दशैंको आशीर्वाद : फेर्ने कि !

‘पढाइमा फस्ट भएस्, डाक्टर–इन्जिनियर बनेस्, ठूलो मान्छे बनेस्, कहिल्यै दुःख नपरोस्, चिरायु भएस्, हिंड्दा ठेस नलागोस्, नुहाउँदा केस नझ्रोस्, कुनै रोग नलागोस् ... !’

मैले हजुरबा, हजुरआमा, आमा, बा, मामा, माइजू आदिबाट सानैदेखि माथिका आशीर्वाद निरन्तर पाउँदै आएको छु । यस्तो आशीर्वाद दशंैमा जति घरमा टीका थाप्न जान्थें सबै घरमा पाउँथें । ठूलालाई भेटेपछि नमस्कार, ढोग गर्ने, आदर सम्मान गर्ने र त्यसको बदलामा आशीर्वाद थाप्ने हाम्रो सांस्कृतिक परम्परा नै हो । त्यस्तो परम्पराप्रति मेरो पूर्ण सम्मान छ । यो सानो लेखमा चाहिं अग्रज या ठूलाले सानालाई दिने आशीर्वाद र त्यसमा अन्तरनिहित विषयले कस्तो शिक्षा दिइरहेछ भन्ने विषयमा चर्चा गर्ने जमर्को गरिएको छ ।

माथि उल्लेख गरिएको पहिलो आशीर्वाद ‘पढाइमा फस्ट भएस् !’ शायद नेपाली समाजमा सर्वाधिक प्रचलित आशिष हो । यो आशिषमा, अभिभावक वा वयस्कको चाहना, रहर र अलि कठोर रूपमा भन्नुपर्दा “पढ्ने जति सबै मानिस ‘फस्ट’ हुनुपर्दछ” भन्ने अतिवादी सोच लुकेको पाइन्छ ।

अर्को शब्दमा, पढ्नु भनेकै फस्ट हुनका लागि हो भन्ने सन्देश पनि यसभित्र छिपेको देखिन्छ । के शिक्षा भनेको कक्षामा फस्ट हुनु मात्रै हो त ? यदि पढाइमा दोस्रो वा तेस्रो भइयो भने आशीर्वाद दिने मान्यजनको मापदण्डभन्दा कमजोर होइन्छ ? त्यसैले दोस्रो हुनेलाई पुनः आशीर्वाद दिइन्छः “दोस्रो त भएछौ अब अर्कोपालि फस्टै हुनुपर्छ है !” अर्थात् हामी दोस्रो हुनुलाई कुनै उपलब्धि नै मान्दैनौं किनभने ऊ फस्ट भएन । ५० जना पढ्ने कक्षामा फस्ट हुने त एक जना मात्र हो; तर वयस्कको नजरमा अरू ४९ जना बालबालिका असफल ठहरिन्छन् । अझ् फस्ट हुनेलाई पनि हाइसन्चो हुँदैन किनकि उसलाई पनि शायद भनिन्छ, “फस्ट एकचोटि भएर पुग्दैन, सधैं हुनुपर्छ ।” फस्ट नहुनेलाई त झ्न् ‘फलानो कसरी फस्ट भयो, ऊबाट सिक्, तैंले पनि उसको जस्तो मिहिनेत गर्नुपर्दैन ?’ भनेर तुलना गरिन्छ ।

यसरी आशीर्वाद दाताले शिक्षाको न्यूनतम मापदण्ड सिर्जना गरिदिन्छ, “पढ्नु भनेको फस्ट हुनु हो ।” यस्तो आशीर्वादले फस्ट हुने विद्यार्थी बाहेक अरूमा तनाव पैदा हुन्छ । आफू कमजोर, अक्षम हुँ भन्ने मानसिकताको विकास गरिदिन्छ । शिक्षा भनेकै फस्ट हुनु हो भनेर मनमा जरा गडाइदिन्छ । प्रथम नभएको कारण मैले पनि धेरैपटक आशीर्वादको बहानामा व्यंग्यात्मक गाली खाएको छु— लाखौं अरू बालबालिकाले झ्ैं । व्यंग्य, घोचपेच, अरूसँगको तुलना र पढेर प्रथम हुनु नै लक्ष्य बनाउनु असल संस्कृतिको उद्देश्य हुन सक्दैन । यसैले हामीले यस्तो परम्परालाई फेर्नुपर्छ कि ?

“बाबु तँ डाक्टर, इन्जिनियर बनेस्” भन्ने आशीर्वाद हाम्रो समाजमा झ्न्–झ्न् प्रचलित हुँदै गइरहेछ । यसले अर्को मापदण्ड सिर्जना गर्छ— ‘गतिलो मानिस हुनु भनेको डाक्टर इन्जिनियर हुनु हो ! अरू त गतिलो हुन नसकेर पो अन्य पेशामा गएका हुन्; सफल, शिक्षित मानिस त डाक्टर, इन्जिनियर नै बन्छन् !’ २०६५ तिर जुम्लाको विकट गाउँमा मैले कक्षा ९ मा पढ्ने एउटा गरीब विद्यार्थीलाई ‘तिमी के बन्ने ?’ भनेर सोध्दा उत्तरमा डाक्टर बन्ने भनेर जवाफ दिएका थिए । उनलाई पनि डाक्टरभन्दा सानो हुनु भनेको मानिस हुनु हो भनेर सिकाइएको थिएन शायद । त्यहाँ धन्न, एक जना बालिकाले भनिन्, ‘म शिक्षक बन्छु ।’ शायद उनलाई ‘पढेर मास्टरनी बनेस् !’ भनेर आशिष दिइएको थियो कि ?

अध्ययनले भन्छ, हाम्रा विद्यार्थी गणित र विज्ञानमा कमजोर छन् तर पनि उनीहरू भन्न छाड्दैनन्, ‘म डाक्टर वा इन्जिनियर बन्छु ।’ आशीर्वाद प्रभाव र सामाजिक दबाबले गर्दा अरू विषयमा राम्रो क्षमता र दक्षता हुँदाहुँदै पनि “म डाक्टर बन्छु” भन्न छाडेका हुँदैनन् उनीहरूले । शायद ‘फस्ट हुनु’ भन्ने आशीर्वादभित्र पनि यही डाक्टर वा इन्जिनियर बनाउने दमित इच्छाले काम गरेको हुन सक्दछ । नेपाली बालबालिका पनि वर्षमा केही सयको संख्यामा डाक्टर, इन्जिनियर बन्छन् । तर लाखौं विद्यार्थी, जो वयस्कको आशीर्वाद अनुसार डाक्टर वा इन्जिनियर बन्न सक्दैनन् वा बन्न चाहँदैनन् उनीहरूका लागि त यो आशीर्वाद एउटा बोझ् शिवाय केही होइन । सानैबाट बालबालिकालाई हामीले किन यस्तो बोझ् बोकाइरहेछौं ?  

तेस्रो आशीर्वाद, ‘ठूलो मान्छे बनेस्’ ले मानिसलाई अर्को अपेक्षाको मापदण्डमा खडा गराउँछ । पढाइमा फस्ट हुने र डाक्टर वा इन्जिनियर हुने भनेकै ठूलो हुनका लागि हो । ‘मान्छे भनेको ठूलो मान्छे’, अर्थात् सामान्य मान्छे हुनुको कुनै तूक छैन । किसान, भरिया, हली, लाठे, विपन्न, कमजोर र पछाडि परेका मानिस सामान्यतया ‘ठूला मान्छे’ को कोटिमा पर्दैनन् । हामी ‘ठूला मान्छे’ भन्ने बित्तिकै आर्थिक रूपले सम्पन्न, जातीय रूपले उच्च कुलको, शक्तिको नजिकमा रहेको, शिक्षा आर्जन गरेको, अरूलाई नियन्त्रण गर्न र परिचालन गर्न सक्ने मानिस भन्ने बुझछौं । यस्ता मानिसले आफूलाई आम मानिसभन्दा माथि ठान्ने गर्दछन् ।

स्रोत र साधनमाथि उनीहरूकै नियन्त्रण हुन्छ । उनीहरूले आफ्नो स्वार्थका लागि शक्तिको उपयोग वा दुरुपयोग गर्न सक्दछन् । यसरी हेर्दा ‘ठूला मान्छे’ हरू असल मान्छेभन्दा आधारभूत रूपमा भिन्न देखिन्छन् । ‘ठूला मान्छे’ मा असल मान्छेमा जस्तो नैतिकता, आदर्श, इमानदारी, सदाचार, विवेक आदि नभए पनि खासै फरक पर्दैन ।

हाम्रा आशीर्वादको माध्यमबाट असल मान्छे भन्दा पनि सामन्ती सोचयुक्त ‘ठूला मान्छे’ निर्माणमा योगदान पुगेको पो छ कि ? सोच्नुपर्ने भएको छ । यसकै फलस्वरुप ठूला भनिएका मानिस शोषक र शासक बन्ने अनि आम मानिस शोषित र शासित बन्नुपर्ने अवस्थाले निरन्तरता पाइरहेको पो हो कि देशमा ? अहिले भनिएको विभेदीकरण, असमानता र शोषणमा कतै हाम्रा यस्तै परम्पराको योगदान त छैन ? यस प्रकारका ठूला मान्छे बन्ने–बनाउने स्वार्थले गर्दा समाजमा भ्रष्टाचार, अनाचार र धनी–गरीब बीचको खाडल बढाएको त हैन ? यस विषयमा घोत्लिनु आवश्यक भएको छ ।

‘कहिल्यै दुःख नपरोस्’ भन्ने आशिष अर्को काल्पनिक संसार हो । सुख र दुःख मानिसका फगत कल्पना हुन् । लामो आशीर्वाद दिएर २५ पैसे ढ्याक दिनेले भन्दा आशिषविनै १ रुपैयाँको नोट दिनेले बढी खुशी तुल्याउँथे मलाई सानोमा । जे भए पनि, यस्तो आशिष किन दिनु जुन कुनै पनि हालतमा सम्भव छैन । किनकि हामीलाई थाहा छ, सुख र दुःख जीवनका अभिन्न अंग हुन् । यसको सट्टा मानिसलाई दुःखको सामना गर्ने, दुःखबाट सिक्ने र दुःखलाई सुखमा बदल्ने शक्ति प्राप्त होस् भनेर आशिष दिइनु बढी बुद्धिमानी हुन्छ कि ? दुःखबाट भाग्ने मानिस भन्दा दुःखका कारण पहिचान गरेर सोको सामना गर्ने मानिस बढी सुखी हुन सक्छ ।

हाम्रा आशीर्वादहरूको सरसर्ती विश्लेषण गरेर हेर्दा त्यसभित्र निहित अशान्तिका कारकलाई पनि देख्न सकिन्छ । हामीले सबैलाई फस्ट होऊ, डाक्टर, इन्जिनियर बन, ठूला मान्छे बन, दुःख नहोस् भनेर दिइने आशीर्वादको माध्यमबाट बालबालिकाका लागि मापदण्ड सिर्जना गरिरहेका छौं कि ? यसले कतै हाम्रा सन्तति र बालबालिकालाई हिंस्रक, अशान्त र विभेदकारी बनाउन सहयोग त गरेको छैन ? यस बारेमा मनन गर्नु जरूरी छ ।

आशीर्वादको नाममा लुकेका अशान्ति र दुःखका कारक पक्षहरूलाई समयमै चिनेर त्यसमा समय अनुसार परिवर्तन गर्ने हो भने मात्र हामीले नयाँ शान्ति संस्कृतिको विकास गर्न सक्छौं ।

निधारभरि अक्षता टाँसेर अक्षताकै संख्यामा आशीर्वाद र आशिषको खोलो बगाउने चाड दशैं नजिकै आउँदैछ । टीका र जमराको तयारी गर्दै गर्दा दशैंका आशिषलाई समयसापेक्ष, समाजोपयोगी र यथार्थपरक तुल्याउने बारे पनि केही सोच्न थाल्नु सान्दर्भिक नै हुनेछ ।

यसपालिको दशैंमा विशेषतः बालबालिकालाई यस्तो आशिष दिंदा कसो होला :
धेरै पढेर असल र ज्ञानी मान्छे बन्नु, सरस्वती सधैं दाइना रहुन्; लक्ष्मीले साथ दिउन्; दुःखमा नआत्तिनु, सुखमा नमात्तिनु; सबैको कामलाई सम्मान गर्नु; सबैलाई समान व्यवहार गर्नु; दुःखीको सेवा र गरीबलाई सहयोग गर्नु; आफूभन्दा सानालाई स्नेह गर्नु र ठूलालाई आदर–सत्कार; जति बाँच्छौं हाँसेर–हँसाएर बाँच्नु । दुर्गा भवानीले हामी सबैको कल्याण गरुन् !


विजयादशमी–२०७३ को शुभकामना !

commercial commercial commercial commercial