टेडी, अत्तर र हामी शिक्षक

टेडीले मिस थमसनको कानमा कानेखुसी गर्दै भन्यो, “म्याडम, तपाईंलाई धेरै धेरै धन्यवाद छ ममाथि विश्वास गर्नुभएकोमा । र, धन्यवाद छ मलाई आपूmलाई चिन्न र ‘मैले गर्न सक्छु’ भन्ने विश्वास दिलाउनुभएकोमा ।” मिस थमसनले आँखाभरि आँसु पार्दै भनिन्, “टेडी, तिमीले गलत बुझयौ । ‘केही गर्न सक्छु’ भन्ने मलाई सिकाएको तिमीले हो । मैले तिमीलाई भेट्नुअघि कसरी पढाउने भन्ने कुरा जानेकी थिइनँ ।”

हामी शिक्षक । हामी भाषाका शिक्षक । विज्ञान र गणितका शिक्षक । सामाजिक शिक्षा र स्वास्थ्य शिक्षाका शिक्षक । हामी पाठ्यक्रम र पाठ्यपुस्तक शैक्षिक सत्रमा पूरा गर्ने जिम्मा लिएका शिक्षक । हामीसँग पढाउने योजना छ, र छ तोकिएको समय पनि । ‘मैले त मेरो कोर्स पूरा गरें’ भनेर सहकर्मीलाई सुनाउँदा दंग पर्छौं हामी । तर हामीले पढाउनुपर्ने गणित, विज्ञान, भाषा जस्ता विषयहरू नै हुन् त ? हामीले पढाएको कोर्स पूरा हुन्छ त ? हाम्रो खास जिम्मेवारी त बालबालिकालाई पो पढाउने हो, न कि विषय । तर हामी विषय पढाएर बालबालिकालाई पढाएको भ्रममा किन बसिरहेका छौँ ?

यो भनाइबाट छक्क पर्नु पर्दैन । जहाँ शिक्षकको पद नै ‘अंगे्रजी शिक्षक’, ‘गणित शिक्षक’, ‘विज्ञान शिक्षक’ भन्ने तोकिएको हुन्छ, त्यहाँ उनीहरूलाई ‘बालबालिकाको शिक्षक’ बन्न सजिलो पनि हुँदैन । तर जहाँ शिक्षक ‘बालबालिकाको शिक्षक’ हुन चाहन्छन्, ‘बालबालिकाको शिक्षक’ हुने संकल्प गर्छन् र त्यसका लागि प्रयास गर्छन्, त्यहाँ उनीहरूले धेरै ठूला परिवर्तन गर्न सक्छन् ।

यहाँ हरेक शिक्षक, शिक्षा शास्त्री वा विद्यालय सञ्चालक, प्रशासकका लागि उपयोगी हुने एउटा अंग्रेजी कथाको सम्झ्ना हुन्छ । यस कथाका मूल लेखक अज्ञात छन् तर यो कथा संसारभर प्रसिद्ध छ । कथा एउटा बालक टेडी र उसकी गुरुमा मिस थमसनको हो ।

मिस थमसनले शैक्षिक सत्रको पहिलो दिन कक्षा पाँचका बालबालिकाहरूका अगाडि उभिएर भनिन्, “म कक्षाका सबै बालबालिकालाई बराबर माया गर्छु ।” मुखले भने पनि सबै बालबालिकालाई बराबर माया गर्नु सजिलो थिएन । सबभन्दा अगाडिको बेन्चमा लत्रक्क परेर बसेको एउटा सानो केटो थियो टेडी स्टोडार्ड । मिस थमसनले उसलाई अघिल्लो वर्षै याद गरेकी थिइन्— ऊ अरू बालबालिकाहरूसँग राम्रोसँग खेल्दैनथ्यो, उसका लुगा खुजुमुज्ज परेका हुन्थे, र उसले महिनौंसम्म पनि नुहाएको हुँदैनथ्यो । मिस थमसनलाई ऊ यति मन पर्दैनथ्यो कि उसको उत्तर पुस्तिकामा रातो मसीले कोरेर सिरानमा शून्य लेख्ता उनलाई निकै आनन्द आउँथ्यो । अनि कसरी गरिन्थ्यो सबैलाई बराबर माया ?

विद्यालयमा कक्षा शिक्षकले हरेक शैक्षिक सत्रको शुरूमा विद्यार्थीका अघिल्लो कक्षाका रेकर्डहरू पढ्नुपर्ने नियम थियो । तर मिस थमसनले टेडीको फाइल अरू सबैको पढिसकेपछि मात्र पढ्ने निधो गरिन् । खासमा, उनलाई उसको रेकर्ड पढ्ने मनै थिएन तैपनि पढ्नु त पथ्र्यो नै । जब पढिन्, उनी तीनछक परिन् ।

कक्षा एककी शिक्षकले टेडीको रिपोर्ट कार्डमा लेखेकी थिइन्— “टेडी तेज बच्चा हो, ऊ मीठो हाँस्छ । उसले आफ्नो काम सफा तरीकाले गर्छ र चालचलन राम्रो छ ।” कक्षा दुईकी शिक्षकले लेखेकी थिइन्— “टेडी उत्तम विद्यार्थी हो र उसलाई कक्षाका साथीहरूले खुब मन पराउँछन् । तर उसकी आमा सिकिस्त बिरामी भएकाले ऊ निकै विचलित छ ।” तीन कक्षाकी शिक्षकले लेखेकी थिइन्— “आमाको मृत्युका कारण टेडी एकदम एक्लिएको छ । ऊ पढाइमा सक्तो कोशिश गर्छ तर उसका बाबुले केही मतलब गर्दैनन् । केही उपाय नगर्ने हो भने उसको घरको अवस्थाले उसलाई बरबाद पार्नेछ ।” अनि कक्षा चारकी शिक्षकले लेखेकी थिइन्— “टेडी विक्षिप्त छ । अध्ययनमा रुचि देखाउँदैन । उसका खासै साथी पनि छैनन् र कहिलेकाहीँ कक्षामै निदाउँछ ।”

टेडीको पुरानो रिपोर्ट पढिसक्ता मिस थमसनका आँखा खुले । उनलाई आफैसँग लाज लाग्यो । उनलाई अझ् नराम्रो त्यतिखेर लाग्यो, जति खेर अरू सबै विद्यार्थीले चम्किला कागजमा रिबनले बाँधेका क्रिसमसका उपहार ल्याएर उनलाई दिए । टेडीले ल्याएको उपहार त सामान किन्दा पसलेले दिएको खैरो कागजको झेलामा थियो ।

उनले टेडीले उपहार ल्याएको झेला खोलिन्, त्यसमा पत्थर हराएको एउटा बाला र पिँधमा अलिकति मात्र बाँकी रहेकोे साधारण अत्तरको सिसी थियो । टेडीको उपहार देखेर अरू विद्यार्थी हाँसे । तर त्यो हाँसो तुरुन्त रोकियो किनकि मिस थमसनले त्यो बाला आफ्नो नारीमा लगाइन् र अलिकति अत्तर पनि छर्किन् ।

कक्षा सकिएपछि मिस थमसन बाहिर निस्कँदा टेडी पर्खिरहेको थियो । उसले मिस थमसनलाई भन्यो, “मिस, आज तपाईं मेरी आमा जस्तै बसाउनुभएको छ ।”

चार बजिसकेको थियो । सबै विद्यार्थी घर गए तर मिस थमसन एक घण्टासम्म स्कूलमै बसिन् । उनको मन पटक पटक भरियो र आँखाबाट भावना पोखियो । त्यस दिनदेखि उनले भाषा, हिसाब, विज्ञान आदि ‘विषय’ पढाउन छाड्ने र ‘बालबालिका’ लाई पढाउने अठोट गरिन् । उनले टेडीलाई विशेष ध्यान दिन थालिन् । उनी उसलाई जति सघाउँथिन्, ऊ त्यत्तिकै राम्रो गथ्र्यो । त्यस शैक्षिक सत्रको अन्त्यसम्ममा टेडी सामान्य विद्यार्थी भइसकेको थियो । उनी सबैलाई उत्तिकै माया गर्ने प्रयास गर्थिन् तर पनि उनका लागि टेडीको स्थान अलिकति विशेष नै थियो ।

कक्षा ६ को पढाइका लागि टेडीका बाबुले उसलाई अर्कै ठाउँको स्कूलमा लगे । एक वर्षपछि मिस थमसनको ठेगानामा एउटा चिठी आयो । त्यो चिठी टेडीले लेखेको रहेछ । उसले लेखेको थियो, “मिस, मैले कक्षामा राम्रो गरेँ । यो कुरा अरूलाई थाहा हुनुअघि तपाईंलाई सुनाउन मन लाग्यो ।”

६ वर्षपछि मिस थमसनको घरमा अर्को चिठी आयो । टेडीले कक्षा १२ मा तेस्रो स्थान ल्याएछ । उसले यस पटक पनि लेखेको थियो, “मिस यो कुरा अरूलाई थाहा हुनु अघि तपाईंलाई सुनाउन मन लाग्यो ।”

अर्को चार वर्षपछि अर्को चिठी आयो । समस्या र अल्झ्न त धेरै आएछन् तर टेडी कलेज पढ्दै रहेछ । र अझ् पनि उसका लागि सबैभन्दा उत्तम र मन पर्ने शिक्षक मिस थमसन नै रहिछन् । त्यसको चार वर्षपछि फेरि अर्को चिठी आयो । टेडी डक्टर भएछ । समय धेरै बितिसकेको थियो तर उसले यस पटक पनि पहिलेकै पारामा लेखेको थियो, “मिस यो कुरा अरूलाई थाहा हुनुअघि तपाईंलाई सुनाउन मन लाग्यो । किनभने आजसम्म पढेका शिक्षकहरूमध्ये सबैभन्दा मन पर्ने शिक्षक तपाईं नै हो ।”
यस पटकको चिठीमा भने उसको नाम फरक किसिमले लेखिएको थियो । चिठीको अन्त्यमा उसले हस्ताक्षर गर्दा लेखेको थियो— थ्योडोर एफ स्टोडार्ड, एम.डी. ।

कथा यहाँ टुंगिदैन । त्यसपछिको वसन्त ऋतुको बेला चिठी आयो टेडीको । लेखेको थियो— उसले एउटी केटी भेटेछ र बिहे गर्ने कुरो मिलेछ । उसका बाबु केही वर्ष पहिले बितेछन् । मिस थमसनलाई उसको बिहेको मण्डपमा बेहुलाकी आमाका ठाउँमा बसिदिन अनुरोध गरेको थियो ।

त्यस्तो निम्तोमा मिस थमसन नजाने कुरै भएन । गइन् । उनले टेडीले वर्षौं पहिले क्रिसमसमा उपहार दिएको पत्थर हराएको बाला लगाइन् र त्यही अत्तर छरिन्, जुन अत्तर लगाउँदा मिस थमसन उसलाई आफ्नी आमा जस्तै लागेकी थिइन् । भेट्नासाथ उनीहरू दुवैले एकअर्कालाई अंकमाल गरे । टेडीले मिस थमसनको कानमा कानेखुसी गर्दै भन्यो, “म्याडम, तपाईंलाई धेरै धेरै धन्यवाद छ; ममाथि विश्वास गर्नुभएकोमा । र, धन्यवाद छ मलाई आपूmलाई चिन्न र ‘मैले गर्न सक्छु’ भन्ने विश्वास दिलाउनुभएकोमा ।” मिस थमसनले आँखाभरि आँसु पार्दै भनिन्, “टेडी, तिमीले गलत बुझयौ । मैले ‘केही गर्न सक्छु’ भन्ने मलाई सिकाएको तिमीले हो । मैले तिमीलाई भेट्नुअघि कसरी पढाउने भन्ने कुरा जानेकी थिइनँ ।”

यो कथा सत्य घटना नै हो वा काल्पनिक कथा, थाहा छैन । तर यो कथाले शिक्षकले केसम्म गर्न सक्छन् भन्ने कुराको राम्रो दृष्टान्त प्रस्तुत गरेको छ । हामी भन्छौं— कोर्स, पाठ्यपुस्तक, सामग्री, कार्य तालिका । बालबालिका त अन्त्यमा मात्र आउँछन् हाम्रो गणनामा । जसलाई सिकाउन हामी लागिपरेका छाँै, उनीहरूलाई नै छेउमा राख्छौं हामी, केन्द्रमा होइन । हामी विषय पढाउँछौं, कोर्स पढाउँछौं, बालबलिकालाई होइन । यदि हामी मिस थमसन बन्न सक्यौं भने हामीले थुपै्र टेडी तयार गर्न सक्छौं । कोर्स पूरा गर्ने कि बालबालिकालाई पढाउने, छनोट हाम्रो ।

स्कूल अफ एजुकेशन, काठमाडौं विश्वविद्यालय

commercial commercial commercial commercial