरलाई अङ्क दिने कि नदिने, शिक्षकहरू धर्मसंकटमा पर्दछन् । नियमतः जुन भाषा अर्थात् ‘स्क्रिप्ट’ मा लेख्नुपर्ने हो

सोही स्क्रिप्टमा उत्तर लेख्नुपर्ने हुन्छ । तर कुनै शिक्षकले भाषाको माध्यम जे भए पनि उत्तर लेख्ने प्रयास गरेको भन्दै औसत अङ्क प्रदान गरेको पाइन्छ भने कसैले अङ्क दिंदैनन् । फेरि त्यसरी उत्तर लेखेमा के गर्ने भनेर कहीं कतै लेखेको वा स्पष्ट निर्देशन भएको पनि पाइँदैन । यसरी नेपाली र अंग्रेजी मिसाएर उत्तर लेख्दा उत्तरपुस्तिका परीक्षण गर्ने क्रममा कतिपय विद्यार्थी हाँसोको पात्र पनि बनिरहेका छन् । अंग्रेजी मात्र होइन नेपाली विषयको पनि हालत उस्तै छ । नेपाली विषय एउटा मात्र पढ्नुपर्ने भएको ले उनीहरूको नेपाली लेखन पनि अत्यन्त दयनीय देखिन्छ । विद्यार्थीले जसरी बोलीचालीमा शब्द उच्चारण हुन्छ त्यस्तै गरेर लेख्ने गर्द छन् । जस्तो ‘मैले’ को सट्टा विद्यार्थी ‘मईले वा महिले’ लेख्छन् । अख्तियारको ‘अक्तियार’, वरिपरिको ‘ओरिपरी’, प्रतियोगिताको ‘पतिगिता’ आदि लेखेको पाइन्छ । आजका विद्यार्थी वक्तृत्वकला प्रतियोगिता, वादविवाद प्रतियोगिता, निबन्ध लेखन जस्ता अतिरिक्त कार्यक्रमहरूमा सहभागी हुन खासै रुचि राख्ने गर्दैनन् । शिक्षकले गृह कार्य दिन्छन् तर ‘जानिनँ सर’ भन्दै खाली कापी देखाउँछन् । अनि बाध्य भएर पाठमा भएका सबै प्रश्नको उत्तर शिक्षकले लेखाइदिनुपर्छ । शिक्षकले उत्तर लेखाइ दिंदा पनि शुद्धसँग लेख्न जानेका हुँदैनन् । सामुदायिक क्रियाकलाप अन्तर्गतको अभ्यास त निकै परको कुरा हो । निजी विद्यालय भन्ने बित्तिकै अंग्रेजी माध्यममा पढाइ हुने विद्यालायको रूपमा चिनिन्छ । अंग्रेजी माध्यम उनीहरूको मुख्य आकर्षणको विषय हो । तर सामुदायिक विद्यालयले अंग्रेजी माध्यमलाई ‘आफ्नोगुमेको साख फर्काउने’ हतियारको रूपमा लिएको देखिन्छ । अभिभावकहरू आफ्ना बालबालिकालाई अंग्रेजी माध्यमसहित गुणस्तरीय शिक्षा दिन चाहन्छन् । यसको लागि आवश्यक पूर्वाधारको जरुरत पर्दछ । दक्ष शिक्षक पहिलो शर्त हो । अंग्रेजी माध्यममा नभई अंग्रेजी नै पढाउने वातावरणको सृजना गरिनुपर्छ । अर्कोतिर प्राथमिक तहसम्म मातृभाषामा शिक्षा लिन पाउने विद्यार्थीको मौलिक अधिकार हो । देश संघीयतामागइसकेको अवस्थामा मातृभाषामा शिक्षा दिनुपर्ने आवाज पनि उठ्न थालिसकेको छ । यस्तो अवस्थामा मातृभाषामा पढाउनको लागि शिक्षक, पाठ्यक्रम र पाठ्यपुस्तक तयार पार्नको लागि आजै देखि लाग्नुपर्ने उत्तिकै आवश्यक देखिन्छ । आफ्नै मातृभाषा वा नेपाली भाषामा अध्ययन गर्न विद्यार्थीलाई जति सहज हुन्छ अंग्रेजी वा अन्य भाषामा पक्कै हुँदैन । यो आलेखको उद्देश्य अंग्रेजी माध्यमको विरोध गर्नु पटक्कै होइन । तर विना योजना, विना तयारी र विना स्रोतसाधन अंग्रेजी माध्यममा कक्षा संचालन गर्दा आशातित प्रतिफल प्राप्त नहुन सक्छ । यसले विद्यार्थीको सिकाइ क्षमतालाई कमजोर बनाउँछ भने विद्यालय छाड्ने प्रवृत्ति पनि बढ्न सक्छ । अंग्रेजी माध्यमकै कारण विद्यार्थीले अंग्रेजी र नेपाली दुवै भाषा नजान्ने अवस्था आउनु दुर्भाग्य हो । यसबाट राज्यको लगानी खेर जान्छ भने कमजोर जनशक्ति उत्पादन हुने उत्तिकै सम्भावना रहन्छ । विद्यार्थीको सृजनात्मक अभिव्यक्ति दिने क्षमतालाई ह्रास गराउने तथा सिकाइ क्षमता कमजोर बनाउने अंग्रेजी माध्यमको विकल्प खोज्न अब ढिला गर्नु हुन्न ।

जीवनज्यो ति मावि, कावासा े ती, स्याङ्जा

 

commercial commercial commercial commercial