सही नेतृत्व, सफल पत्रिका

सेभ द चिल्ड्रेन, नर्वेले सन् २००२ मा ‘बालमैत्री विद्यालय र शिक्षण विधि’ कार्यक्रम आरम्भ ग¥यो । उक्त कार्यक्रमको सफलताका लागि शिक्षकको सीप, व्यवहार, मनोवृत्ति र दक्षतामा सुधार ल्याउनु अपरिहार्य थियो । त्यसनिम्ति नेपाल शिक्षक युनियन, शिक्षा विभाग र काठमाडौं विश्वविद्यालयको सहकार्यमा ‘बालमैत्री विद्यालय निर्देशिका’ तयार गरी हरेक जिल्लामा तीन जनाको दरले ७५ वटै जिल्लामा प्रशिक्षक शिक्षक तयार गर्ने कार्य शुरू गरियो । प्रशिक्षणको क्रममा धेरै शिक्षक साथीले ‘मानिसहरू शिक्षकलाई गाली गर्छन् तर हाम्रो सीप, क्षमता र सिकाइमा अद्यावधिक गर्न कुनै चासो राख्दैनन्’ भन्ने गुनासो राख्न थाल्नुभयो । लगभग सबैजसो जिल्लाका शिक्षकहरूले त्यस्तो गुनासो दोहो¥याइरहनुभयो । कतिपय शिक्षकले चाहिं ‘राजनीतिमा लागेको’ आरोपको प्रतिवाद पनि गर्नुभयो । उहाँहरूको कथन हुन्थ्यो, ‘शिक्षकहरू पढेलेखेका छन्; उनीहरूलाई पत्रिका पढ्न मन लाग्छ । बजारमा उपलब्ध पत्रिका किनेर पढ्छन् । अब पत्रिका पढेर राजनीतिक धारणा बनाउँछन्, बहकिन्छन् भने कसको के लाग्छ ? नेपालका सबै पत्रिकाले राजनीतिक विषय नै धेरै पस्किन्छन् त हामी के गरौं ? सिकाइ र शिक्षण विधि तथा प्रविधिमा अद्यावधिक गर्ने र पढ्ने सामग्री पाए हामी त्यही पढ्थ्यौं होला ।’ उनीहरूको त्यस्तो कथन र मागले सोच्न बाध्य बनायो । उनीहरूको माग र मर्का सही थियो तर पूरा गर्ने कसरी ?

शिक्षकलाई मनोसामाजिक परामर्श दिन; उनीहरूको मनोबल उच्च बनाउन, शिक्षण सिकाइका विषयमा अद्यावधिक गर्न तथा शिक्षाका नीति र कार्यक्रम निर्धारणमा उनीहरूको विचार, भावना र प्राथमिकताको बहस र पैरवी गर्ने चौतारीको सिर्जना र सहजीकरणका लागि धेरै विकल्पमा छलफल गरियो तर निष्कर्ष निकाल्न कठिन भयो । तीन लाखभन्दा बढी शिक्षकहरू शिक्षण पेशामा आवद्ध सम्भाव्य ग्राहक हुँदाहुँदै पनि सबैको तर्क हुने गर्दथ्यो, ‘राजनीतिक विषय विनाको पत्रिका चल्दैन, शिक्षकलाई बदल्न सकिन्न, पत्रिकाको बजार छैन, पत्रिकामा लेखेर कक्षाकोठामा परिवर्तन हुन्न, शिक्षाको विषयले पत्रकार बाँच्दैनन् र विषय पनि पुग्दैन’, आदि ।

यसै सिलसिलामा पत्रकार राजेन्द्र दाहाल, कनकमणि दीक्षित र वसन्त थापासँग यस विषयको सान्दर्भिकता, गाम्भीर्य, उपयोगिता र सम्भाव्यताका बारेमा विचार विमर्श गर्दा ऊर्जा मिल्यो । संभावनाहरू देखा परे । तर तिनको व्यवस्थापनमा चुनौती धेरै देखिए । तापनि, उक्त कार्यको जिम्मेवारी उहाँहरूले स्वीकार गर्नुभयो र शिक्षक मासिक जन्मियो– शुरूमा ‘पढ्ने, पढाउने र पढ्न पठाउनेका लागि’ अनि परिमार्जित भएर ‘सिक्ने, सिकाउने र सिक्न पठाउनेहरूको लागि’ भनेर । साढे आठ वर्ष संघर्ष गरेर आज शिक्षक को १००औं अंक पस्कन सफल भएकोमा शिक्षक मासिकका अभियन्ताहरू हार्दिक बधाई र साधुवादका पात्र छन् ।

शिक्षक मासिक तथा शिक्षाको विषयसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा आफू पनि आवद्ध हुन पाउँदा गर्वानुभूति हुन्छ । गाउँगाउँका विद्यालयका शिक्षक कोठामा शिक्षक देख्दा, विश्वविद्यालयमा शोधार्थीलाई शिक्षक मासिकले उजागर गरेका विषयहरूमा छलफल चलाउँदा, बाल क्लबका भाइबहिनीसँग शिक्षक मासिक पढेपछि शिक्षकहरूमा आएको परिवर्तनका कथा सुन्दा, व्यवस्थापन समिति र अभिभावक विद्यालय सञ्चालनका नीति र प्रक्रियाका सन्दर्भमा सुसूचित भएको पाउँदा र शिक्षक साथीहरूलाई शिक्षाको विश्व परिवेश र राष्ट्रिय नीति तथा कार्यक्रममा अद्यावधिक भई सरिक भएको देख्दा शिक्षाकर्मीहरूबीच शिक्षक मासिक आफ्नो लक्ष्यमा धेरै चुनौतीका बीच सफल भएको ठान्दछु ।

काठमाडौं उपत्यकाका सामुदायिक विद्यालयमा भूकम्पपछिको शैक्षिक अवस्था र आपत्कालीन शैक्षिक कार्यक्रम बारे अध्ययन गर्ने सिलसिलामा शिक्षक मासिकप्रतिको उनीहरूको धारणा बुझने अवसर प्राप्त भयो । त्यसैगरी सिन्धुली, धनुषा, काभ्रे तथा महोत्तरीका केही विद्यालयहरूको भ्रमणका क्रममा विद्यार्थी, अभिभावक र शिक्षकहरूसँग अन्तरक्रिया गर्दा शिक्षक मासिक सिक्ने र सिकाउनेका लागि उपयोगी साधन रहेको पुष्टि हुन्छ ।

सो अध्ययन र भ्रमणका क्रममा प्राप्त अनुभवका केही प्रतिनिधिमूलक गतिविधिहरू यसप्रकार छन्ः
–    ललितपुरको दक्षिणी भेगको एउटा माध्यमिक विद्यालयमा शिक्षक मा बालमैत्री विद्यालयका सन्दर्भमा मन्त्रालयबाट जारी भएको निर्देशिका र शिक्षकहरूबाटै लेखिएको लेख–रचनाका आधारमा विद्यालयबाट लौरो र शारीरिक सजाय हटाउन त्यहाँको बाल क्लबले प्रधानाध्यापक र व्यवस्थापन समितिसँग अन्तरक्रिया ग¥यो र आफ्नो लक्ष्य प्राप्त पनि ग¥यो । त्यति मात्र होइन, सो विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकको अन्तरक्रियाबाट बनाइएको आचारसंहिता सबैले पालना गरेको पाइयो ।


–    सिन्धुली, खुर्कोटको एक विद्यालयमा गठित नयाँ व्यवस्थापन समितिका अध्यक्षले आफ्नो काम, कर्तव्य र अधिकारको बारेमा थाहा पाउन शिक्षक मासिक उपयोगी भएको बताए । शिक्षक व्यवस्थापन, विद्यालय सुधार योजना तर्जुमा र सामाजिक परीक्षण सञ्चालन गर्ने विधि बारे शिक्षक मासिकको संग्रहले ठूलो साथ दिएको पनि अध्यक्ष सगर्व बताउँछन् ।
–    धनुषाको बेगाडावरस्थित एक प्राविका शिक्षकहरूले शिक्षक मासिकमा छापिएको प्रधानाध्यापकको काम, कर्तव्य र भूमिका सम्बन्धी लेखले आफ्ना प्रअलाई जिम्मेवार तुल्याउन सघाएको बताए । शिक्षक मासिकले दिएको सूचना र लेखको आधारमा मासिक बैठक बसाएको, विद्यालयको वार्षिक क्यालेण्डर बनाएको र निरन्तर मूल्यांकन पद्धति विद्यालयमा लागू गर्न सक्षम भएकोले विद्यालयमा बालबालिकाको नियमित उपस्थित बढी सिकाइ उपलब्धि सुधारोन्मुख भएको समेत पाइयो ।
–    सर्लाहीको मलंगवास्थित एक विद्यालयमा प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षको मिलेमतोमा खाली शिक्षक दरबन्दीमा विज्ञापन नगरी आफन्तलाई भर्ना गर्न लागेको थाहा पाई विद्यालयको शिक्षक अभिभावक संघले प्रधानाध्यापकको कोठामा भएको शिक्षक मासिक देखाउँदै शिक्षक भर्ना समिति गठन र विज्ञापन नगरी शिक्षक भर्ना गरे जिल्ला शिक्षा कार्यालयमा उजुर गर्ने बताएपछि नयाँ प्रक्रिया अपनाई पुनः योग्य र सक्षम शिक्षक भर्ना गरेको उदाहरण देखियो ।
–    २०७२ फागुन अंकमा प्रकाशित विद्यालय तहमा हुने अनियमितता सम्बन्धी एक सामग्रीले महोत्तरीको हात्तीलेटको एक विद्यालयमा पाठ्यपुस्तक वितरण सम्बन्धमा बाल क्लब र व्यवस्थापन समितिलाई शंका उब्जाइदियो । खोजबीन गर्दै जाँदा गत वर्षको हिसाबकिताबमा छात्रवृत्ति पनि वितरण नगरी मासेको पाइयो । तत्काल सामाजिक परीक्षण समिति गठन गरी छानबीन गर्दा प्रधानाध्यापकले गत दुई वर्षदेखि प्रति विद्यार्थी लागतको पैसा हिनामिना गरेको खुलासा भयो । अभिभावक भेला गरी एक वर्षभित्र विद्यालयलाई प्रअले आफ्नो तलबबाट कट्टा गरी शोधभर्ना गर्ने निर्णय भई कार्यान्वयनमा आएको छ ।
–    काभ्रेको पाँचखाल नगरपालिकाको एक माध्यमिक विद्यालयका प्रअले शिक्षक मासिकका विभिन्न अंकमा प्रकाशित शिक्षण विधि र शैक्षिक उपलब्धि सुधार गर्ने शिक्षक र शिक्षाविद्का लेखको आधारमा विज्ञान, गणित र अंग्रेजीका मावि र प्राविका शिक्षकहरूको बीचमा अन्तरक्रिया गरी उक्त शिक्षण विधिहरूको प्रयोग गर्ने अभ्यास गर्दा सिकाइ प्रभावकारी भइरहेको छ ।

माथिका प्रतिनिधिमूलक विवरणले के कुरालाई पुष्टि गर्छन् भने सम्पादकको खोजपत्रकारिताको लामो अनुभव, क्षितिजीय दृष्टिकोण, गाउँ शहरको अवस्था ग्रहण गर्ने कला र शिक्षकहरूबाट आएका लेखहरूलाई सरलीकृत गर्ने सम्पादकीय दक्षताले शिक्षक मासिक शिक्षा प्रणालीका पाँचैवटा तत्वहरूमा शिक्षकलाई अद्यावधिक र सिक्ने–सिकाउनेहरूलाई सही र रोचक सामग्री पस्कन सफल भएको छ । शिक्षा नीति, विद्यालय शिक्षाको पाठ्यक्रम, शिक्षण सिकाइ विधि तथा पद्धति, विद्यार्थी सिकाइ मूल्यांकनका अभ्यास र विद्यालय सुशासन तथा व्यवस्थापनका सबै पक्षमा लेखरचना, खोजमूलक एवं कार्य अनुसन्धान तथा सूचना र सामुदायिक विद्यालयमा भइरहेका राम्रा अभ्यासहरू यस मासिकका विषयवस्तु भएका छन् ।

विगतका ९९ अंकलाई सरसर्ती हेर्दा सबै अंक शिक्षकहरूको मनोबल उच्च राख्न, शिक्षण पद्धतिलाई बालकेन्द्रित र बालमैत्री बनाउन, गुणस्तरीय शिक्षाका लागि केही विधि र विचार प्रदान गर्न निरन्तर प्रयासरत छन् । शिक्षक मासिकको निरन्तरता र दिगोपनका लागि यसको व्यवस्थापन र बजारीकरणलाई प्रभावकारी बनाउन अझ् धेरै गर्न बाँकी नै छ । शिक्षक मासिकको योगदानको कदर गर्दै शिक्षासम्बन्धी निकायहरूले साझ्ेदारीको हातेमालो गर्न ढिला भइसकेको छ । हामी सबैले शिक्षक मासिकलाई आ–आफ्नो ठाउँबाट कुनै न कुनै रूपमा व्यक्तिगत र व्यावसायिक सहयोग गरौं सामुदायिक शिक्षाको गुणस्तर सुधारमा योगदान गर्ने कार्यमा पछि नपरौं ।

(लेखक, २०६४ सालमा शिक्षक प्रारम्भ गर्दा तत्कालीन सहयोगी संस्था सेभ द चिल्ड्रेन, नर्वेको तर्फबाट सहजकर्ताको भूमिकामा हुनुहुन्थ्यो ।)

commercial commercial commercial commercial