विद्यालयमा भाषणबाजी अनुत्पादक संस्कृतिको पुनरुत्पादन

नेपालमा विद्यालयहरूले प्रायः हरेक वर्ष वार्षिकोत्सव आयोजना गर्छन् । त्यसैगरी विभिन्न संघ–संस्थाका कार्यक्रम पनि भइरहेका हुन्छन् । यस्ता कार्यक्रम ‘भव्य र सभ्य’ रूपमा सम्पन्न भएको दाबी समेत गर्ने गरिएको पाइन्छ । तर आफैंमा कति ‘भव्य र सभ्य’ हुन्छन् त यी कार्यक्रम ? यो लेखमा, यस्तो अनुत्पादक संस्कृतिलाई विद्यालयमा हुने वार्षिक कार्यक्रमको तौरतरीका र भाषणबाजीसँग जोडेर नेपाली समाजमा कसरी यस किसिमको अनुत्पादक संस्कृतिको पुनरुत्पादन भइरहेको छ भन्ने चर्चा गर्ने जमर्को गरिएको छ ।

अवलोकन
जिल्लामै निकै सफल गनिएको एक सामुदायिक विद्यालयको वार्षिकोत्सव समारोह चल्दैथियो । त्यो कार्यक्रममा केही विदेशी स्वयम्सेवक पनि दर्शकदीर्घामा बसेका थिए । उनीहरूलाई के भाषण भइरहेको छ थाहा थिएन । औपचारिक बिदाइको लागि मञ्चमा बोलाइन्छ भनिएकोले उनीहरू आफ्नो पालो कुरिरहेका थिए । कार्यक्रमको बीचतिर मैले एकजनालाई सोधेंः ‘कार्यक्रम कस्तो लागिरहेछ ?’ मैले प्रश्न सोधेर उनको मनको उकुसमुकुस बिसाउन सानो भए पनि सहयोग गरेको रहेछु । उनले भनिन्, “ए भगवान ! म त चकित छु । कति भाषण गर्न सकेको होला । के हो यो ? किन हो यति धेरै मानिस बोलेको ? दिनभरि !” म केही नबोली फिस्स हाँसेर मञ्चतिर लागें ।

वार्षिकोत्सवको अघिल्लो दिन भाषण कम गर्ने र कार्यक्रमलाई तीन घण्टामै सिध्याउने समझ्दारी बनेको थियो । तर अन्ततः यो प्रयास सफल हुन सकेन । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र एक विद्यार्थी समेत २१ जनाले लगातार भाषण गरे । तैपनि भाषण गर्न लालायित सबैलाई समेट्न सकिएन । तिनको मान राख्न पुरस्कार, अबिर, माला भने प्रदान गरियो । यति गर्दा पनि सबैलाई खुशी पार्न सम्भव भएन । व्यवस्थापन समितिले ‘आफ्ना मान्छे’ लाई मात्र भाषण गर्न दिएको भनी तिक्तता पोख्दै हिंड्ने र त्यसपछि विद्यालयतिर फर्केर नहेर्ने मानिस पनि देखिए ।

६ घण्टासम्म बेञ्चमा ‘अनुशासनपूर्वक’ बस्न लगाइएका तीन वर्षदेखि १३ वर्षसम्मका बालबालिकालाई वक्ताले के भनिरहेका छन् ? किन भनिरहेका छन् ? कुनै मेलोमेसो थिएन । पानी समेत नखाई बहादुरीपूर्वक बसिरहेका उनीहरूको आपसी खासखुस र मौरी–गुञ्जनलाई ‘लाउडस्पीकर’ को आवाजले निस्तेज पारिरहेको हुन्थ्यो । उनीहरूलाई यदि कुनै कुराको मतलब थियो भने कार्यक्रमको अन्त्यतिर दिइने पुरस्कार र खाजा–नास्ता अनि विद्यार्थीले देखाउने नाचगान कार्यक्रमको । तैपनि, चेतन÷अर्धचेतन इन्द्रियमार्फत उनीहरूले ठूला मानिसबाट भोलिको लागि केही न केही कुरा त सिकिरहेकै थिए ।

मैले भाग लिएका अरू थुप्रै विद्यालयका वार्षिकोत्सवको हालत योभन्दा पनि खराब थियो । तोकेभन्दा धेरै ढिलो शुुरू हुने, घण्टौंसम्म तन्केर धेरै ढिला सकिने यस्ता कार्यक्रममा लामबद्ध वक्ताका चर्काचर्का भाषण सुन्न विवश हुनै पर्छ । शहरदेखि गाउँसम्म यस्ता भाषणबाजीले संस्कृतिकै रूप ग्रहण गरिसकेको छ । भाषणलाई एउटा कला मान्ने हो भने, नेपालले यस्ता धेरै कलाकारहरू जन्माइसकेको हुनुपर्छ । तर पनि कति फलदायी छन् त यस्ता भाषण र कार्यक्रम ?

अनुत्पादक संस्कृतिको पुनरुत्पादन
सामान्यतः श्रोताले वक्ताको भाषणबाट असल प्रेरणा पाऊन् भनेर अपेक्षा गरिएको हुन्छ । राम्रो भाषण सुन्न पाइन्छ भनेर आउने मानिस पनि हुन्छन् । यस्ता कार्यक्रमबाट विद्यार्थीले पनि केही हदसम्म वाक् कला सिक्ने तथा तार्किक क्षमता बढाउने र उत्प्रेरित हुने मौका पाउँछन् । तर हाम्रा स्कूलमा जुन तरीकाले कार्यक्रम गर्ने गरिन्छ, ती प्रत्युत्पादक हुने खतरा बढी रहन्छ ।

ठूलाबडा भनिएका मानिसले विद्यालयमा प्रदर्शन गर्ने व्यवहारबाट साना नानीहरूको कलिलो मस्तिष्कमा विभिन्न मूल्यमान्यताहरूको खेती भइरहेको हुन्छ । जे रोपिन्छ स्वाभाविक रूपमा त्यही फल्छ, अर्थात् रोपेकै कुराको पुनरुत्पादन हुन्छ । उनीहरूमा विषयवस्तुलाई आलोचनात्मक रूपमा गोडेर ग्रहण गर्ने क्षमताको विकास भइसकेको हुँदैन । यसलाई एक किसिमले फ्रान्सेली समाजशास्त्री पियरे बोर्दुको भाषामा ‘सिम्बोलिक भ्वाइलेन्स’ अर्थात् ‘सांकेतिक विध्वंस’ को रूपमा पनि लिन सकिन्छ । यसबाट बानीको निर्माण हुन गई सांस्कृतिक मूल्य वा अर्को शब्दमा ‘सांस्कृतिक पूँजी’ को रूप धारण भएको हुन्छ ।

उत्पादनशीलतामा बाधा पार्ने खालको ‘सांस्कृतिक पूँजी’ ले समग्र राष्ट्रिय विकासलाई पछि धकेलिरहेको हुन्छ । कतिपय मानिसले हाम्रो देशको पछौटेपनमा यस्तै प्रवृत्तिहरू जिम्मेवार रहेको निचोड निकालेका छन्; जसमा सत्यता पनि छ । यस्ता खाले संस्कृतिको निर्माण, पुनर्निर्माण र तिनले पार्ने असर बहुआयामिक हुन्छ, र दैनिक जीवनका औपचारिक वा अनौपचारिक परिवेशमा चेतन वा अचेतन हिसाबले तिनको पक्षपोषण भइरहेको हुन्छ । विद्यालय यो बृहत्तर परिवेशको एक सानो तर महŒवपूर्ण क्षेत्र हो र विद्यालयमा हुने औपचारिक कार्यक्रम त्यसको एउटा पाटो ।

बेतुके भाषणका नौ खराबी
यहाँ विद्यालय (र अन्य क्षेत्रमा) सञ्चालन गरिने भाषण कार्यक्रमको परिवेश र त्यसबाट उत्पादन हुनसक्ने नौ ओटा अन्तरसम्बन्धित विसङ्गतिपूर्ण प्रवृत्ति र परिणतिबारे संक्षेपमा विवेचना गरिन्छ ः

नेपाली समयः कार्यक्रम ढिला शुरू गर्नु, प्रमुख अतिथि समयमा नआइदिनु र कार्यक्रम समयमा नसकिनु — हाम्रा आम कार्यक्रमका विशेषता हुन् । कुख्यात ‘नेपाली समय’ (नेपाली टाइम) यसैको उपज हो र यो अब स्वीकार्य नेपाली पहिचान जस्तै भइसकेको छ । नेपालीहरू जहाँ बसे पनि आयोजकदेखि आगन्तुकसम्म भनेको समयमा कोही जुट्दैनन्; ढिला जाँदा हुन्छ भन्ने अलिखित मान्यता नै बनिसकेको छ । यसबाट बालबालिकामा समयको पालन नगर्दा पनि स्वीकार्य हुने रहेछ भन्ने सन्देश गइरहेको हुन्छ । यस्तो प्रवृत्ति सुधार्ने ठाउँ विद्यालय हुनुपर्ने हो, तर विद्यालयमै हुने कार्यक्रमबाट पनि त्यसकै पुनरावृत्ति भइरहेको हुन्छ ।

मिचाहा प्रवृत्ति र अहंकारः कार्यक्रममा ‘विचरा’ आयोजकले वक्ताहरूलाई छोटो बोल्दिन भनिरहेका हुन्छन् । तर वक्ताले त्यसलाई मतलब गरेको पाइँदैन । एकातिर वक्ताहरू आयोजकको निर्देशन पालन नगरेर सामान्य मानवीय शिष्टताको मानमर्दन गरिरहेका हुन्छन् भने अर्कोतिर आयोजकहरू नियम मिचुवा वक्तालाई रोक्न नसकेर विचरा भइरहेका हुन्छन् ।

अझ्ै उदेकलाग्दो त के छ भने, दिएको भन्दा दुई तीन गुणा बढी समय लिंदा पनि कति वक्ताले क्षमायाचना गर्नु आवश्यक ठान्दैनन् । हीनताबोध छैन, छ त केवल अहंकार । यसबाट नानीहरूले कस्तो नैतिक पाठ सिक्लान् ? कार्यक्रम धकेलिएर यति ढिला भइसकेको हुन्छ कि, अध्यक्षता गरिरहेका मानिस बोल्ने बेलासम्म श्रोताहरू आत्तिएर हिंडिसकेका वा उठेर यताउता गरेर होहल्ला भइरहेको हुन्छ । खास बोल्नुपर्ने मानिसलाई उठेका सवालहरूमा स्पष्ट पार्न र महŒवपूर्ण घोषणा गर्न मौका नै बाँकी रहँदैन ।

मपाइत्व र द्वैध चरित्रः जीवनमा सकारात्मक कामका नाममा सिन्को नभाँचेका वा आफ्नो पदीय कर्तव्य र दायित्व पूरा नगरेका मानिसहरू पनि भाषण गर्दा आदर्शपुरुष जस्तो बनेर अर्ती उपदेश पस्किरहेका हुन्छन् । आफ्नो सार्वजनिक जीवनमा ठीक उल्टो चरित्र भएका तर मञ्च हत्याउन सिपालु भाषणबाजहरूले नैतिक उपदेश र आदर्श ओकले पछि, त्यसबाट द्वैध चरित्रको संस्कृति मौलाउन सहयोग पुग्छ नै ।

श्रोता समझ्को अपमानः ‘ठूलामान्छे’ को वाक्क लाग्ने लामो भाषण बेहोरिसकेपछि उद्घोषकले ‘उहाँले यस्तो, उस्तो भन्नुभयो’ भनी भाषण दोहो¥याएर श्रोताको बुझने क्षमतालाई अपमान गर्ने र समय सीमाको आदर नगर्ने प्रवृत्ति पनि सँगै हावी भएको पाइन्छ ।

अति औपचारिकताः प्रायःजसो कार्यक्रममा सभापति, प्रमुख अतिथि, विशिष्ट अतिथि, वरिष्ठ अतिथि र अन्य अतिथिहरूको पगरी गुताएर, ‘व्याज’, माला र खादा पहि¥याएर औपचारिकता दिने गरिएको पाइन्छ । अनौपचारिक तरीकाले चलाउँदा बढी फलदायी हुने खालका कार्यक्रमलाई पनि धेरै औपचारिकता दिंदा स्थानीय सहभागिता निरुत्साहित हुन पुग्छ । यसले औपचारिकताको संस्कृति निर्माणमा टेवा पु¥याइरहेको हुन्छ ।

स्तुतिगान र चाकडीः लामो सम्बोधन नगर्न अनुरोध गर्दागर्दै प्रायःजसो वक्ताहरू मञ्चमा रहेका अतिथिहरूलाई एकएक गरेर सम्बोधन मात्र गर्दैनन्, कतिपयले तिनीहरूको स्तुति गाउँदै चाकडी पनि गर्दछन् । आयोजक र उद्घोषकदेखि वक्तासम्म ‘ठूलामान्छे’ लाई खुशी पार्न तल्लीन देखिन्छन् । यसले भाषण कहिले सकिएला भनेर कुरिरहेका श्रोताको धैर्यलाई चुनौती मात्र दिएको हुँदैन, साना नानीहरूमा अरूप्रति स्वाभाविक आदर भन्दा पनि अस्वाभाविक स्तुति गरी खुशी पार्नुपर्ने रहेछ भन्ने भान पारिरहेको हुन्छ । यसबाट अगाडि हुँदा एउटा, अनि पछाडि हुँदा अर्को व्यवहार गर्ने प्रवृत्तिले प्रश्रय पाउँछ ।

सस्तो सम्मानः कार्यक्रम अवधिभर ‘आसनग्रहणको क्रम जारी राखेर’ कतिपय ठाउँमा मञ्चमा बसाइने भलाद्मीको संख्या श्रोताको भन्दा बढी बनाइन्छ । अनि कति ठाउँमा त श्रोताभन्दा वक्ता बढी हुन्छन् र कलिला विद्यार्थी एवम् केही निमुखा मानिसहरू (प्रायः वृद्ध तथा महिलाहरू) मात्र श्रोता दीर्घामा रहने स्थिति पैदा हुन्छ । त्यसैगरी प्रायः कार्यक्रमहरूमा कसै न कसैलाई खादा वा दोसल्ला ओढाएर सम्मान गर्ने गरिन्छ । सम्मानका लागि योग्य हुन पूरा गर्नुपर्ने कुनै मापदण्ड नै हँुदैन । कतै सानासाना काममा पनि सम्मान गरेर ‘... लाई भन्दा देख्नेलाई लाज’ को परिस्थितिको सृजना गरिएको हुन्छ, यद्यपि त्यहाँ लाज भन्ने तत्वको बोध भएको हुँदैन । कार्यक्रमसँग साइनो होस् वा नहोस् कतै ठूलो पद ओगटेको मानिस आयो भने उसलाई सम्मान दिनै पर्ने जस्तो देखिन्छ । हुँदाहुँदा काम नगरेका, गलत चरित्र भएका मानिसहरूसमेत सम्मान खरीद गर्न वा हत्याउन सफल भएका पाइन्छन् । यसले एकातिर सानो काममा पनि सम्मान खोज्ने प्रवृत्तिलाई बढावा दिन्छ भने निस्वार्थ योगदान केवल सम्मान पाउनकै लागि मात्र गरिंदैन भन्ने मान्यतालाई छायाँमा पारिदिन्छ ।

ठूलो मानिस, सानो मानिसः स्वघोषित वा सदाबहार ‘ठूला मानिस’ जति सबैलाई मञ्चमा राख्ने त छँदैछ, तर कतिपय मानिसहरू आफू प्रमुख वा विशिष्ट अतिथि हुन पाइन्छ कि पाइँदैन ? प्रमुख अतिथि हुने मान्छे पदीय हिसाबले आफूभन्दा ठूलो–सानो कस्तो हो ? भन्ने समेत खोजीनिती गरेर मात्र निमन्त्रणा स्वीकार गर्छन् । मञ्चमा बोलाउन, आतिथ्यता दर्शाउन, सम्मान दिन र विचार व्यक्त गर्न दिन केही सान्दर्भिकता, योगदान वा वस्तुगत सम्बन्ध आवश्यक हुनुपर्ने हो, तर हामीकहाँ त्यस्तो केही हुँदैन । मञ्चासीन ठूला मानिसहरूको संख्या हेर्दा जातीय र लैङ्गिक प्रतिनिधित्वको ठूलै असन्तुलन महसूस गर्न सकिन्छ । विना कारण मानिसहरूलाई यसरी फरक–फरक व्यवहार गर्दा बालबच्चाहरूमा ‘ठूला–साना’ हेरेर गरिने व्यवहारको सिको गर्ने र ‘हाइरार्की कन्सस’ हुने बानी बस्न सक्छ ।

हावादारी अर्ती–उपदेशः प्रायःजसो वक्ताहरू आफ्नो विद्वत्ताको प्रदर्शनमा केन्द्रित रहेको पाइन्छ । वस्तुनिष्ठ र सान्दर्भिक कुरा गर्नुभन्दा पनि लय र रूपमा केन्द्रित कति (राजनीतिक) वक्ताहरू चिच्याई–चिच्याई आदर्श र उपदेशहरू ओकल्दै वाह् वाह् र ताली बटुल्न लालायित हुन्छन् । उनीहरूले बोलेका धेरैजसो कुराहरू असान्दर्भिक त हुन्छन् नै, आयोजकहरूले पनि बोलिएका उपयोगी कुराहरू भए अभिलेख गर्ने, रिपोर्ट बनाउने र कार्ययोजनामा ढाल्ने गरेको पाइँदैन । विचारहरू व्यवहारको लागि नभएर बोल्नका लागि मात्र राखिएको हुन्छ । त्यस कारण भाषणमा बोलिएका कुराहरू प्रायः हावामा उडेर विलाइरहेका हुन्छन् ।

विशेषतः सरकारी वा सामुदायिक विद्यालयमा हुने वार्षिक कार्यक्रमहरूमा क्षेत्रभरिका विद्यालयका प्रधानाध्यापकहरूलाई बोलाएर पर्म लगाउने चलनै बसेको पाइन्छ । धेरैलाई मञ्चमा बोलाउनु, भाषण गर्न दिनु र सम्मान गर्नु आयोजकको रहर मात्र नभएर व्यावहारिक बाध्यता पनि बनेको अवस्था छ । संस्कार यस्तो बनिसकेको छ कि यसलाई तोड्नु जोखिमपूर्ण पनि हुनसक्छ । रिसाउलान् र भोलि सहयोग नपाइएला भन्ने डर एकातिर रहन्छ भने, आफूलाई पनि मान नगर्लान् भन्ने डर अर्कोतिर । खुशी पार्न सक्दा स्रोत झर्न सकिने ‘टप–डाउन’ व्यवस्थामा जान्नेका लागि यो एउटा ‘इन्स्टुुमेन्ट’ पनि साबित भएको छ ।

स्थानीय ठूलाबडा र बाहिरबाट लाख कोशिश गरेर ल्याइएका अतिथि गण तथा विद्यालयलाई माया गर्ने शुभचिन्तक पाहुनाहरूलाई चित्त दुखाउने कुरा पनि भएन । मान देखाउने उचित स्थान दिएर हो । भाषण गर्न नदिए त्यो मान गरेको ठहरिंदैन । अनि समावेशी विचारलाई लत्याउने दुस्साहस गर्नै भएन । राजनीतिक पार्टीका नेताहरूलाई स्थान नदिए पनि हैरान, दिए पनि हैरान । गुनासै गुनासो ।

परिवर्तन जरूरी
कतै रहर र कतै बाध्यताको रूपमा मौलाइरहेको भाषणबाजी प्रवृत्ति र यसबाट समाज र राष्ट्रिय विकासमा परेको प्रभावको बारेमा लेखाजोखा गर्ने गरिएको पाइँदैन । यस्तो व्यवहारलाई विद्यालयका कार्यक्रममा आयात गर्दा पुनरुत्पादन हुन जान्छ भन्ने कुरामा पनि सचेतता देखिंदैन । राष्ट्रको द्रुततर उन्नतिका लागि उत्पादनमुखी र नैतिकवान जनशक्ति तयार हुनु जरूरी हुन्छ त भनिन्छ तर त्यसको बाधक आफैं भइरहेको कुराप्रति होश गरिन्न ।

अहिले ५–६ घण्टा वा सोभन्दा बढी चलाइने विद्यालयका वार्षिक कार्यक्रमहरू दुई÷तीन घण्टामा प्रभावकारी तरीकाले सजिलै सम्पन्न गर्न सकिन्छन् । यसो गर्नका लागि यी कार्यक्रमहरू विद्यार्थी र अभिभावकमुखी बनाउनु आवश्यक हुन्छ ।

प्रधानाध्यापकको प्रतिवेदन प्रस्तुति, व्यवस्थापन समितिको प्रतिवेदन प्रस्तुति, विशेष टिप्पणी, सूचना र वक्तव्यको लागि बोलाइएका एक विशेषज्ञ वक्ता (मुख्य अतिथि) बाहेक अरूलाई मञ्चमा बोलाउनु, अनावश्यक सम्बोधन गर्नु र भाषण गर्न दिनु जरूरी छैन ।

स्थानीय क्षेत्रभरिका विद्यालयका प्रधानाध्यापकहरूलाई निमन्त्रणा दिएर सबै विद्यालयको पढाइ र प्रशासनमा हानि पु¥याउनु पनि उचित हुँदैन । उनीहरूले आपसी आदानप्रदान र राम्रो कुराको सिको गर्ने थलो स्रोत केन्द्रस्तरीय बैठकलाई बनाउनुपर्छ ।

सरकारले पनि आफ्ना कर्मचारीलाई भाषणकै लागि ‘हाकिम’ बनेर काम छाडी हिंड्न नपाइने नीतिगत व्यवस्था गर्दै विद्यालयमा भाषणबाजीलाई निरुत्साहित गर्ने व्यवस्था लागू गर्नु आवश्यक देखिन्छ । डेढ दशकदेखि निर्वाचित प्रतिनिधि नभएका स्थानीय (जिल्ला, नगर, गाउँ) निकायका कर्मचारीलाई जननिर्वाचित पदाधिकारीको हैन राष्ट्रसेवक कर्मचारीको रूपमा भूमिका खेल्न सुझउनु जरूरी छ । आज भाषण, खादा, मानसम्मानलाई नै जनसेवा गरेको भनी (पत्रपत्रिका, सामाजिक सञ्जालमा) प्रचार गर्ने बानी परेका सरकारी कर्मचारीहरू भोलि निर्वाचित व्यवस्थामा कसरी काममा फर्कन सक्लान् ? चिन्ताको विषय बनेको छ । जनताको करबाट पारिश्रमिक लिएर उनै माथि हाकिमी लाद्नुलाई जनसेवा भन्न सकिन्न ।

समयलाई सही ढङ्गले पालन गर्न पैसा चाहिन्न । यसलाई सम्मान गर्ने बानी बसाउन सकिन्छ । समयको उचित पालनले वर्तमानको मात्र हैन भविष्यको पनि उत्पादकत्व बढाउन सकिन्छ । भाषणका कार्यक्रमहरू छोटो हुने भएपछि मानिसले अरू व्यक्तिगत वा संस्थागत काम पनि गर्न भ्याउँछन् जसको कारण कार्यक्रममा उपस्थिति तथा सहभागिता पनि बढी हुन जान्छ ।

बरू विचार विमर्श गरी कुनै निर्णय, निष्कर्ष निकाल्नु छ भने छुट्टै अनौपचारिक कार्यशाला आयोजना गर्नु श्रेयस्कर हुन्छ ।

यसबाट विचार बाँड्न लालायितहरूलाई मौका पनि मिल्छ र त्यसपछि बन्ने कार्ययोजनामार्फत उनीहरूलाई जिम्मेवारी पनि दिन सकिन्छ । विद्यार्थीको वाक् तथा व्यक्तित्व विकासको लागि अरू नै प्रभावकारी उपायहरू गर्नुपर्दछ ।
सांस्कृतिक विनिर्माणको बाटो एकदम असहज हुन्छ तर असम्भव हुँदैन । विसङ्गतिको क्रमभङ्गता हुँदा तिनको पुनरुत्पादन घट्न गई उत्पादनमुखी जनशक्ति र समाजको निर्माणमा केही मात्रामा टेवा पुग्न जाने विश्वास गर्न सकिन्छ । कमसेकम विद्यालयमा यस्ता अनुत्पादक प्रवृत्तिलाई निरुत्साहित गर्न सके आयोजित कार्यक्रमहरू सही अर्थमा भव्य र सभ्य हुनेथिए ।

(अक्सफोर्ड विश्वविद्यालयका ‘रिसर्च फेलो’ लेखक ‘जात, वर्ग र संस्कृति’ विषयका शोधकर्ता हुन् ।)

commercial commercial commercial commercial