भूगर्भको चेतावनी

वैशाख १२ आमनेपालीलाई प्रकृतिले दिएको एउटा चेतावनी मात्र हो । त्यो चेतावनीलाई गम्भीरतापूर्वक लिएर अब हामीले पुनर्निर्माण गर्दा घर, स्कूल, अफिसहरू ८.५ सम्मको भूकम्प थेग्न सक्ने बनाउनुपर्छ । यसो गरे मात्र अर्को ठूलो धक्का आउँदा धनजनको क्षति कम गर्न सकिन्छ । र, त्यो ठूलो धक्का कुनै न कुनै दिन आउने नै छ, कहिले आउँछ भन्ने कुरो मात्र हो ।

नेपालमा भूकम्प आउनु नयाँ कुरा होइन । हरेक ८०–१०० वर्षमा काठमाडौँ ध्वस्त भएको छ । यहाँका शिलापत्रहरूमा सन् १२५५ र त्यसपछि गएका महाभूकम्पहरूको विवरण भेटिन्छ । सन् १२५५ को भूकम्पमा काठमाडौँ उपत्यकाका एउटा पनि घर बचेका थिएनन् । राजा अभय मल्ल समेत आफ्नै दरबार भत्कँदा पुरिएर मरेका थिए । सन् १४०८ को भुइँचालोमा पनि यहाँका धेरैजसो मन्दिरहरू भत्किएका थिए ।

२०७२ वैशाख १२ को भूकम्प अप्रत्याशित थिएन । मध्यनेपालमा ठूलो भूकम्प आउनु नै थियो, आयो । घडी हेरेरै आएको जस्तो गरेर ९० सालको भूकम्पको ठीक ८२ वर्षमा फेरि मध्यनेपाल हल्लियो । त्यसैले ‘नेपालमा भूकम्प आउँछ कि आउँदैन’ भन्दा पनि ‘कहिले आउँछ’ भनेर सोच्नु सान्दर्भिक हुन्छ ।

यस्तो तथ्य थाहा हुँदाहुँदै पनि वैशाख १२ गतेले हाम्रो तयारीको कमी, मूर्खता र नालायकीपनलाई उदाङ्ग पारिदिएको छ । तयारी हुँदो हो त पाँच वर्षअघिदेखि थाँती राखिएको प्रकोप तयारी प्राधिकरण (Disaster Preparedness Authority) स्थापना भइसकेको हुन्थ्यो । त्यसबाट आपत्कालीन तयारीका योजनाहरू अगाडि बढिसक्थे । ठाउँठाउँमा पाल, खाद्यान्न, राहत, आपत्कालीन उपचार केन्द्रहरू स्थापित भइसक्थे । नेपालभरि व्यापक जनचेतना जगाउँदै घर, डेरा, अफिस, स्कूल र अस्पतालहरूको भूकम्प खेप्न सक्ने डिजाइनको निर्माण र पुराना भवनहरूलाई सबलीकरण (Retrofitting) कार्यक्रमहरू अगाडि बढिसक्थे । यस्तो भूकम्प आइरहने ठाउँमा परिवार, समुदाय, छरछिमेक, शहर, राष्ट्र तयारी अवस्थामा नहुनु भनेको आत्मघाती व्यवहार हो ।

यहाँ भूकम्प अवश्यंभावी हुनाको कारण नेपालको भूगर्भ (Geology) हो । सात करोड वर्षअघि भारतीय उपमहाद्वीप अफ्रिकाबाट उछिट्टिएर हिन्द महासागरमा उत्तरतिर सर्दै युरेशियन प्लेटमा बजारिन पुग्यो । हिमालय उचालिन थाल्यो ।

जतिजति भारतीय प्लेट युरेशियन प्लेटतिर धकेलिँदै गयो, उतिउति हिमालय पर्वत उचालिन थाल्यो । त्यसैले हिमालय संसारकै सबैभन्दा तन्नेरी पर्वतशृंखला हो । भारत अझ्ै पनि वर्षको २ सेमीले उत्तरतिर घचेटिँदै छ र पूरै हिमालय पर्वतशृङ्खला वर्षको १ सेमीले उचालिँदै छ । हरेक ८०–१०० वर्षमा जमीन सतहभन्दा १०–२० किमी भित्र रहेका चट्टानका पाप्राहरू रगडिएर भाँचिँदाखेरि भुइँचालो जान्छ । वैशाख १२ गतेको ७.६ को भूकम्पले मध्यनेपाल र काठमाडौँलाई १.६ मिटरले उचाल्यो र पूरै पहाड, शहर, खोलानाला र हामीहरू ५० सेमीले दक्षिणतिर धकेलियौँ ।

वैशाख १२ गते नेपाली टाइम्स का हामी १२ जना पत्रकार साथीहरू काठमाडौँबाट दक्षिणमा पर्ने २२०० मिटर अग्लो चम्पादेवीमा पदयात्रा गरेर फर्कंदै थियौँ । एकैचोटि पहाडै थर्कन थाल्यो । भूकम्प आएको थाहा हुनेबित्तिकै हामी सबैका आँखा तलको काठमाडौँ उपत्यकामा परे । ठाउँठाउँबाट बम पड्केको जस्तो गरेर धूलोको मुस्लो निस्कँदै गरेको देखियो । छिनमै पूरै उपत्यकालाई कुइरोले ढाकेको जस्तो गरेर धूलोको बादलले ढाक्यो । ‘काठमाडौँ ध्वस्त भयो, केही पनि बाँकी छैन’ जस्तो लाग्यो हामीलाई र परिवारको पिरले सताउन थाल्यो । केही छिनपछि धूलो उत्रियो । अनि दूरविनले हेर्दा धेरैजसो घरहरू सद्दे देखेपछि मात्रै मन ढुक्क भयो ।

खासमा काठमाडौँमा ९० सालको जस्तो ८.२ म्याग्निच्युडको भूकम्पले धेरै बढी क्षति पु¥याउने अनुमान वैज्ञानिकहरूले गरेका थिए । काठमाडौँ संसारभरिका शहरहरूमध्ये भूकम्पको जोखिमका हिसाबले पहिलो मानिन्छ । पहिलो धक्कामै १ लाख मानिसको ज्यान जाने अनुमान थियो, २ लाख घाइते र ८० प्रतिशत घर ध्वस्त हुन्छन् भन्ने थियो । तर ९० को तुलनामा यस पटक ०.६ (८.२—७.६=०.६) म्याग्निच्युड सानो भूकम्प आयो । र, त्यो हिसाबले उपत्यकामा भएको १४०० जनाको मृत्यु दुःखदायी भए पनि अनुमान गरेजस्तो गम्भीर थिएन । काठमाडौँलाई त्यही ०.६ को म्याग्निच्युडले बचायो । त्यसै कारणले माटो र इँटाले बनेका धेरै घर ढले र कंक्रिट बिमले बनेका घरहरू चर्के पनि ढलेनन् । ८.२ म्याग्निच्युड भएको भए र थप १० सेकेण्ड अझ्ै हल्लिएको भए सिमेन्टको गारोका घरहरूलाई पनि क्षति पुग्थ्यो ।

घरहरू भत्कने कुरा भूकम्पले जमीन कति र कति बेर हल्लाउँछ भन्नेमा भर पर्छ । उपत्यकाको खास गरी पूर्वी भागको जमीन हरेक भूकम्पमा बढी हल्लिन्छ— यहाँको माटो र भित्री भूबनोट (Geology) का कारण । यसपालि सिन्धुपाल्चोक, नुवाकोट, रसुवा र गोरखामा जमीन बढी हल्लियो किनभने भूकम्पको झ्ट्का केन्द्रविन्दु (इपिसेन्टर) बाट पूर्वतिर बढी हान्निएको देखियो ।
भूकम्पको केन्द्रविन्दु नजिकको लमजुङ र त्यसभन्दा पश्चिममा यसको धेरै असर परेन । यसको अर्थ पश्चिम नेपालको जमीनमुनि चट्टानका पाप्राहरूमा संकलित हुँदै आएको दबाब या शक्ति निसृत हुन पाएको  (Elastic Tension Release) छैन ।

पोखरा र डँडेलधुराको बीचमा ८ रिक्टरभन्दा ठूलो भूकम्प नगएको ५०० वर्षभन्दा बढी भइसकेको छ । वैज्ञानिकहरूको अनुमानमा नेपालको अर्को महाभूकम्प यही क्षेत्रमा जानेछ । त्यसो भन्दैमा काठमाडौँलाई केही हुँदैन भन्ने होइन । मानौँ, बाग्लुङको ढोरपाटनमा ८.५ रिक्टरको भूकम्प गयो भने त्यसले वैशाख १२ को भन्दा बढी क्षति पु¥याउँछ काठमाडौँलाई ।

यसपालिको भूकम्पले धनजनको ठूलो क्षति गरायो, तर शनिवार नभएको भए, राति गएको भए मृत्यु हुनेको संख्या अझ्ै धेरै हुने थियो । त्यसैले वैशाख १२ आमनेपालीलाई प्रकृतिले दिएको एउटा चेतावनी मात्र हो । त्यो चेतावनीलाई गम्भीरतापूर्वक लिएर अब हामीले पुनर्निर्माण गर्दा घर, स्कूल, अफिसहरू ८.५ सम्मको भूकम्प थेग्न सक्ने बनाउनुपर्छ । त्यसनिम्ति हाम्रो घर बनाउने शैली, प्रविधि र निर्माण सामग्रीमै आमूल परिवर्तन जरूरी छ । यसो गरे मात्र अर्को ठूलो धक्का आउँदा धनजनको क्षति कम गर्न सकिन्छ । र, त्यो ठूलो धक्का कुनै न कुनै दिन आउने नै छ, कहिले आउँछ भन्ने कुरो मात्र हो ।

(वातावरण र प्रकृति विषयमा विशेष रुचि राख्ने दीक्षित पत्रकार हुनुअघि भूगर्भशास्त्रका विद्यार्थी थिए ।)

commercial commercial commercial commercial