स्कूल खुलेपछि..."धमिलिएको शैक्षिक वातावरण कसरी सङ्ल्याउने ?"

ढिलोचाँडो तराई–मधेसका विद्यालयहरू खुल्ने नै छन् । तर, लामो आन्दोलनका कारण धमिलिएको त्यहाँको सामाजिक र शैक्षिक परिवेशलाई सङ्लो पारेर पठनपाठनका निम्ति कसरी सहज वातावरण बनाउने ? प्रस्तुत छन् केही उपयोगी सुझव—

‘बन्द हडतालको समयमा पनि विद्यालय निर्वाध रूपमा चल्न दिनुपर्छ, विद्यालय शान्ति क्षेत्र हुन्’ भनेर नेपालका सबैजसो राजनीतिक दल र नेताहरूले सिद्धान्तत: स्वीकार गरेका छन् । तर पनि व्यवहारमा यसो हुन सकेको छैन । विद्यालयको पठन–पाठन बिथोल्ने क्रम अहिले पनि जारी नै छ । पढ्न–खेल्न पाउने बालबालिकाको नैसर्गिक अधिकारमाथि प्रहार गर्नेमा राजनीतिकर्मी मात्र छैनन्, स्वयं शिक्षक र अभिभावक समेत छन् । आन्दोलन, हडताल जति लम्ब्याए पनि एक दिन टुंग्याउनै पर्छ । शिक्षकहरूलाई जतिसुकै चित्त नबुझ्े पनि तिनले कक्षामा विद्यार्थीसामु उभिनै पर्छ र विद्यार्थीले पढ्नै पर्छ ।

तर, लामो र कटुतापूर्ण आन्दोलन पश्चात विद्यालयमा फर्किएका शिक्षक तथा विद्यार्थीलाई पुन: शिक्षण सिकाइ क्रियाकलापमा सहज ढंगले सहभागी हुने वातावरण कसरी बनाउने ? आन्दोलनको क्रममा मौलाएको आक्रोश र संकोचलाई कसरी निकास दिने ? यस्तो बेलामा विद्यार्थीका मनमा थुप्रिएका थुप्रै अनुत्तरित प्रश्नको कसरी सामना गर्ने ? साथै, यस्तो माहोल छिचोलेर पाठ्यक्रमले निर्धारण गरेको सिकाइ उपलब्धि हासिल गर्न÷गराउन केकस्ता प्रयास गर्न सकिन्छ  ? यी र यस्तै प्रश्नहरूको जवाफ पहिल्याएर आन्दोलन पछिको स्थितिलाई सहज तुल्याउन सघाउने उद्देश्यले यो आलेख तयार पारिएको छ ।

१. लामो बन्दले विद्यार्थीमा पर्न सक्ने असर
क) प्रत्यक्ष असर
बन्द हडताल तथा आन्दोलनका बेला कतिपय विद्यार्थी तथा शिक्षक घाइते या अंगभंग हुन सक्छन् । कसैको मृत्यु समेत भएको हुन सक्छ । कति विद्यार्थीका अभिभावक पनि आन्दोलनको मारमा परेका हुन सक्छन् । यस्तो पूर्वजानकारी राख्नाले प्रभावित विद्यार्थीसँग कसरी व्यवहार गर्ने या उनीहरूलाई कसरी सहयोग गर्ने भन्ने योजना बनाउन सहयोग पुग्छ ।

ख) मानसिक असर
कपिलवस्तुको फुलकलि निमाविका शिक्षक रेशमलाल खनाल भन्छन्, “बन्द र हडतालले विद्यार्थी एकदम नकारात्मक भएका छन्; पढ्ने मनस्थितिमा गिरावट आएको छ ।” हुन पनि आन्दोलनले विद्यार्थीमा धेरै किसिमका मानसिक समस्या पैदा गरिदिएको हुन सक्छ । जस्तै लामो समय विद्यालय जान नपाउँदा पढाइ छुटेको चिन्ता, परीक्षामा पास हुन नसक्ने, विद्यालय चलेको स्थानका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न नसक्ने आदि चिन्ताका कारण विद्यार्थीमा नजानिँदो तनाव पैदा भएको हुन सक्छ । कतिपय विद्यार्थीमा ‘अब पढ्न सक्तिनँ कि’ जस्तो लाग्ने, विद्यालय जान मन नलाग्ने, खान मन नलाग्ने, रीस उठ्ने वा झ्र्कोफर्को गर्ने, निद्रा नलाग्ने आदि ‘डिप्रेसन’ का लक्षण पनि देखिन सक्छन् । यस्तै खालको प्रभाव शिक्षक र विद्यालय कर्मचारीहरूमा पनि परेको हुन सक्छ ।

ग) धारणागत प्रभाव
शिक्षक र विद्यार्थीले विद्यालय नखुलेको समयमा पनि समाजमा हुने विविध गतिविधिबाट निरन्तर केही न केही सिकिरहेका हुन्छन् । यस्ता सिकाइ सकारात्मक र नकारात्मक अथवा उपयोगी र अनुपयोगी दुवै हुन सक्छन् । आन्दोलन, बन्द तथा हडताल जस्ता गतिविधिबाट विद्यार्थी तथा शिक्षकले प्राय: शिक्षण सिकाइ क्रियाकलापमै बाधा पु¥याउने कुराहरू पनि सिक्छन् । विशेषत: यस्तै सिकाइले गर्दा विद्यार्थीमा नकारात्मक भाव विकास भएको हुन सक्छ । सामान्यत: यस्ता आन्दोलन सरकार, राज्य तथा शासन सत्तामा रहेका वर्ग वा जातिको विरोधमा हुने हुनाले सो समूहप्रति नकारात्मक धारणाको प्रचार बढाइचढाइ मात्रामा हुन्छ । त्यसबाट नै आपसमा पूर्वाग्रह र घृणा भाव पैदा भएको हुन सक्छ । एक थरी शिक्षकहरूप्रति अर्का थरी शिक्षक र विद्यार्थीसमेत नकारात्मक भएका हुन सक्छन् । यस्तो बेलामा विद्यार्थीहरूलाई सामान्य पठनपाठनमा प्रवेश गराउनु अघि विद्यालयले केही पूर्वतयारी गर्नु राम्रो हुन्छ । अर्थात् परिस्थितिको संवेदनशीलतालाई ध्यानमा राखी विद्यालय खुल्नु अगाडि र खुल्ने बित्तिकै सामान्यीकरणका निम्ति केही क्रियाकलापहरू सञ्चालन गर्नु उपयुक्त हुन्छ ।

२. विद्यालय खोल्नु के गर्न सकिन्छ ?
‘बन्द कहिले खुल्ने हो’ भनेर अन्योलमा परेर बस्नुभन्दा विद्यालय पुन:सञ्चालनका लागि परिवार तहमा अभिभावकले र विद्यालय तहमा व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक र विद्यार्थीले समेत पहलकदमी गर्नु आवश्यक हुन्छ । लामो समय विद्यालय बन्द रहँदा विद्यार्थीको दैनिक रुटिन बदलिएको हुन्छ । उनीहरूको सुत्ने, उठ्ने, खाना खाने, पढ्न बस्ने, खेल्ने, काम सघाउने आदि बानी र समय फेरिएर कतिपयमा दिउसो सुत्ने, राति ढिलोसम्म नसुती बस्ने, पढाइभन्दा पनि अन्य विषयमा समय बिताउने, टेलिभिजन, खेलकुद आदिमा अत्याधिक रमाउने बानी विकास भएको हुन सक्छ ।

कपिलवस्तुको थुनिया गाविसस्थित दुर्गेशनन्दनी प्राथमिक विद्यालयका शिक्षकहरूको अनुभवमा बन्द हडतालको समयमा बालबालिका बढीभन्दा बढी खेल्ने, घुम्ने तर पढ्ने काममा समय नदिने गरेको पाइयो । त्यसैले लामो अवधिसम्म विद्यालय बन्द रहेपछि विद्यार्थीहरू पुन: पठनपाठनमा लगाउनुअघि उनीहरूलाई केही दिन तयारी क्रियाकलाप गराउनु राम्रो हुन्छ । यस्तो तयारी घरबाटै प्रारम्भ गर्न पनि सकिन्छ ।

क) घरपरिवार तहमा गर्न सकिने पूर्वतयारी क्रियाकलाप

  • विद्यार्थीलाई विद्यालय खुलेपछि साथीहरूसँग भेट हुने, लेखपढ र खेलकुदमा सहभागी हुन पाइने कुरा बताएर विद्यालयप्रति सकारात्मक भाव पैदा गराउने ।
  • विद्यालय खुल्ने अनुमानित समय अगावै विद्यालय जाँदा अपनाउनुपर्ने समय तालिका अनुसारका सुत्ने, खाने, पढ्ने जस्ता बानीको विकासका लागि प्रेरित गर्ने ।
  • बन्द हडतालले गर्दा पढाइ छुटे पनि घरमा निश्चित समय पढ्ने र आफूभन्दा जान्ने दाजु, दिदी वा अन्य व्यक्तिहरूसँग बसेर लेखपढ गर्ने वातावरण मिलाउने । यसले गर्दा उनीहरूमा ‘पढाइ छुटे पनि आउने दिनमा मैले राम्रो नतिजा ल्याउन सक्छु’ भन्ने आत्मविश्वास बढाउन सहयोग पुग्छ ।
  • कक्षा आठ, एसएलसी र कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीहरू जिल्ला र राष्ट्रिय तहको परीक्षामा समावेश हुनुपर्ने भएकाले उनीहरूलाई विशेष ध्यान दिनु पर्छ । यी तहको परीक्षा परिणामको आधारमा भविष्यमा उच्च शिक्षाका लागि स्तरीय शैक्षिक संस्था पाउने नपाउने कुरा निर्भर हुने भएकाले यसको विशेष महŒव छ ।
  • विद्यार्थीहरूलाई राजनीतिक रूपमा हुने बन्द र हडतालका क्रममा परिचालन गर्ने जोखिमपूर्ण क्रियाकलापबाट जोगाउने, त्यस्तो क्रियाकलापमा जान नदिने, साथै उनीहरूलाई यो वा त्यो समुदाय, धर्म, भाषा, जाति, रंग आदिप्रति घृणा फैलने खालका कुराहरूबाट टाढै राख्नुपर्छ । यसो गर्नु सधैँ र सबैका लागि हितकारी हुन्छ ।
  • आफ्ना छरछिमेकमा बसोबास गर्ने विद्यार्थीहरूलाई निश्चित समय मिलाएर शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न स्थानीय शिक्षकलाई अनुरोध गर्ने । यसका लागि आवश्यक परे विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकसँग छलफल गर्नुपर्छ ।
  • विद्यालय खुल्ने दिनभन्दा केही अगावै विद्यालयमा आवश्यक पर्ने किताब, कापी, झेला, आवश्यक औजारहरू, विद्यालयको पोशाक आदि तयारी अवस्थामा राख्न लगाउँदा विद्यार्थीलाई विद्यालय जानका लागि मानसिक रूपमा तयार हुन सहयोग पुग्छ ।

ख) विद्यालय तहमा
विद्यालय पुन:सञ्चालन योजना निर्माण तथा सोको कार्यान्वयन विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा प्रधानाध्यापकले विद्यालय बन्द भएको अवस्थामा पनि ‘कसरी निरन्तर शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने, कसरी बालबालिकाको शिक्षा पाउने अधिकार सुनिश्चित गर्ने, कसरी विद्यार्थीमा बन्द हडताल जस्ता गतिविधिबाट परेका प्रभाव कम बनाउने’ आदिबारेमा विद्यालय खुल्नुभन्दा अगावै योजना बनाउनु पर्छ । यस्तो योजना बनाउँदा निम्न कुराहरूमा ध्यान दिनु राम्रो हुन्छ ।

  • बन्द हडताल आदिले विद्यालयमा पुगेको भौतिक क्षति भएको भए त्यसको आँकलन र अवस्था,
  • यसले विद्यार्थीको शैक्षिक, मानसिक अवस्था र अन्यमा पारेको प्रभाव,
  • विद्यालय पुन:सञ्चालन गर्नका लागि तत्काल गर्नुपर्ने क्रियाकलाप, स्रोत, जिम्मेवारी तथा समय,
  • विद्यालय पुन:सञ्चालन तयारीका लागि शिक्षकका निम्ति कम से कम एकदिने अभिमुखीकरण कक्षा सञ्चालन गर्नु उपयुक्त हुन्छ । त्यस्तो कक्षामा विद्यालयमा पहिलो दिन, पहिलो हप्ता र पहिलो दुई हप्तासम्म कसरी पुन:समायोजन सम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने भन्ने बारेमा चर्चा र अभ्यास गराउन सकिन्छ । यस्तो प्रशिक्षण कक्षा सम्भव भएसम्म स्रोत व्यक्ति वा विद्यालय निरीक्षकले सञ्चालन गर्नुपर्छ । प्रशिक्षणको क्रममा विद्यालय खुलेको पहिलो दिन केके गर्ने, पहिलो हप्ता के गर्ने र अवस्था सामान्य नभइन्जेल के कस्ता क्रियाकलाप सञ्चालन गर्ने भन्ने योजना पनि बनाउनुपर्छ ।
  • विद्यालयका कक्षाकोठा, कम्पाउन्ड तथा परिसरको सरसफाइ साथै राजनीतिक नारा आदि लेखिएका मेटाउने ।
  • वार्षिक हिसाबमा विद्यालय खुल्ने दिन २२० भन्दा कम हुने भए सो पूर्ति गर्न बिदा कटौती, बिहान वा बेलुकी थप कक्षा सञ्चालन आदि उपायहरू अपनाउने कुरालाई योजनामा समावेश गराउने,
  • वार्षिक शैक्षिक क्यालेन्डर प्रभावित भएकाले सोको परिमार्जन गर्ने,
  • अभिभावकहरूसँग सरसल्लाह लिएर शनिवारको दिन पनि पछाडि परेका विषयहरूको कक्षा सञ्चालन गर्ने,
  • अभिभावकहरूले बालबालिकालाई घरमा बढीभन्दा बढी समय पढ्ने वातावरण मिलाउने तथा सँगसँगै बसेर लेखपढमा सहयोग गर्ने,
  • घरदैलो कार्यक्रम तथा अभिभावक भेला गरी सामान्य अवस्थामा पनि नियमित विद्यालय नआउने विद्यार्थीलाई विद्यालयमा नियमित पठाउन पहल गर्ने,
  • शिक्षकहरू सकेसम्म बिदामा नबसी नियमित पठनपाठन गराउने । कुनै पनि शिक्षकका लागि आवश्यक तालीम सञ्चालन गर्दा वा तालीममा पठाउँदा बिदाको दिनमा वा विद्यालय समय नपर्ने गरी मात्र सञ्चालन गर्ने गराउने,
  • कक्षा ८, एसएलसी, कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि अतिरिक्त कक्षा सञ्चालन गर्ने,
  • वार्षिक परीक्षा सञ्चालन चैत महीनाको अन्त्यतिर गर्ने, विभिन्न बिदाहरूमा कटौती गर्ने र कक्षा सञ्चालन गर्ने ।

३. विद्यालय खुले पछि के गर्न सकिन्छ ?

सञ्चालन भएपछि गर्नुपर्ने क्रियाकलाप
विद्यालय खुल्यो भन्ने बित्तिकै सम्पूर्ण समाज तरंगित हुन्छ, किनकि यसले समाजका अधिकांश मानिसलाई प्रत्यक्ष प्रभाव पार्छ । यसैले, विद्यालय सञ्चालन हुने दिन निश्चित भएपछि त्यससँग प्रत्यक्ष सरोकार राख्ने पक्षहरूले विद्यालय खुलिसकेपछिको परिस्थितिमा केके गर्ने, कसरी गर्ने भनेर पहिल्यै पर्याप्त छलफल गर्नु राम्रो हुन्छ ।

क) पहिलो दिन
विद्यालय खुल्नुभन्दा अगावै विद्यालय सरसफाइ गरी चिटिक्क बनाइराख्नु पर्छ । यसले विद्यालय आउने विद्यार्थी तथा शिक्षकको मन सकारात्मक र उज्यालो हुन्छ । मुख्य द्वारमा शिक्षकहरूले हरेक विद्यार्थीलाई मुस्कुराएर स्वागत गर्ने । सम्भव भएमा हरेक विद्यार्थीलाई चकलेट वा फूल आदि दिएर पनि स्वागत गर्न सकिन्छ । सबै विद्यार्थी विद्यालय भित्र आइसकेपछि घण्टी लगाएर सबैलाई विद्यालयको चौरमा भेला गराउने । भेलामा प्रधानाध्यापकले विद्यार्थीलाई पुन:स्वागत गर्दै भावी दिनका कार्यक्रम र योजनाबारे जानकारी गराउनु पर्छ । प्रधानाध्यापकले आफ्नो भनाइ राख्ने क्रममा निम्न विषय समेट्न सक्छन् :

  • बन्द हडतालको समयमा विद्यालय खोल्न नसकिएको र त्यसबाट विद्यार्थीहरूमा परेका प्रत्यक्ष÷परोक्ष मानसिक तथा अन्य प्रभावका लागि आफू र विद्यालय परिवारलाई पीडा भएकोे कुरा जानकारी गराउने,
  • विद्यार्थीले बिनारोकतोक पढ्ने अधिकारबाट वञ्चित हुनुपरेकोमा दु:ख व्यक्त गर्ने,
  • बन्द हडतालले गर्दा विद्यार्थीमा परेका प्रभावका केही उदाहरण दिँदै त्यसमा विद्यालय चिन्तित रहेको जानकारी गराउने,
  • बन्द हडतालले विद्यार्थीमा पारेको नकारात्मक प्रभाव कम गर्न नियमित पठनपाठनका साथै केही दिनसम्म विशेष कार्यक्रम सञ्चालन गरिने जानकारी गराउने,
  • बन्दको समयमा छुटेको कोर्स सीमित दिनमा पूरा गर्न विद्यालयले के कस्तो योजना बनाएको छ सोको जानकारी गराउने,
  • विद्यार्थीहरूलाई नियमित विद्यालयमा उपस्थित हुन, शैक्षिक गतिविधिमा पूर्ण रूपमा सहभागी हुन र घरमा गएर पनि बढी समय पढाइमा दिन अनुरोध र अभिप्रेरित गर्ने ।

ख) पहिलो कक्षा :
जब विद्यार्थीहरू कक्षामा प्रवेश गर्छन्, कक्षा शिक्षकले ‘विद्यालय खुलेपछिको पहिलो दिनमा सबैलाई स्वागत छ’ भनेर कक्षा प्रारम्भ गर्ने । पहिलो दिनमै विद्यार्थीहरू पाठ पढ्नका लागि तयार हुँदैनन्, त्यसैले पहिलो दिन बन्दको समय विद्यार्थीहरूले के गरेर समय बिताए, यसले उनीहरूलाई कस्तो प्रभाव पा¥यो आदि विषयमा छलफल गर्न सकिन्छ । यसका साथै विद्यार्थीहरूको स्वास्थ्य स्थिति, अहिले परेका समस्याहरू, चिन्ता आदिबारे उनीहरूलाई बोल्न समय दिनु उपयुक्त हुन्छ । यसले गर्दा उनीहरूका मनमा गुम्सिएका कतिपय कुराहरू बाहिर आउन पाउँछन् । उनीहरूले उठाएका कतिपय कुरा राजनीतिक प्रकृतिका, कतिपय पूर्वाग्रही, कतिपय रीस र आवेगपूर्ण पनि हुन सक्छन् । ती कुराहरूलाई शिक्षकले धैर्यपूर्वक सुनेर उनीहरूलाई ‘यो अवस्था धेरै समयसम्म रहँदैन, केही समयपछि ती कुराहरू ठीक हुँदै जान्छन्’ भनेर सकारात्मक सन्देश दिनुपर्छ । यस्तो बेलामा खास गरी एक समुदाय र अर्को समुदायबीचको पूर्वाग्रह, रीस र घृणा फैलाउने विचार र भावनाले समाजमा कसरी हानि पु¥याउँछ भन्ने खालका सन्देश प्रवाह गर्नु बढी उपयोगी हुन सक्छ ।

पहिलो दिन सबै शिक्षकले बन्द हडतालको समयमा आफ्नो विषयमा विद्यार्थीहरूले केके कुरा पढे, उनीहरूले त्यो विषय पढ्दा पाएको जानकारी वा अनुभव कस्तो रह्यो जस्ता विषयगत सिकाइसँग जोडेर छलफल गर्ने । यसका लागि शिक्षकले कुनै एउटा उदाहरण दिएर ‘फलानो विद्यार्थीले बन्दको समयमा यस्तो तरीकाले आफ्नो अध्ययन जारी राखेको थियो, तिमीहरूले के ग¥यौ ?’ भनेर प्रश्न गर्न सक्छन् ।

ग) पहिलो हप्ता :
दोस्रो दिनदेखि शिक्षकले विद्यार्थीहरूलाई पहिले नै पठनपाठन गरिसकेको पाठको पुनरावलोकन गराउनु उपयुक्त हुन्छ । साथै बिस्तारै ५ देखि १० मिनेटमा गर्न सकिने सजिला अभ्यासहरू समूहमा गर्न दिन सकिन्छ । यसले विद्यार्थीमा आत्मबलको विकास हुन्छ । उनीहरूले पहिले पढेका पाठहरू दोहो¥याएर वाचन गर्न लगाउन सकिन्छ । सो वाचन गरिसकेपछि मस्तिष्क मन्थन विधिबाट ती पाठबाट सिकेका कुराहरू भन्न र कालोपाटीमा टिपोट गर्न लगाउन सकिन्छ । बन्द हडतालको नकारात्मक प्रभाव उनीहरूको मस्तिष्कबाट तुरुन्तै मेटिन सक्तैन । यसैले बेलाबेला उनीहरूले गर्ने छलफल, कक्षाका शिक्षण गतिविधिमा बन्दको प्रभाव र वस्तुस्थितिसँग जोडेर पठनपाठन गर्नु राम्रो हुन्छ । यसो गर्दा बन्द हडतालबाट बढी प्रभावित विद्यार्थीसँग एक्लै भेटेर उसका चासो र चिन्ताबारे छलफल गर्नु राम्रो हुन्छ ।

यसरी बिस्तारै पहिलो हप्ताको अन्त्यसम्ममा शिक्षकले नयाँ पाठ पढ्नका लागि विद्यार्थीहरूलाई तयार पार्नुपर्छ । पढ्नुपर्ने पाठ धेरै रहेको तर समय कम मात्र बाँकी रहेको सन्दर्भमा विद्यार्थीले पनि नयाँ पाठ शुरू गर्नुपर्ने कुरालाई स्वीकार गर्न र मेहनत गर्नका लागि तयार हुँदै जान्छन् । कक्षा ६ देखि माथिको तहका विद्यार्थीसँग बन्दको समयमा छुटेको पाठलाई अगाडि बढाउन केके उपाय अपनाउन सकिएला भनेर छलफल गरी उपायहरूको सूची तयार पारेर विद्यार्थीले सुझएका उपायलाई नै प्राथमिकता दियो भने सो कार्यान्वयन गर्न सजिलो हुन्छ ।

ख्याल राखौँ, शिक्षाको उद्देश्य कुनै पनि हालतमा सामाजिक सद्भाव खलबल्याउने, एक समुदाय र अर्को समुदायबीच खाडल पैदा गर्ने, कुनै एक वा अर्को समुदायप्रति पूर्वाग्रह र घृणा बढाउने साथै राज्य र सरकारप्रति नकारात्मक भाव पैदा गराउने हुन सक्तैन । त्यसैले त्यस्ता विषयमा कक्षामा छलफल गर्दा सकेसम्म आफ्नो व्यक्तिगत विचार र आस्थाका आधारमा भन्दा पनि शिक्षाको वृहत्तर उद्देश्य र पाठ्यक्रमले निर्धारण गरेको सिकाइ उपलब्धि हासिल गर्ने कुरामा केन्द्रित गर्नुपर्छ ।

घ) दोस्रो हप्ता र त्यसपछि
विद्यालय खुलेको १० देखि १५ दिनसम्म विद्यार्थीमा समायोजनको समय हुने भएकाले उनीहरू लामो लामो प्रवचन सुन्न र बुझन नसक्ने तथा नचाहने हुन्छन् । तैपनि दोस्रो हप्तादेखि क्रमश: पाठ्यक्रमले निर्धारण गरेका सिकाइ उपलब्धि वा क्षमता हासिल गर्न÷गराउन क्रियाकलापमुखी शिक्षण गराउनै पर्ने हुन्छ । त्यसनिम्ति विद्यार्थीको मानसिकतालाई ध्यानमा राखेर शिक्षकले उपयुक्त कार्यविधि चयन गर्नुपर्छ । कक्षागत क्रियाकलाप गराउँदा शुरूमा फरक फरक लिंग, भाषा, समुदाय आदिको छुट्टै समूह निर्माण गर्नुपर्छ ।

विद्यार्थीहरूबीचमा आपसी सामुदायिक सद्भाव कायम राख्न विद्यालय सदैव चनाखो रहनुपर्छ । शिक्षक र विद्यार्थीले कुनै पनि समुदायप्रति आग्रह, पूर्वाग्रह राखेर व्यवहार गरेको पाइएमा प्रधानाध्यापकले त्यसलाई तत्काल सम्बोधन गर्नुपर्छ र विविध समुदायका विद्यार्थी–विद्यार्थी र शिक्षक–शिक्षकबीचको आपसी सद्भाव बिग्रन नदिन सचेत रहनुपर्छ ।

अन्त्यमा, लामो बन्द हडतालले गर्दा विशेषत: मध्य र पूर्वी तराई÷मधेसका विद्यार्थी पीडित बनेका छन् । उनीहरूको पढाइ छुटेको छ । छोटो समयमा कोर्स भ्याउनुपर्ने दबाब छ । त्यसका बाबजुद उनीहरू अन्य स्थानका विद्यालयको तुलनामा पछाडि परिएला भनेर चिन्तित बनेको अवस्था छ । यो चुनौती सामना गर्न अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले समयमै योजना बनाई विद्यार्थीलाई सिकाइ उपलब्धि हासिल गर्ने र नेपालका अन्य स्थानका विद्यालयसरह बन्दबाट प्रभावित विद्यालयको शिक्षालाई अगाडि बढाउने सक्रियता देखाउनुपर्छ । अन्यथा बन्द प्रभावित क्षेत्रका विद्यार्थीहरू औसत नेपालको तुलनामा निकै पछाडि पर्ने र त्यसले त्यस क्षेत्रका बालबालिकाको सुदूर भविष्यमा समेत नकारात्मक प्रभाव परिरहन सक्नेछ ।

commercial commercial commercial commercial