चन्द्रशमशेरका पालामा भारत पठाइएका विद्यार्थीको छात्रवृत्ति सम्बन्धी व्यवस्था– ३

(गतांकबाट क्रमशः)

कतिपय विद्यार्थीलाई एक विषयमा एउटा तह उत्तीर्ण गरेपछि अर्को विषयमा अर्को तह वा सोही विषयको माथिल्लो तहमा अध्ययन गर्न दिइएको पनि पाइन्छ । जस्तो बनारसमा बी.ए.पढ्न गएका गुन्जमानले बी.ए.उत्तीर्ण गरेपछि तत्कालै उनलाई इलाहावादमा बी.एल. पढ्न पठाइएको थियो ।२३ त्यस्तै रेखबहादुर रायमाझ्ी र सोमराज पाँडेले कलकत्ता टेक्निकल कलेजमा ड्रइङ र हिसाब सिकी ड्रइङ विषयको इन्टेन्स परीक्षा दिएपछि रेखबहादुरलाई शिवपुर इन्जिनियरिङ्ग कलेज खुलेपछि भर्ना भई पाँच वर्षसम्मलाई इन्जिनियरिङ्ग अध्ययन गर्न दिइएको थियो२४ भने सोमराज पाँडेलाई मद्रास इन्जिनियरिङ्ग कलेज खुलेपछि पाँच वर्ष इन्जिनियरिङ्ग अध्ययन गर्न दिइएको थियो ।२५ यसले एउटा शिक्षण संस्थाबाट एक तहको अध्ययन गर्नका निम्ति जाने वा एक ठाउँको कलेजमा एउटा विषय अध्ययनको निम्ति भर्ना भई सोही विषय अर्को ठाउँको कलेजमा अध्ययन गर्न जाने२६ विद्यार्थीलाई तोकिए बमोजिमको रकम पछि गएको कलेजमा पठाई दिनुपर्दथ्यो । यो कार्य कौसितोसाखाना मार्फत कलेज–स्कूल गोश्वाराका हाकिमको जिम्मामा गराइन्थ्यो । तर कतिपय विद्यार्थीलाई यसरी पठाउनुपर्ने रकम निजले पढ्दै गरेको छ भन्ने पाठशाला बन्दोबस्त इन्स्पेक्टरी अफिसको पुर्जी निस्सा (प्रमाण) लिएपछि निजको बारेसवाल वा मानिसलाई पनि दिने व्यवस्था मिलाइएको थियो । यसरी विद्यार्थीको सम्बन्धित मानिसलाई रकम दिएको खण्डमा सो खर्चको स्याहा (कागज) मा भने बक्स खर्च लेख्नुपर्दथ्यो ।२७

भारतमा अध्ययनका निम्ति पठाउने विद्यार्थीलाई दरबन्दीमा तोकिए बमोजिमको भत्ता बक्सका अतिरिक्त कलेजको शुल्क समेत दिइने कुरा सदर अफिस मुन्सीखानाबाट पाठशाला बन्दोबस्त अड्डालाई पठाइएको एउटा पुर्जीमा उल्लेख छ । वि.सं. १९८२ चैत्र ४ गते रोज ७ को सो पुर्जीमा गेहेन्द्रशमशेर थापा क्षेत्रीलाई देहरादुनमा फरेष्ट रेन्जर विषय पढ्दा लाग्ने शुल्क पनि दिने२८ भन्ने उल्लेख भए तापनि शुल्क कति तिर्नुपर्दथ्यो र सो शुल्क बापत उनले कति पैसा पाए भन्ने कुरा भने कतै उल्लेख भएको पाइएको छैन । उनलाई भत्ता बक्स वापत वार्षिक कम्पनी रु.८४० दिने भन्ने उल्लेख मात्र पाइन्छ ।२९
सरकारको छात्रवृत्तिमा भारतका विभिन्न शिक्षण संस्थाहरूमा प्रति वर्ष अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या सानो १५–२० जनाको हुन्थ्यो । त्यति सानो संख्यामा अध्ययनका निम्ति पठाइने विद्यार्थीको विवरण राख्न सम्बन्धित अड्डाका कर्मचारीलाई त्यति कठिन हुनुपर्ने जस्तो देखिंदैन । तर वि.सं. १९८१ साउन ३२ गतेको खड्ग निशाना अनुसार कलकत्तामा बी.कम. पढ्दै गरेका इन्द्रमान श्रेष्ठलाई भेटेरिनरी पढ्ने भनी कमाण्डरी किताबखानामा दर्ता गरिएको कुरा वि.सं. १९८२ असोज महीनामा मात्र सम्बन्धित कर्मचारीले थाहा पाएका थिए । तर भेटेरिनरी पढ्ने र बी.कम. पढ्ने विद्यार्थीलाई सरकारले दिने छात्रवृत्ति रकममा केही फरक नभएकाले सो विषय सच्याएर पुनः बी.कम. पढ्ने बनाई पहिले भूलबाट भेटेरिनरी पढ्ने भन्ने भएकोमा कसैलाई पनि कुनै कारबाही नगरिने भन्ने व्यहोराको पत्र कौसितोसाखानालाई पठाइएको थियो ।

३० यसबाट इन्द्रमान श्रेष्ठलाई आर्थिक रूपमा कुनै नोक्सान नपरे तापनि राणा शासनकालमा प्रशासनिक दृष्टिले निकै चुस्त र योग्य मानिने प्रधानमन्त्री चन्द्र शमशेरको शासनकालमा पनि प्रशासनिक व्यवस्था कतिको लापरवाहपूर्ण हुँदोरहेछ भन्ने उहाहरण पाउन सकिन्छ ।

शाही बकस
सरकारी खर्चमा अध्ययन गर्न विदेश पठाइने विद्यार्थी आफ्नो अध्ययन पूरा गरी फर्कंदा राज्यले उनीहरूलाई सम्मान पनि गर्दथ्यो । यसै क्रममा उनीहरूलाई थानकोटबाट सम्मानका साथ हात्तीमा चढाएर श्री ३ महाराज, प्रधानमन्त्रीको दर्शन गराउन लगिन्थ्यो । राजकीय परम्परा अनुसार विद्यार्थीले महाराजाधिराज श्री ३ महाराजलाई दाम राखेर दर्शन गर्नुपर्दथ्यो ।३१ यहाँनेर उल्लेख्य कुरा के छ भने यस्ता विद्यार्थीले महाराजाधिराज (श्री ५) लाई भेट्ने प्रचलन भने भएको पाइँदैन । तर विदेशबाट आफ्नो पढाइमा उत्तीर्ण भएर फर्कने कतिपय विद्यार्थीलाई श्री ५ ले बक्स दिएको उदाहरण पनि पाइन्छन् । जस्तो इन्ट्रेन्स (एस.एल.सी.) उत्तीर्ण गरेर फर्कने कर्णेल हर्षजंग थापा क्षेत्रीका छोरा चन्द्र थापा क्षेत्रीलाई श्री ५ ले दोसल्ला वापत बक्स दिनका निम्ति वि.सं. १९५८ मा नगद मोहर रु.३०० दिएका थिए३२ भने सोही वर्ष नै कलकत्ताबाट पास भएर आउने वकिल लेफ्टेण्ट कर्णेल कुलानन्दका छोरा मानिकलाल र सुकदेव पण्डितका छोरा मदनदेव पाध्यालाई बाटो खर्च रु.२१२÷५०, दोसल्ला वापत रु.२०० समेत जनही मो.रु.४१२÷५० का दरले जम्मा रु.८२५ श्री ५ को नामबाट बक्स दिइएको थियो ।३३

उपसंहार
अध्ययनका निम्ति भारतमा पठाउन कस्ता विद्यार्थीलाई छानिन्थ्यो र विद्यार्थी छान्ने आधार के थियो भन्ने विषय पनि महŒवपूर्ण छ । राज्यको छात्रवृत्तिमा पढ्न भारत पठाउँदा वर्तमानमा जस्तो प्रतिस्पर्धा गराएर योग्य विद्यार्थीको छनोट प्रक्रिया र पढ्न पठाइने आधार निर्धारण गरिएको पाइँदैन । यद्यपि भारतमा विभिन्न विषय पढ्न गएका विद्यार्थीको पारिवारिक पृष्ठभूमिका आधारमा यसबारे केही जानकारी पाउन सकिन्छ । जस्तो बम्बैमा एम.बी. पढ्न पठाइएका यज्ञबहादुर बस्नेत क्षेत्री चन्द्र शमशेरसँग यूरोप भ्रमणमा जाने मेजर ( ?) गंगाबहादुर बस्नेत क्षेत्रीका छोरा थिए ।३४ त्यति मात्र नभएर गंगाबहादुर चन्द्र शमशेरको समयका सफल दौडाहाका रूपमा प्रसिद्ध पनि थिए ।३५ बनारसमा मेकानिकल इन्जिनियरिङ्ग पढ्न पठाइएका चन्द्रदास गुप्ता प्रसिद्ध डाक्टर सुरस चन्द्रदास गुप्ताका छोरा थिए ।३६ कलकत्तामा डाक्टरी पढ्न पठाइएका देवमणि आदि चन्द्र शमशेरसँग यूरोप भ्रमणमा जाने३७ तथा चन्द्रशमशेरको कान्छी रानीका प्रमुख सल्लाहकार मध्येका३८ पण्डित काशीनाथ आ.दी.का छोरा थिए । यसबाट तत्कालीन प्रधानमन्त्रीसँग राम्रो तथा निकटको सम्बन्ध नै भारतमा पढ्न पठाइने विद्यार्थी छनोटको मूल आधार भएको देखिन्छ । त्यस्तै भारदारको परिवारका सदस्यलाई मात्र त्यसरी पठाइन्थ्यो । जे होस् अध्ययन पूरा गरेर फर्कने विद्यार्थीले नेपालमा आई आफ्नो क्षेत्रमा उल्लेख्य योगदान दिएको पनि पाइन्छ । जस्तो रुड्कीबाट इन्जिनियरिङ्ग उत्तीर्ण गरेर फर्केका सुर्जेजंग थापा क्षेत्रीले वि.सं. १९५८ तिर नेपाल–तिब्बत बीचको सम्भाव्य युद्धका बखत तिब्बत जाने नाकाहरूमा ठूूलो तोप लैजान हुने पक्की सडक बनाउने कार्य गरेका थिए ।३९ त्यस्तै इन्ट्रेस उत्तीर्ण गरी फर्केका चन्द्रजंग थापालाई चन्द्र शमशेरले यूरोप भ्रमणमा लगेका थिए४० र वि.सं. १९८२ देखि १९८९ सम्म कलकत्ताको वकिल नियुक्त गरेका थिए । ४१

प्रधानमन्त्री चन्द्र शमशेरको कार्यकालमा अध्ययनका निम्ति भारतमा पठाइएका व्यक्तिहरूले राणाशासनमा मात्र नभएर प्रजातान्त्रिक शासन व्यवस्था अर्थात् २००७ सालपछि पनि मुलुकका निम्ति महŒवपूर्ण योगदान दिएको पाइन्छ । जस्तो चन्द्र शमशेरकै समयमा भारतमा बी.ए., बी.एल. पढ्न गएका गुन्जमान सिंहलाई राजा महेन्द्रले वि.सं. २०१२ वैशाख १ गतेका दिन प्रिन्सिपल रायल एड्भाइजर नियुक्त गरी मुलुकको शासन सञ्चालनको जिम्मा दिएका थिए ।४२ त्यस्तै देहरादूनबाट फरेष्ट रेन्जर अध्ययन गरी फर्केका शेरजंग थापालाई प्रजातन्त्रको स्थापनापछि पनि वन र मालपोत विभागको सचिव बनाइएको थियो ।४३

यसप्रकार सरकारी सहयोगमा भारतबाट विभिन्न विषय अध्ययन गरी फर्कने विद्यार्थीमध्ये कतिले आ–आफ्नो क्षेत्रमा उल्लेख्य योगदान दिएका थिए । तथापि सरकारीस्तरबाट विदेशमा अध्ययनार्थ पठाइने विद्यार्थी छनोट तथा विषय छनोटको नियमसम्म पनि बनाइएको देखिंदैन । त्यसैले यस क्षेत्रमा प्रधानमन्त्रीको इच्छा नै नियम कानूनका रूपमा लागू भएको पाइन्छ ।  (समाप्त)

२३    ऐजन
२४    परिशिष्ट नं. ३
द्दछ    परिशिष्ट नं. ४
द्दट    परिशिष्ट नं. ९
द्दठ    परिशिष्ट नं. ५
द्दड    परिशिष्ट नं. १०
द्दढ    परिशिष्ट नं. ११
घण्    परिशिष्ट नं. ७
घज्ञ    घनश्याम रिजाल, पाद टिप्पणी नं. १, पृ. ११०
घद्द    परिशिष्ट नं. ११
घघ    परिशिष्ट नं. १२
घद्ध    पुरुषोत्तम शमशेर ज.ब.रा., श्री ३ हरूको तथ्य वृत्तान्त (भाग–२), वाराणसी (भारत)ः परमवीरशमशेर ज.ब.राणा, वि.सं. २०४७, पृ. ७८ ।
घछ    कमल दी।क्षित, चढाइ गर्ने आँखाले, ललितपुरः मदन पुरस्कार पुस्तकालय, वि.सं. २०३७, पृ. ४, ५ ।
घट    सरदर भीमबहादुर पाँडे, त्यसबखतको नेपाल–राणाकालीन आखिरी तीन दशक (भाग–१), काठमाडौंः लेखक, पृ. २१३
घठ    पुरुषोत्तम शमशेर ज.ब.रा.,पाद टिप्पणी नं. ३४, पृ. ७९
घड    सरदार भीमबहादुर पाँडे, पाद टिप्पणी नं. ३६, पृ. २४१
घढ    सरदार भीमबहादुर पाँडे, पाद टिप्पणी नं. ३६, पृ. २२३
द्धण्    पुरुषोत्तम शमशेर ज.ब.रा., पाद टिप्पणी नं. ३४, पृ. ७८
द्धज्ञ    विश्व प्रधान, विहेभियर अफ नेपलीज फरेन पोलिसी, काठमाडौंः श्रीमती दुर्गादेवी प्रधान, ई.सं. १९९६, पृ. ६१८
द्धद्द    गृष्मबहादुर देवकोटा, नेपाल राजनीतिक दर्पण (भाग–१) काठमाडौः धुब बहादुर देवकोटा, वि.सं. २०३६, पृ.२९६ ।
द्धघ    ऐजन पृष्ठ २१८

commercial commercial commercial commercial