विज्ञान, जीवन र जगत

‘आजको युग विज्ञानको युग हो’ भनेर पढेको ठ्याक्कै चारदशक बितेछ । पछिपछि आएर विज्ञान नै जीवन हो भनेर पनि पढियो । तर जीवनलाई विज्ञानसँग जोड्ने कला न विज्ञान विषयले सिकायो न गुरुहरूले सिकाए । अहिले पनि विज्ञानप्रतिको मोह र अवधारणा उस्तै छ— विज्ञान पढ्नेहरू टाठाबाटा, अरू काम नलाग्ने । आज पनि बहुसंख्यक विद्यार्थीहरू विज्ञान पढ्न मरिहत्ते गर्छन् र अभिभावक पनि आफ्ना छोराछोरीले विज्ञान नै पढेको हेर्न चाहन्छन् । अधिकांश निजी विद्यालयहरूको पनि एकमात्र उद्देश्य, आफ्ना विद्यार्थीले विज्ञान विषय लिएर उच्च शिक्षा हासिल गरून् भन्ने नै हुन्छ । यस्ता विद्यार्थी र अभिभावकलाई “विज्ञान नै किन पढ्ने र पढाउने त ?” भनेर सोध्यो भने तयारी जवाफ आउँछ ‘डाक्टर र इन्जिनियर बन्न÷बनाउन ।’ डाक्टर र इन्जिनियर नै किन बन्ने र बनाउने भन्ने प्रश्नको जवाफ सबैलाई थाहा छ— सामाजिक हैसियत बढाउन ।

विज्ञानलाई जीवन र जगतसँग जोड्ने प्रयोजनको निम्ति हामीकहाँ कोही पनि विज्ञान पढ्न र पढाउन तयार हुँदैन । यी र यस्तै अल्पबुझइका कारण विज्ञान विषय थोरैका लागि आर्थिक सम्पन्नता हासिल गर्ने माध्यम बनेको छ र धेरैका लागि हाउगुजी । यसो हुनुमा विज्ञान विषयप्रतिको विज्ञान शिक्षकहरूको अल्पबुझइ र यसप्रतिको परम्परागत अवधारणा हो, जसले विज्ञानलाई जीवन र जगतसँग जोड्ने कला न आफूले सिके न अरूलाई सिकाउन सके ।

त्यसो त, हाम्रा बहुसंख्यक स्कूलमा विद्यार्थीले विज्ञान मात्र हैन अरू विषय पनि उत्तीर्ण हुनलाई मात्र पढ्ने गर्छन् र बहुसंख्यक शिक्षकले पनि उत्तीर्ण गराउन मात्र आफ्ना विद्यार्थीलाई पढाउने गरेका हुन्छन्, न कि विज्ञ वा वैज्ञानिक बनाउन । विज्ञान विषयका बहुसंख्यक शिक्षकले आफैं पनि परम्परागत शिक्षण विधिबाट ज्ञान हासिल गरेका छन् र उनीहरू आफ्ना विद्यार्थीलाई त्यसरी नै पढाइरहेका छन्, जसरी उनीहरूलाई पढाइएको थियो ।

केही नेपाली वैज्ञानिकहरूले विज्ञानलाई जीवन र जगतसँग जोड्ने प्रयास नगरेका होइनन् । यस्ता वैज्ञानिकहरूमध्ये स्वर्गीय डा. दयानन्द बज्राचार्य एकजना हुनुहुथ्यो जसले जीवनभरि विज्ञानलाई जीवन र जगतसँग जोड्ने प्रयास आफ्ना पुस्तक र लेख–रचनामार्फत गर्नुभयो । यस्तै अर्का वनस्पति विज्ञ डा. तीर्थबहादुर श्रेष्ठले पनि लेखनमार्फत विज्ञानलाई मानव जीवन र जगतसँग जोड्ने कार्य निरन्तर रूपमा गर्दै आउनुभएको छ । स्कूल र कलेजमा दिइने विज्ञान शिक्षालाई चाहिं जीवन र जगतसँग जोड्ने ठोस प्रयास कहीं कतैबाट भएको देखिंदैन । यसले गर्दा पनि विद्यार्थी जीवनमा पढिने विज्ञान बहुसंख्यक विद्यार्थीका लागि रुचिकर विषय बन्न सकेको छैन ।

बालबालिकालाई विज्ञान विषयप्रति आकर्षित गर्न तथा त्यो विषयको सही मर्म बुझउन एलकेजी या युकेजीदेखि नै विज्ञान सम्बन्धी क्रियाकलापमा संलग्न गराउन सकिन्छ । पूर्व प्रावि तहमै वनस्पति विज्ञान अन्तर्गत स–साना बोटबिरुवालगायत रूखपात, तरकारी र फलफूलका बिरुवा देखाएर पढाउन सकिन्छ । यसबारे व्यावहारिक ज्ञान दिन विद्यालय परिसरमा ‘हाम्रो विज्ञान बगैंचा’ बनाउन सकिन्छ । यस्ता विज्ञान बगैंचामा फलफूललगायत स–साना बोटबिरुवा जस्तै धनियाँ, सोंप, पुदिना र मौसमी तरकारी लगाउन सकिन्छ । मौसम अनुसारको तरकारी लगाउँदा र यसलाई नजिकबाट हुर्कंदै गरेको देख्न पाउँदा साँच्चै नै विद्यार्थीहरू थप उत्साहित बन्छन् । यसरी दिनहुँ विद्यालय परिसरमा यस्ता बोटबिरुवा लगायत तरकारी र फलफूल देखाउँदै यसबारे व्यावहारिक ज्ञान दिंदा सिकाइ दिगो मात्र हैन प्रभावकारी पनि बन्छ । तरकारी र फलफूल हामीलाई किन चाहिन्छ र यसको सेवनले हामी कसरी स्वस्थ हुन्छौं र मानवजीवनका लागि तरकारी, फलफूल र खाद्यान्न कति महŒवपूर्ण हुन्छन् भन्ने बुझन र बुझउन विज्ञान शिक्षकले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्दछ ।

पूर्व प्रावि र प्रावि तहमा अपनाइएको विज्ञान विषयको उपर्युक्त शिक्षण सिकाइलाई नै माथिल्लो तहमा पनि निरन्तरता दिने हो भने पक्कै पनि विद्यार्थीमा कृषि विज्ञ र वैज्ञानिक बन्ने चाहना पैदा हुन सक्छ । त्यसो त निजी विद्यालयको पाठ्यक्रम र पाठ्यपुस्तकले कृषि जस्ता विषयलाई महŒव दिएको देखिंदैन । शायद निजी विद्यालयका बहुसंख्यक विद्यार्थीको गन्तव्य विदेश भएकोले अंग्रेजी भाषामै बढी जोड दिइएको हो कि ? यस्तै सामुदायिक विद्यालयको निमावि तहमा विज्ञान विषय अन्तर्गत भन्दा पनि पूर्वव्यावसायिक शिक्षा अन्तर्गत कृषि सम्बन्धी विद्यार्थीलाई व्यावहारिक ज्ञान दिने प्रयास गरिएको छ । तर अफसोच, सिर्जनशील र मिहिनेती शिक्षकको खडेरी परेकोले बहुसंख्यक विद्यालयमा यस सम्बन्धी सैद्धान्तिक ज्ञान मात्र दिइन्छ । यसले गर्दा, एकातिर सामुदायिक विद्यालयका विद्यार्थीहरू कृषि सम्बन्धी व्यावहारिक ज्ञान पाउनबाट वञ्चित हुँदै आएका छन् भने अर्कातर्फ कृषि धेरैको आकर्षणको विषय बन्न सकेको छैन ।

निजी विद्यालयमा पढाइने विज्ञान विषय होस् या सामुदायिक विद्यालयको पूर्वव्यावसायिक शिक्षा, स्कूले जीवनमा यस्ता विषयलाई जीवन र जगतसँग जोड्न सर्वप्रथम शिक्षकको क्रियाशीलता र सिर्जनशीलताले महŒवपूर्ण भूमिका निर्वाह गर्छ ।

विडम्बना भन्नुपर्छ शिक्षण पेशामा दशकौं बिताएका बहुसंख्यक विज्ञान शिक्षकहरू आफ्ना विद्यार्थीलाई विज्ञ र वैज्ञानिक बनाउने भन्दा पनि चिकित्सक र इन्जिनियर बनाउन आफ्नो उत्पादनशील उमेर र ऊर्जा खर्चिरहेका छन् । चिकित्सक र इन्जिनियर मात्र हैन हाम्रो देशलाई विषयगत विज्ञ र वैज्ञानिकहरू पनि चाहिएको छ भनेर उनीहरूले आफ्ना विद्यार्थीलाई प्रोत्साहित गरेको देखिंदैन । विज्ञान विषयलाई जीविकोपार्जन र सामाजिक हैसियत बढाउने माध्यम मात्र हैन यसलाई जीवन र जगतसँग जोड्न सेतु बन्ने प्रयास अरूले होइन स्वयं विज्ञानका शिक्षकहरूले नै गर्नुपर्छ, अनि मात्र देशमा विज्ञान–सम्मत चिन्तन पद्धति र वैज्ञानिक संस्कारको ढोका खुल्न सक्छ ।

commercial commercial commercial commercial