प्रबलीकृत भवन : ढुक्क बालबालिका

वैशाख १२ को भूकम्पले देशका थुप्रै विद्यालयमा क्षति पु¥याएको भए पनि मकवानपुरको राष्ट्रिय मावि सुनाचुरीका बालबालिका भने आफूहरू पूर्ण सुरक्षित रहेको बताउँछन् । उक्त माविको कक्षा १० का छात्र कीर्तिमान प्रजा आफूले पढ्ने कक्षाकोठामा कुनै पनि समस्या देख्तैनन् । भूकम्पबाट मकवानपुरका धेरै विद्यालय भवन लडेको र ५ जना विद्यार्थीको ज्यान गएको थियो ।

कीर्तिमान जस्तै कक्षा ७ मा पढ्ने पार्वती परियारलाई पनि आफूले पढ्ने कक्षाकोठा प्रबलीकरण (रेक्टोफिटिङ) गरेपछि ढुक्क लाग्ने गरेको छ । आफू असुरक्षित रूपमा बसिरहेको छु भन्ने महसुस भयो भने बालबालिकाले सिक्नुपर्ने कुरा सिक्न सक्तैनन् ।

राष्ट्रिय माविको १२ कोठे भवन गएको वर्ष २६ लाख खर्च गरेर प्रबलीकरण गरिएको थियो । मकवानपुरको पहिलो र एक मात्र प्रबलीकृत (रेक्टोफिटेड) भएको यो विद्यालयमा ७०० बालबालिका अध्ययन गरिरहेको प्रधानाध्यापक युवराज शर्माले जानकारी दिए । विद्यालयमा भूकम्प प्रतिरोधी मात्र होइन, चट्याङबाट बच्ने प्रविधि (लाइट्निङ रड) पनि जडान गरिएको छ । विद्यालयको ६ सय मिटर वरपर परेको चट्याङले क्षति नगर्ने गरी चट्याङ प्रतिरोधी प्रविधि जडान गरिएको पूर्वप्रधानाध्यापक होमलाल स्याङ्तानले बताए ।

२०६० सालमा निर्माण भएको बिनापिलरको उक्त भवन प्लान मकवानपुरको सहयोगमा रेक्टोफिटिङ भएको हो ।
वैशाख १२ को भूकम्पले राष्ट्रिय माविका दुइटा ब्लकमा क्षति पु¥याए पनि प्रबलीकृत गरेको भवन भने कतै पनि नचर्केको विव्यस अध्यक्ष गोपीलाल मोक्तानले बताए । ‘रेक्टोफिटिङ’ पछि भवनको आयु ७५ प्रतिशत बढ्ने प्राविधिकहरूको कथन छ ।

राष्ट्रिय माविमा जस्तै ‘रेक्टोफिटिङ’ गर्नुपर्ने विद्यालय भवन मकवानपुरमा १ सय ५० भन्दा बढी रहेको जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद पौडेलले बताए । सामान्य मर्मत गरेर सुरक्षित नहुने विद्यालय, जसका भवन बलियो र टिकाउ हुने खालका छन्, त्यस्ता विद्यालयलाई रेक्टोफिटिङ गर्न प्राविधिकले सिफारिश गरेको जिशिअ पौडेलले जानकारी दिए ।

भानुभक्त आचार्य÷हेटौडा

commercial commercial commercial commercial