तोत्तो–चान पढेपछि...

शिक्षक मासिक समग्र शिक्षाको उन्नयनका लागि समर्पित पत्रिका हो । यो मूलतः सार्वजनिक विद्यालयका सफल कथाहरू प्रस्तुत गरेर सार्वजनिक शिक्षाकै सुधार र विकासमा लागिपरेको छ । यसले शिक्षक, विद्यार्थी र अभिभावकहरूका लागि नपढी नहुने कृतिहरू पनि प्रकाशन गर्दै आएको छ । बालकहरूका महात्मा गान्धी भनेर चिनिने प्रसिद्ध भारतीय लेखक गिजु भाईको दिवास्वप्न कृति केही पहिला प्रकाशन गरेर हामी शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई ऋणी बनाइसकेको छ । यसै क्रममा भर्खरै जापानकी सुप्रसिद्ध कलाकार तेच्चुको कुरोयानागीको संस्मरणात्मक पुस्तक तोत्तो चान झयालमा रमाउने त्यो सानी केटी पाठकसामु प्रस्तुत गरेर अर्को अवर्णनीय गुन लगाएको छ । यहाँ तोत्तो चान पढेपछि त्यसबारे आफूलाई प्राप्त भएका केही रहस्यहरूको उद्घाटन गर्ने जमर्को गरिएको छ ।

संसारभरिका करोडौं पाठकले पढिसकेको र थुप्रै भाषामा अनुवाद भइसकेको कृति हामीसमक्ष डा. सरोज धितालको अनुवाद, शरदचन्द्र वस्तीको सम्पादन, राजेन्द्र दाहालको संयोजन र शिक्षक मासिकको प्रकाशनबाट आइपुगेको छ । उहाँहरू सबैलाई साधुवाद !

यो कृति लेखिका तोत्तो चानको बाल्यकालको संस्मरणको इमानदार प्रस्तुति हो । भर्खर स्कूल जान लागेकी अबोध बालिकाको मानसपटलमा के कस्ता कुराहरू आउँछन् ? समाधानका निम्ति तत्काल उनको मस्तिष्कमा के कुरा सुझाछ ? त्यसको स्पष्ट उल्लेख छ प्रस्तुत कृतिमा ।

पहिलो दिन आमासँग स्कूल गएकी बालिकाले समाउन पाएको रेलको टिकट आफैसँग राख्न अति बल गर्छिन् । तर टिकट संकलनकर्तालाई दिँनै पर्ने भएपछि दिन्छिन् । उनका लागि सर्वस्व भनेको टिकट र सबैभन्दा भाग्यमानी टिकट संकलक मान्छे हुन्छ । जीवनको लक्ष्य बनाउँछिन्— ठूलो भएपछि टिकट बेच्ने । हिँड्दै जाँदा सडकमा गीत गाउने समूहहरू भेटिन्छन् । उनीहरू विज्ञापन गरिरहेका हुन्छन्— अबोध बालिका जीवनको लक्ष्य परिवर्तन गर्छिन् र भविष्यमा गायक बन्ने योजना बनाउँछिन् । यस्तै जीवनका लक्ष्यहरू परिवर्तन गर्दै जाने ती बालिका भविष्यमा प्रसिद्ध कलाकार हुन पुग्छिन् ।

तोत्तो चानलाई एउटा स्कूलबाट निकालिएको हुन्छ । कक्षामा मिसले पढाउँदा तोत्तो चानको ध्यान सडकमा गाइएका गीत, चरा र हिँडिरहेका मानिसहरूप्रति बढी आकृष्ट हुन्छ र झयालमा गएर बस्न मन पराउँछिन् । कक्षामा मिसले पढाउँदा उनी दराजको घर्रा खोल्ने बन्द गर्ने, खोल्ने बन्द गर्ने पटकौं पटक गर्छिन् । उनी किन कक्षामा ध्यान दिन्नन् ? किन कक्षामा जान आलटाल गर्छिन् भन्ने कुरामा शिक्षकको ध्यान जानुपर्नेमा उल्टो उनलाई चकचके बालिका ठानेर स्कूलबाट निकालिएको हुन्छ । छोरी स्कूलबाट निकालिँदा बालिकाकी आमाले कस्तो अनुभव गरिन् ? पीडा सहन गर्ने धैर्य कसरी बटुलिन् ? यी सबैको विवरण छ कृतिमा । आमाले बालिकालाई थाहै नदिई अर्को स्कूलमा लाँदै छिन् । तर उनको मनमा पुरानो विद्यालयकी मिसले बालिकाको बारेमा गरेका सस्ता टिप्पणी र आरोपहरूको महाभारत पनि चलिरहेकै हुन्छ । उनी पटक पटक पुकार गर्छिन्— नयाँ स्कूलले उनकी छोरीलाई सहज रूपमा भर्ना गरोस् र पहिलो स्कूलबाट निकालिएको कुरा छोरीलाई कहिल्यै पनि थाहा नहोस् ।

उनको नयाँ स्कूल सोसोकु कोवायासीले पुरानो रेलको डिब्बामा सञ्चालन गरेको तोमोए स्कूल हुन्छ । अच्चम्म र चमत्कारी घटना नयाँ स्कूलमा घट्छ । प्रधानाध्यापक सोसाकु कोवायासीले सहज रूपमा बालिकाको भर्ना स्वीकार गर्छन् । प्रधानाध्यापक बालिकालाई देख्ने बित्तिकै उनका हरेक क्रियाकलाप र हाउभाउ हाँसी हाँसी ग्रहण गर्छन् । बालिकालाई आफ्ना कुराहरू राख्न अभिप्रेरित गरिरहन्छन् । बालिकाका कुरा बडो ध्यानपूर्वक सुन्छन् । बालिकाले पनि जीवनमा पहिलो पटक आफ्ना कुरा ध्यानपूर्वक सुनिदिने, झिँजो कत्ति पनि नमान्ने र कुनै बेला पनि नरिसाउने एउटा असल साथी, आफन्त सब थोक प्राप्त गर्छिन् । जीवनमा पहिलो पटक बालिका मनमा शान्ति लिँदै खुशीले गद्गद हुन्छिन् । उनी स्कूलबाट घर जान्छिन् । बाटोभरि आमासँग प्रधानाध्यापकको बखान गर्ने र घर पुग्ने बित्तिकै उसको साथी रक्की कुकरलाई नयाँ स्कूलबारे बताउने निर्णय गर्छिन् । बालिकालाई त्यो रात वर्षौं जस्तो लामो लाग्छ । किनकि उनलाई कति खेर फेरि स्कूल पुगौं र प्रधानाध्यापकसँग रमाउँ भन्ने मात्र लागिरहन्छ ।

‘नयाँ स्कूलको रेल रोड स्टेशन’ शीर्षकबाट शुरू भएर उपसंहार सहित ६३ वटा शीर्षकमा सँगालिएको स्मरणका रूपमा एउटी बालिकाको प्राथमिक कक्षाको यथार्थ विवरण हो यो कृति । शिक्षा कसरी प्रदान गर्दा बालबालिका भविष्यमा सफल, क्षमतावान्, मानवीय मूल्यमान्यताप्रति समर्पित, अधिकार र कर्तव्यप्रति सचेत पूर्ण मानव बन्न सक्छन् ? भन्ने कुराको प्रमाण हो तोत्तो चान

प्रधानाध्यापक दिउसोको खानाको समयमा सोध्ने गर्छन्— अलिकति पहाडबाट, ‘अलिकति समुद्रबाट’ ल्याएको छ कि छैन ? पहाडबाट भनेको गेडागुडी, सागपात र समुद्रबाट भनेको माछा, मासु दुवै थरी खाना दैनिक खाँदा आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ भन्ने सन्देश परोक्ष रूपमा सम्प्रेषित गर्छन् । बालबालिकाका लागि गाउने गीत खाउ खाउ साथी हो, चपाएर खाउ, मासुभात माछा सबै चपाएर खाउ  पनि पाचन क्रियासँग सम्बन्धित सन्देश नै हुन्छ । त्यो विद्यालयमा फरक शारीरिक क्षमता भएका बालबालिकाहरूलाई कति आत्मसम्मानका साथ सिकाइन्थ्यो भन्ने प्रतिनिधि पात्र यासु आकिचान भन्ने बालक र उसको सिकाइ उपलब्धिबाट थाहा पाउन सकिन्छ । तोत्तो चान यासु आकिचानलाई अधिक माया गर्छिन् । स्कूल जीवनमै उसको मृत्यले दुखित हुन्छिन् । तर विद्यार्थी रुनुभन्दा पहिला बलिन्द्र धारा आँसु छोडेर खबर भन्न उभिएका प्रधानाध्यापकले नै दुःखको समयमा सहन गर्ने शक्तिको प्रेरणा प्रदान गरेका हुन्छन् । भूतप्रेत जस्ता कुराहरू के हुन् ? भन्ने कुरा बालबालिकालाई नै भूतप्रेतको अभिनय गर्न लगाएर ‘भूतप्रेत केही होइन, केवल मनमा कसैले राखिदिएको भय हो’ भनेर यकिन गराउन सकिन्छ भन्ने राम्रो सन्देश प्रस्तुत कृतिमा पाइन्छ । संगीत र अभिनयमा सबै पारंगत हुन्छन् भन्ने छैन । तर एउटा स्कूलले त्यो वातावरण प्रदान ग¥यो भने सफल हुन सक्छ, त्यसको प्रतिनिधि पात्र हुन मियो चान । स्कूलको वातावरणले जापानमा साहै्र गाह्रो मानिने अंग्रेजी पनि कति सजिलै सिक्न सकिन्छ ? भन्ने प्रतिनिधि पात्र साको माचुयामा हुन् । त्यही स्कूलमा पढेर बच्चादेखि नै विज्ञानमा बढी अभिरुचि भएको तर तोत्तो चानसँग ‘ठूलो भएपछि म तिमीसँग बिहे गर्दिनँ’ भन्ने ताइजी यामानोउची विख्यात भौतिक शास्त्री बनेको सफल कथा हो तोमोए स्कूल ।

तोत्तो चान बारे जति पनि कुराहरू पस्कन सकिन्छ । तर सबै कुरा तोत्तो चान पढेपछि मात्र बोध हुन्छ । एउटा प्रधानाध्यापकले चाह्यो भने राष्ट्रको भविष्य निर्माण प्राथामिक विद्यालयका कक्षा कोठाहरूबाट कोर्न सकिन्छ । यसका लागि समर्पण र बालमैत्री वातावरण आवश्यक पर्छ । सबैको निर्माण शिक्षकले गर्ने हो । अत्यन्त सरल र सहज शैलीमा लेखिएको प्रस्तुत कृति पढ्न थालेपछि नसिध्याई अरू केही काम गर्न मन लाग्दैन । हरेक शीर्षकहरू पढ्दा पुस्तक पढिएको नभई आफैले आफ्नो अनुभव पढेको आभास हुन्छ । शिक्षकहरूले पढ्दा लाग्छ, ‘पटक पटक मेरा विद्यार्थीहरूलाई चिन्न नसकेर म भौतारिएको रहेछु’ भन्ने पीडा बोध हुन्छ । अनुशासन र मर्यादाको गीत गाएर अनावश्यक बोझ् थप्ता रहेछौ भन्ने आभास हुन्छ तोमोए स्कूलको पौडी पोखरीकाट । बालबालिका भविष्यमा के बन्दै छन् र उनीहरूको विज्ञता केमा छ भन्ने कुराको मेसो मेलो नपाईकन हामी विद्यालय सञ्चालन गरिरहेका त छैनौं भनेर घोत्लिन बाध्य बनाउँछ तोत्तो चानले । हरेक बालक कुनै न कुनै प्रतिभा र क्षमताको भण्डार हो । सबैसँगबाट एउटै किसिमको परिणाम अपेक्षा गर्ने पद्धति गलत हो भन्ने सन्देश दिन्छ प्रस्तुत कृतिले ।

बालबालिकाको जन्मका लागि सबैभन्दा महत्वपूर्ण आमाबाबु हुन् । तर जीवन सफल रूपमा जिउने कला सिकाउनका लागि सबै थोक हुन् शिक्षक । अझ् अब्बल दर्जामा छन् प्रधानाध्यापकहरू । शिक्षकले कुन विद्यार्थी माथि कस्तो व्यवहार गर्नुपर्छ ? कुन कुराको कति हेक्का गर्नुपर्छ ? सम्बन्धित बालबालिका र शिक्षकहरूलाई कसरी मार्गदर्शन गर्नुपर्छ ? भन्ने नमूना प्रधानाध्यापक हुन सोसाकु कोवायासी ।

बालबालिकाहरूलाई अभिप्रेरित गर्न पुरस्कारको महत्व कति हुन्छ ? पुरस्कारमा कसरी स्थानीय उत्पादन प्रयोग गर्न सकिन्छ ? आफ्नै घर वरिपरि प्रत्येक दिन उपलब्ध हुने सामग्री पनि कसरी पुरस्कारको रूपमा ग्रहण गराउँदा बालबालिकाहरूले सहज रूपमा स्वीकार्छन् र सम्मानित भएको महसुस गर्छन् ? भन्ने एउटा महत्वपूर्ण सन्देश दिन सफल भएको स्कूल तोमोए हो ।

प्रशंसाबाट बालबालिकालाई कतिसम्म राम्रो गर्न लगाउन सकिन्छ ? भन्ने सकारात्मक सोचको पुलिन्दा हो तोत्तो चान । ‘भोलि सबै काम तिमीहरू आफैले गर्नुपर्छ’ भनेपछि बालबालिकाहरू कति उत्साहित हुन्छन् र कहाँबाट कसरी सिकेर आउँछन् भन्ने एउटा सफलताको सोपान हो तोमोए स्कूलको वनभोज कार्यक्रम । शिक्षकहरू सबै विषयका विज्ञ हुँदैनन् तर विश्वविद्यालयको प्रमाणपत्र नभए पनि विभिन्न विषयका विज्ञहरू गाउँमै हुन्छन्, तिनीहरूको भरपूर उपयोग स्कूलले गर्न सक्छ भन्ने नमूना हुन कृषि सिकाउने तोमोए स्कूलका किसान ।

अन्त्यमा भन्नुपर्दा; तोत्तो चान ‘बालबालिकालाई राम्रोसँग पढौं र चिनौं; उनीहरूका प्रतिभा तथा क्षमताहरू प्रस्फुटनको मार्ग प्रशस्त गरौं; बालबालिकाका कुरा सुनाऔं । उनीहरूकै चाहना, इच्छा र आकांक्षा अनुसार वाधा अड्चनहरू पन्छाउँदै अगाडि बढौं; गाली र दण्ड होइन, माया र पुरस्कारबाट सिक्न अभिप्रेरित गरौं । पुरस्कार र शैक्षिक सामग्रीका लागि स्थानीय रूपमा भरपूर उपलब्ध सामग्रीहरूको प्रयोग गरौं; प्रत्येक दिन विद्यालयलाई थप उत्सुक र सृजनशील बनाऔं’ भन्ने सन्देश बोकेको एउटा पढ्नै पर्ने एउटा कृति हो ।

शिक्षक मासिक, २०७२ कात्तिक अंकमा प्रकाशित ।

commercial commercial commercial commercial