चार्वाकदर्शन

प्राक्कथन
दर्शनहरू साधारणतया प्रथमतः दुई भागमा विभक्त हुन्छन् । नास्तिक दर्शन र आस्तिक दर्शन । वेद र वेदानुसारी सिद्धान्तानुरूप जगत छैन भन्ने स्थिर सिद्धान्त हुनेहरू नास्तिक र उनको दर्शन नास्तिक दर्शन भनिन्छ । वेदोक्त लोकमर्यादा ठीक छ भन्नेहरू आस्तिक र उनको दर्शन आस्तिक दर्शन भनिन्छ । वेदवाह्य सिद्धान्त खडा गर्ने चार्वाक आदि ६ दर्शन छन् । वेदप्रमाणक दर्शन वैशेषिक न्याय आदि ८ छन् । वेदवाह्य सिद्धान्त प्रतिपादन गर्ने दर्शन नास्तिक दर्शन र वेदप्रमाणक सिद्धान्त प्रतिपादन गर्ने दर्शन आस्तिक दर्शन मानिन्छन् । नास्तिक दर्शनको नामावली यो हो– १. चार्वाक, २. माध्यमिक, ३. योगाचार, ४. सौत्रान्तिक, ५. वैभाषिक, ६. आर्हत (जैन) । यिनीहरू सबैबाट वेदविरूद्ध सिद्धान्त खडा हुन्छ । हुनत यिनीहरूका सिद्धान्तको पनि परस्परमा विरोध छ, तथापि वेदवाह्यत्व रूपमा सबैको समानता नै छ । आस्तिक दर्शनको नामावली यो हो— १. न्यायदर्शन, २. वैशेषिकदर्शन, ३. सांख्यदर्शन, ४. योगदर्शन, ५. धर्ममीमांसादर्शन, ६. कर्ममीमांसादर्शन, ७. दैवीमीमांसादर्शन, ८. ब्रह्ममीमांसादर्शन ।
दर्शन शब्द दर्शनार्थक दृश् धातु (दृशिर्–प्रेक्षणे) बाट व्याकरणशास्त्रोक्त नियमानुसार सिद्ध गरिन्छ, तसर्थ यसको अर्थ साक्षात्कार, साक्षात्कारको साधन र साक्षात्क्रियमाण तत्वको आधार आदि विभिन्न छन् । जस्तै— दर्शनभो, भेटभो, यहाँ केवल साक्षात्कार अर्थ छ । आँखालाई दर्शन भन्छन् । दृश्यते साक्षात् क्रियते येन, यस व्युत्पत्तिबाट आँखा साक्षात्कारको साधन हो । दर्शनशास्त्र तत्व साक्षात्कारको साधन हो । ‘दृश्यते अस्मिन् वस्तु तत्वं’ भनी अधिकरण अर्थमा दर्शन शब्दको सिद्धि गरेका पक्षमा आ–आफ्ना मतको वस्तुतत्व आ–आफ्ना शास्त्रमा छर्लङ्ग हुने हुँदा त्यस्ता शास्त्रलाई पनि दर्शन मानिन्छ ।

चार्वाकदर्शन परिचय
चार्वाकदर्शनलाई वेदवाह्य भन्नाको मतलब वेदको निष्कृष्ट सिद्धान्तसँग यसको समन्वय नभएर मात्र हो । चार्वाकका दर्शनको मूल रूप वेदमा नभएर होइन किनभने शतपथ ब्राह्मण मा आङ्गिरस बार्हस्पत्यका नाउँले नास्तिक (लोकायत–चार्वाक) मतको चर्चा छ । बृहदारण्यक मा पनि भूत चैतन्यवादको चर्चा छ । सोमयागका प्रकरणमा परलोक छ भन्ने कुरो कसले जानेको छ ? भन्ने शङ्कापूर्ण वाक्य पनि आएको छ । उसैले वेदमा पनि यस लोकायत मतको मूल छ । अतः लोकायत आदि दर्शनको मूल पनि वेदै हो । आस्तिक नास्तिक सबै दर्शन वेदकै देन हुन् । नास्तिक दर्शनहरूमध्ये चार्वाकको मत सर्वप्रथम हो । अतः चार्वाकलाई नास्तिकशिरोमणि पनि भन्छन् । यो मत पहिले वेदमा बृहस्पतिका नाउँबाट प्रकट भएको हो, यसैले यसलाई बृहस्पतिमत भन्ने चलन छ । पुराणमा दैत्यहरूलाई ठग्न बृहस्पतिले शुक्राचार्यको रूप लिएर यो मत प्रचार गरे भन्ने कथा आउँछ । उपनिषद्मा पनि प्रजापतिले आफ्ना कुलपतित्वमा आएका शिष्यहरूमध्ये असुरहरूलाई यही मत पढाई, यसैमा दीक्षित गराई पठाए भन्ने कथा छ । यो मत लोकायत भन्ने नामान्तरबाट पनि बोलिन्छ । यसैले नास्तिकशिरोमणिले लौकायतिक भन्ने अर्को नाउँ पनि पाउनुभएको छ ।

चार्वाकहरूको मत
चार्वाकहरू चार तत्व मान्दछन् । पृथ्वी, जल, तेज, एवं वायु । यिनै चार तत्वका विशिष्ट संयोगबाट चेतना शक्ति उत्पन्न हुन्छ । दाउरा र अग्निको संयोगबाट असमानजातीय धूवाँ, अनेक वस्तुका संयोगबाट मदिरामा विजातीय मदशक्ति उत्पन्न भए झ्ैं असमानजातीय तत्वहरूका संयोगबाट असमान जातीय चेतनाशक्ति निष्पन्न हुन्छ । यसै कारण चेतनाशक्ति सम्पन्न शरीर नै आत्मा हो । शरीरबाहेक अरू कुनै कुरा चेतनावान् हो भन्नलाई केही प्रमाण छैन । प्रत्यक्ष सिवाय अरू प्रमाण यस दर्शनमा छैनन् । तसर्थ देखिने, सुनिने, छोइने, स्वाद लिने वस्तुहरूसम्म प्रामाणिक मानिन्छन् । किनभने आँखाले रूप प्रत्यक्ष देख्छ, कानले शब्द प्रत्यक्ष सुन्छ, नाकले गन्ध प्रत्यक्ष सुँघ्दछ, जिब्रोले रसको प्रत्यक्ष स्वाद लिन्छ, छालाले छोएर चिसो, तातो, सारो, कमलो भन्ने कुरा प्रत्यक्ष नै जान्दछ । परन्तु शरीर, इन्द्रिययबाहेक चेतनाशक्ति सम्पन्न अर्को कुरा छ भन्ने ज्ञान गराउन आँखा, कान, नाक, जिब्रो, छाला कसैले सक्दैन । अनुमानद्वारा चेतनाशक्तिमान् शरीर इन्द्रियबाहेक अर्को केही छ भन्ने कुरा अनुमान नै अप्रमाण हुँदा असम्भव छ । अनुमान अप्रमाण कसरी हुन्छ भने— अनु=लिङ्ग–दर्शन भएपछि, लिङ्गीको जो मान=ज्ञान हुन्छ त्यसलाई अनुमान भन्दछन् । लिङ्ग, हेतु, साधन भन्ने एकै कुरा हो । लिङ्गी साध्य भन्ने पनि प्रायः एकै कुरा हो । अर्थात् स्वाभाविक औ नियत सम्बन्ध भएका दुई वस्तुमध्ये व्याप्त वस्तु देखेर व्यापक वस्तुलाई नदेखिकन पनि मान्नुलाई अनुमान भन्छन् । आगो र धूवाँको संयोग नियत र स्वाभाविक हो, तिनमध्ये व्याप्त धूवाँ कुनै कोठामा देखिनेबितिकै आगो नदेखे पनि छ भनेर जान्नु अनुमिति ज्ञान हो । तर यो अनुमिति ज्ञान ठीक छैन, जहाँ धूवाँ हुन्छ त्यहाँ आगो हुन्छ भनेर भान्सामा धूवाँ देख्नासाथ निर्णय भइसकेको भए, पछि गोठमा धूवाँ देखी अनुमान गर्नु सिद्धसाधन हुन आउँछ । सामान्य तौरबाट ज्ञान उस मौकामा हुँदैन किन्तु विशेष तौरबाट हुन्छ भन्ने हो भन्ने कुन धूवाँ देखेर अग्निको अनुमान हुन्छ, कुन धूवाँ देखेर हुँदैन भन्ने कुराको अनुगमन (व्यवस्था) हुन सक्तैन अतएव भन्छन्—

विशेषेऽनुगमाभावः सामान्ये सिद्धसाध्यता ।
अनुमाभङ्गपङ्केऽस्मिन निमग्ना वादिदन्तिनः ।।

यसैउसले सामान्य र विशेष कुनै प्रकारसँग पनि अनुमान असम्भव भएबाट सो प्रमाण हुन नसक्दा यसको भरबाट कुनै कुराको पनि निर्णय हुँदैन । अनुमान नमाने लोकव्यवहार कसरी चल्ने ? यो पनि कुनै महŒवपूर्ण प्रश्न होइन, किनभने सम्भावनाबाट पनि लोकव्यवहारहरू चल्न सक्छन् । धूवाँ र आगाको कार्यकारण भाव हुनाले व्याप्ति भन्नालाई साहचर्य नियम छ भन्ने कुरामा पनि चार्वाकहरू कार्यकारण भाव मान्दैमान्दैनन् किनभने संसारका सब कुरा स्वाभाविक चल्छन् भन्छन् । स्वभावतः प्राणी दुःखी हुन्छ र स्वभावतः सुखी पनि हुन्छ । स्वभावतः बकुल्ला सेता हुन्छन्, सुगा हरिया र मुजूर चित्रविचित्रका । अतएव भन्छन्—

अग्निरुष्णो जलं शीतं शीतस्पर्शस्तथानिलः ।
केनेदं चित्रितं सर्वं स्वभावात् तद्व्यवस्थितिः ।।

अनुमानसम्म प्रमाण हुन्न भन्ने चार्वाकहरू शब्दप्रमाण हुन्छ भन्न कसै पनि तत्पर हुँदैनन् । शब्द आप्तवाक्य हो । आप्तवाक्य प्रमाण मान्नु पनि एकतरहको अनुमानै हो । किनभने कुनै अनुमानबाट कुनै पुरुषलाई आप्त ठह¥याई त्यसको वाक्य प्रमाण मान्नुपर्छ, तर अनुमानै ठीक प्रमाण हुन नसकेकाले त्यसको सहाराबाट आप्तत्वसिद्धि पनि हुन सक्दैन । तसर्थ शब्द पनि प्रमाण हुन सक्दैन । उसैले वेद, पुराण, धर्मशास्त्र केही पनि प्रमाणिक छैनन् । बरू यिनमा विचार गर्दा कति निरर्थक शब्द छन्, कति धूर्तवाद छन्, कति भाण्डवाद, कति राक्षसवाद । अतएव—

त्रयो वेदस्य कर्तारो धूर्तभाण्डनिशाचराः
जर्भरी तुर्फरीत्यादि पण्डितानां वचः स्मृतम् ।
इत्यादि भन्छन् ।

उसैले यस चार्वाकमतमा न त अनुमानगम्य आत्मा छ न त शब्द प्रमाणगम्य स्वर्ग अपवर्ग छ । ऐहिक विषय–सुख नै परम पुरुषार्थ हो । ऐहिक सुखमा दुःख पनि मिलेको छ । हुनत, जस्तै किसानले पराल छाडी चाहिएको धान मात्र थन्क्याउँछ, जस्तै माछा खाने मान्छेले काँडा छुट्याई माछा मात्र खान्छ, त्यस्तै दुःखका डरले सुखसमेत छाड्नु हुन्न किन्तु दुःख जति पन्छाई सुख जतिको अनुभव गर्नुपर्छ । जनावरले खान्छ भन्ने डरले किसानले खेती गर्न छाड्नुहुँदैन, पाहुनाका डरले गृहस्थले भात पकाउन छाड्नुहुँदैन । दुःखसमेत आइलाग्ने डरले सुखसमेत छाड्ने मान्छे डरपोक हो, अनभिज्ञ हो, मूर्ख हो, अतएव पारलौकिक स्वर्गादि सुख छैन । धन खर्च गरी यज्ञयाग गर्नु त धूर्तहरूका चङ्गुलमा फस्नु मात्र हो । किनभने अग्निहोत्र गर्नु वेद, पढ्नु, दण्डग्रहण गर्नु, सन्न्यास लिनु, भष्म तिलकहरू लाउनु, इत्यादि काम बुद्धि पुरुषार्थ केही नहुनेको जीविका गर्ने बाटो मात्र हो ।

बुद्धि बर्कत नभएकाहरूले रचेको खाने बाटो मात्र हो । यसमा केही सार छैन । तसर्थ यहाँ यसै लोकमा परिआउने दुःख नरक हो । राजा ईश्वर हो । मर्नु नै मुक्ति हो । यथेष्ट भोगविलास गर्न पाउनु नै स्वर्ग हो । शरीरलाई नै आत्मा मानेमा म राम्रो, म नराम्रो, म मोटो, म दुब्लो, म कालो, म गोरो इत्यादि व्यवहार ठीक चल्छ । मेरो शरीर भन्ने व्यवहार राहुको शिर भने जस्तो हो । यो सबै कुरा मनमा राखेर आचार्य बृहस्पतिले मुक्तकण्ठ भएर भनिदिएका छन् ।

न स्वर्गो नापवर्गो वा नैवात्मा पारलौकिकः ।
नैव वर्णाश्रमादीनां क्रियाश्च फलदायिकाः ।।
अग्निहोत्रं त्रयो वेदास्त्रिदण्डं भस्मगुण्ठनम् ।
प्रज्ञापौरुषहीनानां जीविकेति बृहस्पतिः ।।
पशुश्चेन्निहतः स्वर्गं ज्योतिष्टोमे गमिष्यति ।
स्वपिता यजमानेन तत्र कस्मान्न हन्यते ।।
मृतानामपि जन्तूनां श्राद्धं चेत्तृप्तिकारणम् ।
गच्छतामिह जन्तूनां व्यर्थं पाथेयकल्पना ।।
यदि गच्छेत् परं लोकं देहादेष विनिर्गतः ।
कस्माद् भूयो नचायाति वन्धुस्नेहसमाकुलः ।।
ततश्च जीवनपायो ब्राह्मणैर्विहितस्त्विह ।
मृतानां प्रेतकार्याणि न त्वन्यद् विद्यते कचित् ।।
इत्यादि

ृअर्थात्–न स्वर्गै छ, न पारलौकिक फल भोग गर्ने आत्मा नै छ, न त, वर्णाश्रम धर्मका क्रियाकलापहरू नै फलदायी छन् । अग्निहोत्र, तीन वेद, तीन दण्ड, भस्मधारण, यी सब कुरा बुद्धि, पुरुषार्थ केही नभएका मानिसका निमित्त जीविका चलाउने साधन मात्र हुन् भन्ने बृहस्पतिको अभिप्राय छ । ज्योतिष्टोम यज्ञमा मारिएको पशु स्वर्गमा जाने हो भने सजिलैसित स्वर्गमा पठाउन यजमानले आफ्नै बाबुलाई त्यस यज्ञमा किन नमारेको ? मरेका जन्तुलाई पनि श्राद्धद्वारा तृप्ति मिल्दछ भने परदेशमा जानलाई खर्चबर्च, सामलतुमलको झ्मेलो गरेर बोकेर लैजानु फजूल हुनेछ । यस देहबाट निक्लेको जीव परलोकमा जाने हो भने आफ्ना कुलकुटुम्ब, बन्धुवर्गहरूको स्नेहले आकुल भएर फेरि यहीं फर्केर किन आउँदैन ? तसर्थ मरेका व्यक्तिका लागि गरिने प्रेतक्रिया आदि कर्महरू बाहुनहरूले जीविका गर्ने यौटा उपाय बनाएको मात्र हो, त्यसभन्दा अर्को यसमा कुनै तत्व छैन ।े

हुन पनि अन्जान मानिसहरूको त के कुरा प्रत्यग्दृष्टि मात्र नभएका शिक्षित व्यक्तिहरूसमेत प्रायः ऐहिक दृष्ट सुख दुःखहरू पाउने उपायहरूलाई नै असल सम्झ्न्छन् । उसैले नीतिशास्त्र र कामशास्त्रअनुसार अर्थ तथा कामोपभोग मात्र परम पुरुषार्थ भन्ठान्छन् । यसै उसले पारलौकिक कुराको अपलाप गर्न आफ्नो तुच्छ स्वार्थका निम्ति चार्वाकमतको सहायता लिन्छन् । यस्ताहरू सम्मानित हुन जाँदा अबोध जनताको यसैतिर वैरो लाग्छ । अतएव साधारण लोकमा विस्तृत हुन जाने हुनाले यस मतको नाउँ ‘लोकायत’ भन्ने रहेको हो । यसै कारणले चार्वाकहरूका दलबाट—

भस्मीभूतस्य देहस्य पुनरागमनं कुतः
तस्मात् सर्वप्रयत्नेन ऋणं कृत्वा घृत पिवेत् ।।

भन्ने यसप्रकारको उच्छृङ्खल आवाज आउँछ । चार्वाकहरूको यस प्रकारको आचरणले लोकमर्यादालाई अवश्य अस्तव्यस्त पार्छ । कारण यस्ता केवल भौतिकवादका सहारा मानवजीवनका समस्याहरू सुल्झ्निेभन्दा झ्न् उल्झ्निे मात्र हुन्छन् । उसैले यस सिद्धान्तलाई प्रत्येक दर्शनले निन्दा गरेको छ, यो उचित पनि छ, तर पनि यस चार्वाकदर्शनको देन बडो महŒवपूर्णको छ । यस विषयमा चार्वाकहरूको ऋण चुकाउन कसैले सकेको छैन, कुन कुराको भने यसले वेद, पुराण, आप्तवचनहरूको विचार गर्दा पनि अन्धश्रद्धा पन्छाई मध्यस्थ रही विचार गर्ने मार्ग प्रत्येक, नास्तिकदर्शन एवं आस्तिकदर्शन सबैलाई दिएको छ । ७

(पुरातत्व विभागको मुखपत्र प्राचीन नेपाल को कात्तिक, २०२५ बाट)

commercial commercial commercial commercial