राम्रा प्र.अ.+राम्रा अध्यक्ष+मेलमिलाप = उन्नति 'नराम्रा प्रअ+नराम्रा अध्यक्ष+घोचाघोच = बर्बादी'

शिक्षक र शिक्षासँग सरोकार राख्ने सबैको प्रिय र लाभकारी पत्रिका शिक्षक को असार अंक २०७३ मा एउटै भेगका केही विद्यालयले कसरी राम्रा प्रअ र अध्यक्ष पाउँछन् र पढाइमा प्रगति गर्छन् अनि त्यहींका अरू विद्यालय चाहिं किन प्रअ, शिक्षक र व्यवस्थापन समितिबीच पोलापोल र घोचाघोचको चक्रमा परेर बर्बादीतिर उन्मुख हुन्छन् ? यो प्रश्न यद्यपि अनुत्तरित रहेको भन्ने पृष्ठभूमिमा यो लेख लेख्ने हुटहुटी चल्यो ।

माथि उल्लेख गरिएको व्यक्ति, स्थान, समय र परिस्थिति अनुसार फरक–फरक हुन सक्छ । मेरो विचारमा उक्त प्रश्नको जवाफ तपसिल अनुसार हुनसक्छ :
१. शिक्षक पत्रिका : शिक्षक शिक्षकले मात्र होइन, सबैले पढ्नै पर्ने पत्रिका हो । यो पत्रिका नपढ्ने शिक्षकहरू आफूलाई सुधार गर्दै शैक्षिक जगतको उन्नतितर्फ लाग्नै सक्दैनन् । यो पत्रिका पढ्ने प्रअ, शिक्षक तथा विव्यस पदाधिकारीहरू राम्रा बन्छन्, नपढ्नेहरू पक्कै पनि पढ्ने जस्तो राम्रा हँुदैनन् । यस कारण राम्रा÷नराम्रा शिक्षक, प्रअ र समितिका मानिसहरू हुनु नहुनुमा पहिलो कारण शिक्षक पत्रिका पढ्ने बानी हुनु र नहुनुमा निर्भर गर्छ ।  
२. सोच : दोस्रो जवाफ सोच हो । हरेक मानिसमा सोचाइ हुन्छ । मानिसको सोचाइले उसको सम्पूर्ण जीवन र भविष्य निर्धारण गर्छ । हरेक कुराको अस्तित्व दुई पाटो भए जस्तै सोचका पनि दुई पाटा हुन्छन्–सकारात्मक र नकारात्मक । सकारात्मक सोचाइ प्रगतिको सोचाइ हो । उन्नतिको सोचाइ हो । यसलाई विवेकी सोचाइ वा धार्मिक सोचाइ पनि भन्न सकिन्छ । अर्काे हो नकारात्मक सोचाइ । नकारात्मक अवनतिको सोचाइ हो । यसलाई अविवेकी सोचाइ वा पापी सोचाइ पनि भन्न सकिन्छ । जुन विद्यालयका शिक्षक, प्रअ र समितिका मानिसहरू सकारात्मक सोचाइका छन् उनीहरू राम्रा बन्छन् । जुन विद्यालयमा नकारात्मक सोच राख्ने प्रअ, शिक्षक र समितिका मानिसहरू छन्; त्यस्ता विद्यालय र त्यहाँका व्यक्तिहरू नराम्रा बन्छन् ।

अन्य कुराको जतिसुकै बहानावाजी गरे पनि शिक्षा सप्रनु र बिग्रनुमा प्रमुख भूमिका हामी शिक्षककै रहन्छ । शिक्षकहरूमा पनि प्रअको कार्यकुशलताले निर्णयात्मक भूमिका निभाउँछ । प्रअ र अन्य शिक्षकहरूको सोचाइ सकारात्मक छ भने विद्यालयको उन्नति, विद्यार्थीको भविष्य र शिक्षाको गुणस्तरबारे सोचिन्छ, चिन्तन गरिन्छ र दत्तचित्तका साथ लागिन्छ । विव्यसमा पनि राम्रा मानिस आउँछन् । केही गरी खराबै मान्छे समितिमा परे भने पनि उसलाई समेत राम्रो काम गर्न प्रेरित गरिन्छ । तर सबैमा नकारात्मक सोच भए विद्यालय, शिक्षा, विद्यार्थी कसैको पनि भलाइबारे सोचिंदैन ।
३. शिक्षक : सामान्यतया शिक्षक भन्नासाथ शिक्षित वर्ग भन्ने धारणा राखिन्छ । तर यहाँनेर बुझनुपर्ने कुरा के छ भने शिक्षित मानिस शिक्षक बन्न सक्छ तर सबै शिक्षकहरू शिक्षित हुन्छन् नै भन्न सकिंदैन । शिक्षित हुन ज्ञान, विवेक, अनुशासन, कर्तव्यनिष्ठ, विनम्रता, मिलनसारिता, सहयोग, त्याग, सहनशीलता, परिश्रमी, उत्साह जाँगर, उत्सुकता, समर्पण, सत्चरित्रता जस्ता गुणले भरिनुपर्छ । यी गुण नभएका प्रअ र शिक्षकलाई शिक्षित भन्न मिल्दैन । कामचोर, लोभ, घमण्ड, हैकम, आलस्य, अज्ञानता, स्वार्थ, बेवास्ता, असहयोग, रीस, भ्रष्टाचार र दुराचार जस्ता गुण बोकेका शिक्षकहरू शिक्षित कहलिंदैनन् । तिनीहरू शिक्षक नामका अशिक्षित जमात हुन् । यसरी शिक्षित शिक्षकहरू भएको विद्यालयले राम्रो प्रअ पाउने अवस्था रहन्छ भने अशिक्षित शिक्षकहरू भएको विद्यालय राम्रो प्रअ पाउनबाट वञ्चित रहन्छ ।
४. राजनीति : राजनीतिले विद्यालयमा राम्रो शिक्षक, राम्रो प्रअ र राम्रो समिति पाउने नपाउने कुरामा महŒवपूर्ण भूमिका राख्दछ । तर खराब राजनीतिकरण भएका कारण हाम्रा विद्यालयले राम्रो प्रअ त के राम्रो शिक्षक र विव्यस समेत पाउन सकिरहेका छैनन् । नेपालमा सबभन्दा बढी राजनीतिकरण भएको छ भने त्यो शिक्षामा छ । नेताहरूले शिक्षकलाई आफ्नो दलको असली कार्यकर्ताको रूपमा हेर्ने र व्यवहार गर्ने काम भएको छ । राजनीतिक आस्थाको आधारमा प्रअ चुन्ने, शिक्षक राख्ने, समिति निर्माण गर्ने कुरा विद्यालयमा दलहरूले ‘नगरी नहुने काम’ को रूपमा विकसित भएको छ । यस्तो कामबाट राम्रो फलको आशा गर्नु भनेको वीरबलको खिचडी जस्तै हो जुन कहिल्यै पाक्दैन ।

यहाँ आफूले भोगेको एक सान्दर्भिक प्रसंग उल्लेख गर्छु । म यो उमाविमा सरुवा भई आउनुभन्दा पहिले करीब दुई घण्टाको बाटोमा पर्ने श्री विद्योदय उमावि; दोर्पामा अध्यापन गर्थंे । त्यस विद्यालयमा, २०४८÷४९ सालतिर यस्तोसम्म भयो कि राजनीतिक आस्था र स्वार्थ नमिलेका कारण त्यहाँ कार्यरत बी.एड. योग्यताका प्रअलाई हटाई एसएलसी गरेका शिक्षकलाई प्रअ बनाइयो । निकै कुशल प्रअ हटाई अयोग्य व्यक्तिलाई प्रअ बनाइएपछि त्यस विद्यालयको अवस्था नाजुक भएको थियो ।

यसैगरी, हाल म कार्यरत विद्यालयमै पनि विद्यालयको आवश्यकताको आधारमा नभई, राजनीतिक आस्था र आफ्नो मान्छेको आधारमा नयाँ शिक्षक ल्याउने काम भएको छ । परिणामस्वरुप यस विद्यालयमा मावि तहमा विज्ञान विषयका एक जना पनि शिक्षक छैनन् भने सामाजिक विषयका शिक्षक हुँदाहँुदै थपेर तीन–तीन जना पु¥याइएको छ । मावि तहमा नेपालीका एक जना शिक्षक छन् भने अंगे्रजीका शिक्षक तीन–तीन जना छौं । यसबाट, विद्यालयमा राम्रो प्रअ, शिक्षक र विव्यस हुनु र नहुनुमा राजनीतिकरणको भूमिका रहने कुरा पुष्टि हुन्छ ।
५. स्वार्थ र लोभ : सबै कुराको दुईपाटा र पक्ष भए जस्तै स्वार्थ र लोभको पनि दुई किसिम हुन्छ । व्यक्तिगत स्वार्थ र लोभ अनि सामाजिक स्वार्थ र लोभ । व्यक्तिगत स्वार्थ र लोभ राख्ने प्रअ र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षक समेतमा शान देखाउने, हैकम प्रदर्शन गर्ने, आर्थिक घोटाला गर्ने प्रवृत्ति रहन्छ । यसै प्रकारको स्वार्थको कारण प्रअ को बन्ने ? समितिमा को रहने भन्ने कुरामा झ्गडा, विवाद, हानाहान, तानातान र मारामारको समेत स्थिति पैदा हुन्छ । कतिपय विद्यालयहरूमा प्रअ हुने र समितिमा बस्ने विवादले बेलाबखत गोली हानाहानको घटना भएको कुरा सुन्न र देख्न पाइरहनु पछाडि व्यक्तिगत स्वार्थ र लोभकै कारण रहेको छ । यसको विपरीत सामाजिक स्वार्थ र लोभ राख्ने गरेमा राम्रो प्रअ, राम्रो समिति र सुमधुर वातावरण हुनसक्छ । विद्यालयलाई केही दिनु र जसरी हुन्छ विद्यालयबाट केही लिनु– दुई छुट्टाछुट्टै प्रकृतिका स्वार्थ हुन् । यही स्वार्थको आधारमा छुट्टिन्छन् राम्रा–नराम्रा प्रअ, शिक्षक र समिति अध्यक्षहरू ।
६. अभिभावकको चासो : विद्यालय क्षेत्रका अभिभावकको चासोले पनि प्रअ, समितिका अध्यक्ष र शिक्षकहरू राम्रा अथवा नराम्रा चयन हुने भन्ने कुरामा भूमिका खेल्छ । जुन विद्यालयका अभिभावकहरू विद्यालयप्रति चासो राख्छन् त्यो विद्यालयले पक्कै राम्रो प्रअ र असल समिति पाउने गर्छ । विद्यालयको वातावरण सुमधुर बन्छ । जब अभिभावकहरू को शिक्षक छन् ? कस्ता कस्ता प्रवृत्तिका छन् ? को प्रअ छ ? को–को समितिमा छन् र को समितिको अध्यक्ष छ भन्ने कुनै चासो राख्दैनन् र शिक्षाको स्तरीयताको कुनै ख्याल गर्दैनन्, त्यस प्रकारका अभिभावक भएकै कारण राम्रो प्रअ, राम्रो शिक्षक र राम्रो समिति विद्यालयले पाउँदैन ।
७. शिक्षा ऐन नियम : मेरो विचारमा शिक्षा ऐन नियमहरू नै यस्ता चिज हुन् जसको मार्गचित्रभित्र शिक्षक, विद्यार्थी, समिति, अभिभावक आदि सबैले रहनुपर्छ । हालसालै शिक्षा ऐन २०२८ को आठौं संशोधन भएको छ । यसभन्दा पहिले विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रियामा रहेको कमजोरीकै कारण विद्यालयले राम्रो अध्यक्ष पाउन कठिन परिरहेको थियो ।

अभिभावक हुन जुन योग्यता र प्रावधान तोकिएको थियो त्यसले शिक्षाबारे जानकारी भएका राम्रा विद्यालय व्यवस्थापन समिति र अध्यक्ष पाइरहेको अवस्था थिएन । यसपल्टको संशोधित ऐनमा विव्यस गठन प्रक्रियामा केही सुधार ल्याउन खोजेको छ । तर संशोधित ऐनमा शिक्षकको आचारसंहिता सम्बन्धी प्रावधान फेरि पनि राजनीतिक दलकै पक्षपोषण गर्ने खालको रहेको छ ।

शिक्षकहरू राजनीतिक दलको कार्यसमितिमा बस्न नपाउने भन्नुको अर्थ राजनीतिक दलको सदस्यता लिएर दलको सम्पूर्ण काममा लाग्न र सक्रियता देखाउन, दलीय नारा, जुलूस, धर्ना, चुनावी प्रचारप्रसार सबै गर्नु वैध हो भन्ने हुन्छ । यो त झ्नै हानिकारक हो । यसले शिक्षकहरूलाई घुमाउरो पारामा शिक्षकको रूपमा भन्दा राजनीतिक दलको कार्यकर्ताको हैसियतमा रूपान्तरित गर्ने काम गर्छ ।

अहिलेसम्मका ऐन नियमहरूले शिक्षा र शिक्षणलाई रोजाइको क्षेत्र नै बनाउन सकेको छैन । ‘म सबभन्दा पहिले शिक्षक बन्छु अनि नसके मात्र अरू’ भन्ने वातावरण तयार गर्ने खालको ऐन नियम आउनुपर्छ अनि मात्र विद्यालयले राम्रो शिक्षक, प्रअ र समिति पाउँछ । हेला गरिएको, हेपिएको पेशाको रूपमा शिक्षण पेशालाई लिने जुन वर्तमान परिस्थिति छ, यसबाट विद्यालयले राम्रो प्रअ र राम्रो अध्यक्ष पाउन सक्दैन ।

(श्री सरस्वती उमावि, दिक्तेल, खोटाङ)

 

commercial commercial commercial commercial