अपाङ्गता भएका विद्यार्थीको पठनपाठन सही बाटोः समाहित शिक्षा

फागुन २०७२ को शिक्षक मा अपाङ्गता भएका शिक्षकहरूको आवाज यसरी मुखरित भएको छः भौतिक संरचना अपाङ्गमैत्री होस्, शिक्षण सिकाइ क्रियाकलापका लागि आवश्यक सामग्रीको व्यवस्था होस् र अपाङ्गहरूप्रतिको सामाजिक दृष्टिकोणमा परिवर्तन गर्न प्रयत्नहरू गरियून् ! यी तीन वटै कुरा आवश्यक छन् र यी पूरा गर्न असम्भव पनि छैनन् ।

विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी) को अन्तिम मूल्यांकनले पनि अपाङ्गमैत्री भौतिक संरचना, शिक्षण सिकाइ क्रियाकलापका लागि शिक्षक तालीम, शैक्षिक सामग्री, अपाङ्गता भएका व्यक्तिहरूका लागि चाहिने विशेष उपकरणहरूका बारेमा यस्तै कुराहरू उठाएको छ । त्यसैले, यो अपाङ्गताको शिक्षा र सुविधाको क्षेत्रमा केही हुँदै नभएको भन्दा पनि चाहेजति हुन नसकेको भनी मान्नुपर्ने अवस्था छ ।

नेपालमा आधुनिक शिक्षाको विकासको इतिहास त्यति धेरै पुरानो छैन । त्यसमाथि पनि, अपाङ्ग आदिको निम्ति विशेष शिक्षाको आवश्यकता बारे अलिक पछि नै सोच्न थालिएको हो । २०२१ सालमा दृष्टिविहीनहरूका लागि एकीकृत शिक्षा, २०२३ सालमा बहिराहरूका लागि बहिरा विद्यालय, २०२६ सालमा अपाङ्गहरूका लागि खगेन्द्र नवजीवन केन्द्र र २०३७ सालपछि सुस्त मनस्थितिका बालबालिकाको शिक्षाको निम्ति पहल भएको देखिन्छ । अहिले मुलुकका विभिन्न एकीकृत विद्यालय र अन्य विद्यालयहरूमा समेत गरी ७५ हजार अपाङ्ग बालबालिका अध्ययनरत रहेको आँकडा छ ।

तथापि, कतिपय ठाउँमा अपाङ्गहरूको उपस्थिति समाहित शिक्षाको भावना अनुरूप छैन । उनीहरूका निम्ति अनुकूल भौतिक संरचना पर्याप्त छैनन् । पठनपाठन पनि उनीहरूको आवश्यकता अनुसार छैन र अरूहरूको व्यवहार पनि उपयुक्त खालको छैन । त्यसैले अबको चुनौती भनेको भौतिक संरचनालाई अपाङ्गमैत्री बनाउने, अपाङ्गका आवश्यकता अनुसार शैक्षिक सामग्री उपलब्ध गराउने, शिक्षण सिकाइ क्रियाकलापलाई अपाङ्गमैत्री बनाउने र सम्मानका साथ विद्यालयमा पठनपाठन गर्न सक्ने वातावरण तयार पार्ने हो ।

भौतिक संरचना
अपाङ्गता भएका व्यक्तिहरूका लागि अलिक फरक ढंगमा भौतिक संरचना निर्माण गर्नुपर्दछ । यस्ता संरचना निर्माण गर्दा खासै धेरै या बढी रकम भने लाग्ने होइन । तैपनि हामी यसका बारेमा ध्यान दिइरहेका छैनौं । खासगरी दृष्टिविहीन तथा शारीरिक अपाङ्गता भएका व्यक्तिहरूका लागि भौतिक संरचना निकै ठूलो व्यवधानका रूपमा खडा हुन्छन् । तसर्थ अपाङ्गमैत्री भौतिक संरचनाको निर्माणलाई अहं महŒव प्रदान गरिनु जरूरी छ । अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका, २०६९ ले यस सम्बन्धी प्रष्ट व्यवस्था गरेको छ ।

व्यक्तिका घर तथा अन्य सार्वजनिक संरचना बारेमा सिंगो समाज र सरकारका विभिन्न अंगहरूले ध्यान दिनुपर्ने भए पनि विद्यालय भवन तथा छात्रावास जस्ता भौतिक संरचनाहरूलाई हामी शिक्षक तथा शिक्षाकर्मीहरूले नै पनि अपाङ्गमैत्री तुल्याउन भूमिका निर्वाह गर्न सक्छौं । यसमा हाम्रो उचित ध्यान जानु भने जरूरी छ ।

शारीरिक अपाङ्गहरूका लागि
शारीरिक अपाङ्गहरू पनि विविध किसिमका हुन्छन् । कोही ह्वीलचेयर प्रयोग गर्छन्, कोही बैसाखीको सहारा लिन्छन्, कोही ‘क्यालिपर’ त कोही कृत्रिम खुट्टा प्रयोग गर्ने अनि कोही ‘एल्वा क्रचेस’ त कोही लठ्ठीको प्रयोगकर्ता हुन्छन् । ह्वीलचेयर प्रयोगकर्ता बाहेक अन्य अपाङ्गहरूका लागि सिंढीको खुट्किलाको अग्लाइ ६.५ इन्चभन्दा बढी र चौडाइ ११ इन्चभन्दा घटी हुन नहुने तथा भ¥याङको दुवैतिर हाते रेलिङ हुनुपर्ने स्वीकृत मापदण्ड छ ।

¥याम्प
ह्वीलचेयर गुडाउन बनाइएको संरचनालाई ¥याम्प भनिन्छ । ¥याम्पको ओरालोपना १ः२० को अनुपातमा हुनुपर्छ । यस्ता ¥याम्प अपाङ्गहरूका निम्ति कक्षाकोठामा जानका लागि वा विद्यालय परिसरमा विचरण गर्नका लागि उपयोगी हुन्छन् । कहिलेकाहीं ¥याम्पमा दुई वटा ह्वीलचेयर पास हुनुपर्ने हुन्छ, यसका लागि उपयुक्त चौडाइ ६ फुट हो । ¥याम्पको दुवैतिर साढे दुई फुटको उँचाइमा रेलिङको व्यवस्था हुनुपर्छ । कतिपय घर वा विद्यालयका ढोकामा ठेला राख्ने चलन छ । ¥याम्पको प्रयोजनका निम्ति यस्ता ठेला बाधक बन्छन् । तसर्थ ठेला राख्नैपर्ने भए आधा इन्चभन्दा अग्लो राख्नुहुँदैन । ३० फुटभन्दा लामो ¥याम्प बनाउनुपर्ने भएमा हरेक ३० फीटपछि एउटा ‘लेवल ल्यान्डिङ’ राख्नु जरूरी हुन्छ ।

पुराना विद्यालय भवनहरूमा पनि ¥याम्प राख्न सकिन्छ । त्यस्ता ¥याम्पको अनुपात १ः१५ सम्म हुन सक्छ । अर्थात् १ फुट उँचाइमा लैजानका लागि १५ फुट परबाट ओरालो बनाउनुपर्छ । ¥याम्पको चौडाइ कम्तीमा ३ फुटको हुनुपर्छ । ¥याम्प शुरू, अन्त्य र ढोका अगाडिको भाग कम्तीमा ४ फुट लम्बाइको हुनुपर्छ ।  

शौचालय
शारीरिक अपाङ्गता भएकाहरूका लागि एउटा प्रमुख समस्या भनेको शौचालय हो । विद्यालयमा अपाङ्गमैत्री शौचालय निर्माण गर्दा कम्तीमा छात्रका लागि एक; छात्राका लागि एक र अन्य व्यक्तिहरूका लागि एउटा बनाउनु जरूरी छ । अपाङ्गमैत्री शौचालय कम्तीमा पनि ६ वर्ग फुटको हुनुपर्छ, ताकि ह्वीलचेयर सजिलैसँग घुमाउन सकियोस् ।

शौचालयमा राखिने कमोडको उँचाइ १९ इन्चभन्दा कमको हुनुपर्छ र कमोडको दुवैतिर समात्न मिल्ने वार राख्नुपर्छ ।

युरिनलको उँचाइ ३० इन्च भन्दा बढीको हुनुहुँदैन । त्यस्तै हात–मुख धुनका लागि वास बेसिनको उँचाइ ३० देखि ३३ इन्चको बीचमा हुनुपर्छ । यद्यपि यो उँचाइ विद्यार्थीको उमेर अनुसार फरक हुन सक्छ ।

दृष्टिविहीनहरूका लागि
दृष्टिविहीनहरूलाई हिंड्न सजिलो पार्न विद्यालय वा कलेज परिसरभित्र सेतो छडी वा खुट्टाले छामेर थाहा पाउने ‘गाइडिङ ब्लक’ बिछ्याउनुपर्छ । ‘गाइडिङ ब्लक’ थोप्ले र धर्के दुई किसिमका हुन्छन् । बाटोमा हिंड्नका लागि धर्के ‘गाइडिङ ब्लक’ र दिशा परिवर्तन गर्नका लागि अर्थात् घुम्ने मोड, चौबाटो या सडक पार गर्ने स्थानको संकेत दिन थोप्ले ‘गाइडिङ ब्लक’ को प्रयोग गरिन्छ । यस्ता ब्लक १ वर्ग फुट आकारका हुन्छन् । (यता आएर काठमाडौंका केही प्रमुख सडकका पेटीमा पनि यस किसिमका ब्लक राखिएका छन् ।) विद्यालय परिसरभित्र पनि यस्ता संकेत आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ ।

दृष्टिविहीनहरूका लागि छुट्टै प्रकारको शौचालयको आवश्यकता पर्दैन तर पुरुष शौचालय र महिला शौचालय छुट्याउन भित्तामा ब्रेल लिपिका सूचक राखिदिनु राम्रो हुन्छ । यस्तो संकेत बढीमा ४२ इन्चसम्मको उँचाइमा राख्न सकिन्छ ।

शिक्षण सिकाइ क्रियाकलाप
अक्सर गरी बहिरा तथा सुस्तमनस्थितिका बालबालिकाका लागि वेग्लै स्रोत कक्षाको व्यवस्था गरिएको हुन्छ । कान कम सुन्नेहरूका लागि श्रवण यन्त्र (हियरिङ एड) उपलब्ध गराएर अथवा ओठको चाल हेरेर कुरा बुझने तरीका सिकाइ स्थानीय सामान्य विद्यालय वा शैक्षिक संस्थामा पढ्न पठाउन पनि सकिन्छ । कान कम सुन्ने विद्यार्थी भएका कक्षामा शिक्षकले ढिलो गरी बोल्ने तथा बोल्दै लेख्दै गरेर पढाउन सकिन्छ । अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि–२००६ को धारा २४ मा ‘अपाङ्गता भएका व्यक्तिहरूलाई अरूसरह मूलधारका विद्यालय, कलेज वा शैक्षिक संस्थामा गएर पढ्न पाउने अधिकार छ’ भनी प्रष्टसँग उल्लेख गरिएको छ । यसको आशय अपाङ्गता भएका विद्यार्थीलाई पनि सकेसम्म अरू सामान्य विद्यार्थीसँगै राखेर पढाउने व्यवस्था गर्नुपर्छ भन्ने नै हो ।

पठनपाठनलाई अपाङ्गमैत्री बनाउन हाम्रा पाठ्यपुस्तकका कतिपय पाठहरूमा पनि सुधार गर्नु जरूरी छ । त्यस्तै; दृष्टिविहीनहरूलाई ब्रेल लिपिमै परीक्षा दिन पाउने व्यवस्था गर्नु पनि आवश्यक भइसकेको छ ।

बहिराहरूको पठनपाठन गर्दा सांकेतिक भाषाको प्रयोग गर्नै पर्ने हुन्छ । तर नेपाली सांकेतिक भाषाको शब्दभण्डार अत्यन्तै सानो छ । यस सन्दर्भमा शिक्षण सिकाइ क्रियाकलापसँगै यस्ता शब्दभण्डारको समेत वृद्धि गर्दै लैजानु जरूरी देखिन्छ ।
नेपालको संविधान, २०७२ को धारा ३१(४) ले ‘दृष्टिविहीन नागरिकलाई ब्रेल लिपि तथा बहिरा र स्वर वा बोलाइ सम्बन्धी अपाङ्गता भएका नागरिकलाई सांकेतिक भाषाको माध्यमबाट कानून बमोजिम निःशुल्क शिक्षा पाउने हक हुनेछ’ भनी प्रष्ट व्यवस्था गरेको छ ।

दृष्टिविहीनहरूका लागि ब्रेल लिपिको ज्ञानका लागि स्टाइलस, स्लेट र कार्डबोर्ड पेपर, ज्यामिति किटबक्सको जरुरत पर्दछ । यसका साथै उनीहरूको आवतजावतलाई सहज बनाउन सेतो छडीले सघाउने गरेको छ । आजभोलि सेन्सरसहितका सेता छडीहरू समेत प्रचलनमा आइसकेका छन् । समय थाहा दिने बोल्ने घडी पनि बजारमा पाइन थालेका छन् ।

भनिन्छ, ‘प्रविधिले आम मानिसहरूको कामलाई सरल बनाउँछ तर अपाङ्गता भएका मानिसहरूलाई प्रविधिले सक्षम बनाउँछ ।’ अहिले अपाङ्गहरूलाई सक्षम बनाउने थुप्रै प्रविधि उपलब्ध भइसकेका छन् । त्यसमध्येको एउटा सूचना तथा सञ्चार प्रविधि पनि हो । सबै दृष्टिविहीनहरूको पहुँच कम्प्युटर, स्मार्ट फोन वा ट्यावलेटसम्म पु¥याउने हो भने उनीहरूलाई शिक्षण सिकाइ गर्न धेरै मद्दत पुग्ने देखिन्छ । आजभोलि, हरेक कम्प्युटर दृष्टिविहीनमैत्री हुनसक्छन् । त्यसनिम्ति आवश्यक एसेसेबिलिटी सफ्टवेयरहरू कम्प्युटरको अपरेटिङ सिस्टमसँगै राख्ने गरिएको छ । विन्डोज अपरेटिङ सिस्टममा ‘इजी अफ एक्सेस’ छ– जसमा दृष्टिविहीनहरूका लागि न्यारेटर, न्यूनदृष्टिहरूका लागि ५०० गुणासम्म ठूलो देखाउन मिल्ने म्याग्नेफायर, हाइ कन्ट्रयास जस्ता विकल्पहरू राखिएका छन् । त्यस्तै म्याक कम्प्युटरमा भ्वाइस ओभर तथा एन्ड्रोइड स्मार्ट मोबाइलहरूमा एसेसेबिलिटी फीचरहरू राखिएका छन् । त्यस्तै एडोब एक्रोव्याटले पनि पीडीएफ फाइल सजिलैसँग पढिदिन्छ । तर देवनागरी लिपि भने यसले पढ्दैन । नेपाली भाषा नपढ्नुको एउटै कारण नेपाली भाषाको अप्टिकल क्यारेक्टर रिकोक्जिनेशन सफ्टवेयर (Optical Character Recognition Software) बन्न नसक्नु हो ।

ब्रेल पुस्तकको छपाइका लागि अहिले नेपालमा नेपाल नेत्रहीन संघ, अन्धा कल्याण संघसँग ब्रेल छापाखाना रहेको छ । नेपाली विद्यार्थीका लागि पाठ्यपुस्तकको छपाइ यिनै संस्थाले गर्दै आएका छन् । त्यस्तै पोखरामा आईईसी नेपालसँग पनि सानो आकारको ब्रेल छपाइ गर्न सकिने छापाखाना रहेको छ ।

शिक्षकले कक्षामा पढाएका कुराहरूलाई मोबाइलमा रेकर्ड गर्न र आवश्यकता अनुसार सुन्न सकिन्छ । ब्रेल पुस्तक नआइपुगेको वेला साथीलाई वा परिवारका अन्य सदस्यलाई पुस्तक पढ्न लगाएर रेकर्ड गरी अरू वेला सुन्न मिल्छ । अहिले विभिन्न व्यक्ति वा संस्थाहरूले पनि विभिन्न किताबका अडियो पुस्तकहरू बजारमा ल्याएका छन् । जसलाई मोबाइल, कम्प्युटर वा ट्याबलेटमा राखी सुन्न सकिन्छ । मोबाइल, ट्याबलेट वा कम्प्युटरका स्टोरमा गएर खोज्यो भने विभिन्न किसिमका पीडीएफ वा ईपव (Epub) पुस्तक पढ्ने एप्सहरू पनि पाइन्छन् । ती एप्सहरू डाउनलोड गरी त्यस्ता किताबहरू सुन्न सकिन्छ । त्यस्ता एप्सहरूमध्ये Audible reader, Freda, Read aloud, Tucan reader आदि हुन् ।

जटिल शारीरिक अपाङ्गता भएका व्यक्तिहरूका लागि विद्युतीय ह्वीलचियर पनि प्रयोग गर्न सकिन्छ । यो ह्वीलचियरलाई वयथकतष्अप को माध्यमबाट नियन्त्रण गरिन्छ । कम देख्ने व्यक्तिहरूका लागि पहिला विभिन्न पावरका हाते लेन्सहरूको प्रयोग गरिन्थ्यो । अहिले विद्यार्थीको डेस्कमा भिडियो क्यामरा तथा टेलिभिजन स्क्रिन राखिएको हुन्छ । विद्यार्थीले पुस्तकलाई क्यामरामुनि डेस्कमा राख्छन्, म्याग्निफिकेशन मिलाउँछन् र टेलिभिजनमा हेरेर पढ्छन् । यस्तो प्रविधिलाई सीसीटीभी भनिन्छ ।

कतिपय शारीरिक अपाङ्गता भएका व्यक्तिहरू साना अक्षर भएका किबोर्डहरू चलाउन सक्दैनन् । उनीहरूले एउटा बटन थिच्दा दुइटा वा सोभन्दा बढी बटन थिचिने गर्छ । यस्ता समस्याको निराकरण गर्नका लागि अलिक फरक र ठूलो आकारका किबोर्ड बजारमा उपलब्ध छन् । यस्ता किबोर्डका बटन तथा अक्षरहरू ठूला र रंगीन हुन्छन् ।

कान कम सुन्ने विद्यार्थीको सुविधाका लागि शिक्षकले त्यस्ता विद्यार्थीलाई अगाडिको बेन्चमा राख्ने गर्छन् । शिक्षकले पढाउँदा बोल्दै लेख्दै गर्ने गर्छन् । कानको समस्या भएका कतिपय व्यक्तिहरूका लागि डाक्टरले हियरिङ एड समेत सिफारिश गर्दछन् । तर योभन्दा पनि अलि बढी जटिल समस्या भएका विद्यार्थीका लागि अहिले अर्को प्रविधि आएको छ– जसलाई FM Amplification System भनिन्छ । यसमा शिक्षकले बोल्दा वायरलेस माइक्रोफोनको प्रयोग गर्छन् भने कान कम सुन्ने विद्यार्थीले वायरलेस रिसिभरको । यसमा आवश्यकता अनुसार ध्वनिलाई ठूलो वा सानो पारेर सुन्न सकिन्छ ।

कतिपय व्यक्तिहरूलाई किबोर्डको प्रयोग गरेर कम्प्युटरमा टाइप गर्न वा कम्प्युटर खोल्न वा बन्द गर्न समस्या हुन्छ । तर कम्प्युटरमा Speech Recogognition सफ्टवेयर छ भने कम्प्युटरका विभिन्न प्रोग्रामहरूलाई बोलेरै खोल्ने र बन्द गर्ने गर्न सकिन्छ । बोलेरै कम्प्युटरमा टाइप गर्न पनि सकिन्छ ।

बहिराहरूले स्काइप जस्ता फ्री सफ्टवेयर प्रयोग गरेर फोनबाट कुराकानी गर्न सक्छन् भने भाइवरको प्रयोगबाट दृष्टिविहीनहरूले फाइदा लिइरहेका छन् ।

शिक्षकले अलिकति मिहिनेत गर्ने हो भने वा विद्यालयले मोबाइलमै रेकर्ड गरेर भए पनि अपाङ्गहरूका आवश्यकता पूरा हुने गरी पाठ्यपुस्तक विकास गर्न सक्छन् । यसको मतलब उनीहरूका लागि आवश्यक ब्रेल पाठ्यपुस्तकको निर्माण नगर्ने भनेको चाहिं होइन । तर ब्रेल पुस्तकका अलावा अरू पनि विकल्पहरू सूचना सञ्चार प्रविधिले उपलब्ध गराएको छ । तिनको पनि उपयोग गरौं भनेको मात्र हो । साँच्चै भन्ने हो भने अपाङ्गता भएका व्यक्तिहरूका लागि सूचना तथा सञ्चार प्रविधि बरदान नै सावित हुन सक्छ ।

सामाजिक पक्ष
अपाङ्गता भएका व्यक्तिहरूप्रतिको सामाजिक दृष्टिकोणमा परिवर्तन ल्याउन व्यक्तिगत, सांगठनिक र संरचनागत तहमा गरी तीन तहको हस्तक्षेप चाहिन्छ भनिन्छ । व्यक्तिगत तहमा अपाङ्गता भएका व्यक्तिहरूप्रतिको भेदभाव कम गराउन जनचेतना अभियान चलाउनु पर्छ । पर्चा, पम्प्लेट, माइकिङ तथा विद्यालय, क्याम्पस वा समुदायमा गरिने अपाङ्गता सम्बन्धी छलफल तथा अन्तरक्रियाहरूले अपाङ्गताका बारेमा सही जानकारी सम्प्रेषण गर्न सकिन्छ । त्यस्तै हरेक वर्ष मनाइने अपाङ्गता दिवसले अपाङ्गहरूका अधिकार, उनीहरूको फरक क्षमता आदिका बारेमा समुदायलाई जानकारी गराइरहेको हुन्छ ।

तालीमको माध्यमबाट पनि अपाङ्गता भएकाहरूका बारेमा सही जानकारी उपलब्ध गराउन सकिन्छ । अपाङ्गताको पहिचान तथा उनीहरूका रुचि, चाहना, आवश्यकता, संवेगात्मक व्यवहार तथा तिनीहरूलाई नियन्त्रण गर्ने तरीका आदिका बारेमा शिक्षक, सामाजिक कार्यकर्ता, स्वास्थ्यसेवी आदिलाई तालीम उपलब्ध गराई अपाङ्गहरूको पहिचान, शिक्षा तथा व्यावहारिक तालीम उपलब्ध गराउन सकिन्छ । वेलैमा अपाङ्गताको पहिचान गर्न सकियो भने जटिल अपाङ्गता हुनबाट बचाउन सकिन्छ ।

सञ्चारमाध्यम विभेद अन्त्य गर्ने महत्वपूर्ण साधन हो । समाचारपत्र, रेडियो, टेलिभिजनका माध्यमबाट मानिसहरू संसारबारे जानकारी लिन्छन् । सञ्चारमाध्यममार्फत अपाङ्गता भएका व्यक्तिहरूलाई समाजमा पुनस्र्थापित गर्न सकिएका कैयौं दृष्टान्त छन् । सञ्चारमाध्यमले अपाङ्गताका बारेमा प्रयोग गर्ने सही पदावलीले पनि निकै ठूलो महत्व राख्छ । उनीहरूले अपाङ्गता भएका व्यक्तिहरू पनि अन्य व्यक्तिसरह नागरिक हुन् भनी बताउन सक्छन् । अपाङ्ग बारेमा लेख, अन्तर्वार्ता, छलफल, परिचर्चा गराउन सक्छन् ।

व्यक्तिको अपाङ्गप्रतिको दृष्टिकोण परिवर्तन गर्ने अर्को माध्यम सामाजिक सम्पर्क पनि हो । अपाङ्गता भएका र नभएका मानिसहरूबीच प्रत्यक्ष सम्पर्क, चिनापर्ची, भेटघाट र कुराकानीको माध्यमबाट पनि उनीहरूमा रहेको नकारात्मक सोच कम भएको अनुसन्धानहरूले देखाएका छन् । कुनै पनि व्यक्तिको साथी वा सम्बन्धीमध्ये कोही अपाङ्ग रहेछ भने तिनीहरू अपाङ्गहरूप्रति अलि बढी सहानुभूति राख्छन् । ५ देखि १० वर्षबीचका केटाकेटीहरूका कोही भाइबहिनी अपाङ्ग रहेछन् भने उनीहरू अरूको दाँजोमा अलि बढी सहानुभूतिशील रहेको पाइएको छ ।

समाहित शिक्षा विद्यालयभित्रको यस्तो वातावरण हो जहाँ विभिन्न क्षमता भएका केटाकेटी विना भेदभाव शिक्षा हासिल गर्न सक्छन् । विभिन्न अध्ययनहरूले समाहित विद्यालयमा अपाङ्गता भएका व्यक्तिहरूमाथि हुने हेलाँ कम भएको पाइएको देखाएका छन् । समाहित शिक्षाको शैक्षिक व्यवस्थाले सबै खालका विद्यार्थीबीच मित्रता कायम गर्न प्रोत्साहित गरेको पाइएको छ । तर अपाङ्गता भएका विद्यार्थीलाई पर्याप्त सहयोग विना मूलधारका विद्यालयमा एकीकृत गर्दा उनीहरूको आत्मसम्मान र संवेगात्मक सुरक्षामा नकारात्मक असर परेको पनि पाइयो । यसर्थ उनीहरूको आत्मसम्मान र संवेगको ख्याल राख्दै उनीहरू अनुकूल विद्यालयको वातावरण तयार गर्न स्व–उद्देश्य रूपमा लाग्नुपर्ने हुन्छ ।

शिक्षक तालीम अर्को पाटो हो जसले शिक्षकहरूलाई अपाङ्गता भएका व्यक्तिहरूको क्षमता, रुचि आवश्यकता अनुसार शिक्षण गर्न सहयोग पु¥याउँछ । यस्ता तालीमहरू विशेष कक्षाका शिक्षकहरूलाई मात्र नभएर सबै शिक्षकलाई दिइने तालीम कार्यक्रममा समावेश गरिनुपर्छ । तालीमको अभावमा शिक्षकहरू अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्नो  कक्षामा राख्न रुचाउँदैनन् तर तालीमपश्चात् उनीहरूको यो सोचमा परिवर्तन आएको पाइएको छ । यस्ता तालीम कार्यक्रममा अपाङ्गताको परिचय, प्रकार, अपाङ्गहरूलाई शिक्षण गर्ने शिक्षण विधि, आवश्यकता अनुसार सहयोग लिन सकिने स्थान र सहयोगका प्रकार आदि समावेश गरिनुपर्छ । शिक्षकको अपाङ्गहरूप्रतिको दृष्टिकोणले विद्यार्थीहरूको शैक्षिक उपलब्धिमा महत्वपूर्ण भूमिका निभाउने हुँदा उनीहरू यस बारेमा चनाखो बस्नै पर्छ ।

विद्यार्थीलाई एकअर्काप्रति गर्नुपर्ने व्यवहारका बारेमा पनि तालीमको आवश्यकता पर्छ; खासगरी अपाङ्गहरूप्रति प्रयोग गरिने पदावली, उनीहरूको आत्मसम्मानमा आघात नपुग्ने र संवेगमा असर नपर्ने गरी कसरी व्यवहार गर्ने भन्ने बारेमा तालीम दिइनुपर्छ ।

संरचनात्मक तहमा अपाङ्गहरूलाई नीतिनिर्माण तथा कार्यान्वयनको तहमा सामेल गराउने, अपाङ्गता भएका व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्ने, अपाङ्गहरूका लागि रोजगारीको अवसर सृजना गर्ने, समाहित शिक्षाको प्रबन्ध गर्ने तथा अपाङ्ग नीतिको अनुगमन गर्ने जस्ता कुराहरू पर्दछन् ।

समाजमा विद्यमान विभेदहरूलाई निरन्तरको प्रयासबाट मात्र समाधान गर्न सकिन्छ । विद्यालय त्यो ठाउँ हो जसले व्यक्ति तथा समाजको दृष्टिकोणमा परिवर्तन गर्ने क्षमता राख्दछ । तर विद्यालय आफैं विभेदकारी भयो भने अथवा शिक्षक आफैंले विभेदलाई प्रोत्साहित ग¥यो भने त्योभन्दा ठूलो सामाजिक दुर्गति अर्को हुन सक्दैन । त्यस्तो समाजको पतन निश्चितप्रायः हुन्छ । 

commercial commercial commercial commercial